नेताज्यूहरू, तपाईंहरूले वर्षौंदेखि जनतालाई शिक्षा, स्वास्थ्य ग्यारेन्टी गरी सुख, समृद्धि, खुसी दिन्छौं भन्दै चुनावमा सपना बाँडिरहनु हुन्छ।
तर धेरै जनताको स्वास्थ्यको ग्यारेन्टी गर्न सक्ने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले धराशायी छ। डेढ महिनादेखि प्रतिष्ठानमा सुदृढीकरण आन्दोलन चलिरहेको छ। यति समय बितिसक्दा पनि नेताज्यूहरू भने उपयुक्त पहलकदमी लिन अग्रसर हुनुभएको छैन।
बिपी कोइराला प्रतिष्ठान मात्र होइन, कर्णाली, राप्ती, मधेस, मदन भण्डारी, पाटन, पोखरा जस्ता प्रतिष्ठान र सबै सरकारी अस्पतालबाट सस्तो, सुलभ र गुणस्तरीय उपचार पाउनुपर्छ भनेर उठेका मुद्दामा राजनीतिक नेतृत्व मौन रहनु अत्यन्त दुःखद हो।
वास्तवमा यस्ता मुद्दा तपाईंहरूबाट उठ्नुपर्ने हो। समाधानको बाटो तपाईंहरूले निकाल्नुपर्ने हो। सुधारका लागि पहल तपाईंहरूले नै गर्नुपर्ने हो। तर यहाँका चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीले यसमा अग्रसर हुनुपरेको छ। यसले गर्दा अस्पताल र आन्दोलनकर्मीको महत्वपूर्ण काम र अध्ययन प्रभावित भएको छ। आन्दोलनमा उर्जाशील समय खर्चिनुपरेको छ। यो दुर्भाग्यपूर्ण हो।
मेडिकल सेवा र शिक्षामा सेकेन्ड-सेकेन्डको भूमिका हुन्छ। अन्य काममा जस्तो एकछिन पछि र भोलि भन्न सकिँदैन। अहिले र तत्काल गर्नुपर्ने हुन्छ। नभए बिरामीको जीवन जोखिममा पर्न सक्छ।
तर नेताज्यूहरू, यति संवेदनशील कुरामा राजनीतिक वृत्तबाट कुनै गम्भीरता देखिएन। के जनताको जीवन तपाईंहरूका लागि सस्तो छ? कोरोनामा अक्सिजन र अस्पतालमा बेड नपाएर तड्पीतड्पी मृत्युवरण गर्ने नेपाली देख्दा तपाईंहरूको मन पोल्दैन?
बिपी कोइराला जस्तै प्रतिष्ठानहरू धराशायी बन्नुमा मुख्य दोषी राजनीति र दलका तपाईं नेताहरू नै हुनुहुन्छ।
आफ्ना दलका आसेपासेलाई उपकुलपति, रेक्टर, रजिष्ट्रार, निर्देशक बनाउनुपर्यो भने प्रतिष्ठानै खोलिदिने, पार्टीलाई खर्च उठाउने सर्तमा करोडौं असुलेर अयोग्य, भ्रष्टलाई पदाधिकारी नियुक्त गर्ने, उनीहरूलाई नियमन नगरेर मनपरी गर्न छाडिदिने, भ्रष्टाचार र अनियमितता छर्लंग भइसक्दा समेत कारबाहीको सट्टा बचाउ गर्नतिर लाग्नेजस्ता कार्यले सर्वसाधारणले उपचार पाउने भरोसाका केन्द्रहरू आफैं बिरामी भएका छन्।
नेताज्यूहरू, तपाईंहरूको भनसुनबाट पदाधिकारी मात्र होइन, कर्मचारी समेत पार्टीका कार्यकर्ता भर्ना भएका छन्। यी कार्यकर्ता-कर्मचारीहरू काम गर्दैनन्, टेर्दैनन्, अनियमिततामा संलग्न हुन्छन्, राजनीतिक दम्भ देखाउँछन्, कार्यालय समयभर ड्युटीमा बस्दैनन्। उनीहरूको यस्तो व्यवहारले सेवा-प्रवाहमा प्रतिकूल असर पर्छ।
अनि व्यापारी र दलालसँग साँठगाँठ गरी कमाउ धन्धामा पनि तिनै कर्मचारी सक्रिय रहन्छन्। प्रतिष्ठानको तलब-भत्ता खाएर पार्टीको राजनीतिक गतिविधिमा संलग्न हुन्छन्। उनीहरूलाई दण्ड र सजाय गर्ने आँट कसैले गर्दैन। राजनीतिक बाटोबाट आएका पदाधिकारीहरू पनि उनीहरूलाई नै साथ लिएर गलत कार्यमा उद्दत हुन्छन्। आर्थिक बदमासी गर्ने र मिलिभगतमा संस्था लुट्ने सजिलो बाटो उनीहरूले नै देखाइदिन्छन्।
संखुवासभा, खोटाङ, ताप्लेजुङ जस्ता पहाडी जिल्लाबाट दिनभरि लगाएर उपचार सेवा खोज्न आउने बिरामी र तिनका आफन्तले यहाँ पुगेपछि भोग्नुपर्ने भौतिक, मनोवैज्ञानिक र आर्थिक कष्टहरूको फेरिस्त लामो छ।
