केही समयअघि सेतोपाटीमा मैले आफू यौनहिंसाको सिकार हुँदाका दुइटा प्रसंग साटेकी थिएँ, मैले भोगेका ‘डार्केस्ट सिक्रेट्स’।
आर्टिकल छापिएको केही समयपछि सेतोपाटीमार्फत् नै प्लस-टुदेखि सँगै पढ्दाको मेरो अत्यन्त मिल्ने साथी यादवप्रसाद कँडेलले हामी बदलिने छौं, अर्को आर्टिकलमार्फत् जुन प्रतिबद्धता व्यक्त गर्नुभयो, म जिउँदो छँदै त्यो प्रतिबद्धता कार्यान्वयन भएको अनुभूत गर्न पाउनेछु भन्ने विश्वास लिएकी छु।
मेरो अनुभव पढेर धेरैले धेरै प्रकारका प्रतिक्रिया दिनुभयो, तीमध्ये एउटा कुरा चाहिँ मेरो मगजले पचाउनै सकेन। तिम्रो भोगाइ पढेर साह्रै दुःख लाग्यो तर यो प्रायः नेपाली महिलाहरूले भोग्ने आम कथा हो, मन सानो नगर्नू, तिनलाई माफ गर्नू।
हो, यो आम कथा हो, यो आम मुद्दा हो, समय, परिस्थिति, पात्र र स्वरूप फरक भए पनि युगौंदेखि निरन्तर दोहोरिरहेको श्रृंखला हो। त्यही भएर नै अबका दिनमा यसलाई आम बन्न दिनुहुँदैन र यस विषयमा छलफल गर्न जरूरी छ भन्ने मेरो बुझाइ हो।
फेरि जसले अन्याय गरे, तिनले मसित कहिल्यै माफी मागेनन्, तिनले आफ्नो गल्तीको महसुस गरे कि नाइँ त्यो पनि जान्दिनँ र मुख्य कुरा मैले कसैको सहानुभूति वा दयाका निम्ति आफ्नो सबभन्दा निजी कुरा सार्वजनिक गरेकी होइन।
म अहिले २८ वर्षकी भएँ। रेडियो, टेलिभिजन तथा पत्रिकामार्फत् सक्रिय कलम चलाएको ठ्याक्कै १४ वर्ष भयो। तर, आफू ७/८ वर्ष छँदा लुकामारी खेल्दा छिमेकी दाईले दुर्व्यवहार गरेको कुरा भन्न मलाई ठ्याक्कै २०/२१ वर्ष लाग्यो।
सुरू- सुरूमा त ममाथि कसैले गलत गर्यो, यो कुरा सामान्य होइन र मैले प्रतिकार गरें भने गाली वा कुटाइ खान्न भन्ने बुझ्न मेरो बालमस्तिष्कले धेरै कसरत गर्नुपर्यो। त्यसमाथि हरेक क्षण गरिब भएकै कारण अझ त्यसमाथि केटी भएकै कारण अनि आमाविहीन भएकै कारण सहनुपर्ने अपहेलनाले यति बिघ्न पेल्यो कि मैले आफ्नो कुरा भन्ने आँट नै गर्न सकिनँ।
जति ठूली हुँदै गएँ मेरा डायरीमा यस्ता हिंसाका घटना दिनभर पिउने पानी जत्तिकै भरिन थाले अनि थपिन थाल्यो मानसिक यातनाको शिलशिला पनि। मैले भनें नि म आजसम्म पनि सुत्नेबेला आधा रातमा तर्सेर उठ्ने गर्छु, दिउँसो, मलाई एकदमै उज्यालो ठाउँमा बस्न मनपर्दैन, कसैले घुर्ने हो कि भनेर।
अनि राति, पूरै अँध्यारो पारेर बत्ती निभाएर सुत्न सक्दिनँ, खतराको महसुस भइरहन्छ। झट्टै कसैलाई साथी बनाउन सक्दिनँ, नयाँ मान्छेसँग खुल्न सक्दिनँ।
मान्छेहरूको हुलमुलमा उकुसमुकुस हुन्छ। मलाई बरू मृत्युदेखि आजसम्म डर लागेको छैन तर मान्छेसँग नजानिँदो पाराले डर लागिरहन्छ।
मेरी साइँली दिदीको बिहेपछि मानसिक रूपमा कत्ति सकस भयो म शब्दमा पोख्न सक्दिनँ, कारण पहिले म उहाँको हात समाएर सुत्थें, सँगै दिदी भएपछि सुरक्षित छु भन्ने आभास हुँदो रहेछ। उहाँको घरजमपछि आफू एक्लै सुत्नुपर्ने भयो, सुरक्षा दिने हात छुट्यो, तर्सिँदा थम्थमाउने साथ छुट्यो।
हिंसा गर्नेले गरे, तिनको विकृत मानसिकता अझ भनौं पुरूष सर्वेसर्वा भन्ने रवैयालाई क्षणिक आनन्द भयो, समय बित्यो, कुरा सकियो तर मेरो दैनिकी त आज पनि पीडित छ नि, हैन र !
