एक पटक पाइने मानव जीवन राम्रोसँग जिउँ। यस जीवनमा मानव भएर कसरी बाँच्ने त? के मानिसको रुपमा जन्म लिनु नै पूर्ण मानव हुनु हो र? संरचनागत हिसाबले मान्छे भएर जन्मदैमा सबैमा मानवता रहेको छ र? साँचो अर्थमा मानव भएर कसरी बाच्ने त? यो जटिल प्रश्न छ।
नेपाली समाज विविधतामा आधारित छ। धेरै सकारात्मक संस्कारहरु छन्। तर केही अत्यन्तै खराब, अमानवीय कुसंस्कार पनि कायमै छन्। मानिसहरूका सोच, बुझाइ, बोलाइ, गराइ र व्यवहारमा धेरै भिन्नता र फरकपना देख्छु।
मानव सम्यताको विकासक्रमसँगै यी व्यवहार क्रमशः विकास हुँदै आयो। तर, फरक के छन् भने अहिलेका मानिसहरू पहिलेका भन्दा बढी शिक्षित, सभ्य, र क्षमतावान छन्। विकसित छन्। क्रमशः विकसित हुने दौडमा छन्। प्रविधिको उपयोग गर्छन्, घरमै बसीबसी विश्व भ्रमण गर्छन्। विश्व मानव समुदाय विकासको तीव्र गतिमा अघि बढिसेकेको छ। यो मानव विकास क्रमको छलाङ हो।
तर, हामीकहाँ केही यस्ता विषयहरू छन्, जुन मानिसहरू निरन्तरता दिइरहका छन्। जुन छाड्न जरुरी छ, तर त्यही निरन्तर छ। झन् झन् बढ्दो छ। त्यो हो मानिसहरूबीच हुने भेदभाव, छुवाछुत, विभाजन। महिलामाथि हुने विभेद, जातजातिमा हुने विभेद, भूगोलको आधारमा हुने विभेद, धर्मको आधारमा हुने विभेद आदि।
मान्छेले मान्छेलाई चिन्ने, सम्झने, सम्मान गर्ने, मन पराउने, नपराउने कारणहरू फरक-फरक अवश्य हुन्छन् नै। कसैलाई झट्ट हेर्दा आकर्षक मुहार भएको मान्छे मन पर्छ। कसैलाई पढाइ, जागिर, योग्यता, कला, प्रतिभा, कुल घराना राम्रो भएको मन पर्छ। त्यसमा आर्थिक र सामाजिक हैसियत हेर्ने चलन त झन् पुरानै भइहाल्यो। यद्यपि यो सबैमा स्वतन्त्र विषय भयो।
हरेक मानिसमा यस्तो एउटा गुण हुन्छ, जुन अरुलाई होइन, आफूलाई मन पर्छ। आफ्नो जिन्दगी प्यारो नलाग्ने मानिसहरू यो धर्तीमा सायदै कमै होलान्। हरेकलाई आफ्नो र आफ्नाहरूका माया लाग्छ। आफन्तहरू प्यारा लाग्छन्। उनीहरूसँग विभिन्न सुख, दुःख साटासाटा हुन्छन्। त्यो स्वभाविक पनि हो।
जन्मपछि मृत्यु शाश्वत सत्य हो। सबैलाई थाहा छ। जन्मने एक्लै र मर्ने पनि एक्लै। जिन्दगी जिउँदो रहुन्जेल भोग्ने हो। विभिन्न मानिसहरूको संगत हुने हो। खुसीसँग बाँच्ने र रमाउने हो। जिन्दगी छोटो छ। गर्नुपर्ने र सिक्नुपर्ने कुराहरू धेरै छन्।
हरेकलाई खुसी हुन र सुखी हुन मन लाग्छ। त्यो मानवीय गुण नै भइहाल्यो। तर, यहाँ फरक के रहेछ भने, प्रायःजसो मानिसहरूले आफ्नो खुसी र सुखी मात्र चाहने। आफूभन्दा बाहेक अरुको खुसी र सुखी भएको देख्न नसक्ने।
