मानिस कुन ठाउँ, कस्कोमा जन्मने उसको छनौटमा भर पर्दैन। जहाँ जन्मिन्छ, जस्कोमा जन्मिन्छ, त्यहीबाट हुर्केर क्रमशः छनौटको निर्णय गर्दै जाने हो। त्यस्तै जन्मेपछि कुन भाषा बोल्ने पनि उसको छनौटमा हुँदैन।
हुर्कँदै गएपछि क्रमशः छनौट गर्दै जाने हो। जन्मेपछि जुन भाषामा हुर्किन्छ, त्यो पहिलो भाषा नै उसको मातृभाषा ठहरिन्छ र जन्मभरि त्यसैमा गाजिन्छ।
भाषा मात्र एउटा माध्यम हो जसबाट एउटा व्यक्तिको अभिव्यक्ति अर्को व्यक्तिसम्म मूर्तरुपमा प्रसार हुन्छ। अन्य माध्यम जस्तो इसारा, भावना, मुखाकृति, महसुस आदि अमूर्त हुन्।
संसारमा धेरै भाषा छन्। सबै भाषाको आ-आफ्नै विज्ञान छ, अनि आ-आफ्नै नियम। आम मानिसले भाषामार्फत अभिव्यक्ति प्रसार गर्दा भाषाको विज्ञान र नियममा पोख्त भएर दिएको हुँदैन। त्यसमाथि दोस्रो भाषा बोल्दा थप कठिनाई हुनु, व्याकरण र अन्य नियम नमिल्नु स्वभाविक नै हो।
मानिसले आफ्नो मातृभाषालाई जन्मेदेखि नै प्राकृतिकरुमा ग्रहण गरेको हुन्छ। मातृभाषाभन्दा बाहिरको दोस्रो भाषा बाध्यात्मकरुपमा सिकेको हुन्छ। दोस्रो भाषाको सम्पूर्ण आरोह अवरोहमा आम नागरिक कमै मात्र अभ्यस्त हुन्छन्।
उदाहरणको लागि उच्च तहमा रहेका धेरैजसो पदेलेखेका नेपालीहरुलाई लिन सक्छौँ जसले बोलेको अंग्रेजी पद्य नलेखेको अंग्रेजी मातृभाषीको भन्दा त्यति राम्रो हुँदैन। यहाँ भन्न खोजेको विषय भनेको कोही मानिसको भित्री आत्मिक अभिव्यक्ति जति उसले मातृभाषा मार्फत गर्न सक्छ, त्यति बाहिरबाट सिकेको दोस्रो भाषाबाट गर्न सक्दैन।
मातृ भाषीहरुको अधिकारको लागि लड्ने स्वः पदमरत्न तुलाधरले सधैँ एउटा भाषिक विभेदको उदाहरण दिनु हुन्थ्यो 'पंचायतकालमा उहाँको आमालाई नेपाल भाषा बाहेक दोस्रो नेपाली भाषा बोल्न आउँदैन थियो। त्यसै कारण उहाँको आमाले उहाँलाई पंचायती प्रशासकहरुले जेलमा भेटन दिँदैन थिए।'
राज्यले सदियौँदेखि 'एकै भाषा' को नारा दिएर देशको विविध राष्ट्रिय भाषाहरुको उपेक्षा गरेको छ। विविध राष्ट्रिय भाषाहरुको पहिचान, मान्यता र एकआपसी सम्मानलाई नकारेको छ। यसैको नकारात्मक प्रभाव समाजमा देख्न पाइराखेका छौँ।
उदाहरणको रुपमा नेवारलाई गैर नेवारले होच्याउनु, हिस्याउनु पर्यो भने 'ज्यापु' भनेर जातीय निष्कृतता प्रकट गर्दछन्। तर 'ज्यापु' को शाब्दिक अर्थ के हो जान्न चाहँदैनन् वा जानेको हुँदैन।
'ज्यापु' को शाब्दिक अर्थ नेपालीमा भन्दा कामप्रति बलवान् व्यक्ति हुन्छ। कुनै समुदाय वा व्यक्तिलाई कामप्रति बलवान भनेर होच्याउनु कतिको अर्थपूर्ण हो, सबैले आफ्नो संकृणताप्रति समीक्षा गर्नु पर्ने देखिन्छ।
