मानो रोपेर मुरी फलाउने आशावान् महिना असारको समय हो। खेतीपातीको कराकर समय हो। मस्त झरी दर्किनु पर्ने हो तर, आज बिहानैदेखि दिन निकै मज्जाले खुलेको छ। मन पनि किन किन फुरुंग भएको छ। बिना कारण रमाइरहेछु, खुसी छु।
'गुड मर्निङ! चिया पिइयो? खाना के पकाउँदै हो?' भनेर सोध्नेसँग पनि आजकाल कुरा भएको छैन। हामीबीच बोलचाल आजकाल ब्रेक नै लागेको छ। सायद विद्यार्थी हुन्, पढाइमा बिजी होलान्।
उनले पढाइलाई एक सारथीका रूपमा बेलाबेला चर्चा गरिरहन्थे। मैले यसो किन भनिरहेछु? ऊ बोलिरहोस् भन्ने लागेको हो त? बोल्नु मात्रै सबथोक पनि हैन। बरु उनीसँग नबोलिएको खालि समयमा उनैलाई केही त लेख्नु पर्यो भन्ने दिमागमा आयो। टेबलमाथिको डायरी र र्याकबाट पेन निकालेँ।
उनको र मेरो चिनजान भएको करिब २ वर्ष जति भयो होला। फेसबुकको माध्यमबाट चिनजान भएको हो। उसो त हामी भौगोलिक रूपमा पनि नजिक नै रहेछौँ। ठाउँ नजिक नै भए पनि हामीद्वय एकअर्काका लागि भने अपरिचित थियौँ। सुरुसुरुमा इनबक्समा खासै बोलचाल हुँदैन थियो। फेसबुक लाइक कमेन्टतिरै सीमित थियौँ।
मैले कहिलेकाहीँ लेख, कविता लेख्थेँ। ती लेख कविताहरू फेसबुकमा पोष्ट गर्दा वा कुनै अनलाइनहरूले छापिदिँदा ती अनलाइनका लिंकहरू सेयर गर्दा प्रायःजसो नछुटाइकन उनले पढेको कुरा मलाई बताउँथे।
यतिमात्र कहाँ, कहिलेकाहीँ त पर्सनल रूपमा म्यासेजमै फुरुक्क पार्ने शब्द बुनेर सेयर र ट्याग गर्थे। ती लेखहरूमाथि आफूले सकेको जानेको बुझेको आफ्नो टिप्पणी वा प्रतिक्रिया पनि लेखिरहन्थे। फेसबुक वालमाभन्दा पर्सनल रूपमा म्यासेजमा प्रतिक्रिया पढ्न पनि सहज हुन्थ्यो र मेरो मनमा लागेको कुरा लेख्न पनि सजिलो।
नेपालको अस्थिर राजनीतिक घटनाक्रममाथि सजिलै प्रश्न सोधिरहन्थे। राजनीतिप्रति खुब चासो थियो। हुन त राज्यको नागरिक अझ युवा भएको नाताले यो चिन्ता चिन्तन हुनु स्वाभाविक पनि हो। कुनै प्रसङ्गबिना कहिले कुरा भएन हाम्रो। एकदमै औपचारिकता रहेर कुराकानी हुन्थ्यो।
आ-आफ्नो स्वभाव र बुझाइमा हामी साथी-साथीको रूपमा नै थियौँ लामो समय। र बाँकी कहिलेकाहीँ 'हेलो-हाई' मात्र चल्ने। के छ खबर? खानपिन भयो? यस्तै यस्तै।
पहिलो लकडाउनमा म घर गएँ। एक दिन रेडियो कार्यक्रममा बहसका लागि मेलै अन्तरवार्ता दिएको थिएँ। मैले कसैलाई खबर गरेको थिइनँ तर, उनले त्यो दिन मलाई प्रत्यक्ष सुनेछन्। त्यसपछि मलाई बढी नै फलो गरेको बताइरहन्थे तर पनि कुराकानीमा हामी मौन नै हुन्थ्यौँ।