व्यक्तिले स्वतन्त्र निर्णय गर्ने पाइने अवस्था हामीकहाँ अझै छैन। चाहे त्यो विवाह गर्ने कुरामा होस् या अन्य कुरामा। परिवार र समाजले जे भन्छ त्यही मान्नुपर्ने बाध्यताहरू छन्। त्यो पराम्परागत चलनले गर्दा कतिपय मानिसहरू जीवनभरि खुसी हुन नसकेका उदाहरणहरू छन्।
नेपाली समाजलाई नियाल्छु अनि, घरी घरी प्रश्न उब्जन्छ, म को हुँ? उत्तरः म मानव। नाम, थर, पद, पढाइ, योग्यता, क्षमता हैसियत र पहिचान। यी सबै पहिला मानव भएपछि स्वतः आउने प्रक्रिया हुन्। जन्मसँग यसको कुनै साइनो छैन। जन्मेपछि समयक्रमसँगै पछि जोडिएका यी तमाम् पदावलीहरूले मानिसहरूलाई जटिलता थपिदिएको हो।
यी चिजहरूले मानिसहरूलाई एउटा बन्धन र बाध्यतामा जीवन जीउनको लागि जबरजस्त गरिरहेको छ, जस्तो लाग्छ। तर, प्रश्न के भने यहाँ जन्मकै आधारमा हुने विभेदको रुप जटिल छ। जुन अझै हट्न सकेको छैन। जसले मानिसलाई मानिसको पहिचानबाट दिनबाट रोकिराखेको छ। प्रगती गर्नबाट रोकिराखेको छ।
अर्को प्रश्न आउँछ, के हामी मानव भएर बाँच्न सकेका छौं त? के हामीले मानवीय गुण स्वभावमा देखाउन सकेका छौं त? के हामीले आफ्नो जस्तै अरुको पनि जीवन छ र उसलाई पनि मानव जस्तै व्यवहार गर्न सकेकौ छौं त? हामीले न्यूनतम पनि असल व्यवहार गर्न प्रयत्न गरेका छौं त?
हामीलाई विभिन्न बहानामा मान्छे हुनबाट रोक्ने धेरै कारणहरू छन्। समाजमा विद्यमान वर्ग विभाजनले मानिसहरूबीच छिन्नभिन्न बनाएको छ। परम्परा, संस्कृति, धर्म, पारिवारिक तथा सामाजिक बन्धनहरूले मानिसहरूलाई मानवताको पहिचान दिनबाट वञ्चित गराइराखेको छ।
एकले अर्कोलाई भेदभाव, थिचोमिचोमा राख्न उद्यत गरिरहेको छ। माथि उठ्नबाट रोकिराखेको छ। चाहे त्यो महिलामाथि हुने विभेद होस् या फरक जातिबीच हुने विभेद।
नेपाली समाजमा केही विभेदजन्य प्रथाहरु छन्। जुन हिजो पनि थियो, आज पनि छ र भोलि पनि निरन्तर हुने देखिन्छन्। यस्ता अन्याय, विभेद, कुसंस्कार, कुरीतिहरू हामीले देख्दै भोग्दै र महसुस गर्दै आएका छौं। यसले निरन्तरता पनि पाइरहेको छ। यसले मानिसलाई मानिस भएर बाँच्नको लागि तगारो खडा गरिराखेको छ।
हरेक मानिसहरू आफ्नो लक्ष्यअनुसार अघि बढ्नुपर्छ। आफ्नो सपनाअनुसार अघि बढ्नुपर्छ। आफ्नो जीवन सार्थक बनाउन, सफल बनाउनको लागि मेहनती हुनुपर्छ। तर, यहाँ वास्तवमै त्यस्ता मानिसहरू कम छन् र रहेछन्। अरुलाई विभेद र अन्याय गर्दा खुसी हुने र त्यसैमा रमाउनेहरू पनि रहेछन्।
जो परिवर्तनलाई विश्वास नगर्ने यथास्थितिवादी रहन चाहने। उनीहरूलाई थाहा छ, आफूलाई थाहा हुँदा हुँदै पनि कुरिती र कुसंस्कारलाई निरन्तरता दिन्छन्। यसले गर्ने भनेको फेरि पनि अन्याय नै हो। कसैलाई पीडित बनाउने नै हो।
