नेपालमा प्रत्येक वर्ष करिब तीन हजार व्यक्तिको मिर्गौला फेल हुने अनुमान गरिन्छ। यी बिरामीले या त नियमित डायलासिस गर्नुपर्छ वा दाताहरूबाट नयाँ मिर्गौला प्रत्यारोपण गर्नुपर्छ।
यी सुविधामा पहुँच नहुने बिरामीले अकालमै ज्यान गुमाउँछन्। सन् २०१२ मा भक्तपुरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्थापना भएपछि नेपालमा मिर्गौलासँगै अन्य ठोस अंग प्रत्यारोपण सुरू भएको छ।
अहिले यस्ता सुविधा अन्य अस्पतालमा पनि विस्तार गरिएको छ। फलस्वरूप प्रत्यारोपण सेवा धेरैभन्दा धेरै मिर्गौला फेल भएका बिरामीको पहुँचमा पुगेको छ। पहिले अंग प्रत्यारोपणका लागि ठूलो मूल्य तिरेर भारत जानुपर्थ्यो। हाम्रा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पनि मिर्गौला फेल भएको थियो। उनले अहिलेसम्म दुई पटक मिर्गौला प्रत्यारोपण गरेका छन्। पहिलो पटक भारतमा र दोस्रो पटक नेपालमै। अहिले नेपालमै मिर्गौला संगै अन्य ठोस अंग प्रत्यारोपण गरेर नया जीवन पाएकाहरूको संख्या ठूलो छ।
जब दाताबाट मिर्गौला वा अन्य अंग प्रत्यारोपण गरिन्छ, शरीरको प्रतिरोधात्मक प्रणालीले प्रत्यारोपित अंगलाई बाह्यका रूपमा पहिचान गर्छ। शरीरको प्रतिरक्षा प्रणालीमा काम गर्ने सेता रक्त कोषिकाले उक्त अंगविरूद्ध प्रतिक्रिया जनाउँछन्। यस्ता कोषिकाको आक्रमणले प्रत्यारोपण गरिएको अंगमा क्षति पुग्छ वा कार्य गर्ने क्षमतामा कमी आउछँ। समयको अन्तरालमा शरीरले प्रत्यारोपण गरिएको अंगलाई अस्वीकृत गर्छ।
यसरी अंग अस्वीकृत हुन नदिन बिरामीले नियमित रूपमा शरीरको प्रतिरक्षा-शक्ति दबाउने औषधि लिन्छन्। नतिजा स्वरूप, बिरामीको प्रतिरक्षा प्रणाली अत्यन्त कमजोर हुन्छ। यस्तो अवस्थामा उनीहरू सूक्ष्मजीव र जीवाणुको आक्रमणविरूद्ध लड्न सक्षम हुँदैनन्। यस्ता बिरामीमा कोरोना लगायत भाइरसले संक्रमण गर्दा गम्भीर लक्षण देखा पर्ने र मृत्यु हुने सम्भावना बढी पाइएको छ। त्यसैले यी अतिसंवेदनशील बिरामीलाई कोरोना महामारीबाट बचाउन हामी अत्यन्तै सजग हुनुपर्छ।
कोरोना खोपको सफलतासँगै हाम्रो विश्वव्यापी लडाइँ निर्णायक मोडमा आइपुगेको छ। सामान्य मानिसमा हाल उपलब्ध खोप ९५ प्रतिशतसम्म प्रभावकारी पाइएको छ। तर मिर्गौला लगायत अन्य अंग प्रत्यारोपण गरेका बिरामीमा त्यति प्रभावकारी पाइएको छैन।
