छोरी सबैको भाग्यमा कहाँ हुन्छ र? भगवानले उसैलाई दिन्छन् जसले छोरीलाई माया/स्याहार गर्न हिम्मत राख्छ। त्यसैले भनिन्छ- छोरा भाग्यले हुन्छ छोरी सौभाग्यले हुन्छिन्, सय वटा भाग्यपछि एउटी छोरीले जन्म लिन्छिन्।
तर सबै छोरीहरु सौभाग्य कहाँ हुन्छन् र?
बिहान लगभग ६ बजेको होला, ढोका बाहिरबाट बाबाको आवाज आयो- 'शिल्पा, बाहिर आइज त एउटा कुरा गर्नु छ तँसँग।'
हुन त यो नौलो कुरा होइन परिवारको सदस्य बीचमा कुरा हुनु, तर बिहानै के कुरा गर्न होला भन्ने भेउसम्म नपाएर म नचाही नचाही बाबाको कुरा काट्न नसकेर बैठक कोठामा जान्छु।
मन नलागि नलागि राति ३ बजे सुतेका निन्द्रा नपुगेका आँखा खोलेर बस्छु। बाबाले फेसबुक खोल्नु हुन्छ र मलाई मेरै प्रोफाइल खोलेर देखाउनु हुन्छ। म अक्क न बक्क भएर हेर्छु।
बाबा बोल्नु हुन्छ, 'यो को हो? यसरी किन फोटो हालिस्?'
कलेजमा मिल्ने साथीको जन्मदिनमा मैले त्यो फोटो सेयर गरेकी थिएँ। मिल्ने साथी केटा थियो अनि म परेँ केटी। सायद यही कुरा थियो नत्र त फोटो सामान्य नै थियो।
बाबाले मैले त्यो फोटो सामाजिक संजालमा सेयर गरेकोमा गल्ती गरेको अभास दिलाउनु भयो। मैले कति सामान्य सोचेर सेयर गरेको त्यो पोस्ट अनि त्यो फोटो असामान्य साबित भएँ।
साथी-साथीबीच खिचिएका त्यो फोटोले यस्तो असर गर्ला कसले सोचेको थियो होला र? त्यो फोटो सेयर गरेकोमा हिनताबोध भइराख्यो मलाई, मनमा निक्कै प्रश्न आएँ तर म निशब्द भएँ। ओहो! कस्तो सामान्य लाग्ने कुरा कति असामान्य अनि असहज तरिकाले सम्झाउनु भएको!
मैले त्यो पाटोबाट त सोच्दै सोचिनँ। मैले त एउटा मिल्ने साथीसँग सेयर गर्ने फोटो अनि उसको जन्मदिनको शुभकामना मात्रै सोचेँ। यसमा मलाई कुनै गल्ती लागेन न त केही पश्चताप नै लाग्यो। हतार-हतार आफ्नो कोठामा आएँ अनि केही विचार नगरी त्यो पोस्ट हटाइदिएँ।
बल्ल सोच्न लागेँ, खै के परिवर्तन भयो त समाज? के हाम्रो समाज परिवर्तन भएको हो त? साथीहरुको विचार विमर्शमा सहभागी हुने हो भने लाग्छ नेपालमा म बाहेक सबैको सोच अनि सोचाइ परिवर्तन भैसकेको छ। आधुनिक समाजमा हरेक कुरा पच्न थालिसकेको जस्तो लाग्छ। सामाजिक संजालका ती पोस्ट अनि क्लबहाउसमा हुने ती गफहरुबाट…।
तर भर्खरको यो घटना यसलाई पनि त नजर अन्दाज गर्न मिलेन नि! कत्ति मेल खाएन! खै के परिवर्तन भयो त हाम्रो समाज? खै त के बदलियो हाम्रो समाज? अझै दिमागलाई जोड दिएर सोचेँ, नारी र पुरुष बराबर छन् त? मेरो त्यो साथीले पनि त्यही फोटो सेयर गर्दा यस्तै कुरा सम्झाउनु हुन्थ्यो होला?
परसम्म नजाम, मेरै भाइ छ घरमा। के भाइले कुनै आफ्नो केटीसाथीलाई जन्मदिनमा शुभकामना दियो भने यस्तैगरी सम्झाउनु हुन्थ्यो होला त? एउटा खिचिएको फोटोले जिन्दगीमा नै हावाहुन्डरी चल्छ भने खै के परिवर्तन भयो मेरो समाज?
के मसँग यति स्वतन्त्रता नि छैन कि मैले महसुस गरेका केही शब्द आफ्नो साथीको लागि लेख्न पाउने? के म नारी भएकैमा मेरा हरेक क्रियाकलापलाई बन्देज लगाउनु पर्ने? मैले सोचेको जिन्दगी त मैले बाचेको नै छैन, समाजको लागि मैले हरेक कुरामा खुम्चिनु पर्ने कस्तो अचम्म?
मलाई म भएर मेरा कुरा मेरा भावना अभिव्यक्त गर्ने अधिकार नि छैन? हरेक कुरामा खुम्च्याउनु कतिसम्मको सही कुरा हो?
