कल्पना गर्नुस् त यदि भीमसेन थापाले त्यो बेलमा धरहराको निर्माण नगरेको भए, अझै त्यो समयमा पशुपतिनाथ, स्वयम्बुनाथ, बौद्धनाथको मन्दिर गुम्बाहरू नबनेको भए के हुन्थो होला? हाम्रो आरध्यदेव पशुपतिनाथकोलाई हामीले पुज्ने तरिका, भगवान गौतम बुद्धलाई नेपालमा नै जन्मिएको भनेर प्रमाणित गर्ने तरिका के हुन्थो होला?
केही समय अगाडि तनहुँको सदरमुकाम दमौलीमा भगवान वेद व्यासको १ सय ८ फिट अग्लो मूर्ति स्थापना निर्माणको सम्झौता भएको विषयले निकै चर्चा पायो। चर्चाको प्रमुख विषय थियो- दमौलीमा किन चाहियो १ सय ८ फिटको व्यासको मूर्ति? मूर्ति बनाउने पैसाले दमौली क्षेत्रमा कतिवटा विद्यालय बन्न सक्छन्? कोभिडको यो महामारीमा कतिको सुविधा सम्पन्न अस्पताल बन्न सक्छन्? कति किलोमिटर बाटो पिच गर्न सकिन्छ? यो अनावश्यक छ? यी र यस्तै तर्कहरूले समाजिक सञ्जाल भरिएको थियो।
तनहुँको सदरमुकाम दमौलीबाट दक्षिणतर्फ मादी र सेती नदीको संगमस्थलको किनारमा बन्न लागको १ सय ८ फिटको मूर्तिको डिपिआर बन्ने काम सम्पन्न भइसकेको छ भने पहिलो चरणको मूर्ति निर्माणको निम्ति ठेक्का सम्झौता समेत भएर काम सुरू हुने तयारीमा रहेको छ।
विशेष गरेर तनहुँबासी लामो समयदेखिको इच्छा-चाहना पूरा हुने चरणमा रहेको छ। स्रोत जुटाउनका निम्ति दुई पटक महायज्ञ समेत लगाएर लगानी जुटाउने काममा तन, मन र धनले सहयोग गरेका तनहुँबासीका निम्ति समाजिक सञ्चालमा आएका यस्ता प्रकारका प्रतिक्रियाले केही निराश भने पक्कै बनाएको छ।
भगवान वेद व्यासको मूर्ति निर्माणलाई अनावश्यक भन्दै आलोचना गर्ने समूहलाई तनहुँबासीको भावना बुझ्न जरुरी छ। विशेषत: भगवान वेद व्यासको जन्मस्थलको विषयमा छिमेकी मुलुक भारतको आफ्नो खालको दाबी पेश गरिरहेको अवस्था जसरी बुद्ध नेपालमा नै जन्मिएका हुन् भनेर प्रमाणित गर्ने राज्य सयन्त्र लाग्यो। भगवान रामको जन्म नेपालको चितवनको ठोरीमा भएकोहो भनेर प्रमाणित गर्ने प्रधानमन्त्री स्वयम् लागिरहुन भएको छ। त्यसरी भगवान वेद व्यास नेपालमा जन्मिएका हुने भन्ने यथेष्ट प्रमाणहरू हुदा समेत राज्यको चासो नपुगेको बेला तनहुँबासीले विशाल मूर्तिमार्फत यहीँ जन्मिएका हुन् भन्ने सन्देश विश्वमा दिन खोजिरहेका छन्।
छिमेकी देश भारतको गुजरातमा हालसालै एक नदी किनारमा भारतका प्रथम गृहमन्त्री लौह पुरुष सरदार बल्लभभाई पटेलको मूर्ति निर्माण गर्यो। जसलाई विश्वका उत्कृष्ट पाँच मूर्तिहरूमध्येको एक भनेर दाबी गरिएको छ। गुजरात सरकारले अहिलको त्यसलाई प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्दै वार्षिक लाखौं पर्यटक भित्र्याउँदै आएको छ।