पहिले नै जटिल अवस्थामा पुगिसकेको बिरामीलाई एमआरआइ गर्न एम्बुलेन्सका लागि थप दस हजार खर्चेर विराटनगर पुग्नुपर्छ। यहाँ दस हजारमा हुने एमआरआइ विराटनगर पुगेर बीस हजारमा गर्नुपर्ने बाध्यता छ| तीन वर्षदेखि एमआरआइ मेसिन थन्किएको छ। सिटी स्क्यान गर्न हप्तौं पालो पर्खनुपर्छ। पर्याप्त जनशक्ति भए पनि पूर्वाधार र उपकरण विस्तार नगरिँदा अपरेसनका लागि बिरामीले महिनौंपछि बल्ल पालो पाउँछन्। त्यतिन्जेल रोग निकै जटिल भइसकेको हुन्छ भने कतिको मृत्यु नै भइसक्छ।
यत्रो ठूलो प्रतिष्ठानको आफ्नै फार्मेसी सञ्चालनमा नहुँदा बिरामीले बाहिर गएर दसौं गुणा महँगोमा औषधि किन्नुपर्छ। पटक पटक औषधि किन्न अस्पताल बाहिर दौडिनुपर्ने दुःख त छँदैछ| ल्याबमा जाँच गर्न दिनभरि लाइन लाग्नुपर्छ। रिपोर्ट लिन अर्को दिन कुर्नुपर्छ। इमर्जेन्सीमा बेड नपाएर बिरामीहरू भुइँमै रात बिताउन बाध्य छन्।
नेताज्यूहरू, जनतालाई यस्तो सास्ती हुँदासमेत बेखबर जस्तो बन्ने तपाईंहरू कुन नैतिकताले विकास र समृद्धिको कुरा गर्नुहुन्छ?
पठनपाठन र त्यसलाई आवश्यक मापदण्ड बमोजिमका उपकरण र पूर्वाधार नहुनाले मानिसको जीवनसँग खेल्ने मेडिकल जनशक्ति उत्पादनको गुणस्तर र दक्षता नै खस्किन्छ कि भन्ने ठूलो त्रास पैदा भएको छ। यसरी जनताको जीवनमा हुनसक्ने खेलवाडको जिम्मेवारी तपाईंहरूले लिने कि नलिने?
पैंतालीस दिनदेखि भइरहेको शान्तिपूर्ण आन्दोलन नेताज्यूहरूको प्राथमिकतामा परेको छैन। परोस् पनि कसरी, हामी कुनै दलको कार्यकर्ता होइनौं,ग न हामीले तोडफोड, आगजनी गरेका छौं न त टायर बालेका। यतिका दिनसम्म पनि बिरामीको सेवालाई कुनै अवरोध गरेका छैनौं। त्यही भएर पो हो कि हाम्रो आवाज तपाईंहरूको कानसम्म नपुगेको?
यस्तै अवस्था रहेमा सम्पूर्ण स्वास्थ्यकर्मी र चिकित्सक, विधार्थी र कर्मचारीले काम छाड्ने दिन नआउला भन्न सकिन्न। यो महामारीका बेला त्यस्तो अवस्था निकै महँगो साबित हुनेछ, बेलैमा ध्यान जाओस्।
यो आन्दोलनमा हाम्रा व्यक्तिगत स्वार्थका केही माग छैनन्।
संस्थालाई सुधार गर्न यहाँ भएका भ्रष्टाचार, बेथिति र अनियमिततामा संलग्नलाई कडा सजाय हुनुपर्छ, काम नगर्ने, कारबाही हुनुपर्छ, उपकरण खरिदमा हुने अनियमितता र उपकरण बिगार्नेलाई माफी दिनु हुँदैन, प्रतिष्ठानहरूमा हुने खरिद प्रक्रिया पारदर्शी बनाइनुपर्छ, दैनिक हुने आयव्यय वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्छ, यस्ता संवेदनशील संस्थाबारे अख्तियार र अदालतमा परेका मुद्दा फास्ट ट्रयाकबाट तत्काल टुंग्याइनुपर्छ, राजनीतिक भागबन्डामा नियुक्ति बन्द गरी नियुक्तिको उत्कृष्ट मापदण्ड ऐन र नियमावलीकै रूपमा लागू हुनुपर्छ, चिकित्सा शिक्षाका विधार्थीले पूर्ण मापदण्डसहितको वातावरणमा पढ्न पाउनुपर्छ भन्ने हाम्रो माग छन्।
यी कुराहरु नाजायज हुन् भने ठिकै छ। नभए तपाईंहरूलाई पनि हाम्रो अभियानमा संलग्न हुन, साथ दिन र समस्या समाधानमा अग्रसरता लिन आग्रह गर्छु।
अन्त्यमा एउटा प्रश्न यहाँहरू सबैलाई सोध्न चाहन्छु, एउटा सानो सटरमा करोडौं लगानी गरेर खोलेको मेडिकलले अर्बौं कमाइरहँदा यति ठूलो पूर्वाधार भएको र सबै उपकरण खरिदमा सरकारले बजेट दिने संस्था किन आज सात अर्ब घाटामा छ?
(डाक्टर पदम नेपाली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेजिडेन्ट तथा संस्था सुदृढीकरण अभियानका सदस्य हुन्।)