कुरा २०६० सालको हो जसबेला म ११ मा पढ्दै थिएँ। पढाइमा त राम्रो होइन म तर रहर थियो है पढ्ने। त्यसैले गाउँबाट सहर लहानमा कोठा भाडामा लिएर पढ्नकै लागि हो बसेकी।
तर सबै सोचे जस्तो कहाँ हुन्थ्यो र, प्राइभेट कलेजको फी नै महँगो। घरमा ३ जना भाइ- बहिनीहरू अझै थिए पढ्ने र कमाइको स्रोत भनेको त्यही एउटा खेती। त्यसैले मैले सोचेँ, यहाँ बसेर पार्ट टाइम केही काम गर्न पाएदेखि त मलाई साह्रै नै सजिलो हुन्थ्यो।
त्यहाँ मैले चिनेको जानेको त थिएँ तर यसरी कुरा गरिहाल्ने खालका कोही पनि थिएनन्। एकदिन गाउँकै एकजना दिदीलाई भेटेँ र कुरा गरेँ। उहाँले पनि ल उसो भए हिँड् मसँग भन्नु भयो र म उहाँको पछि लागेँ।
उहाँ एउटा सहकारीमा पैसा उठाउने काम गर्नु हुँदो रहेछ। उहाँसँग मेरो भेट कस्तो बेलामा भयो भने उहाँले ठ्याक्क काम छोड्न लाग्नु भएको रहेछ। अनि भन्नु भयो- 'ल हिँड्, म तँलाई बजारमा सबैलाई चिनाइदिन्छु। मैले कहाँ-कहाँ खाता खोलेको छु, त्यहाँ चिनाइदिन्छु अनि विस्तारै तँ आफै पनि खाता खोल्नको लागि बुझाउन सक्छेस्।'
यसरी भयो मेरो पढदै पार्ट-टाइम कामको सुरुआत। १०-३ बजेसम्म पढाइ हुन्थ्यो। त्यसपछि म हिँड्दै हिँड्दै पसल-पसल, घर-घर धाउथेँ, लहान बजार पुरै घुम्थेँ। थाकेर लुथ्रुक्क परेर कोठामा आउँथेँ। कहिले खाना पकाउँथेँ कहिले पकाउदिनँ थिएँ।
घरबेटी आन्टी साह्रै मजाकी हुनुहुन्थ्यो। कहिलेकाही उहाँले नै खाना खान दिनु हुन्थ्यो। यति लामो भूमिका बाँधिसकेँ, अब जाउँ मुख्य कुरा तिर। एक दिनको कुरो हो, दिनको मिति मैले ठ्याक्कै बिर्सिएँ। शुक्रबार थियो, सुन्तला भर्खर-भर्खर बजारमा निस्किन थालेको थियो।
मलाई सहकारीबाट साइकल पनि दिइसकेको थियो। म कलेक्सन गर्न बजारमा निस्किसकेकी थिएँ। लहान चोकमै महेन्द्रको शालिक थियो, दक्षिणपट्टि तरकारी बजार थियो त्यो बेलामा। फलफूल पसलहरू लहरै थिए।
ठ्याक्कै चोकमै मैले मेरो घर छेउको साथीलाई भेटेँ। ऊ मधेसी हो, हेर्दा कालो रंगको होचो होचो भए नि मान्छे राम्रै, मिलनसार र सहयोगी पनि थियो। घर पनि नजिक नै थियो उसको र मेरो अनि पढेका पनि हामीसँगै नै हौँ। तर १० कक्षाको टेस्ट परीक्षामा ऊ फेल भयो। त्यसपछि उसले पढेन, त्यही लहानमा बसेर के-के जाति काम गर्थ्यो गाडी सम्बन्धी।
उसले भन्यो, 'घर जाने होइन? हिँड।'
तर मैले 'आज जान्नँ, मेरो काम नै सकिएको छैन' भनेँ। एकदिन छुट्यो भने ग्राहकहरूले दुई दिनको पैसा एकै पटक दिन मान्दैन थिए। त्यसैले मैले उसलाई भनेँ, 'म त जादिनँ, तँ जान लाग्या भए सुन्तला लगिदेन घरमा, मेरा भाइ-बहिनीले खान्छन्।'
यति भन्दै मैले डेढ केजी सुन्तला जोख्न लगाउँदै थिए, एउटा बाइक हुइँकिएर आयो र हाम्रो छेउमा झ्याप्प रोक्यो। दुई जना सादा पोसाकमा आएका व्यक्तिहरू एउटाले च्याप्प त्यो मेरो साथीको हात समायो र भन्यो 'यही हो!'