आजभोलि गज्जबको ट्रेन्ड के छ भने ‘यत्तिका वर्षपछि किन भनेको, पक्कै केही न केही जालझेल छ यस पछाडि, सेटिङ मिलेन होला। साँच्चै हो भने पहिले नै भन्नुपर्थ्यो।’ तपाईं वा तपाईंका आफ्ना हिंसामा नपरेसम्म तपाईंले बुझ्नु हुन्न!
दैनिक जीवन हलिवुड मूभि हेरेजस्तो हुँदैन। भन्न पनि कुन-कुन चाहिँ भन्ने, क–कसलाई भन्ने, के–के मात्र भन्ने ?
म स्कुलमा कक्षा ५ मा पढ्दै गर्दा ढल्कोस्थित संघाराम विहारमा कक्षा १ को विद्यार्थी थिएँ। हामी बुद्धका बारे पढ्थ्यौं, परियत्ति शिक्षाअन्तर्गत। मलाई विहार जान असाध्यै रमाइलो लाग्थ्यो। हरेक शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म हुने कक्षामा मनभरि खेल्न, कुद्न, हाँस्न पाइन्थ्यो। पेटभरि मिठा पकवान खान पाइन्थ्यो। अनि कक्षामा ज्ञानी भएबापत् चकलेट, बिस्कुट, कपी केही न केही पुरस्कार कमाइन्थ्यो। विशेषगरी मलाई ठूलो हलमा सबै उमेर समूहका सबै जना सँगै पलेँटी मारेर बस्न, भजन गाउन र पञ्चशील पाठ गर्न खुब मज्जा लाग्थ्यो।
त्यतिबेला म पनि अरू जत्तिकै महत्वपूर्ण, अरू जत्तिकै समान रहेछु भन्ने लाग्थ्यो। लगातार कक्षा १, २, ३ र ४ मा बोर्ड फर्स्ट, बोर्ड सेकेण्ड हुँदा म नि केही रहेछु भन्ने लागेको थियो।
म, मेरी दिदी बिनिता, साथी रविना र सिर्जना सँगै विहार जाने आउने गर्थ्यौं। एकदिन म एक्लै विहार जानुपर्ने भयो, बाँकी सबै व्यस्त थिए। क्षेत्रपाटी हुँदै विहारतिर लम्किँदै थिएँ। मलाई कसैले पछ्याइरहेको महसुस भयो। म हतारहतार विहारतिर कुदें।
विहारबाट घर फर्केर आउँदा पनि मलाई त्यस्तै भान भयो, मेरा निधार पसिनाले छोपिसकेको थियो, मुटु जोडजोडले कामिरहेको थियो।
क्षेत्रपाटीनेर पुग्दा मैले ठ्याक्कै रोकिएर पछाडि मात्र के फर्केको थिएँ, एक ४०/४५ वर्षे पुरूषले मेरो हुँदै नभएको छातीमा समायो। त्यो राक्षस मेरो हुँदै नभएको स्तन निमोट्न खोज्दै थियो। त्यसलाई पैंतलादेखिको ऊर्जा संचय गरेर जोडले ढकेलेँ र दायाँबायाँ नहेरी कुलेलाम ठोकेँ। फेरि पछाडि फर्केर हेर्ने हिम्मत नै भएन, त्यसले मेरो घर थाहा नपाओस् भनेर म पूरै कुद्दै असन घुमेर बल्ल घर छिरेको थिएँ। त्यसपछि मेरा दिदी अथवा साथी नभई त्यो बाटो भएर आऊजाऊ गर्न बन्द गरेँ।
म सकेसम्म उनीहरूलाई पनि लामो घुमाउरो बाटो भएर विहार लान्थें। साथै, एक्लै विहार जानुपर्ने भयो भने केही न केही बहानाबाजी गर्ने भएँ।
अर्को घटना।
त्यतिबेला भर्खरै प्लस टु सकेर म मैत्री एफ्.एम्. ९९.४ मेगाहर्जमा गुडमर्निङ काठमाडौं, अफिस आवर, हार्टबिट लगायतका कार्यक्रम सञ्चालन गर्थें।
