कोभिड-१९ महामारीसँग जुधिरहेकै बेला बलात्कार, हत्या र यौन दुर्व्यवहारको अर्को महामारी पनि सँगसँगै बढिरहेको छ। दिनहुँ रुपमा टेलिभिजन र रेडियोमा यस्ता घटना सुनिनु अब नौलो कुरा रहेन।
हाम्रो छोरीहरु आफ्नै घरमा पनि सुरक्षित छैनन्। कहिले परिवारकै सदस्यको कुदृष्टिको शिकार भएका छन् त कहिले दाइजोको नाममा जलाइएका छन्।
तथ्यांक नै हेर्ने हो भने गत वर्षको लकडाउन ताकामात्रै दिनहुँ औसतमा ७ जनाको बलात्कार भएको छ र जम्मा एक हजार २२१ वटा बलात्कारको घटना गत वर्ष मार्चदेखि सेप्टेम्बर भित्र नै भएको छ। बलात्कार मात्र नभई महिलालाई हुने घरेलु हिंसा पनि उल्लेख्य मात्रामा बढेको छ।
महिलाको हक अधिकारको कुरा गरिरहँदा शिक्षा स्वास्थ्यका कुरा त हामी गर्छौं तर महिलालाई अगाडि बढ्न सहज र सुरक्षित वातावरण दिन पछि परि नै रहेका छौं। नेपालमा महिला शिक्षा र अधिकारको बहस भएको धेरै समय भइसकेको भएता पनि छोरा र छोरीलाई समान अवसर दिइन थालिएको मुस्किलले दुई दशक भएको हुँदो हो।
हामीभन्दा अगाडिको महिला पुस्ताले जसोतसो उच्च शिक्षा हासिल गरेका छन्। धेरैले त त्यो पनि पाएका छैनन्। त्योभन्दा अगाडिको पुस्तामा त विद्यालय शिक्षा प्राप्त गर्ने संख्या नै न्यून छ भने माध्यमिक तहसम्म पूरा गर्नेको त झन् औँलामा गन्न नै मिल्छ।
अहिलेको अवस्थामा आइपुग्दा प्राथमिक र माध्यमिक शिक्षाको हकबाट वन्चित त कम नै हुन्छन्। शिक्षामा धेरै सुधार पक्कै भएकै हो तर व्यावहारिक भेदभावमा कमी भने आएको छैन। जति नै महिला सशक्तिकरण र शिक्षाको आवाज उठेता पनि सामाजिक र व्यावहारिक रुपमा महिला पछि नै छन्।
निर्मलापछि कयौं निर्मलाले उही प्रकारको भवितव्य भोगिरहेका छन् तर हामीले जस्टिसको ह्यासट्याग पोस्टभन्दा बढी केही गर्न सकेका छैनौँ। यी ह्यासट्याग पनि 'टीप अफ द आइस्बर्ग' का केही बाहिर आएका घटनाहरुको लागि मात्र हो।
विडम्बना, बलात्कारको घटनापछि परिवारको इज्जत बचाउने नाममा अपराधीलाई संरक्षण गरेर यस्ता धेरै घटना र त्यसका साथसाथै छोरीचेलीको आत्मसम्मान दबाइन्छन् यहाँ।
हामीले छोरीहरुलाई तिमी शिक्षित छौ, तिमी घर बाहिर हिँड्न सक्छौ भनेर त भन्यौं तर छोरीलाई सुरक्षित वातावरण घर भित्रैबाट नै दिन सकेनौं। अहिले दिनहुँ सुनिने विभत्स घटनाहरु न त महिला सशक्तिकरणले घटाउन सक्यो न त महिला शिक्षाले नै।
हामीले घरमा छोरीहरुलाई तिमी यति बजेसम्म घर आइपुग्न पर्छ है, यस्तो लुगा लगाउन हुन्न है, यस्तो व्यवहार गर्न हुँदैन है भनेर सिकाउँछौँ। १० वर्षको छोरालाई २२ वर्षको छोरीको रेखदेखको लागि बजारसम्म साथी पठाउँछौँ।
यस्तो शिक्षा दिनु कत्तिको उचित छ, त्यो छुट्टै बहसको विषय होला। तर कुनै व्यक्तिको अपराधिक मानसिकतालाई डिफेन्ड गर्न कसैको पहिरनलाई दोष किन? आफ्नो पहिरन आफ्नो इच्छ्या र सहजता अनुरुप लगाउन पाउनु सबैको अधिकार हो। पहिरनकै कारण बलात्कार हुने भए नाबालक र बृद्धहरु असुरक्षित किन?
