उनी र म (हामी) काठमाडौं विश्चविद्यालयको ‘स्कूल अफ म्यानेजमेन्ट’ मा स्नातकोत्तर तहको सार्वजनिक नीति तथा व्यवस्थापन विषय सँगै पढ्छौं। सोमबार दिउँसो हाम्रो कक्षाको ‘भाइवर ग्रुप’ मा उनको सन्देश आयो-‘सरकारी कर्मचारी भएकोमा ग्लानी त्यतिबेला हुँदो रैछ, जब मालपोत कार्यालयमा आफ्नो काम परोस्,’-जीवनको तितो अनुभव।
आफ्नो काम र सेवाप्रवाहप्रति सधैं गर्व गर्ने उनी आज किन यति विघ्न कृतघ्न भए? कौतुहल भएँ। एक श्वासमा फोन गरेँ। कुरा के हो?
दृश्य-१
सार्वजनिक नीतिको परिचय। आईतबारको थप कक्षा। भूमिसुधार र कृषि प्रसार विषयमा प्रस्तूतिकरण गर्दै गर्दा बाहिर चर्को हर्न बज्यो। को हो? लक्ष्मीको (श्रीमतीजी) जवाफ आयो। आज त्यो मंसिरमा कागजपत्र गरेको टुक्रो जग्गा पास गर्न जाने भनेको होईन? अनि मेरो सहकारीको २/४ वटा जग्गा रोक्का र फुकुवा छ। हाम्रो कार्यालयसँग कार्यसम्पादन सम्झौता भएकी लेखापढी व्यवसायी दिदी के। उहाँसँग कागजात पठाउँदै गरम्। हजुरको कक्षा सकिएपछि जाउँ है? हुन्छ नि। खाना खाएर १० बजे पुग्ने गरी हतार हतार स्कुटी कुदाएँ। पूर्व-पश्चिम राजमार्ग विस्तार भइरहेको छ। लाग्छ राजमार्ग कम खोलाको बगर ज्यादा। साना-ठूला खाल्टा जोगाउँदै धुलो मैलो र ठूला सवारी साधनको बल मिच्याईँ सहँदै ढिला गरि नै जिल्ला सदरमुकाम कावसोतीस्थित माल अड्डा पुग्यौं।
व्यक्तिगत कामले पहिलो पटक थियो यो। कार्यालयको कामका लागि भने २/४ पटक पुगेको थिएँ। मुख्य गेट भित्र छिर्नेवित्तिकै बायाँतर्फ मन्दिर र दायाँतर्फ पालेघर छ। पर्खालभित्रै कार्यालय भवनको बायाँतिर अलि पर प्राय निकै भिडभाड देखिने लामो जस्ता हालेको टहरो देखिन्छ। लेखापढी व्यवसायीका टेबल छन्।
कार्यालय भवन प्रवेश गर्ने मुख्यद्वारमा कुनै एउटा हार्डवेयर पसलबाट सौजन्य लेखेको टेबल र त्यसमाथि पाना खुला रहेको दर्ता किताब एक्लै छ। भवनसँगै बायाँपट्टिका झ्यालहरू क्रमशः१ देखि ८ सम्म सेवाग्राहीको लाईनले भिडभाड नै देखिन्छ। भवनको दायाँपट्टि रहेका क्रमशः ९ देखि १३ सम्मका झ्यालमा पनि अलिअलि भिडभाड नै देखिन्छ।
मुलढोका छिर्नेबित्तिकै पहिलो तल्ला चढ्ने सिँढीको दायाँतर्फ अर्को आल्मुनियमको ढोका छ। र सँगै भुँईमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ को जानकारी र सम्पर्क नम्बरसहितको बोर्ड अविचलित बसिरेको छ। खल्तीमा रहेको मोबाईल घ्यार्र गर्यो। बाहिर निस्किएँ। मैले काम गर्ने नगरपालिकाका नगर प्रमुखज्यूको कल रहेछ। तपाईँ कता? काठमाडौं कि घरतिर? मैले भने, ‘आज म काम विशेषले कावासोती मालपोतमा छु बुवा। हामी सबै उहाँलाई श्रद्धाले बुवा सम्बोधन गर्छौं।