म अक्क न बक्क भएँ। को हो तपाईंहरू? अनि किन यसलाई समाएको?' मैले यति भन्दै गर्दासम्म त्यो साथी रून थालिसकेको थियो। तर मैले केही बुझ्न सकेकी थिइनँ।
'हामी आर्मी हौँ र यो माओवादी हो, कसरी चिन्यौ यसलाई?'
अब केरकारमा म परेँ। मेरो मुटुले काम गर्न छोडिसकेको थियो, खुट्टाहरू लग-लग काप्न थाले, बोली लरबाउन थाले तर पनि हिम्मत जुटाएर बोलेँ। 'यो माओवादी होइन। हामीसँगै पढेको, घर नजिकै नै छ हाम्रो, यदि यो माओवादी भएको भए मैले सुन्नु पर्ने हो नि।' यो हुने सक्दैन भन्ने कुरामा म अडिरहेँ।
'के गर्छौ तिमी?'
'म पढ्छु सर, विद्यार्थी हुँ।'
'कतिमा पढ्छौ?'
'११ मा' मेरो सोझो जवाफ थियो।
'कुन क्याम्पसमा?'
'एभरेष्ट कलेजमा।'
'कार्ड छ? हेरुँ।'
धन्न भगवान मसँग कार्ड थियो र देखाइदिएँ। र भनेँ, 'सर यो माओवादी होइन, यसलाई छोडिदिनुस्।'
तर मेरो कुरा उसले कहाँ मान्ने वाला थियो र! उसलाई आज्ञा नै दिइएको थियो कि माओवादी भन्ने सुन्ने बित्तिकै गोली ठोकिदिनू भन्ने। यस्तो अवस्थामा उसले किन सुन्थ्यो मेरो कुरा!
बाइकको बीचमा झ्याप्प उसलाई राखे र मलाई पनि क्याम्पमा आउने आदेश दिएर गए। म पनि उनीहरूको बाइक स्पिडमा साइकल चलाउँदै त्यहाँ पुगेँ। त्यहाँ पुगेपछि म के देख्छु, हे भगवान! वरिपरि आर्मी जवानहरू बीचमा छ त्यो साथी जसको आँखामा कालो पट्टी बाँधिएको छ र हात पनि पछाडि लगेर बाधिएको छ।
ऊ रुँदै छ अनि भन्दै छ 'सर, मलाई छोडिदिनु, म माओवादी होइन।'
अवस्था यस्तो थियो कि मैले त्यसको व्याख्या गर्न अहिले पनि सक्दिनँ। फिल्म हेर्दा त फाइटको दृश्य हेर्न नसक्ने म, यस्तो ठाउँमा उभिएकी थिएँ कि मलाई लाग्दै थियो आज मेरो पनि अन्तिम दिन हो। यिनीहरूले आज मलाई पनि छोड्दैनन् तर पनि म आँट गरेर भन्दै थिएँ 'सर, ऊ माओवादी होइन।'
हातमा बन्दुक तेर्साएर बस्ने महानुभाव मेजर साहेब रहेछन्। मेजर साहेब मेरो नजिकै आए अनि सोधेँ 'रमिता (नाम परिवर्तन) लाई चिन्छेस्?'
'को कार्की?' मैले तुरुन्तै जवाफ फर्काएँ।
उसले भन्यो, 'हो हो, त्यही हो।'
मैले भनेँ, 'हामीसँगै पढ्छौँ।'
'जा त्यसलाई बोलाएर लिएर आइज।'
'सँगै पढ्ने भए पनि उनीसँग त्यति राम्रो बोलचाल त थिएन तर पनि मैले उसको घर देखेकी थिएँ। कसरी भने जुन दिदीको कुरा मैले माथि गरेकी छु, त्यो दिदीको मामाघर र रमिताको घर नजिकै थियो।
म साइकल लिएर यति चाँडो उसको घर पुगेँ, उसलाई बोलाए अनि 'मसँग हिँड्न प्लिज' भनेर आफ्नो साइकलमा राखेर त्यहाँ लिएर गएँ। त्यहाँ पुगेसी उसको अनुहार पनि कालो भएको थियो। मेजर साहेबले रामितालाई सोधे, 'यो तिमीसँग पढ्छे?'
उसले जवाफ फर्काइ, 'हजुर हामीसँगै पढ्छौँ।'
मैले लामो श्वास फेरेँ। मेजर जी फेरि मेरो त्यो साथी तिर गए जसलाई माओवादी भनेर आँखामा पट्टी लगाइएको थियो र दुवै हात पछाडि लगेर बाँधिएको थियो। उसको आँखाको पट्टी खोलिदिए अनि भने 'ल जा बाँचिस् तँ।'
यति सुन्नासाथ मैले राहतको श्वास फेरेँ। अनि चोकबाट समाएर ल्याउने दुई मध्ये एकजनालाई मैले सोधिहालेँ, 'तपाईंको घर मलहन्मा होइन? मैले तपाईंलाई हाम्रै स्कुलमा कति पटक देखेकी छु। तपाईं हाम्रो दिदीहरूसँग पढ्या होइन?'