म सोच्थेँ, हाम्रो पुर्खाहरूमा शिक्षाको अभाव थियो। पढ्ने, सिक्ने, देख्ने अवशरहरू थिएन। त्यतीबेला जे देख्नु भयो, जे अनुशरण गर्दै आउनुभयो त्यसैलाई धर्म ठान्नुभयो। समाजले भिराइदिएको नियमहरू विना गुनासो अनुशरण गर्नु भयो। त्यो त्यतीबेला ठिकै थियो होला। तर अहिलेको पुस्ता शिक्षित छन्। पढे, बुझेका छन्। सहि गलत छुट्याउन सक्ने क्षमता राख्छन्। तर पनि किन यस्तो विभेदहरूले निरन्तरता पाइरहेको छ, यो विषय नयाँ पुस्ताले समीक्षा गर्नैपर्छ।
मान्छेमा रहेको कुविचारहरू, उसको शैक्षिक प्रमाण पत्र, रुप, धन, हैसियत, पद, प्रतिष्ठा यी कुराहरूले फेर्न सक्दैन रैछ। यी कुराहरूले केहि मान्छेलाई सम्हालिएर बोल्न अर्थात वास्तविक रुप लुकाउन मात्र मद्दत पुग्ने रहेछ भन्ने देखियो। अक्षर नचिनेकाहरूले मनमा भएको कुराहरू भनिदिन्थे र व्यवहार पनि सोहि गर्थे तर अक्षर चिनेका, बुद्धिजिवी भनिएका, प्रतिष्ठितहरूले बोली फेर्न मात्र सक्ने रहेछन्। व्यवहार फेर्न सक्दैन रहेछन्। जुन परिवर्तनको बाधक हो।
एउटा भनाइ छ- ‘हामी संसार बदल्न चाहन्छौँ तर आफैलाई बदल्न सक्दैनौ’। जब आफैलाई, आफ्नै चेतना र व्यवहारलाई बदल्न सक्दैनौ तब कसरी फेरिन्छ संसार? संसार बेग्लै ग्रह होइन नि, हामीले चाहँदैमा फेरिने। संसार हामीले बनाएको र हामी-हामी मिलेर बनेको हो। त्यो कुरा त कम्तीमा सबैले बुझ्न जरुरी छ।
हामीले भोग्दै र गर्दै आएको दमनलाई कहिँ धर्मको नाम दिइन्छ। कहीँ चलन र संस्कारको नाम दिइन्छ। सोचनीय पक्ष के छ भने यही दमन माया र चिन्ताको आडमा अझै विभेद सहन पर्ने बाध्यताहरू धेरै छन्।
केही समय अघि एउटा कम्पनीमा काम गर्ने कर्मचारीहरू कम्पनीको प्रचार प्रसारको लागि गाउँमा आएँ। उनीहरूको कन्भिन्सिङ क्षमता राम्रो थियो। एकजना कर्मचारीले डिग्री पास गरेको र क्याम्पस पढाउने गरेको सुनाए। उनका रूपान्तरणकारी विचारहरू पनि सुनाए। कुरा गज्जबै लाग्यो।
उहाँहरु घरमै आउँनुभयो। कुराकानी लम्बियो। कुरैकुरामा उहाँले आफू उच्च जातको भएको हुँदा तल्लो जातकोहरूसँग जहिल्यै सचेत हुनु पर्ने र संगत गर्न नहुने कुरा पनि सुझाउनु भयो। उहाँले अझै खुलेरै भन्नुभयो 'तल्लो जातिकासँग सम्बन्ध गर्न हुँदैन। उस्तै भनेर के गर्नु? मनैले मान्दैन, आफ्नो जातीयताको नाता सबैभन्दा नजिक हुन्छ है नबिर्सनू।'
पढे लेखेका व्यक्तिहरू पनि जातीय विभेद हटाउनु पर्छ भन्नेमा सचेत छैनन्। मनमा त्यतिधेरै विभेदपूर्ण, संकृण सोच भएकी शिक्षकले विद्यार्थीलाई समानता, परिवर्तन र अधिकारको शिक्षा कसरी दिन सक्लिन्? खासमा युवा र शिक्षितमध्ये पनि धेरै जमात निरन्तरताकै पक्षमा छन्, भन्ने काफी उदाहरण हो यो।