हामीले घरमा दिने शिक्षामा छोरीहरुलाई त सजिलोसँग भन्छौं यस्तो घटनाबाट जोगिन, आफ्नो हरेक व्यवहारमा लगाम लगाऊ है भनेर। तर त्यही घरमा छोराहरुलाई तिमीले बाटोमा हिँडिरहेको कुनै छोरी मान्छेलाई कुदृष्टि लगाउन हुँदैन है भनिन्न।
जब कसैको बलात्कार हुन्छ बलात्कृतको नाम हाइलाइट गरिन्छ तर बलात्कार गर्ने अपराधी गौण हुन्छ। अपराध गर्ने को भन्दा निर्दोष पीडितको बदनाम हुन्छ। बलात्कृतलाई नै हेयको दृष्टिकोणले हेरिन्छ। जबसम्म 'भिक्टिम ब्लेमिङ' लाई हामीले प्रेरणा दिइराख्छौं तबसम्म अपराधीहरुको मनोबल बढी नै रहन्छ।
अहिलेको समयमा हामीले छोरीलाई छोरा बराबर अगाडि बढाउने कोसिसमा मात्र लाग्यौं तर छोरालाई उसले अघि बढ्दा उसको पाइलामा तिम्रो साथ हुन पर्छ भन्ने सिकाएनौँ। हाम्रा छोरीहरु त हामी सशक्त हुँदैछौँ भन्ने मानासिकतामा छन् र सशक्त हुँदै पनि छन् तर समाजले उनीहरुलाई न त स्वीकार गर्छ न त अघि बढ्नबाट रोक्न नै सक्छ।
त्यसैले त अन्यायको विरुद्ध आवाज उठाउने छोरीहरुलाई 'फेमिनिस्ट' को ट्याग लगाई हाँसोको पात्र बनाइन्छ। र यस्ता घटनाहरु हुनुमा चरित्र र पहिरन जस्ता कुरा अगाडि ल्याई पीडितलाई नै दोष देखाइन्छ।
यस्तो भन्दै गर्दा कुनै अपराध गर्न घरमा सिकाइन्छ र यो नभनेकै कारण अपराध हुन्छ भन्न खोजेको पक्कै हैन। तर अपराधले ल्याउने सामाजिक प्रभावमा भने घर परिवारमा सिकाइने व्यवहारको ठूलो भूमिका हुन्छ। आपराधिक घटना भोगेकाहरुलाई फेरि उठ्न साथ दिने र सहज वातावरण सिर्जना गर्न सामाजिक परिवर्तन नभई सम्भव छैन।
अपराध हुने भनेको आपराधिक मानसिकता भएको व्यक्तिबाट हो। यसमा कुनै दुई मत छैन। यस्तो अपराधलाई कुनै प्रकारको स्पष्टिकरणले ढाक्न हुँदैन। यसको कानुनी पक्ष त छँदै छ तर सामजिक र व्यावहारिक पक्ष पनि यसैको एउटा पाटो हो।
यस्ता घटनाहरुप्रति धारणा परिवर्तन गर्न आवश्यक छ। समाजका राम्रा नराम्रा पक्षको लागि हरेक नागरिकले जिम्मेवार भूमिका निभाउनु उसको कर्तब्य हो। घरमा सिकाइने शिक्षामा नै समानताको शिक्षा सिकाउनु भनेको सामाजिक परिवर्तन तर्फ पाइला बढाउनु हो।