'के हो तिम्रो दिदीको नाम?' त्यो व्यक्तिले सोधेको प्रश्नमा मैले तुरुन्तै जवाफ फर्काइहालेँ र दिदीको नाम भनेँ र भनेँ 'उहाँ मेरो ठूलोबुवाको छोरी हो।'
'बैनी के गर्नु, यस्तै हो हाम्रो काम' भनेर उसले टार्यो। तर मलाई भित्रभित्र यति रिस उठेको थियो कि के भनम्! २-३ वटा गाडीमा भरिएर आएका ती आर्मीहरूको त्यस दिनको खोज सकिए जस्तो थियो।
सबै गाडीमा चढ्न लाग्दै थिए। त्यतिकैमा मैले भनिहालेँ 'मेजर साहेब, माओवादीलाई नै समाउनुस् अनि मार्नुहोस् तर हामी जस्ता निर्दोश जनतालाई दुःख नदिनु होला।'
मेजर साहेब आफू गाडीमा बसे। त्यही ब्यारेकमा रहेका अन्य आर्मीहरूलाई आदेश दिए 'केटा हो, यसमाथि नजर राख धेरै बोल्दि रैछ।'
उनीहरू पनि गए, हामी पनि निस्क्यौँ। रामितालाई धन्यवाद दिएँ। साँच्चै नै ऊ एन्जल भई त्यो दिन मेरो लागि। उनीहरूको सम्बन्ध के थियो थाहा थियन मलाई र मैले कहिले पनि जान्न पनि चाहिनँ। तर त्यो दिन हामी बाच्नुमा कता-कता उसको पनि हात थियो।
ऊ गई, हामी पनि आफ्नै बाटो लाग्यौँ र बाटोमा मैले त्यो साथीलाई सोधेँ, 'तँ माओवादी होइन भन्ने कुरा कसरी थाहा भो?'
उसले भन्यो, 'ह्या, मेरो दाइ लाग्या थियो तर उसले आत्मसमर्पण गरिसक्यो। यो सालेलाई सबै थाहा थियो, तैपनि केको दुस्मनी निकाल्दै छ मसँग खोई!'
म छक्क परेँ, केही बोल्न सकिनँ। अनि सोधेँ, 'घर जान्छस तँ अब?'
'भो जान्न! अब कोठा जान्छु' भनेर ऊ आफ्नो बाटो लाग्यो, म आफ्नो बाटो लागेँ। मैले साइकल चलाउन पनि सकिनँ, डोर्याउँदै कोठामा पुगेँ। घरबेटी आन्टीलाई सबै बेलिविस्तार लगाएँ। केही खान पनि मन लागेन, सुत्न खोज्छु निन्द्रा पनि लागेन।
आँखामा झलझली आँखामा पट्टी बाँधेर, दुवै हात बाधेको त्यो साथी मात्र नाच्छ। त्यो घटनाले मलाई कति दिनसम्म हाँस्न पनि दिएन अनि चैनसँग बाच्न पनि दिएन। त्यसपछि मलाई डराउने रोग सुरु भयो।
सानो छिस्रिक्क आवाजमा पनि तर्सिने, खुट्टा लगलग काप्न थालिहाल्ने। आर्मी क्याम्प आवत-जावत गर्ने बाटैमा थियो। मैले त्यो बाटो हिँडिरहनु पर्थ्यो। आर्मीहरूलाई देख्ने बित्तिकै मलाई डर लाग्थ्यो, ब्यारेकको छेउ आइपुग्ने बित्तिकै म आफूलाई अनि साइकललाई सम्हाल्न थाल्थेँ।
मेरो डरले सीमा नाघेको थियो। आर्मी ब्यारेक काट्ने बित्तिकै म साइकल यति बेस्सरी चलाउथेँ कि एकै पटक गन्तव्यमै गएर श्वास फेर्थें। शनिबारको दिन थियो। म कोठादेखि अलि पर केही किन्न गएकी थिएँ। फर्केर आउदै थिएँ, मैले देखेँ दुई जना आर्मी मेरै पछि-पछि आउँदै थिए।
फेरि मेरो मुटुले काम गर्न छोड्यो। म घरमा छिरेँ। भित्र गएर लामो श्वास फेर्न पाएकै थिइनँ, उनीहरू त मेरै कोठामा पो आइपुगे। 'रमिताको साथी होइन तिमी? तिमीलाई भेट्न आको, चिया खुवाउदिनौ?'