शनिबारबाहेक बिहान ८ देखि ९ बजेसम्म हरेक दिन गुडमर्निङ काठमाडौं कार्यक्रम त्यसपछि समाचार अनि त्यसपछि अफिस आवर कार्यक्रमको पालो हुन्थ्यो।
समाचार र कार्यक्रम दुबै शाखाको जिम्मेवारी हुँदा कहिलेकाहीँ कार्यक्रम, समाचार, कार्यक्रम लगातार मेरै पालो हुन्थ्यो। ५ वर्ष ५ महिनाको कार्यावधिमा मैले धेरै नौला कुरा सिक्ने मौका पाएँ, आफ्नो प्रतिभालाई निखार्न तिखार्न सकें।
कार्यस्थलमा घरजस्तो सहृदयी वातावरण, हरेक पाइलामा स्टेसन म्यानेजर नरोत्तम मानन्धर दाइ, कार्यक्रम शाखा प्रमुख केशवजंग पाण्डे दाइ, समाचार प्रमुख रामशरण सरपछि बबिन शर्मा दाइ, गोविन्द रोक्का सरको हौसला र रेडियोप्रतिको मेरो विशेष मोहले पेशागत दृष्टिकोणले ती दिन सुनौला थिए।
गोविन्द रोक्का सरले त डेढ वर्ष अघि भेट हुँदा पनि रोजिताको कार्यक्रम स्रोताले अत्यधिक रुचाएको मात्र होइन समाजले सुन्नैपर्ने कार्यक्रम हो, त्यो कार्यक्रम चाहिँ निरन्तर गर्न पाए हुन्थ्यो, रोजिताले समय मिलाए, खबर गर्नु है भन्नुभएको थियो। यत्ति राम्रो वातावरणबीच एक यस्ता व्यक्तिको पनि उपस्थिति थियो, जो बाघको छाला ओढेका ब्वाँसो थिए।
हुनतः मलाई सुरूका दिनदेखि नै उनको व्यक्तित्व र महिला सहकर्मीलाई गर्ने व्यवहार पटक्कै मन पर्थेन। जब म गुडमर्निङ काठमाडौं सकेर स्टुडियो बाहिर निस्कन्थें, उनी र एक महिला सहकर्मी समाचार प्रसारणार्थ क्यूमा हुन्थे। म देख्थें कि नेपालको एक नामुद दैनिकमा पनि कार्यरत ती वरिष्ठ पत्रकार भनाउँदाले आफ्ना महिला सहकर्मीको हात समाउने, जीउमा अप्राकृतिक रूपमा छुने, ती दिदीको असहजता म महसुस गर्थें।
ती दिदी सधैं हाँसेर उनले त्यस व्यक्तिबाट उम्किन वा हात हटाउन खोज्थिन्। एक दिन होइन, दुई दिन होइन हरेक दिन जस्तो त्यस ब्वाँसोले ती दिदीलाई निरन्तर सताइरहे।
एकदिन मैले स्टेसन म्यानेजर नरोत्तम दाइलाई सोधें पनि ती वरिष्ठको रवैया निकृष्ट थियो, कसैले कम्प्लेन किन नगरेका भनेर ! तर वरिष्ठ पत्रकारको ट्याग भिरेकै कारण सामान्य शिष्टाचारबाहेक अरू कुनै कारबाही भएन बरू ती दिदीले जागिर छाडिन्।
पछि एफ्.एम्. कलंकीबाट कमलादी सर्यो, नयाँ प्रशासन, नयाँ सहकर्मी, नयाँ ऊर्जा, नयाँ वातावरण।
मैले पनि नेपाल टेलिभिजनमा आजको विज्ञान कार्यक्रम सञ्चालन गर्न थालें, गुड मर्निङ काठमाडौं र अफिस आवर चाहिँ निरन्तर चलिरहेकै थियो। तर ती वरिष्ठ र त्यसको रवैया भने पुरानै रहेछ।
