म त मान्छे हुँ क्यार मान्छेकै व्यवहार गर्छु
ओहो कस्तो सारो अन्याय आफैं मुर्छित पर्छु
युगदेखि अहिलेसम्म कति हो कति
विभेद फेरि गर्छ भने राम्रो हुने छैन गति
आएको छ नयाँ पुस्ता नयाँ सोच फरक नै छ विचार
चाहन्छ सबै असमानता हटाउन फेरि उसलाई नलतार
म एक गाउँबाट आएको युवा विद्यार्थी हुँ। स्नातक पढिरहेको छु। महामारी त बेहोरिरहेकै छु। यसको प्रभावस्वरूप लामो समयदेखि हुन नसकेको परीक्षाको समस्या पनि भोग्दै छु।
तर पछिल्लो सामाजिक परिदृष्य हेर्दा सबैले एकपटक आफैंले आफैंलाई प्रश्न गर्नुपर्ने र उत्तर खोज्नुपर्ने बेला आएको छ। काठमाडौंमा जातकै कारण कोठा नपाइने समस्या पनि देखिएको छ।
रुपा सुनार कोठा खोज्न जाने क्रममा विभेदमा परिन्। उनले खुलेर म कामीकी छोरी हुँ भन्दा घरबेटीले विभेद गर्दै आमाको कुरा ल्याएर फसाद भएको कुरा गरिन्। उनीहरूको कुराकानी निकै चर्चित भयो। विभेद कसरी हुँदो रहेछ भन्ने विषय सबैले हेर्न बुझ्न पाए नजिकबाट नियाल्न पाए।
यो घटना बबरमहलको हो। कालीकोट, दैलेख, अछाम वा डोटी जस्तो दुर्गमको होइन, काठमाडौंको हो। केन्द्रीय राजधानीमा रूपाले आफू विभेदमा परेको महशुस गर्नुपर्यो, निकै नमिठो र अपत्यारिलो तरिकाले। त्यसैले उनी न्यायका लागि सम्बन्धित निकायमा गइन्। तर उनको विषयलाई अति सामान्य लिइयो। सुरूमा त पत्याइएन। अडियो क्लिप सुनाइएपछि बल्ल मुद्दा दर्ता गरियो।
विषय खासमा यति नै थियो कि जस्तो लाग्छ। तर कानुनी प्रक्रियामा अघि बढ्ने क्रममा अनेक घुम्ती देखिए। विभेद भयो कि भएन भनेर प्रहरीले छानबिन गरिरहेको समाचार आएको थियो। विडम्बना, यसबीचमा यही विभेदका विषयमा अनेक प्रतिक्रिया आए। कतिपय त विभेद छोप्ने र बढाउने खालका विचार पनि बाहिर आए। त्यसले हामी कतिपय युवा पिँढीलाई समेत बेचैन गराइदियो।
यतिखेर यस्ता तीतामीठा कुराको हुरी चलिरहेको छ। यसलाई कसरी बुझिन्छ र ग्रहण गरिन्छ, त्यसले समाजमा कति फरक पार्छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ जस्तो लाग्छ। नयाँ पुस्ताको विचार वास्तवमै कस्तो छ, कस्तो हुनुपर्ने हो भन्ने विषयले पनि त्यत्तिकै महत्व राख्छ। यो विभेद भन्ने विषय के हो, कसले, किन गर्छ, कहाँबाट सुरू भयो र यसले के-कस्तो अवस्था सिर्जना गर्यो विषय छर्लंगै छ।
फरक के देखियो भने, सधैं हामी यो विभेदको विषयमा खुलेर बोल्नै नचाहेजस्तो र भित्रभित्रै लुकाएर भाग्न खोजेजस्तो थियौं। विभेद भएको कुरा सुनिदिने, बुझिदिने र त्यसको महशुस गरिदिने कोही छैन कि जस्तो थियो। विभेदको पीडा पीडित व्यक्तिलाई कति महशुस हुन्छ होला? हामी एउटा मानिस भएर जब सोच्छौं, तब मात्रै यसको अनुमान गर्न सक्छौं।
तर आज विभेद गर्नेलाई च्याप्पै समाउने या एकछिन रोकिएर विभेदलाई 'तँ को होस्' भनेर सोधखोज गर्ने र ठीक कि गलत भनेर सबैको माझ एक आपसमा कुरा गर्ने छलफलको विषयसम्म भएको छ। म एक युवाको नाताले यसलाई सकारात्मक रूपमा लिन्छु।
एउटा प्रश्न भने बाँकी छ। कानुनी प्रक्रियामा अगाडि बढिसकेको मुद्दालाई सरकारकै बहालवाला मन्त्रीले कानुन हातमा लिन मिल्छ? सराज्यको स्रोत साधन र शक्ति दुरुपयोग गदै विधिविधानको धज्जी उडाउन मिल्छ? त्यसले विभेद घटाउँछ कि बढाउँछ? त्यसले अरूको मानवीय संवेदना र आत्मसम्मानमाथि झन् चोट पुर्याउँदैन? यस्तो बन्चरो प्रहार विभेद चिर्न हान्ने कि भोट बढाउन हान्ने वा आफ्नै खुट्टामा हान्ने?