एक गायकको स्वर सुन्दा मिठो लाग्यो। हरेक युट्युबमा पोष्ट भएको भिडिओमा उनको प्रतिभालाई भन्दा उनको जात र धर्मलाई टिप्पणी गरिएको देख्दा अचम्म लाग्यो। फलानो जातिका गायक, उसले त्यो धर्म मान्छ आदि। मानिसहरूलाई उनको प्रतिभाभन्दा नि ऊ कुन जातको हो र के धर्म मान्छसँग चिन्ता छ। समाजमा विभेद व्याप्त छ। पढेलेखेका मानिसहरू पनि जात, धर्म, लिंग र भाषामै अड्किरहेका छन्।
केही समय पहिला एउटा कम्युनिष्ट नेताको घरमा दलित महिला गइछिन्। दलित महिला घरमा छिरेको कारण त्यही दिनदेखि ग्रहदशाा बिग्रियो भनेर ती नेताले घरमा रुद्री पुजा लगाएछन्।
यी त केही उदाहरण मात्रै हुन। यी र यस्ता घटनाहरु भइरहेका छन्। म समाजको चलनचल्ती अनुसार गैरदलित परिवारको भएकोले पनि दलित समुदायको अनुपस्थितिमा उहाँहरुलाई गरिने व्यवहार, शब्द चयन, सोच र कुराकानी अझै राम्रोसँग सुनेको र देखेको छु। बाहिर असाध्यै मिठा र ठूला कुरा गर्नेहरुको पनि भित्री मनको चुरो कुरो बुझ्ने मौका पाएको छु।
पछिल्लो समय रुपा सुनारमाथि भएको अन्यायपूर्ण घटनापछि अहिले नेपाली समाज फेरि पनि विवादमा छ। सामाजिक सञ्जाल र जताततै ‘कोठा’ र ‘कोटा’ भन्ने शब्द चर्चामा छ। एक सञ्चारकर्मीले दलित भएकै कारण काठमाडौंमा कोठा नपाएपछि फेरि एक पटक जातीय विभेदको विषय बाहिर आएको छ।
मुद्दा मानव अधिकार आयोगदेखि सर्वोच्चसम्म पुगेको छ। रुपाको पछाडिको थर सुनार भएकै कारण उनलाई कोठा दिन अस्वीकार गरियो। रुपा त हिम्मतिली थिइन्, आवाज उठाउन सकिन्। साथ पनि पाइन्। यो समस्या सदियौँदेखि छ, धेरैले आवाज उठाउन सक्दैनन्। हिम्मत गर्दैनन्।
रुपाले कोठा नपाउनुलाई सरकारले कानुनमै व्यवस्था गरेको आरक्षण ‘कोटा’ सँग लगेर जोडेर टिप्पणीहरू भइरहेका छन्। ‘तिमीले जातकै कारण कोठा पाइनौ, हामीले जातकै कारण कोटा पाएनौँ’। यसरी टिप्पणी गर्नु भनेको उच्च जातिवादी अंहकार अझै व्याप्त छ र यसले परिवर्तनका पक्षघरहरूलाई पनि चुनौती थप्दैछ।
यसरी तर्क गर्नेहरूले आरक्षणबारे थाहा नपाएर उनीहरूले बोलेका पक्कै होइनन्। यो त आफूहरूलाई जातकै आधारमा, जन्मकै आधारमा ठूलो हौं भन्ने भ्रम र अहंकार छ, त्यही बोलेका हुन्। आरक्षण दलितहरूले मात्रै पाएका होइन्, त्यो विषय पहिला बुझ्नुपर्छ।
आरक्षण महिला, जनजाति, अल्पसङ्ख्यक, मधेसी, भूगोल आदिका आधारमा सबैले पाएका छन्। दोस्रो जनआन्दोलनको सफलतापछि यो आरक्षणले संस्थागत मान्यता पाएको हो। यसको इतिहास लामो छैन। र राम्रोसँग अभ्यासमा आउन पाएको पनि छैन। अनि आरक्षण दिएकै कारण छुवाछुत वा विभेद गर्न पाउनुर्छ भन्नु, सभ्य मानिसहरूको तर्क कसरी उपयुक्त हुन सक्छ र?
