विश्व स्तनपान सप्ताह एक वार्षिक उत्सव हो जुन, १ देखि ७ अगस्टसम्म प्रत्येक वर्ष आयोजित गरिन्छ। २४ जुलाई २०२१ सम्मको तथ्यांकअनुसार विश्व स्तनपान हप्ता १२० भन्दा बढी देशहरुले आयोजना गर्ने गरेको पाइन्छ।
वर्ल्ड अलायन्स फर ब्रेस्टफिडिङ एक्सन, विश्व स्वास्थ्य संगठन, र युनिसेफ एकसाथ जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई बढावा दिने लक्ष्य लिएर आएको यस साताव्यापी उत्सवको उदेश्य नयाँ आमाबुबाहरुको बीच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो।
यस वर्ष पनि सधैँ जस्तै अगष्ट १ देखि ७ सम्म सप्ताहव्यापी उत्सव मनाइँदै छ। यस विषयको साझा नारा सहित उत्सव मनाउने एकमात्र कारण स्तनपानको लाभ र यसको महत्वको बारेमा सजग बनाउनु हो।
यस वर्ष २०२१ को साझा विषय दिगो विकास लक्ष्य २०३० अभियानको विषयगत क्षेत्र २ सँग मिल्दोजुल्दो हुनेगरी अगाडि बढाइएको छ, जसले स्तनपान र अस्तित्व, स्वास्थ्य र महिलाहरुको स्थिति, बच्चाहरुको स्वास्थ्य र राष्ट्रको बीचको सम्बन्धलाई हाइलाईट गर्दछ।
यस वर्षको उदेश्य
- स्तनपान सुरक्षाको महत्व बारे मानिसहरुलाई सूचित गर्नु।
- स्तनपानलाई एक महत्वपूर्ण सार्वजनिक स्वास्थ्य जिम्मेवारीको रूपमा समर्थन र बहस गर्नु।
- कार्यक्रमलाई अधिक प्रभावकारि बनाउनको लागि हरेक व्यक्ति, संघ-संस्था तथा संगठनहरुलाई संलग्न गराउने।
- सार्वजनिक जनस्वास्थ्य सुधार गर्न स्तनपानको सुरक्षामा कार्य गर्ने समूह तयार गर्नु।
स्तनपान के हो ?
सामान्यतया शिशुलाई आफनै आमाको दूध चुसाउनु स्तनपान हो। स्तनपानको दुई वटा मूलभूत मापदण्ड छन्-
१. प्रारम्भिक स्तनपान
प्रारम्भिक स्तनपान भन्नाले शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध ख्वाउन सुरु गर्नु हो। यसो गर्नाले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्दछ। शिशुको शरीरमा ग्लुकोजको कमि हुनबाट बचाउँछ। साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेलो प्रकारको बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता (एन्टिबडी) धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भनिन्छ।
२. पूर्ण स्तनपान
शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूधमात्र खुवाउनु नै पूर्ण स्तनपान हो। शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल्स, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्व समेत आमाको दूधमा नै प्रायाप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना ख्वाउन आवश्यक हुँदैन।
यसरी ६ महिनासम्म स्तनपान गराउँदा शिशुहरुको शारीरिक र मानिसक वृद्धि र विकासका लागि सहयोग पुग्दछ। पूर्ण स्तनपान गराएका बच्चाहरुको दिमागी क्षमता अन्य बच्चाभन्दा तीक्ष्ण हुने हुन्छ। संक्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा भएकोले स्तनपान अमृत समान हुन पुगेको छ।
दीर्घकालीन रुपमा बच्चाको मृत्युदर घटाउन समेत स्तनपानको भूमिका रहेको छ। शिशु ६ महिना पुग्ना साथ आमाको दूधका साथसाथै पोषिलो थप आहार ख्वाउन थाल्नु पर्दछ र कम्तीमा दुई वर्षसम्म थप आहारका साथ स्तनपानलाई पनि निरन्तरता दिनु पर्दछ।
स्तनपान सम्बन्धी कानुनी व्यवस्था
- सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकार भित्र नवजात शिशुलाई स्तनपान प्रवर्द्धन र सहजिकरणको लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरेको छ भने आवश्यक परेमा चिकित्सकको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ।
- सबै प्रकारको सरकारी, गैर सरकारी वा निजी संघ-संस्थाले आफ्नो कार्यलयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यलय समयमा आमाको दूध खुवाउनको लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने उल्लेख छ।
- हरेक कार्यलय, स्कुल, बस, पार्क र एयरपोर्ट जस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनु पर्ने व्यवस्था गरेको छ।