संयोगबस आज कार्यपालिका बैठक बस्ने र मुख्य एजेण्डा जग्गाको मूल्याङ्कन दरका विषयमा रहेछ। उक्त दर उल्लेख हुने मालपोतले छपाई गर्ने किताब खोज्दा भेटिएन भनेर मलाई कल गर्नुभएको रहेछ।
म मालपोतमा भएकोले त्यो किताब लिएर छिट्टै आउनुस् भन्नुभयो। मैले हवस् भनेँ। किताब कता खोज्ने? म सरासर पहिलो तल्लामा रहेको कार्यालय प्रमुखको कक्षसँगै दायाँतिर रहेको प्रशासन फाँट लेखेको कोठामा पुगेँ। दुई वटा कुर्सीमा दुई जना कर्मचारी काम गर्दै थिए। सर नमस्कार भनेँ। कुनै प्रतिक्रिया आएन। एकछिन ठिङ्ग उभिईरहेँ। एक जनाले मन नलागी नलागी मतिर नजर घुमाएर सोधेँ। के होला? म देवचुली नगरपालिकाको कर्मचारी हाम्रो जग्गाको मूल्याङ्कन दरमा केही समस्या रै’छ। त्यसैले त्यो दर उल्लेख भएको किताब लिन आएको।
‘किताब छापेको छैन’, जवाफ आयो। मैले भने, ‘गत वर्षको भए पनि हुन्छ। जवाफ आयो- छ न त छैन होला तै पनि स्टोरमा गएर कोशिस गर्नु न।’ धन्यबाद भन्दै तल झरेँ।
मुल ढोकामै एक जना देवचुलीकै लेखापढी व्यवसायी दाइ भेटिए। मैले नमस्ते भनेँ। उनले ‘अहो अधिकृत सर कता?’ भने। मैले एउटा काममा आएको। तर मूल्याङ्कन किताब लिएर नगरपालिका जानुपर्ने भयो। लौन त्यो कता पाईएला भनेँ। उनले बाहिर फोटोकपी पाईन्छ। सय रूपैंया तिरेर लिए हुन्छ। ‘होईन माथिबाट त खनाल सरलाई भेट्नू भन्ने कुरा छ,’ मैले भनेँ। ‘भेट्नू तर किताब पाउन गाह्रै होला’ भन्दै भेट चाहीं गराईदिए।
किताब नछापेको र गत वर्षको दिन नमिल्ने खनाल सरले बताए। अहिलेको सफ्टकपि लिने भए १ नं. झ्यालमा (कम्प्यूटरमा) जानू भने। त्यता हेरेको निकै भीड देखेँ। सेवाग्राही लाईनमा। कर्मचारी नि कामको बोझमा होलान् भन्ने सोचेर लौ दाइ बाहिरबाटै लिन्छु भनेर बाहिर निस्केँ। आफूलाई चाहिने मात्र फोटोकपि गरेँ। भित्र गएर लक्ष्मीलाई म कार्यालय जानुपर्ने भयो। यता त्यस्तो केही परे कल गर्नू भनेर छुट्टिएँ।
दृश्य-२
म कार्यालय पुग्दा बैठक शुरू हुन लागेको थियो। मूल्याङ्कन दरको फोटोकपि नगरप्रमुखज्यूलाई दिएँ। आफू नि बैठकमै बसेँ। समस्या हाम्रो मूल्याङ्कन दर अन्तको भन्दा बढी कायम गरिएको थियो। सम्पती कर प्रयोजनका लागि। अघिल्ला आर्थिक वर्षहरुमा समस्या आएन। यसपल्ट भने मालपोतले हाम्रो मूल्याङ्कनलाई आधार मानेर थैली झुण्ड्याउँदा नागरिक ठूलै आर्थिक मारमा परेको गुनासो आएछ। सो को सम्बोधनका लागि मूल्याङ्कन दर मालपोतले कायम गरे बमोजिम बनाउन विशेष नगर सभा डाक्ने र निर्णय गर्ने टुंगोमा नगर कार्यपालिकाले निर्णय गर्यो।
सङ्घीयता र स्थानीय सरकारको सुन्दरता यही हो। नागरिकका समस्या तुरून्त सम्बोधन हुन्छन्। यद्यपी कोही कोही व्यवस्था असफल भएको हल्ला गरेकै छन्। यतिकैमा २ बजिसकेको रहेछ। लक्ष्मीलाई कल गरेँ। ‘के छ काम सकियो?’ छैन नि। खाली यता दौडने उता दौडने भइरहेको छ।
