गत वर्ष एक दिन घरमा एउटा चिर्कट फेला पारें। पढेपछि थाहा भयो त्यो विश्वेश्वोरप्रसाद कोइरालाले लेखेका रहेछन्। त्यहाँ लेखिएको थियो 'कवि, साहित्यकारको इमान्दारी सर्वप्रथम आफ्नोप्रति छ। आफ्नो अनुभूतिलाई कुनैपनि अवस्थामा कुनैपनि सर्तमा, धमिल्याउन नदिएर हामी साहित्यकारहरुले आफ्नो कलम चलाउनु पर्छ।'
सम्भवतः त्यो एक महान् व्यक्तिको आत्मअनुभव शब्दमा रुपान्तरित भएको वाक्यांश थियो। मैले दोहोर्याएर/तेहेर्याएर पढेँ। उनले त्यहाँ केही गल्ती गरेका रहेछन् जस्तो लाग्यो। मलाई लाग्यो किन कवि र साहित्यकार मात्रै? सबै मान्छेको पहिलो इमान्दारी ग स्वयम्प्रति होइन?
आफैँप्रति इमान्दार नभएको मानिस अरु कसको प्रति इमान्दार हुन सक्छ? भएपनि कसरी सन्तुष्ट हुन्छ? धेरै जसो विसंगती असन्तुष्टिकै कारण हुन्छन्। सबै सन्तुष्ट हुने हो भने संसारका आधाभन्दा बढी समस्या आफैँ ठेगान लाग्छन्।
विपीको त्यो वाक्यांशमा निहीत गहिरो दर्शनले गर्दा विपीको सबै पुस्तक पढ्नु पर्छ जस्तो लाग्यो। लकडाउन भएको हुनाले समय अनुकूल नै थियो। दुई महिना भित्र विपीका ६ उपन्यास, एक कथा संग्रह र उनको आत्मवृत्तान्त पढेँ।
सुम्निमा, तीन घुम्ती र उनको आत्मवृतान्त पहिल्यै पढेको हुनाले ती दोहोरिए। विपीका कृतिहरुमाथि लेखिएको कृष्ण धारावासीको समालोचना पनि पढेँ। त्यसपछि थाहा भयो विपीले भनेको स्वयमप्रतिको इमान्दारी कवि र साहित्यकारको निम्तिमात्र होइन, त्यो सबैको निम्ति भनेका रहेछन्।
विपीले उदाहरण दिँदै एक ठाउँमा भनेका छन्, एउटा सिपाहीले देशप्रेमका निम्ति आमाको स्नेहको बेकदर गर्दै शूली चढोस् वा आमाको प्रेममा देशप्रेम त्यागोस्। उसलाई कुपुत्र वा देशद्रोही भन्न मिल्दैन। आमाको ठाउँमा देश वा देशको ठाउँमा आमा रोज्दा, ऊ आफूप्रति कति इमान्दार छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।
यति पढेपछि थाहा भयो त्यो चिर्कट युवा कवि। साहित्यकारलाई सप्रेम दिएको आशीर्वचन भएको हुनाले कवि र साहित्यकार भनेर लेखेका रहेछन्। मानिसको इमान्दारी स्वयमप्रति छ भन्ने कुरा उनले सबै मानिसका निम्ति भनेका रहेछन्।
कुनै व्यक्ति आफूप्रति इमान्दार भएर कुनै कार्य गर्छ भने, ऊ त्यो कार्यप्रति पनि स्वत: इमान्दार हुन जान्छ। यदि कोही व्यक्ति आफूले गरिरहेको कार्यप्रति इमान्दार छ भने ऊ आफूप्रति पनि इमान्दार हुन्छ। किनकि आफूप्रति इमान्दार नभई गरेको कार्यप्रति इमान्दार हुन सकिँदैन। त्यसैले हरेक कर्ता आफ्नो कार्यप्रति इमान्दार हुनु पर्छ।
कार्यको इमान्दारिता बारे धेरैले चर्चा गरेका छन्। विशेषगरी दार्शनिकहरुले कार्यलाई साध्य र साधन गरी दुई भिन्न रुपमा व्याख्या गरेका छन्। कान्टको जस्टिसको अप्रोचबाट हेर्दा, कर्ता कार्यकै निम्ति इमान्दार हुनु पर्छ न कि कार्यको उदेश्यको निम्ति।
मैले बुझेअनुसार कृष्णले गीतामा कुरा गरेको कर्मको सार पनि यस्तै छ। यही कुरालाई समातेर विपीले भनेका छन्- ठूलो हुनुपट्टि नलाग्नू, असल हुनपट्टि लाग्नू।