सामान्यतया, कुनै पनि रोगको खोप रोग लगाउने सूक्ष्मजीव जस्तो देखिने निस्क्रिय वा कमजोर सूक्ष्मजीव वा यसको सतह प्रोटिन वा प्रोटिन बनाउने एमआरएनए (एक आनुवांशिक तत्व) बाट तयार पारिन्छ। जब हामी खोप लगाउँछौं, शरीरको प्रतिरक्षा प्रणालीलाई खतराको रूपमा पहिचान गर्छ र यसलाई नष्ट गर्न प्रतिक्रिया जनाउँछ।
विशेषगरी शरीरका सेता रक्त कोषहरूले भाइरसविरूद्ध एन्टिबडी उत्पादन गर्छन्। हाम्रो शरीरमा यसरी बनेको एन्टिबडी महिनौंसम्म रहने हुँदा भविष्यमा वास्तविक भाइरस प्रवेश गरे त्यसलाई नष्ट गर्न मदत गर्छ र संक्रमण हुनबाट रोकथाम गर्छ। तर प्रत्यारोपण गरिएका अंग अस्वीकृत हुनबाट बचाउन बिरामीले प्रतिरोधात्मक क्षमता कम हुने औषधि सेवन गर्ने भएकाले एन्टिभाइरल प्रतिक्रिया देखाउन सक्षम हुँदैनन्। यसले गर्दा कोरोनाविरूद्ध एन्टिबडी बन्न पाउँदैन।
हालै अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयमा गरिएको एक अनुसन्धानले अंग प्रत्यारोपण गरेका बिरामीले अन्य मानिसले जस्तो खोपपछि पनि कोभिड-१९ विरूद्ध प्रतिक्रिया देखाउन नसक्ने देखाएको छ। यस्तै नतिजा रिपोर्ट गर्दै अन्य अध्ययन पनि प्रकाशित भएका छन्।
सामान्य मानिसमा मोडर्ना वा फाइजरका एमआरएनए खोप दुई डोज लगाएपछि करिब ९५ प्रतिशतमा भाइरसविरूद्ध सुरक्षा प्राप्त हुन्छ। तर ठोस अंग प्राप्त गरेका करिब ५४ प्रतिशत बिरामीमा मात्र दोस्रो डोजपछि एन्टिबडी बनेको पाइएको छ। एन्टिबडी मात्रा पनि सामान्य मानिसमा हुनेभन्दा धेरै कम भएको पाइएको छ। यसर्थ उनीहरूलाई भाइरसविरूद्ध प्रभावकारी सुरक्षा प्राप्त नभएको हुन सक्छ।
साथै अन्य अनुसन्धानमा अंग प्रत्यारोपण गरेकाले दुईचोटि खोप लिए पनि कोरोना संक्रमण भएको र गम्भीर लक्षण देखिएको पाइएको छ।
यसबाट मिर्गौला प्रत्यारोपण गरेका बिरामी दुई डोज खोपपछि पनि जोखिममा हुन सक्छन् भन्ने देखिएको छ। त्यसैले महामारी समयमा यो संवेदनशील समूहलाई जोगाउन वैकल्पिक दृष्टिकोणको आवश्यक पर्छ। विशेषगरी कृत्रिम रूपमा प्रतिरोधात्मक शक्ति कमजोर बनाइएका बिरामीमा खोपको प्रभावकारिता बढाउन नयाँ विधि पहिचान गर्नु अत्यावश्यक छ।
फ्रान्स, अमेरिका लगायत देशमा केही क्लिनिकल परीक्षण सुरू भएको छ जसले खोपको तेस्रो डोज दिँदा एन्टिबडी उत्पादन बढाउँछ कि बढाउँदैन भन्ने अनुसन्धान हुँदैछ।
फ्रान्समा गरिएको र न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अनुसन्धानका अनुसार फाइजरको तीन डोजले उत्साहप्रद नतिजा देखाएको छ। उक्त अनुसन्धानमा मिर्गौला, कलेजो, मुटु, फोक्सो लगायत अंग प्रत्यारोपण गरेका ६५८ बिरामीलाई तीन डोज खोप दिइएको थियो। उनीहरूले कस्तो प्रतिक्रिया जनाउँछन् भनेर जाँच गरियो।