म दूध लिएर आउँछु भनेर निस्किएँ। अब कहाँ जाउँ, के गरौँ! ओहो! साह्रै नै आपतमा परेँ म, दूध लिएर आएँ। उनीहरू मेरो किताबहरू हेर्दै थिए, मेरा सामानहरू हेर्दै थिए, सानो ब्याग थियो छेउमा त्यो ब्याग देखाउँदै सोधे 'के छ त्यसमा?'
कपडा छ हेर्ने हो भन्दै मैले ब्याग उनीहरूको अगाडि राखिदिएँ। चिया खाए अनि उनीहरू हिँड्न लागे। उनीहरू हिँड्न लाग्दै गर्दा मैले भनेँ, 'दाइ, म यहाँ पढ्न बसेकी हुँ। त्यही पढाइ खर्च निकाल्न सकूँ भनेर सहकारीमा काम गर्छु। मलाई यो तनाब नदिनू होला। म यो माओवाद साओवाद केही पनि जान्दिनँ र जान्नु पनि छैन।'
मैले यति भनिसक्ने बित्तिकै 'सरी बैनी' भनेर उनीहरू लागे।
त्यसपछि उनीहरू कहिल्यै आएनन् तर मेरो डर कहिल्यै कम भएन। एकदिन म कलेक्सन गर्दै थिएँ, एउटा पसलको दाइले सोधिहाले, 'तिमी माओवादी रे नि हो?'
म हाँसे। 'किन हाँस्या?' ती दाइले फेरि सोधे।
'दाइ, कुन चाहिँ माओवादीलाई अहिलेको अवस्थामा यसरी स्वतन्त्र भएर हिँडेको देख्नु भएको छ हजुरले?'
ती दाइ पनि हाँसे अनि म आफ्नो बाटो लागेँ। त्यो एउटा घटनाले पनि धेरै नै कमजोर बनायो मलाई। मानसिक रूपमा नै यति कमजोर भएँ कि म बाटैमा ढलिदिन्थेँ। मान्छेहरूले उठाएर हस्पिटल पुर्याइदिन्थे।
तर्सिने, झस्किने हुन्थेँ तर भन्न कसैलाई सक्दिन थिएँ। म एक्लै बस्न सक्दिनँ भन्ने सोचेर नै हो मैले ममी बुवालाई सम्झाएँ, फकाएँ अनि भाइ-बहिनीहरू पनि उतै बसेर पढून् भनेर आफूसँग नै राखेँ।
बाहिर जस्तो देखाउदिनँ भने पनि मेरो पीडा मलाई नै थाहा थियो। कसैको सल्लाहमा म बिराटनगर गएँ, डा. शेरचनकोमा जो मानसिक रोगीका डाक्टर थिए। उहाँलाई सबै बेलिविस्तार लाएँ। उहाँले केही भएको छैन तिमीलाई भनेर एक महिनाको औषधि दिनु भयो र भन्नु भो, 'यति खाएर फेरि आउनू।
त्यतिबेला न त मलाई औषधिको ज्ञान थियो न त रोगको नै। म डा. शेरचनकोमा गएको हल्ला चलेछ गाउँ समाजमा। अनि 'फलानाकी छोरी मानसिक रोगी भई रे' भन्ने कुरा फैलिएछ।
आज पनि त्यो दिन सम्झन्छु म। त्यो कालो दिन चाहेर पनि बिर्सन नसक्ने। धेरैको जीवन उजाडेको यो 'वाद'ले मेरो जीवन पनि झन्डै उजाडेको थियो। आफ्नै अगाडि आँखामा कालो पट्टी बाधेर उभ्याइएको त्यो दृश्य आज पनि मेरो आँखामा नाच्छ।
आज पनि मेरो मानसपटलमा एकदमै ताजा बनेर रहेको छ। यो वादले कतिलाई मार्यो कतिलाई। कतिलाई ज्यूँदै मार्यो त कतिलाई तड्पाई तड्पाई मार्यो। म त बचेँ तर त्यसपछिका हरेक दिन मर्थेँ म किनकि, त्यो डर यस्तो थियो जसको म कल्पनासम्म नि गर्न सक्दिनँ।
१६ वर्षकी म भर्खर गाउँबाट सहर झरेकी सोझी केटी जसलाई माओवादी को हो पनि थाहा छैन र कस्ता हुन्छन् पनि थाहा छैन। त्यस्तो मान्छे त्यसरी आर्मीको घेरामा परेँ, कति दिनसम्म उनीहरूको नजरमा रहेँ, मेरो पिछा गर्दै आर्मी दाइहरू मेरो कोठासम्म पुगे चियाको बहानामा अनि मेरो कोठाको तलासी पनि गरे।
बेलाबेलामा सोच्छु, त्यो साथी कहाँ होला आजकल, के गर्दै होला अनि त्यसले त्यो दिन याद गर्छ होला कि गर्दैन होला।