असल हुनु भनेको ठूलो हुने उदेश्यको निम्ति होइन, असल हुनु भनेको असल हुनकै निम्ति हो भन्ने भाव यस वाक्यमा रहेको छ। यो कुरा सुन्दा साधारण सुनिएता पनि यसको दर्शन असाधारण छ। त्यसको बोध भएरै उनले सत्तालाई कहिल्यै साधन मानेनन्।
धेरैजसो राजनीतिज्ञहरु सत्तालाई साधनको रुपमा बुज्ने गर्छन्। उनीहरु सत्तालाई साधन मानेर, निश्चित उदेश्यको लागि प्रयोग गर्छु भनेर, कार्यको साटो कार्यको उद्देश्यप्रति केन्द्रित हुन्छन्। धेरैलाई लाग्छ सत्तामा नआई जनताको लागि केही गर्न सकिँदैन।
यही कुरामा टेकेर पार्टी-पार्टीबीच र पार्टीहरु भित्र जस्तोसुकै सत्ताको खेललाई अनुमोदन गर्छन्। यसैबीच उनीहरु ठूलो गर्ने (उद्देश्य) चक्करमा असल बन्न छाड्दै जान्छन्।
यसरी राजनीतिप्रति इमान्दार नबनेर आफ्नो राजनीतिको उदेश्य प्रति इमान्दार बन्न खोज्दा राजनीतिज्ञहरुको सत चरित्र धुमिल हुदैँ गएका उदाहरण थुप्रै छन्। ती व्यक्तिहरु स्वयमप्रति पनि इमान्दार हुँदैनन्।
विपीले स्वयमप्रति इमान्दार हुनु भनेर घुमाउरो पारामा आफ्नो कार्यप्रति निसर्त इमान्दार हुनु भनेका हुन्। यो कुरा उनका अनुयायीहरुले बुझ्न जरुरी छ।
विपीले कतै भनेका छन् 'मानिसको आचरण असल/खराब, त्यसका उपर न्यायकर्ताको आसनमा कोही पराई बस्न पाउँदैन। तिमी केही रोज्दा आफ्नाप्रति कति इमान्दार थियौ, त्यो महत्वपूर्ण हुन्छ।'
तर कसैले यही तर्कको आधारमा पदीय इमान्दारितालाई पन्छाउँदै व्यक्तिगत इमान्दारिताको गैर जिम्मेवार तर्क अगाडि सार्छ भने त्यसलाई के भन्ने? के त्यो तर्क तेर्स्याएर पन्छिन मिल्छ? अँह मिल्दैन।
कोही व्यक्ति कुनै पदमा आसिन हुन्छ भने, उस्को पहिलो इमान्दारी त्यस पदप्रति हुन्छ। पदीय इमान्दारीलाई धुमिल बनाउन कसैले व्यक्तिगत इमान्दारी अगाडि तेर्स्याउन मिल्दैन। कोही व्यक्ति कुनै पदमा आसिन हुन्छ भने, आफू किन सो पदमा आसिन छु भन्ने कुराको प्रष्ट हुनु नै आफूप्रति इमान्दार हुनु हो।
त्यसरी पदीय इमान्दारीलाई ग्रहण गर्दै पदमा बस्नेले पदीय जिम्मेवारी पूरा गर्न नसक्नु भनेको आफू प्रतिको इमान्दारिता गुमाउनु पनि हो।
विपीले आफूभन्दा अरुप्रति बढी इमान्दार बनाउने त्रासबाट सृजित दास मनोविज्ञान बारे दोषी चस्मा कथा लेखे। आज उनकै पार्टीमा हेर्ने हो भने त्यस्ता दास मनोविज्ञानका शिकार भएका थुप्रै भेटिन्छन्। फरक यति छ कि, जर्साबको ठाउँमा पार्टीका टाउकेहरु छन्।
केशवराजको ठाउँमा ‘ती टाउकेहरुको चाकडी गरे विभिन्न नियुक्ती र अनैतिक लाभ पाइन्छ भन्नेहरु छन्। उनीहरुलाई लाग्छ, यदि ती टाउकेहरु रिसानी भएमा उनीहरुको दानापानी रोकिन्छ। आफूभन्दा बढी पार्टीका टाउकेहरुप्रति इमान्दार हुनेहरुले आफूलाई विपीको अनुयायी हुँ भन्नु एक भद्दा मजाकमात्र हो।
अन्त्यमा, विपीको एक छोटो उपन्यास 'मोदिआइन'को वाक्यबाट टुंग्याउन चाहन्छु। स्वर्गको कुनै थलामा भोकाएको ईश्वर बसिरहेका छन्। उनको क्षुधा अझै निवारण भएको छैन। सायद उनकै एक चेलो ती भोकाएका ईश्वर हुन्, उनी बालुवाटारमा बसिरहेका छन्, र उनको क्षुधा अझै निवारण भएको छैन।