यो यथास्थितिवादी मानिसकताको उपज शिवाय के हुन सक्छ र? सामान्य मानिसहरू मात्रै होइन, देशको महत्वपूर्ण पदमा बसेका सत्ता चलाउने शासकहरूमा समेत जातीयताको सवालमा कस्तो धारणा छ भन्न हेर्न शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गरेको हर्कले नै काफी हुने नै भयो।
संविधानमा कसैलाई कुनै पनि आधारमा भेदभाव गर्न नपाइने कुरा स्पष्ट लेखिएको छ। जातजाति, धर्म लिंग, पहिचान, भूगोल र भाषाको आधारमा एकले अर्कोलाई भेदभाव गर्न पाइँदैन भन्ने हो। यसको अर्थ एउटा मानवले अर्को मानवलाई अधिकतम् सम्मान गर्ने भन्ने हो। एकले अर्कोलाई सम्मान गर्ने अभ्यास गरेपछि भेदभावको कुनै शेष बाँकी रहँदैन। तर, नेपाली समाजमा विभेदका अनेक रुप छन्, जुन परिवर्तन जरुरी छ।
मान्छेको विभिन्न सपनाहरू हुन्छन्। मेरो पनि ठूलो सपना छ, ‘मानव भएर बाँच्ने’। अनि अरुले पनि मानवीय व्यवहार गरेको हेर्ने। जात, थर, धर्म, वर्ग, भाषा आधारमा दिमागमा भरिएको यो फोहोरहरू पखाल्ने। असल सोच राखी व्यवहारहरू गर्दा मन, घर, समाज र सिंगो संसार सुन्दर हुन्छ। शान्ति कायम हुन्छ। सहअस्थित्व कायम हुन्छ। र समृद्ध राष्ट्र निर्माणमा मद्दत पुग्छ। तर, हाम्रो अभ्यास कस्तो छ? आजको युवा पुस्ताले गहिरो समीक्षा गर्न जरुरी छ।
व्यवहार फेर्ने एउटै माध्यम भनेको चेतना हो। मान्छे जति नै उच्च स्थानमा पुगेपनि, जतिसुकै शैक्षिक योग्यता हासिल गरेपनि, सम्मानित र परिचित भएपनि उसको चेतनास्तरमा परिवर्तन नभएसम्म रुपान्तरण सम्भव छैन। यसको लागि समाज र मानवको व्यवहार बुझ्न र सोअनुसारको व्यवहार गर्नु जरुरी हुन्छ।
मानिसले मानिसलाई अन्य कुराले होइन, मानिस भएकै कारण सम्मान र सद्भाव राख्नुपर्छ भन्ने मेरो दृष्टिकोण समाजमा हुने यस्ता विभेदका घटना र समाचारहरू पढ्दा भने छियाछिया हुन पुग्छ। आफ्नो मात्र होइन, अरुको पीडाले पनि दुख्छ, पोल्छ।
सबै गैरदलित समुदाय र दलित समुदायभित्रै पनि बाँकी भएको विभेदलाई निरन्तरता दिनेहरुलाई अनुरोध पशुहरुलाई सँगै राख्न, खुवाउन, छुन, माया गर्न सक्ने हामी चेतनशील प्राणी केवल मान्छेलाई आफू जस्तै मान्छेको रुपमा हेर्न र व्यवहार गर्न त सिकौँ।
हरेक मान्छेले मान्छेलाई मान्छेको रुपमा मात्रै हेरौँ। मानवको रुपमा व्यवहार गरौँ। मानव भएर बाचौँ र बाच्न दिउँ। त्यसपछिको संसार साँच्चै सुन्दर हुनेछ।