अनुसन्धानका अनुसार मात्र ४ प्रतिशत बिरामीले पहिलो डोजपछि एन्टिबडी उत्पादन गरेका पाइयो। त्यस्तै करिब ४० प्रतिशतले दोस्रो डोजपछि र करिब ६८ प्रतिशतले तेस्रो डोजपछि एन्टिबडी प्रतिक्रिया देखाएको पाइएको छ। पहिले नै प्रतिक्रिया देखाउनेमा थप डोजसँगै एन्टिबडी मात्रा क्रमिक रूपमा बढेको पाइएको थियो। एन्टिबडी प्रतिक्रिया देखाउन नसक्नेहरू बढी उमेरका र प्रतिरक्षा प्रणाली अत्यन्तै कमजोर भएका थिए। यी बिरामीमा थप डोज खोप दिँदा कुनै गम्भीर प्रतिकूल प्रतिक्रिया भएको पाइएन।
समग्रमा तीन डोज खोप दिँदा ठोस-अंग प्रत्यारोपण गरेकाहरूमा उल्लेखनीय सुधार आएको पाइएको छ। अहिले यसबारे अन्य ठाउँमा पनि अनुसन्धान चलिरहेको छ।
नेपालमा अंग प्रत्यारोपण गरेका बिरामी धेरै भए पनि उनीहरूमा खोपको प्रभावकरिताबारे केही अनुसन्धान भएको सार्वजनिक जानकारी आएको छैन। महामारीको लामो समय सरकार हाँकेका प्रधानमन्त्री आफैं मिर्गौला प्रत्यारोपण गरेका बिरामी हुँदा पनि यसबारे केही ठोस कदम नचाल्नु दुखद हो। त्यो बेला नेपालमा खोप धेरै उपलब्ध नभएकाले पनि केही नभएको हुन सक्छ। तर अब खोपको बढ्दो पहुँचसँगै यी बिरामीलाई लक्षित क्लिनिकल परीक्षण सुरू गर्नुपर्छ।
बिरामीले पनि खोप लगाएपछि भाइरसविरूद्ध आफ्नो शरीरले एन्टिबडी विकास गरेको छ कि छैन भनेर जाँच्न सक्छन्। यस्तो एन्टिबडी 'एलाइजा' प्रविधिबाट मात्रात्मक तवरले जाँच्न सकिन्छ जुन नेपालमा उपलब्ध छ। गुणात्मक मापनका लागि उपलब्ध आरडिटी किट प्रयोग गर्न सकिन्छ।
तीन डोज खोपपछि निश्चित प्रतिशत बिरामीमा प्रभावकारिता बढे पनि अझै ठूलो हिस्सा पर्याप्त मात्रामा एन्टिबडी विकास गर्न सक्षम हुने छैनन्। यसकारण यस्ता व्यक्तिलाई विशेष हेरचाह आवश्यक छ। महामारीमा यस्ता अति संवेदनशील समूहलाई जोगाउने मुख्य उपाय भनेको धेरैभन्दा धेरै मानिसलाई खोप लगाइ 'हर्ड इम्युनिटी' तयार पार्ने र भाइरस प्रसारण रोक्ने हो। नभए पनि कमसेकम प्रत्यारोपण गरेका बिरामीको परिवार, आफन्त र उनीहरूको सम्पर्कमा आहिरहनेलाई चाँडोभन्दा चाँडो खोप उपलब्ध गराउनु पर्छ। तबसम्म यस्ता बिरामीसँग भेट्दा मास्क लगाउने, दुरी कायम गर्ने र अन्य जनस्वास्थ्यका उपाय अनिवार्य रूपमा पालन गर्नुपर्छ।
(डाक्टर मिश्र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा कार्यरत क्यान्सर वैज्ञानिक हुन्)
ट्विटरः @MishRAnjan