यस्तै, अमेरिकाको स्टाच्यु अफ लिवर्टी होस् या फ्रान्सको पेरिसमा रहेको आइफिल टावर अथवा युएईको दुबईमा रहेको बुर्जखलिफा अहिलो विश्व पर्यटककको आर्कषणको केन्द्र बिन्दु बन्दै आएका छन्।
झण्डै ७२ करोड रुपैयाँ लगानीमा बन्न लागेको भगवान वेदव्यासको मूर्तिले विशेषत: यस क्षेत्रको धार्मिक पर्यटनलाई बढाउँदै समग्र तनहुँबासीको आर्यआजनमा महत्वपूर्ण भूमिका खेल्ने छ। हिन्दु धर्मावालम्बीहरूको आस्थाको केन्द्रका रुपमा विकास गर्दै पोखरासम्म आएका भारतीय पर्यटकहरूलाई यहाँसम्म ल्याउने काम समेत यसले गर्ने छ।
पृथ्वी राजमार्गसँग जोडिएको दमौली बजारमा अवस्थित यो मूर्तिले काठमाडौंको पशुपतिनाथ हुँदै मुस्ताङको मुक्तिनाथ र देवघाटको पवित्रधामलाई एक-आपसमा जोड्ने काम पनि पक्कै गर्ने छ।
केही समय अगाडि मर्यादा पुरुषोत्तम भगवान राम चितवनको ठोरीमा जन्मिएको भन्दै प्रधानमन्त्री स्वयमले त्यहाँ विशाल राम मन्दिर स्थापनाको निम्ति पहल गरिरनुभएको अवस्थामा तनहुँबासी हामी आफैं भगवान वेदव्यास तनहुँमा नै जन्मिनु भएको यथेष्ठ प्रमाणहरू हुँदाहुदै राज्यले उपेक्षा गरेको महसुस गरेर स्व:स्फूर्त रुपमा दुई पटकसम्म महायज्ञ लगाएर केही रकम दान स्वरुप प्राप्त गरी मूर्ति निर्माण अभियानमा लागेका हुन्।
भगवना वेदव्यासको मूर्ति निर्माण कार्य कुनै एउटा डाँडामा बन्न लागेको भ्यू टावरसँग जोडेर यसलाई हेरिनु कुनै पनि हालतमा तर्कसंगत छैन। मानव सभ्यताको विकासलाई जोडेर हेर्ने हो भने परापूर्वकालदेखि नै यस्ता प्रकारका मूर्ति-मन्दिरहरू निर्माण हुँदै आएका छन्। यी सबै समयका माग अनुसार चल्ले प्रक्रिया हुन्।
हिन्दु धर्ममा विष्णु भगवानको २४ औं अवतारका रुपमा लिइने भगवान वेदव्यासको जन्म द्वापर युगमा हालको तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. ३ स्थित दुई ठूला नदी मादी र सेतीको संगमस्थलमा भएको हो। माता सरस्वती र पिता परासर ऋषिको खोकबाट जन्म लिनुभएको भगवान वेदव्यासले हिन्दु धर्मको ठूला किताबहरू ४ वेद र १८ पुराणको रचना गर्नुभएको थियो। हिन्दु धर्मको सबैभन्दा ठूलो ग्रन्थ हो बेद। बेदलाई नै आधार मानेर अन्य धार्मिक ग्रन्थहरु लेखिएको मान्ने गरिन्छ।
नेपालमा धार्मिक पर्यटनको सम्भावना दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा तनहुँको सदरमुकाम दमौलीमा बन्न लागेको भगवान वेदव्यसको मूर्तिले पक्कै पनि धार्मिक पर्यटनको क्षेत्रमा एक इँटा थप्ने काम गर्ने छ। यसका लागि निर्माण चरणका कामको गुणस्तरीयता र पारदर्शीताको विषयलाई हेर्ने हामी सबैको कर्तव्य समेत हो।
(उल्लेखित विषयवस्तु लेखकका निजी विचार हुन्)