‘ल त पानी पनि परिरहेको छ। रोकिएपछि आउँछु नि,’ भनेर फोन राखेँ। करिब ३:३० तिर पानी रोकियो। म मालपोत पुग्दा ३:५० जति भएको थियो। नरमाया दिदी र लक्ष्मीलाई झ्याल नं. १३ मा देखेँ। उक्त झ्यालमा ‘मोठ भिडाउने समय १०:०० देखि २:०० बजेसम्म लेखिएको भए पनि २/४ जना सेवाग्राहीले यसबेला पनि सेवा लिइरहनुभएको थियो।
अहिले भने भवनको वायाँभन्दा दायाँ पट्टी भिड बढेको रहेछ। त्यसपछि ४:०५ मा राजस्व बुझाउन झ्याल नं. ९ पुग्दा त आज लिन सक्दिनँ। बैंक पनि ४:०० बजे बन्द गर्छन् भन्ने जवाफ आयो।
अब कोरोनाको कारण यसै त २ महिना अगाडिको काम आज गर्न आईयो। आज काम नभए गैंडाकोट नगरपालिकाको काम हुने आईतबार मात्र। सम्झेँ-आफूले त कतिपटक ५:१५ सम्म पनि राजस्व फाँटका साथीलाई राजस्व काट्न लगाईयो यद्यपि कार्यालय समय ५:०० बजेसम्म हो। नियम मिचेको हो त मैले ? यहाँ ४:०० बजे बन्द हुने नियम रहेछ। नेपाल सरकारका विभिन्न अड्डामा फरक फरक नियम हुन्छ र? नरमाया दिदीलाई सोधें कसरी ढिला भयो? ‘हजुर त ९:०० बजे नै लाईनमा बस्नुभएको हो। खोई के भन्नु भाइ १ नं. झ्यालको लाईनमा बसेँ पालो आउनी बेलामा कम्पुटर बिग्रियो अर्को लाईनमा जानु भन्यो। त्यता पछाडि परेँ। ऊ त्यो भाइ १:०० बजे लाइनमा बसेको हो। काम सकिसक्यो। के रैछ भनेर बुझेको उहाँलाई लेखापढी व्यवसायीले ६००० रूपैयाँ लिएर द्रूत गतिमा काम गराईदिनु भएको रहेछ।’
दिदी र लक्ष्मी आफैं कागज बोक्दै यता यता डुल्दाको परिणाम रहेछ। हामीजस्ता काम नभएका अरू २-३ जना सेवाग्राही भेटेँ। अतिरिक्त रकम दिँदा सेवाग्राहीमा कुनै हिनताबोध छैन। ‘के गर्नु भाइ गैंडाकोटबाट आउजाउ गर्दा कम्तीमा ५०० को ईन्धन। आज काम नसकिए अर्को १ हप्ता कुर्नुपर्यो। त्यो भन्दा ५ सय- हजारमा काम उम्काउनै ठिक छ,’ एक सेवाग्राहीले भने।
ओ हो मेरो प्रशासनको सेवा प्रवाह। कस्तो सुशासन? आफैंसँग दिक्क लाग्यो। अब भने सेवाग्राहीको भीड कम हुँदै गयो। बिहान भेट भएका दाइ आए। ‘सर हजुरको काम सकिएन?’ भने। मैले ‘सकिएन दाइ’ भने।
अलि अगाडि आउन पर्छ नि भन्दै उनी भित्र गए। अनि बाहिर आएर १० नं. झ्यालमा एक जना सर हुनुन्छ। आफूलाई चिनाउनु काम हुनसक्छ। म सेवाग्राही भएर जुनसुकै कार्यालयमा जाँदा पनि आफ्नो कर्मचारीको परिचय दिन उतिसारो मन पराउन्न। तै पनि दाइले बल गरेकोले गएँ।
पहिला स्थानीय तहमै काम गरेका र एकाध बैठकमा सँगै रहेका कर्मचारी रैछन्। नमस्ते टक्र्याएँ। खासै वास्ता गरेनन्। मास्क खोलेर ‘म फलानो के’ भने। ‘के भयो?’ भन्ने बोली आयो। मैले ‘राजस्व बुझाउन पाईनँ। अब अर्को हप्ता आउन त्यती फुर्सद छैन सर लौ न सहयोग गर्नुस,’ भने। सँगसँगै झ्यालमा बाँकी रहेका सेवाग्राहीलाई पनि निहालिरहेँ।