अझै आमा भन्नुहुन्छ 'छोरी मर्यादित भएर बस्नुपर्छ। अनुशासित भएर हिँड्नुपर्छ। धेरै फर्याक फुरुक गर्नु हुँदैन। यता उता हिँड्नु हुँदैन। छोरीले धेरै उत्ताउली भएको सुहाउँदैन। अर्काको घर जाने जातले घर बाहिर निस्किए इज्जत जान्छ।'
अहो! आमा, यो कस्तो संस्कार? यी सबै कुरा हेर्दा यहाँ आमाको धेरै ठूलो दोष देखिन सक्छ तर गहिराइमा गएर नियाल्दा आमा जुन समाजमा हुर्किनु भयो, त्यसको सबैभन्दा ठूलो प्रभाव हो यो। त्यो सिकाइले छोरी असाध्यै मर्यादित भएर के बिगारेँ!
आजभोलि दिन दुई गुणा रात चारगुणा छोरीचेलीमाथि हत्या हिंसाको घटना किन भइरहेछन्? छोरीलाई जस्तै छोरालाई सिकाउने आमाको भूमिका खै? हो, म छोरी हो।
यो सबै भनिरहँदा छोरीलाई समाजले भनेको कुरा नमान, एकदम रुखो स्वरमा मात्र बोल, घरेलु नबन लगायतका कुरा सिकाउन पक्कै खोजेको होइन। तर महिला भएका कारण मैले नरम बोल्नुपर्छ, समाजले भनेको मान्नुपर्छ भन्ने अनुभूति उसले गर्नु नपरोस् मात्र भन्न खोजेकी हुँ।
अर्थात् म महिला हुँ, त्यही भएर म नरम स्वरमा बोल्नुपर्छ भन्ने नभई नरम बोल्नु भनेको सभ्यता हो, संस्कार हो भन्ने मान्यता बनोस्।
मेरो बुझाइमा महिला पुरुष बराबरीको अर्थ बाहिरी देशहरुमा जस्तो खुला लुगा लगाएर हिँड्न पाउनु, लिभिङ टुगेदरमा बस्नु, वाइन खानु, ठूलो ठूलो स्वरमा बोल्नु, राति अबेर घर आउनु होइन र मैले समानतालाई यो कुरासँग जोड्न खोजेकी पनि होइन। तर कमसेकम भोलि सबै महिला अबेर घर आँउदा वा खुला लुगा लगाएकै आधारमा चरित्रहीन र संस्कार नभएकी छोरी वा बुहारीको संज्ञा भिर्नु नपरोस्।
कमसेकम छोरीको चरित्र र संस्कारलाई यी यस्ता झिना मसिना कुराले निर्धारण नगरियोस्। उसको चरित्र ऊ कति बजे घर फर्कन्छे, के लुगा लगाएर हिँड्छे जस्ता समाजले तोकिदिएका मापनको आधारमा नभई उसमा भएको मानवीय गुण, संस्कारको आधारमा गरियोस्।
मैले यहाँ भन्न खोजेको मतलब छोरीले डिस्को जान पाउनुपर्छ, छोटा कपडा लगाउन पाउनुपर्छ भन्ने मात्र होइन तर यी दुवै काम गरेको आधारमा उसको चरित्रको मापन नगरियोस् भन्ने मात्र हो।
चरित्र भनेको लगाउने लुगा वा घर फर्किने समयमा वा खाना बनाउन र लुगा धुन जान्दैमा हुँदैन। चरित्र त उसको व्यवहारमा हुन्छ, उसले आफूभन्दा कमजोरलाई गर्ने सहयोग, सम्मान र सद्भावको आधारमा निर्धारण हुन्छ र निर्धारण हुनुपर्छ।
अन्तमा,
एउटी छोरीलाई देवी मानिन्छ, कन्या पुजिन्छ । लक्ष्मी भनिन्छ, सरस्वती भनिन्छ । अष्टमात्रिका अनेक पूजाअर्चना नामहरू छँदै छन्- वैष्णवी, ब्राह्मी। माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा, महाकाली आदि। आश्चर्य! समाजको चार किल्लामा यही छोरी बाँधिएकी छे, साँच्चै पत्याउनै मुस्किल परिरहेको छ।
कुनै पनि मानिस सबैभन्दा खुसी त्यतिबेलामा हुन्छ जतिबेला ऊसँग पूर्णरुपमा व्यक्तिगत स्वतन्त्रता हुन्छ। समाजमा विभिन्न किसिमका बाधा हुन्छन्। यी बाधाहरु हरेक समाजको लागि फरक फरक हुन्छ।
अतः व्यक्तिगत स्वतन्त्रताको उपभोगको मात्रा ती बाधाहरुले निर्धारण गर्दछन् जसरी हामीहरुले उपभोग गर्ने वस्तु तथा सेवाहरुको मात्रा हाम्रो आम्दानीले निर्धारण गर्दछ।
जसरी आम्दानी बढ्दा वस्तु तथा सेवाहरुको उपभोगको मात्रा बढ्दछ त्यसैगरी नै व्यक्तिगत स्वतन्त्रताको उपभोगको मात्रा बढाउन पनि ती बाधाहरु कम गरिनु पर्दछ। त्यसैले व्यक्तिगत स्वतन्त्रता निरपेक्ष नभई सापेक्ष रहेको हुन्छ।
जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवतासमेत रमाउँछन्। हरेक घरमा देवता रमाउन्, रमाइराखून्।