मैले नोटिस त गरेकी थिएँ। गाउँमा एक त बोलचाल हुने कुरा भएन। एक त इन्टरनेटको समस्या अर्को घरको काममा नै बढी बिजी। सायद, उनी पनि घर आएका थिए क्यार। नत्र कसरी रेडियो अन्तरवार्ता सुने होलान् र त, तर यो पनि हो अहिले इन्टरनेटको पहुँच भएको ठाउँमा आ-आफ्नो गाउँ ठाउँको रेडियो सुन्न सकिन्छ नै।
म धेरै दिन बसिनँ। काठमाडौँ फर्किहालेँ। मेरो परीक्षा चलिरहेको थियो। सायद उनी पनि पढाइमै बिजी थिए होलान्। म पनि बोलिनँ, उनी पनि। दिन दैनिकी यस्तै नै थियो। कोरोना आक्रमणको दोस्रो लहर सुरु भयो। पुनः लकडाउन भयो। म घर नजाने निधो गरेँ। तर, उनी घर गएछन्।
खै! दिन त याद भएन तर घर गएपछि बोलचाल निकै बाक्लियो। त्यो पनि आफ्ना तथा अरूका फेसबुक पोस्टमुनिका कमेन्टहरूमा। सामान्य तरिकाले राजनैतिक विषयमा पोस्टमुनि कमेन्टमा जुहारी त हामी खेलिनै रहन्थ्यौँ। इन्बक्समा आएर कुरा हुन महिना दिन नै लाग्थ्यो दुवैलाई। तर, दोस्रो चोटि भएको बन्दाबन्दीले भने कुराकानी बाक्लियो। म काठमाडौँ, उनी घरमा थिए।
उनले प्रायः म्यासेज गरिरहन्थे। म त नेटको पहुँचमा हुन्थेँ। तर उनी नेटमा आउने बित्तिकै मलाई म्यासेज छोडेका हुन्थे। 'के छ? उठिसक्या हो? खाना भयो? सन्चो बिसन्चो के छ?' यस्तै लगातारको चार पाँच म्यासेज हुन्थे।
म पनि प्रायः उनको म्यासेजको रिप्लाई गर्ने कोसिस गर्थें। औपचारिकतासँगै हाम्रो कुराकानी राजनीतिक सामाजिक र पढाइको मात्र हुन्थ्यो। उनी मेरो पढाइको बारेमा सोधिरहन्थे। उनलाई पनि ल एकदम पढ्न मन छ भनिरहन्थे। हामी सँगै भर्ना हुने भनिरहन्थे। मैले पनि सहमति जनाएको थिएँ। कुराकानी लामै हुन्थ्यो जिन्दगी, करियरका कुरा हुन्थे।
एक दिन, दुई दिन गर्दै विस्तारै कुरा बाक्लिँदै गयो। कुराले कुरा तान्छ भनेझैँ विस्तारै व्यक्तिगत कुरा पनि हुन थाल्यो। उनी एकदम राजनीतिक चासो राख्थे। सायद राजनीतिक पृष्ठभूमि थियो होला। त्यो मलाई थाहा भएन।
रुकुम नरसंहार ताका पनि उनले मसँग निकै बहस गरेका थिए। सामाजिक विषयमा पनि निकै संवेदनशील छ भन्ने लाग्थ्यो। पछिल्लो समय रुपा सुनार प्रकरणमा पनि हाम्रो लामै बहस भयो। मैले जानेको, बुझेको, पढेको कुरा भनेँ। उनले यो विषयमा केवल सहमति जनाए तर प्रतिक्रिया खास्सै दिएनन्।
यसरी बाक्लिँदै लम्बिँदै गएको कुराकानीमा हामीले एकले अर्कोलाई सोध्न जरुरी थिएन किनकि हाम्रा पूरापूर नामले बनेको थियो फेसबुक एकाउन्ट। त्यसैले सजिलो भयो। निर्धक्क जातीयताका कुरामा बहस गर्न। उनले पनि यो जात व्यवस्था समस्या हो भनेर भन्थे।