केही वर्ष पहिले एक साथीले रसुवामा भएको पोथी कुखुरा मारेको घटना सुनाउनु भएको थियो। त्यहाँ एउटा सुस्त मनस्थितिको राम्रोसित नेपाली बोल्न नजान्ने एकजना शेर्पा रहेछन्। उनको आमा केही दिनदेखि गाउँमा देखिएको थिइनन्। एक्कासी त्यस सुस्त मनस्थिति भएको व्यक्तिले 'आमा मार्यो', 'आमा मार्यो' भन्दै हिँडेछन्।
उनको आमा गाउँमा देखा नर्पनु र 'आमा मार्यो' भन्दै हिँडेपछि गाउँले झसंग भएछन्। खोजिनीति र पुलिस कारबाही अगाडि बढाउँदा थाहा भयो कि उनको आमा आफन्तकोमा गएकी रहेछिन् र कसैले उनको पोथी कुखुरा मारेको रहेछ।
यहाँ उल्लेखनीय विषय भनेको उनले 'आमा' शब्दबाट अभिव्यक्त गर्न खोजेको 'पोथी' लाई हो। तर उनमा दोस्रो भाषाको पूर्ण ज्ञान नहुँदा 'पोथी'को ठाउँमा उनले 'आमा' भन्न पुगे र अर्थको अनर्थ लाग्यो।
हाल जल्दो बल्दो घर डेराको विषयलाई भाषिक दृष्टिकोणबाट हेर्दा, राज्यको 'एकै भाषा' नीतिको कारण परेको नकारात्मक प्रभावकोरुपमा लिन सकिन्छ र अनाहक सिर्जित घटनाकोरुपमा लिन सकिन्छ।
'कामी' के हो ? अनलाइन नेपाली शब्दकोषले 'कामी' लाई 'परम्परित फलामको काम गर्दै आएको जाति' भनेर परिभाषित गरेको छ। यस हिसाबले हेर्दा नेवार समुदाय भित्र 'नकःमी' भन्ने एउटा थर छ, जसलाई एतिहासमा फलामको काम गर्ने समूहको रुपमा ब्झुन्थ्यो। नेवार समुदाय भित्र 'नकःमी' लाई पहिले पनि तल्लो स्तरमा राखिएको थिएन। अहिले त झन 'नकःमी' लाई छुवाछुत वा विभेदको हुने कुरै भएन।
आधुनिकरुपमा हेर्ने हो भने फलामको काम गर्ने सबै मेकानिकल ईन्जिनियरिङ अन्तर्गत पर्न आउँछन्। अनुमान गरौँ, के 'म कामीकी छोरी' भन्नेले 'म नकःमीको छोरी' भनेकी भए अहिलेको अवस्था सिर्जना हुन्थ्यो? पक्कै पनि हुने थिएन किनभने 'नकःमी' लाई नेवार समुदाय भित्र न कुनै विभेद छ न कुनै भेदभाव नै छ।
तसर्थ राज्यको एकल भाषा नीतिको परिणाम स्वरूप समाजिक द्वन्द्व र तनावहरु प्रकट भइरहेको छ। चाहे एकले अर्कोलाई नबुझेर होस्, चाहे एकले अर्कालाई बुझ्न नचाहेर होस्।
जसरी नेपाली मातृभाषा भएकालाई अंग्रजीमा अभिव्यक्ति दिंदा आफूले भन्न खोजेको कुरा अंग्रजीमा अन्टसन्ट हुन्छ, त्यसरी नै नेपाली मातृभाषा नभएका नेपालीलाई नेपाली भाषामा अभिव्यक्ति दिँदा भनाइ र बुझाइमा अन्टसन्ट हुन जान्छ।
'त' र 'ट' राम्रोसित उच्चारण गर्न सक्दैन भनेर लोकसेवा आयोगले अन्तर्वाताबाट कसैलाई फाल्नु पनि अन्याय र विभेद हो। 'अँ…' भन्यो भनेर कसैलाई विभेदको कानुन दुरुपयोग गरेर दुःख दिनु भनेको पनि अन्याय नै हो।
कुनै 'क' को मातृभाषा 'ख' को लागि दोस्रो भाषा हुन सक्छ। 'ख' ले 'क' को भाषामा सन्तुलित अभिव्यक्ति दिन नसकेमा 'क' ले त्यसको फाइदा लिन र दिन पाइँदैन।