एकदिन त्यसले गुडमर्निङ भन्दै हात मिलाउन आए, मैले पनि हात मिलाएँ, त्यसपछि त्यसले दुवै हातले मेरा हात समाउँदै मेरै कार्यक्रमको तारिफ गर्न थाले र थाहा नपाएको जस्तो गरी हत्केलामा कोट्याउन थाले।
हत्केलामा औंलाले त्यसरी कोट्याउनुको अर्थ म जान्दिनँ थिएँ तर मलाई त्यो ठिक लागेन र मैले एकदम सालिन ढंगले हाँस्दै भनें, ‘सरले मेरो हात छोड्नुभएन, तपाईंको समाचार वाचनपछि मेरै कार्यक्रम हो, लाइभमा यो कुरा दर्शकलाई सुनाउँदा कसो होला ?’ त्यसपछि ती व्यक्ति मेरोसामु नै परेनन्।
चाहे टेलिभिजन होस् वा रेडियो वा रंगमञ्च वा चलचित्र, हरेक क्षेत्रमा कामका दौरान मैले केही यस्ता व्यक्तिहरू भेटें जो वरिष्ठ वा सिनियर भन्दै अन्य महिला सहकर्मीलाई अप्राकृतिक रूपमा छुने वा कमेन्ट पास गर्ने वा मायाका नाममा पिछा गरी गरी आतंकित गर्ने अझ त्यस्तो छुवाइ, कमेन्ट वा आतंकलाई सामान्य रूपले लिनुपर्ने ज्ञान बाँड्दै हिँड्ने गर्थे।
आतंकको कुरा गर्दा यहाँ मेरो जीवनको २० मिनेटको भयानक आतंकका बारे पनि मैले भन्नै पर्छ।
भर्खरै चारुमती नाटकमार्फत् मैले रंगमञ्चमा प्रवेश गरेकी थिएँ, म रंगकलाको अध्ययनार्थ थिएटर भिलजमा आबद्ध थिएँ। त्यस दिन थिएटर भिलेजमा कविता संग्रह विमोचन कार्यक्रम थियो।
म पत्रकारसँगै स्टेज कार्यक्रम पनि राम्रो सञ्चालन गर्ने भएकाले उद्घोषणको जिम्मा मैले नै पाएको थिएँ।
कार्यक्रम राम्रो भयो, मेरो उद्घोषण कलाको पनि मुक्तकण्ठले प्रशंसा भयो, सबै काम सकिँदा लगभग रातिको ८ बजेको थियो। मैले निलो सेतो चुरिदार कुर्था र हिल जुत्ता लगाएको थिएँ, हल्का गाजल र ओठमा लिपग्लस अनि कानमा कालो टल्किने झुम्का लगाएको थिएँ। रातिको समय भएको हुँदा लैनचोरदेखि असनसम्म हिँड्नुभन्दा ट्याक्सीमा जानु उपयुक्त सोचें।
नभन्दै एउटा ट्याक्सी भेटाएँ। हतारहतार ड्राइभरसँगैको अगाडिको सिटमा बसें, ठमेल हुँदै थहिंटी जान भनेँ। ड्राइभरले ४०० रूपैयाँ भन्यो मैले ३०० रूपैयाँ दिन्छु भनें। कान्तिपथबाट ठमेलतिर मोड्नुपर्नेमा त्यस ड्राइभरले नारायणहिटीपथतर्फ ट्याक्सी कुदायो र भन्यो, ‘सरी म्याम, म एकोहोरिएछु’।
त्यतिन्जेल त सबै सामान्य नै लाग्यो, मान्छे हो कहिलेकाहीँ त्यस्तो हुन्छ भनेर केही बोलिनँ। जब ट्याक्सी रत्नपार्कबाट पनि भोटाहिटीतिर मोडिएन, सिधै भद्रकालीतर्फ लम्कियो, मनमा चिसो पस्यो। जानी जानी ट्याक्सी बिस्तारै कुदाए जस्तो नि लाग्यो। अनि बिना प्रसंग मेरो घर, परिवार, कामका कुरा सोध्न थाल्यो।