कुराकानीकै क्रममा एक दिन अलिक अबेरसम्म लामै कुरा भयो। कुरा गर्दै जाँदा सामान्य कुरामा नै होला मलाई अलिक चित्त बुझेन। कुरा के हो ठ्याक्कै याद भएन। सायद विचार र दृष्टिकोण नमिलेर होला। म उनीसँग रिसाए।
मैले नबोल्ने भनेर म्यासेज गरेँ। अब हाम्रो कुरा धेरै अगाडि नबढाऔँ भनेँ। उनले केही जवाफ दिएनन्। एकैछिनमा बरु 'आई लभ यू' मात्र भने। त्यसपछि म पनि चुपचाप, उनी पनि। एकछिन म्यासेज बक्स मौन भयो।
मैले 'यसरी बहकिएर भावनामा डुबेर आवेगमा आएर हुन्छ?' भनेर प्रश्न मात्र गरेँ। त्योभन्दा बढी म केही बोलिनँ। उनले फेरि त्यही शब्द दोहोराए 'आई लभ यू!' मैले ध्यान दिइनँ बरु कुरा मोडे।
निकै बेरपछि उनलाई प्रश्न गरेँ, 'मसित प्रेम भएको हो? यदि हो भने प्रेमलाई केमा परिणत गर्नाका लागि प्रस्ताव त?' भनेर।
उनले एकै जवाफ दिएँ- 'नयाँ आयाम।'
नयाँ आयाम भन्नाले के हो, वा कस्तो हो? मैले प्रश्न माथि प्रश्न गरेँ। तर उनी बोलेनन्। म आफैले जवाफ दिएँ, 'याज अ हजब्यान्ड वाइफ?'
अपूर्ण सन्देशसहित उनले 'त्यस्तै-त्यस्तै' मात्र भने।
सवाल जवाफ गर्न त आवश्यक थिएन। किनकि समाजको संरचना अन्तर्गत हाम्रो जात मिल्दैन थियो। समाजको संरचना विपरीत उनले प्रेम प्रस्ताव राखे भन्ने कुरामा असहमति पनि थिएन। ताकि, सोचनीय कुरा के हो भने अन्तरजातीय प्रेम गर्न मिल्ने तर बिहे गर्न किन कठाई भन्ने मनमा यो प्रश्नले एकदम जगडी रह्यो।
खै! संयोग भनौँ कि के, म राजनीतिक विश्लेषक आहुतिको पछ्ल्लिो निकै चर्चित पुस्तक जात वार्ता पढ्दै थिएँ। त्यसभित्र अन्तरजातीय प्रेम र विवाह भन्ने शीर्षक छ। मैले त्यसलाई पनि एकदम गैहिरिएर पढिसकेको थिएँ। त्यो भएर म अलिक गहिरिएर सोच्न बाध्य भएँ।
पुस्तक पढ्न छोडेँ, मनमा उनको कुरा खेलिरह्यो। अलिक समय दिएर बोल्नु प्रेमको संकेत हो त? बहस गर्ने, मनका कुरा पोख्ने बोल्ने गरी साथी नै रहन सकिन्न? मेसेजमा सोधेँ, 'एक्कासी किन यसो भनेको?'
निकै ढिलो गरी मेसेज आयो, 'तिमी रिसायौ र भनिहालेँ, अन्यथा तीन/चार वर्षसम्म सायद भन्दिन थिएँ होला।'
म मेसेज पढेर एकोहोरो घोरिएँ, पुस्तक पढ्नै छाडेँ।
यसको मतलब के? उनले म्यासेजमा आफ्नोपन देखाएकै भरमा प्यार गर्छ भन्ने भ्रम पारेर म उनको नजिक हुन्छु भन्ने हो? या मेरो कसैसँग विवाह भइसकेपछि ३/४ वर्षपछि मैले पनि त मन पराउँथेँ नि भनेर मान राख्न हो। दैनिकको बोलचाल र मेसेजले एक किसिमको अट्याचमेन्ट बढाएर उनले यौनको प्यास मेट्न चाहन्थे? यदि त्यसो होइन भने 'नयाँ आयम' भन्नुभन्दा खुलेर बिहे गरौँ किन भन्न सकेन?