आफै कागजात बोक्नेको धेरै त्रुटीहरु हुने रैछ। यदि लेखापढी व्यवसायीले ल्याएको छ। उसले अनुहार मात्र देखायो भने काम खासै नबिग्रने रहेछ। यी झ्यालका अन्तर्यहरू बुझिनसक्नुका रैछन्। अनि उनले अर्को एक जना कर्मचारीलाई ‘लौ त राजस्व हाकिम साब यति गरिदिनुस्’ भने। उनी तिनै अघि ९ नं. झ्यालमा बैंक बन्द भैसक्यो भन्ने कर्मचारी थिए।
उनले ‘आज गर्न मिलेन अरूले नि खाईहाल्छन् मलाई हजुरको मात्र गरेँ भने पनि। बरू यो मेरो घर्रामा राख्छु। भोलि फर्स्ट आवरमा आउनू काम हुन्छ’ भने। धन्यवाद भनेर निस्केँ।
नरमाया दिदीलाई भोलि नि दुखः पाउनु पर्ने भो दिदी भने। हुन त पालो होईन। तर कागज नै राखेसी त गर्देलान् नि। बरू हामी नि ९:०० बजे नै आउँला भनेर छुट्टियौं।
पानी हल्का परेको थियो। नगर प्रमुखज्यूको घर राजमार्ग छेउँमै छ। लक्ष्मीले नि भेट्न मन गरेकोले पस्यौं। करिब ५:२० जति भएको थियो। काम सकियो त? भन्नु भयो। पुरै विवरण सुनाएँ। ‘त्यहाँ त एउटा सेटिङवाला नसमाती काम हुन्न। भोलि नि खोई,’ उहाँले निराशा पोख्नुभयो। मैले भने, ‘हो हजुर। अब कानुनमा त्यो कामको जिम्मा नि स्थानीय तहलाई दिएको छ। हामीले ल्याउन पर्यो। नागरिकले त निकै कष्ट पाउँछन्। हाम्रोमा आयो भने त हजुरहरू सोझै जनताप्रति जवाफदेही हुनुपर्ने हुँदा हामीले नि असल सेवा दिन कर लाग्छ नि,’ भने।
‘केन्द्र सरकारले के दिन्थ्यो र? कानुन बनायो। स्रोत र जनशक्ति दिन्न। हामीले नि कर्मचारी लिन नपाउने। यता आए सेटिङ भत्किन्छ भनेर माल अड्डा त दिँदै दिन्नन्,’ उहाँले भन्नुभयो। एकछिन यस्तै यस्तै विषयमा छलफल गर्यौं। पानी पर्न अलि कम भयो। बिदा भएर घरतिर लाग्यौं।
दृश्य-३
सोमबारको कक्षा पुरै नबसी अधुरो काम सक्न जानुपर्ला भनेको। परेन। कक्षा छोटो भयो। खाना नखाई मालपोत कार्यालय कावासोती पुगेँ। बाटोमा कता कता आज पालो होईन भनेर काम रोकिन्छ कि भन्ने शंका मनमा पलाईरह्यो। फेरि होईन त्यतिको काम हुन्छ भनेरै कागज नै राखे पछि त होला नि भनेर मन बुजाएँ।
हामी पुग्नु अघि नै नरमाया दिदी पुगिसक्नु भएको रै’छ। छिटो भएर हो कि देवचुलीको पालो भएर हो भीड खासै थिएन। एकछिन बसेपछि झ्याल नं. ९ खुल्यो। सर हिजोको राजस्व हेरिदिनु न। कुन? हजुरको घर्रामा छ नि। ए ए। रसिद पाईयो। अघिको शंका मनबाट हट्यो। बैंकमा राजस्व जम्मा गरियो। भौचर र कागजात लिएर ११ नं. झ्यालमा पुगेर कागजात देखाएको त। ‘यो आज हुन्न। आईतबारमात्र हुन्छ। पालोमा आउनुस्,’ रे।
हिजो राजस्व ढिला भयो। अहिले काट्दिनुभयो। अनि झ्याल नं. १० को सरले आउनु भन्नुभएको भएर आयौं। ‘उसोभए उहाँ आएसी गराउनुस्’ भनेर कागज नै हेरेनन्।