केही जवाफ दिइनँ, अब चाहिंँ बीचमै झर्नुपर्छ भन्ने भयो।
केही बेरपछि त्यस ड्राइभरले मलाई घुरेर हेरेजस्तो आभास भयो। गियरस्टिक चलाएको जस्तो गरी आफ्नो तिघ्रामा छुन खोजेको जस्तो असजिलो महसुस भयो।
मैले तुरून्तै फोनमा कसैसँग कुरा गरेको जस्तो गरें। त्यसतर्फ हेर्दै नहेरी सुन्धारामा आफ्नो दाइले पिकअप गर्ने हुँदा त्यहीँ रोक्न भनें।
भद्रकालीबाट ट्याक्सी सुन्धारातर्फ नै लम्कियो तर अचानक त्यस ड्राइभरले हस्तमैथुन पो गर्न थाल्यो। आङ सिरिंग भयो, मेरा खुट्टा काम्न थाले, डर, रिस, घृणा, तिरस्कार सबै सबै भावना बाढी ओर्ले सरी ओर्लिए, ‘म नै किन ?’ भनेर भगवानलाई सरापें र केही नसोची मैले ट्याक्सीबाट हाम फालें, गुडुल्किँदै लडें।
आफूलाई चोट लाग्यो लागेन, पछाडि अरू गाडी थिए थिएनन्, वरिपरि के थियो थिएन केही केही सोचिनँ मैले हतार-हतार हिल फुकालें र कुदेर महाबौद्धको एउटा पसलमा स्वात्त छिरें। मैले केही सोच्नै सकिनँ, म लुगलुग काँपिरहेको थिएँ। मैले एउटा पानी किनें र घटघट पिएँ।
करिब १० मिनेटपछि त्यस पसलबाट बाहिर निस्किएँ र कुद्दै घर गएँ र आफ्नो कोठामा सिरकले छोपी घ्वाँ घ्वाँ रोएँ।
दिदीहरूलाई भनौं भने थिएटर जान नै रोक लगाइदिन्थे, त्यसै त सधैं सधैं गाली गान्थें, थिएटर नजाऊ भनेर। पुलिस कम्प्लेन गरौं भने न मलाई ट्याक्सी नम्बर थाहा छ न त्यो ड्राइभरको केही जानकारी। त्यतिबेला मेरो मोबाइल पनि नोकियाको सामान्य क्यामेराविहीन मोबाइल थियो। त्यस दिनदेखि ट्याक्सी चढ्नै छोडिदिएँ।
अपरझट पर्दा ट्याक्सीको फ्रन्ट सिटमा कहिले बसिनँ, मोबाइलले सुरूमै ट्याक्सीको नम्बर प्लेटको फोटो खिच्थें। साँच्चै भन्ने हो भने मलाई ट्याम्पो बाहेकका अन्य सार्वजनिक सवारी चढ्न पटक्कै निको लाग्दैन, कारण कुनै न कुनै स्वरूपमा हुने हिंसा। पठाओ आएपछि त यो आतंकबाट मुक्ति मिलेजस्तो भा’को थियो।
पहिले-पहिले म मेरो स्तनलाई घृणा गर्थें, मलाई जीवन, पाठेघर, यौनांग, यौन के हो नै थाहा नभएको बेला। मेरो स्तन काटेर फालें भने म त्यस्ता राक्षसहरूबाट सुरक्षित हुन्छु कि भन्ने लाग्थ्यो।
कसैले मेरो आँखा, कपाल, ओठ वा अन्य केहीको प्रशंसा गरे, ती सम्पूर्ण अंगहरू झिकेर फाल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ताकि कसैको ध्यान मतिर जाँदै नजाओस्। जब साथीहरूले ‘तँ त केटा जस्तो देख्छस् यार’ भन्दा म लामो श्वास फेर्थें, मैले चाहेको त्यही हो। केटाजस्तो देखिन ताकि केटाहरूबाट बच्न सकूँ!