सहजै 'आई लभ यू' भन्न सक्ने उनले 'आई वान्ट टु म्यारी यू' भन्न किन सकेनन्? के प्रेम गर्न मन हुने तर बिहे गर्ने आँट नहुने हो? प्रेम गर्दा जात आवश्यक नहुने र बिहे गर्नका लागि आवश्यक हुने हो? प्रेम गर्न आफ्नो निर्णय स्वीकार्य हुने तर बिहेको कुरा निस्कियो कि एक्कासी बा-आमा कताबाट झुल्किन्छन्?
बिहे गर्नलाई 'नयाँ आयाम' भनिरहेका उनले तिम्रो र मेरो जात अलग हो भन्ने मौन रूपमा 'स्पष्टै' भनेका हैन र? अनि सुस्तरी किन बोल्न पर्छ? आफ्ना अभिभावक लिएर पारिवारिक सहमतिमा माग्न किन जान सकिँदैन? नयाँ आयाम त यतिखेर झल्किन्थ्यो होला नि।
प्रेमको कुनै जात त हुँदैन। प्रेम प्रकृति हो त्यसैले पूजनीय छ। प्रेम भावनामा हुन्छ। तर सम्बन्ध भावनात्मक र भौतिक रूपमा नै हुन्छ। प्रेमिका बनाउने चाहनामाथि नै जातमा भिन्नता देख्छन् भने उनले प्रेमलाई पूर्णता दिन चाहन्छन् वा सकेसम्म यो पुस्ता पनि जात व्यवस्था यथावत् राख्न चाहन्छन्? उनी र मबीच विवाह त होला गरौँला रे तर के त्यो विवाह स्वीकार्य होला त? अन्तरजातीय विवाह विभाजित समाजमा रहेको जातीय खाडल पुर्न सक्छ?
अन्तरजातीय विवाहले जातीय भेदभावको अन्त्य गर्छ भन्ने लाग्छ भने मेरो आमाको वा अर्थात् हाम्रो बाजे (आमाको बुवा) अन्तरजातीय विवाह गरेका हुन्। आमाले बाजेकै जात (थर गोत्र) राखेर हुर्किए तर कसैको पनि गैर दलितसँग विवाह हुन सकेन। किनकि उनीहरू कथित अछुत महिलाबाट जन्मेका हुन्। जसका कारण मेरा आमाबुवाको विवाह भयो।
तर, म तेस्रो पुस्तासम्म आइपुग्दा पनि काठमाडौँमा भाडाको कोठा पाउन किन मुस्किल छ। कोठा पाउन मुस्किल पर्ने र उनले पनि नजानिँदो तरिकाले नयाँ आयाम भन्नुमा मेरो नाम पछाडि लेखिएको जात/थर अर्को समस्या हो? बाजेले अन्तर जातीय विवाह गरेर समाजमा अन्तर घुल्न ल्याए पनि विद्रोह जन्माए गरे तर समस्या उही रहेछ।
जसले गर्दा अन्तरजातीय बिहे गरे पनि जातको आधारमा रहेको तहगत संरचना त जिउँदै रहने रहेछ। जो कथित अछुत भनिएकाहरूको जातमा लादिन्छ र ऊ पनि फेरि विभेदमा नै पर्छ भने मेरो पुस्ताले झेल्दैन भन्ने के ग्यारेन्टी छ?
मानिलिऔँ उनको प्रस्ताव स्विकारेँ, हामी दुईबीच प्रेमकै खाँतिर बिहे भयो अरे, तर स्वयं ऊ डराइ रहेछ आवाज कपाइरहेछ, सुस्तरी बोलिरहेछ घुमाएर कुरा गरिरहेछ भने उसको अभिभावकले स्विकार्लान् त? अभिभावकले स्वीकारे पनि समाजले?