लक्ष्मीले लेखापढी गर्ने दिदीलाई बुझ्दा ‘पैसा खोजेका हुन्। एकछिन अर्को सरलाई कुर्नू न’ भनिन्।
फेरि मैले चिनेका दाइ आए। ‘हिजै हुने काम अरूको पालो भएको दिनमा हुँदै नहुने हो र दाइ?’ उनलाई सोधेँ। ‘हुन्छ सर, तर झ्यालपिच्छे १००० का दरले बुझाउनुपर्छ।’ भनेसी मेरो तीन वटा झ्यालमा काम बाँकी छ। मेरो २ र आधा दिनको कमाई बुझाउन पर्यो? ‘हजुरको त गर्देलान् नि हिजो हुन्छ भनेका हुन् केरे’, यति भनेर उनी आफ्नो काममा लागे।
यतिकैमा १०:३० तिर हिजो मैले आफूलाई चिनाएसी चिनेझैं गरेका झ्याल नं. १० का कर्मचारी आए। ‘सर नमस्कार ! हिजो हजुरले भोलि हुन्छ भनेर आईयो आज त ११ नं. झ्यालमा हुन्न भने,’ मैले सविस्तार सुनाए। ‘मैले के गरम त? जहाँ अड्केको हो त्यहीँ मिलाउनुस्’ भनेर उनी झोंक्किए।
मेरो हालत खराब भयो। बाहिर निस्केँ र गेट छेउँको मन्दिरको पेटीमा बसेँ। लक्ष्मीले भनिन्, ‘३००० दिए काम हुन्छ रे हाम्रो लेखापढी गर्ने दिदीले भनेकी के गरौं? म त के भनम्?’
निरिह भएँ। हामी त अर्को आईतबार आउँला। नरमाया दिदी २ दिन भइसक्यो। भरतपुरबाट भोकै। यस्यो महामारीको बेला। सार्वजनिक यातायात। ठिकै त होला। त्यसपछि ति लेखापढी गर्ने दिदीलाई कागज र ३००० सुम्पियो। उनले कागज बोकेर गएपछि झ्याल नं. ९, १० र ११ ले मेरो कागज चिन्यो।
म मन्दिरमा टोलाएर बसेको देखेर लक्ष्मीले सान्त्वना दिँदै भनिन्, ‘यहाँ सधै यस्तै हो। पहिला पहिला लाईन लामो हुँदा बत्ति गएर कम्प्यूटरमा काम रोकिन्थ्यो। त्यो समस्याको समाधान लेखापढी व्यवसायी मिलेर सोलार व्याकअप हालिदिएपछि भयो। ऐले नि ईन्टरनेटले गर्दा कम्प्यूटरमै सेवाग्राहीको लामो लाईन हुन्छ। प्राय एउटा कम्प्यूटर बिग्रिरहन्छ। हामी सेवाग्राहीलाई त बानी परिसक्यो। हजुर यता खासै नआउने भएर असहज लागेको हो। जाउँ अब म अफिस पुग्नु पर्छ।’
उठ्दै गर्दा सम्झेँ। यही कार्यालय हो जसले हाम्रो नगरपालिकामा एउटा कम्प्यूटर र प्रिन्टर माग्यो। गत साल कार्यालय सञ्चालनको पैसा छैन भनेर के के फर्म्याट र बाईन्डिङ् बापतको ५० हजारको बिल मैले ईन्ट्री गरेको हुँ। टाउको र मन भारी भयो। भोक नि लागेन। करिब १२:०० बजेतिर स्कुटर स्टार्ट गरि घरतिर हुँईकिएँ।
र, अन्त्यमा !
फेरि दिउँसो करिब ४:०० बजेतिर उनले पोष्ट गरे–
‘एउटा झ्याल। केन्द्रीकृत, सामन्ती सत्ताको झ्याल। जसले सेवाग्राही चिन्दैन। सेवाग्राहीको करबाट आफ्नो जीवननिर्वाह गर्ने त्यही झ्यालभित्रको कर्मचारी। चिन्छ त केवल विचौलिया। निरिह नागरिक आफ्नो व्यक्तिगत सम्पती किनबेच गर्दा करसँगै घुस बुझाउन बाध्य छ। यस्तो सेवाका लागि पनि रून्चे हाँसोमा महान युद्व जितेको आभाष छ उसमा। अनि भन्छ। के गर्नू, हाम्रो सुशासन नै यही हो।’