केटी त्यसमाथि गरिब त्यसमा पनि आमा नभएकै कारण जन्म हुनेबित्तिकै आफन्त भनाउँदाबाटै तिरस्कृत भएँ।
यदि मेरा दिदीहरूले घरभित्रै क्रान्ति सुरू नगर्नु भएको भए सायद स्कुलको ढोकासम्म कहिल्यै पुग्दिनथें, कुनै सडकको किनारामा सडिरहेको हुन्थें।
पाइला-पाइलामा थरीथरीका भोक, शोक, रोग, त्रास र अपमानसँग लड्दै-लड्दै हजार युद्ध जितेर जम्मा गरेको आत्मविश्वास क्षणभरमै त्यस्ता राक्षसले चकनाचुर पारेको देख्दा अहिले लाग्छ ती मेरा भावना, स्वतन्त्रता र मानसपटलको बलात्कार गर्ने बलात्कारीहरूको लिंग 'ससेज' जसरी चिराचिरा पारी नुन-खुर्सानी टन्नै ठुसेर मूलसडकको चौबाटामा दुवै हात र खुट्टामा किला ठोकेर प्रदर्शनीमा राखौं जहाँ तिनको अन्तिम सास रहेसम्म आऊ/जाऊ गर्ने सबैले थुक्न नि:शुल्क होस्।
मेरा निम्ति तिनका आँखा, शब्द, हात, पुरूष सर्वेसर्वा ठान्ने इगो, राक्षसी प्रवृत्ति सबै-सबै बलात्कारी हुन् र म तिनको दिर्घकालीन उपचार चाहन्छु।
अब भन्नुहोस्, यो शिलशिला कहिले टुंगिन्छ? कहिलेसम्म मेरो स्तन र मेरा शरीरका अंग उस्तै उस्तै हुन्, यसलाई अतिरञ्जित बनाउनु पर्ने केही छैन भनी बुझ्ने? कहिलेसम्म यो प्रायः नेपाली महिलाहरूले भोग्ने आम कथा हो, मन सानो नगर्नू, तिनलाई माफ गर्नु भन्ने ? कहिलेसम्म?
घर, स्कुल, कलेज, अफिस, बस, पार्क, मन्दिर, खेतबारी जहाँतहीँ हरेक मिनेट हजारौं रोजिता, हजारौं निर्मलाहरूको जिउँदो सपनालाई जिउँदै जलाइन्छ, मेटाइन्छ र भनिन्छ यस्तै हो यहाँको चलन। हामी सबै तपाईंका आफ्ना छोरीचेली हौं, हाम्रो अस्तित्व मेटिनु भनेको यो सृष्टि नै सकिनु हो।
त्यसैले, यो आम कथा हो, यो आम मुद्दा हो, समय, परिस्थिति, पात्र र स्वरूप फरक भए पनि युगौंदेखि निरन्तर दोहोरिरहेको श्रृङ्खला हो। त्यही भएर नै अबका दिनमा यसलाई आम बन्न दिनु हुँदैन, हरेक पात्र, हरेक परिवेश, हरेक घटनाका विषयवस्तु विशेष छन् र हरेक अपराधीले कठघरामा उभिनु नै पर्छ, कर्मफल भोग्नै पर्छ।
यो पनि :
मैले भोगेका ‘डार्केस्ट सिक्रेट्स’