- स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रुपमा परिभाषित गरिएको छ।
- स्तनपानलाई/आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना/वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा उल्लेख भएको प्रावधानहरु।
- प्रसूति गृह वा अस्पतालहरुमा प्रारम्भिक स्तनपानलाई प्रवर्द्धन तथा स्थापित गर्न मातृ शिशुमैत्री कक्षको व्यवस्था गर्नु पर्नेछ।
हालको स्तनपानको स्थिति
नेपाल बहुसूचक सर्वेक्षण २०१९ अनुसार शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउने आमाहरुको संख्या ४१.७ प्रतिशत मात्र छ भने पूर्ण स्तनपान गराउने आमाहरु ६२.१ प्रतिशत छन्। शिशुहरुलाई उमेरको मापदण्ड अनुरुप स्तनपान गराउने आमाहरु जम्मा ८१.४ प्रतिशतमात्र छन्।
त्यस्तै गरेर नेशनल डेमोग्राफिक हेल्थ सर्भे २०१६ अनुसार शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउने आमाहरुको संख्या ५५ प्रतिशतमात्र छ भने पूर्ण स्तापान गराउने आमाहरु ६६ प्रतिशत छन्। साथै ६ महिना पूरा भएका बच्चाहरुलाई स्तनपानको साथमा समयमै मापदण्ड अनुरुप थप खानाको सुरु गर्ने आमाहरुको संख्या जम्मा ३६ प्रतिशतमात्र छ।
उल्लेखित प्रतिनिधि तथ्यांकले दर्शाएको वर्तमान स्थितिको कारणको खोजी गर्दा अशिक्षा, गरिबी, ऐन, कानुन र नियमावलिको अभावले स्तनपानलाई कुनै असर परेको देखिँदैन। व्यापारिक विज्ञापन, व्यक्तिगत आम्दानी, बजारमा उपलब्ध फर्मुला युक्त खाना, कानुनी प्रावधानको कार्यान्वयन पक्ष फितलो हुनु, कार्यलय वा अन्य स्थानमा छुट्टै स्तनपान कक्षको व्यवस्था नहुनु वा महिला कर्मचारीहरुलाई स्तनपान गराउने समयको व्यवस्था नगरिनु, प्रसूति बिदा कम दिनु (९८ दिन मात्र) र परम्परागत धारणा समाजमा रहिरहनुले अहिले पनि स्तनपान नवजात शिशुको नैसर्गिक अधिकारको हनन नै भएको छ भन्दा पनि फरक नपर्ला।
यस्तो अवस्था रहिरहँदा नवजात शिशु तथा बाल स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिको लागि राखिएको महत्वकांक्षी लक्ष्य हासिल गर्न धेरै कठिन पर्न सक्ने अन्दाजा गर्न सकिन्छ।
त्यसैले यस्ता उत्सवहरुका आयोजनाहरुलाई लक्षित वर्गसम्म पुर्याउने र सार्वजनिक बहसको विषय बनाई प्रत्यक आमालाई स्तनपान गराउनुको विकल्प स्तनपान मात्र हो र मापडण्डअनुसार स्तनपान गराउनाले शिशुको रुग्नता दर र मृत्यु दर त घट्छ नै, तीक्ष्ण बुद्धि र क्षमतावान नागरिकको परिकल्पना पूरा हुनेछ भन्ने जनचेतना फैलाउने तिर प्राथमिकिकरण गर्न जरुरी देखिन्छ।
कोभिड-१९ महामारी र स्तनपान
पान अमेरिकी स्वास्थ्य संगठन र डब्लुएचओका अनुसार जब स्वास्थ्य र अन्य सामुदायिक सेवाहरु आफैमा बन्चित वा सीमित हुन्छन्, त्यो समयमा स्तनपान गरिरहेका शिशुहरुलाई संक्रमणबाट बच्न र रोकथाम गर्न तथा स्वास्थ्य विकासलाई बढावा दिनको लागि विशेषगरी आमा र शिशुको अन्तरक्रिया महत्त्वपूर्ण हुन्छ।
आमाहरु र शिशुहरुलाई सँगै रहनको लागि व्यवस्था गरिएको हुनुपर्छ। नवजात शिशुहरुमा शंकास्पद, सम्भावित, वा पुष्टि कोभिड-१९ भाइरस संक्रमण छ भने छालादेखि छाला सम्पर्क र/वा कंगारु हेरचाह अभ्यास गर्नु र नियमित स्तनपान गराउनु पर्दछ।
सबै गर्भवती महिलाहरु, शिशुहरु र साना बच्चाहरु भएका आमाहरुलाई स्तनपान परामर्श, आधारभूत मनोसामाजिक समर्थन, र खुवाउने अभ्यासको लागि सहयोग प्रदान गरिनु पर्दछ।
कोभिड १९ महामारीको समयमा पनि जन्मेको एक घण्टा भित्र स्तनपान गराउने, बच्चा छ महिनाको उमेरसम्म पूर्ण स्तनपान मात्र गराउने, र दुई वर्षको उमेरसम्म सुरक्षित पूरक खाद्य पदार्थसँगै स्तनपान जारी राख्दा पोषणको लागि पर्याप्त हुने र शरीरको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो हुने भनि मार्गनिर्देशिका जारी गरेको छ।
नवजात शिशु तथा बाल स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिको लागि राखिएको महत्वकांक्षी लक्ष्य हासिल गर्न स्तनपानलाई प्राथमिकतामा राखेर सार्वजनिक बहसको विषय बनाउनु पर्नेछ।