केही समय त्यो विद्रोहको रूपमा रह्यो। तर समाजमा फेरि ऊ र उसको अर्को पुस्ता पनि जात व्यवस्थामा नै गएर रोकिन्छ। समाजकै डरका कारण जीवन भट्टराईहरू एक किसिमको बहिष्करणमा परेका छन्। भलै जीवन भट्टराई र लक्ष्मी बर्देवा सेलीब्रेटी हुन्, उनीहरूले विद्रोह गरेकै हुन् समाजसँग।
तर लक्ष्मी बर्देवा र जीवन भट्टराईका सन्तान थर भट्टराई भए पनि जात त फेरि सामाजिक रूपमा उनीहरू पनि दलित महिलाबाट जन्मेको आधारमा दलित नै भए। अर्को विभेद उनीहरूले भोग्छन्। यो संस्कार पुरै पुस्ता पुस्ताले नचिरेसम्म यो कायम नै देखिन्छ। एक पुस्ताले गर्दा यो हट्ने भए किन कलाकार एस कुमार जात व्यवस्थाका विरुद्ध आवाज उठाई रहनुपर्थ्यो।
कथित माथिल्लो जात वा गैर दलित केटासँग दलित केटी बिहे गरिन् भने सामाजिक र पारिवारिक रूपमा उनी अलग्गिन्छन्। उनी बहिष्करणमा पर्छन्। घर निकाला हुन्छ। उस्तै परे भाइ खलकबाट पानी नचल्ने छोई छिटोको संस्कारको पात्र बनेर निस्कन्छन्। दलित केटी भने प्रायः चुप नै रहन सक्छन् किनकि उनीहरूसँगको विरुद्धमा बोल्न पारिवारिक पृष्ठभूमि र हैसियतले नसक्ला। माइता आउजाउ चलिरहन सक्छ।
पितृसत्तात्मक आधारमा जाने हो भने हामीबाट जन्मने सन्तानले जो कथित तल्लो हो उसले 'जात खसेको जात'/थर लेखिरहनु पर्छ। वा आमापट्टिको जात थर लेख्नु पर्छ। यसरी महिलाको खसेको थर लेख्दा ती पुस्ता सोझै दलित भए। उनीहरूलाई समाजको व्यवहार उही फेरि। यसो भने त्यो पुस्ताले कसरी सहज जीवन जिउँछन्।
तर यदि केटी गैर दलित छ, केटा दलित हुने बित्तिकै हाम्रो सामु प्रस्ट छ रुकुम काण्ड, अजित मिजार काण्ड। यस्तो काण्ड मच्चिँदा समाजमा पुरुषको सम्मान, परिवार र संस्कार, धर्म पारिवारिक इज्जतको सवाल आइपुग्छ। यो मानेमा फेरि कुल वंशको लागि महिला इज्जत जोगाउने कवच बन्छिन्।
सम्मान, संस्कार, धर्म इज्जतकै कारण प्रायः कथित गैर दलित केटी बिहे गर्ने केटाहरूको ज्यान जाने गरेको छ। त्यसको प्रस्ट उदाहरण हो नवराजहरूको हत्या, सेते दमाईंको हत्या, अजित मिजारको लासहरू नै हुन्। केटाको परिवारले मानसिक यातना भोग्छन् नै। स्वयं केटीले पनि टर्चर भोग्नुपर्छ।
बिहे गरेका घरमा बाँच्न सकिन्छ भने स्वीकार हुन्छ तर उनको माइत आवात जावत बन्दै हुन्छ। अर्को छोराले दलित जातको केटी बिहे गरे केवल भाइ खलकबाट अलग्गिन्छ। ऊ मात्रै दमनमा पर्छ। तर माथिल्लो जातको केटी तल्लो जातको केटासँग बिहे गरे केटीको परिवार नै बहिष्करणमा पर्छन्। जस्तो नवराज लम्सालकी छोरीलाई दाजुभाइहरूले कार्यक्रममा बोलाउँदैनन् भनेजस्तो।
पितृसत्ताले चलन र संस्कारअनुसारको बिहेमा सन्तानलाई पुरुषकै वंशज दिन्छ। तर अन्तरजातीय विवाहलाई जात खसेको नाम दिएर कथित दलित जात वा केटीको जातसँग जोड्छ। आमाको थर लेख्न लगाउँछ।
आमाको थरतिर लाने हो भने त फेरि थर्ड जेनेरेसन जातीय विभेदमा नै पर्ने भए। दुई पुस्ताले अन्तरजातीय विवाह गर्दा पनि मैले जातीय विभेद भोगेको छु भने मेरा सन्तानले नभोग्ने भन्ने कुरै हुन्न। दलित र गैर दलितबाट जन्मेको बच्चाले कोसँग बिहे गर्छ, कसको थर भनेर चिनिन्छन्?