उनको अमर्यादित, अलोकतान्त्रिक र असुहाउँदो कदमप्रति भएको विरोधले प्रष्ट्याएको छ- शिक्षामन्त्रीको कदम उचित छैन। उनले विभेदमाथि पनि विभेदको उदाहरण प्रस्तुत गरिदिए। विभेदका मुद्दामा राज्यले न्यायलाई साथ दिनुपर्ने हो। तर उनले उल्टो गरे।
पछिल्लो समयमा जातीय विभेदको विषयले क्लबहाउसजस्ता सामाजिक चौतारीमा बहस भएको छ। यसले थुप्रै युवामाझ बहस गर्दै सकारात्मक छलफलको वातावरण बनाएको छ। विभेदप्रति एकअर्काको विचार कस्तो छ त भन्ने कुराको आदानप्रदान भएको छ। तर कतिपयले भ्रामक र संकीर्ण सोच पनि राखेको पाइन्छ। युवाहरूले त्यसको विरोध गरेको पनि देखिन्छ। यसरी समाज अघि बढ्दै छ।
आफ्नो विचार राख्ने-सुनाउनेमा कतिपयमा भ्रम र अज्ञानता अझै पनि देखिएको छ। यस्ता कुरा प्रस्तुत हुनु कुनै ठुलो कुरा होइन। तर यथार्थ के भने, त्यसको तहसम्म त पुग्नुपर्छ नै। विभेद कसैले कसैलाई गर्छ भने विरोध त हुन्छ नै। त्यस्तो विभेद गर्ने र गर्नेलाई समर्थन गर्नु आफैंमा आपत्तिजनक छ। उनीहरूले आफैंमाथि पनि प्रश्न गर्नुपर्ने भएको छ।
कतिपयले उत्पीडित समुदाय नेवार र दलितबीच भिडन्त हुन्छ कि भन्ने भ्रम फैलाएको पनि पाइयो। यसमा दुई समुदाय जोडेर अनेकथरि कुरा गर्नुको अर्थ छैन। विभेदको मानसिकता बोकेका व्यक्ति जुनसुकै समुदायबाट पनि हुन सक्छ। कुनै व्यक्तिले विभेद गर्दैमा समुदायले विभेद गरेको ठहरिँदैन।
कोठा र कोटालाई जोडेर कुतर्क गर्ने मानिस पनि देखिए। कोटा जातका लागि भन्दा पनि समानुपातिक र समावेशीताका लागि दिइएको हो। सबै समुदाय प्रतिनिधित्व गर्न सकियोस् भनेर आरक्षण वा कोटा व्यवस्था गरिएको हो।
ठूलो कुरा अरू केही होइन, विभेद अन्त्य हुनुपर्छ भन्ने मात्रै हो। हामीले अरू कसैको कुरा गरेको होइन, मानवबीच समानता खोजेको हो।