हाम्रो समाजको परिकल्पना अनुसार केटा पक्षको थर राखिन्छ। तर थरमात्र के लेख्यो भन्ने प्रश्न होइन बरु त्यो थर कुन जातमा पर्यो भन्ने प्रश्न आउँछ। उनीहरूले बुवाको थर लेखेमा माथिल्लो जात रहन्छन् त? माथिल्लो जताकोसँग बिहे चल्ला त?
यसरी बुवाको थर पछ्याउँदा उपल्लो जात हुने र आमाको थर पछ्याउँदा उनीहरू बच्चैबाट विभेद बोकेर हुर्किने भए। थरले मात्र हुने भए त अजित मिजार ढकाल हुन्। तर जात उनको कथित तल्लो हो भन्ने कुरा उनको सामाजिक आर्थिक राजनीतिक कुराले प्रस्ट पारि नै हाल्थ्यो। जसका कारण आजसम्म उनको लास टिचिङ हस्पिटलमा छ।
त्यो जेनेरेसनलाई छुट्टै पहिचान स्थापित गर्न सकिएला त? यदि यसो भयो भने उनीहरूको विवाह कोसँग होला?यो केवल दलित र गैर दलितको सवाल भने पक्कै होइन।
ब्राह्मण भित्र पनि सौहार्द तरिकाले उपाध्यायले जैसी, कुमाईको चेलीबेटी स्विकार्दैनन्। क्षेत्री भित्र पनि ठकुरी, र अरु क्षेत्रीबीच पनि सजिलै हुँदैन। जनजातिहरू पनि आफूबाट अर्को इष्ट मित्र मान्दैनन्। दलित भित्र कामी-सार्की दमाईंले पनि सजिलै स्वीकार गरेको भेटिँदैन। उनीहरू बीच छाइछिटो नहोला तर संस्कारका नाममा त छेकबार लगाएकै छन्। जुन जातीय संरचना जसरी तहगत गरिएको छ।
यसको भुक्तभोगी हामी सबै छौँ। यो कुसंस्कारलाई त हामी सबैलाई पुस्तादेखि बोकेर हिँडिरहेका छौँ। एकले अर्कोलाई विभेद त सबैले गरेका छन्। आफ माथिल्लो हुँ भन्ने लाभ त सबैलाई उठाएकै देखिन्छ। यो सबैको जड जात व्यवस्था हो भन्ने हामीले स्विकार्नु पर्छ।
यसरी पिँधमा पिल्सिएका लागि यो अझ बहिष्करणमा परेका छन्। हुन त लासका लागि हामी बोल्दैनौँ। तर रुपाहरूका लागि ढोल पिट्ने हामी टिचिङको लासका लागि, भेरीमा समाहित हुनेहरूका लागि बोल्दैनौँ। पीडितलाई राहत पीडकलाई उन्मुक्ति दिनेमा सबैको ध्यान छ।