खुसी हुनु राम्रो हो, बेहिसाब खुसी हुनुपर्छ। तर, खुसीको कारण र खुसीको तादाम्यता मिलेन भने त्यो खुसी खल्लो हुन जान्छ। आधुनिक युगमा ढुंगे युगको जस्तै खुसी हुनु मन बुझाउने मात्र खुसी हो।
म एकजना दाइसँग कुरा गर्दै थिएँ। कुराकै क्रममा मैले भनिहालेँ 'आज दिनभर विद्युत गयो।'
दाइले पनि 'धेरै समय विद्युत गएर आउँदा कस्तो खुसी लाग्छ है भाइ' भन्नुभयो।
मैले पनि 'होनि दाइ, कस्तो खुसी लाग्छ। विद्युत आएपछि मोबाइल ल्यापटप चार्ज गर्न पाइन्छ, नेट चलाउन पाइन्छ' भनेँ। वास्तवमै खुसी लाग्छ तर यो खुसी आजको आधुनिक युगको खुसीसँग मेल खान्छ त?
विदेशीहरु अन्तरिक्षमा आफ्नो विमान पठाउँदा खुसी हुन्छन्, हामी हवाईजहाजमा बस्न पाउँदा खुसी हुन्छौं। विदेशीहरु विनाश बिनाको विकासमा खुसी हुन्छन्, हामी विकासमा विनाश गर्दा खुसी हुन्छौं। विदेशीहरु वृक्षारोपण गर्दा खुसी हुन्छन्, हामीहरु जंगल फडानी गरेर बाटो एयरपोर्ट बनाउँदा खुसी हुन्छौं।
विदेशीहरुको आकाशमा बाटो बनाउँछन्, हामीहरु कालोपत्रे हुँदा खुसी हुन्छौँ। आफ्नो घर नजिकै कालोपत्र भयो भने त एउटा फोटो फेसबुक पनि गइहाल्छ। हामी खुसी हुन्छौँ धेरै राम्रो तर हाम्रो खुसी विश्लिस्ट छ, शिथिल छ, पुरानो छ।
विदेशीहरु पानीजहाज बनाउँदा खुसी हुन्छन्, पानीजहाज चलाउँदा खुसी हुन्छन्। हामीहरु पानीजहाज बिनाको पानीजहाज कार्यालय बनाउँदा खुसी हुन्छौं। विदेशीहरु ध्वनिको भन्दा बढी कुद्ने सुपरसोनिक रेल चलाउँदा खुसी हुन्छन्, बनाउँदा खुसी हुन्छन्। हामी रेल चल्नुभन्दा अगाडि रेल उद्घाटन गरेर खुसी हुन्छौँ।
विदेशीहरु आफ्नो कामको सफल परीक्षण भएपछि खुसी हुन्छन्, हामी योजना बन्नु अगावै खुसी हुन्छौं। विदेशीहरु कम्प्युटर-मोबाइल बनाउँदा खुसी हुन्छन्, हामी कम्प्युटर-मोबाइल किन्दा खुसी हुन्छौँ।
विदेशी अनुदान दिँदा खुसी हुन्छन्, हामीहरु अनुदान पाउँदा खुसी हुन्छौँ। विदेशीहरुको सक्षम, योग्य, निष्पक्ष मान्छे मन्त्री प्रधानमन्त्री हुँदा खुसी हुन्छन्। हामी आफ्नो पक्षको, पार्टीको मान्छे मन्त्री प्रधानमन्त्री हुँदा खुसी हुन्छौँ।
साना र विषयहीन कुरामा खुसी हुने बानीले देश कछुवाको गतिमा हिँडेको छ। सांग्रिला सपना देखाउने विवक्ता नेताहरूको वाककलाको जालमा फस्नु हाम्रो मूर्खता हो। साना-साना कुरामा खुसी हुने हाम्रो बानीलाई विशोधन गर्न जरुरी छ।
हाम्रो सोच आधुनिक र फलाम फराकिलो हुन जरुरी छ। हाम्रो चिन्तन आविष्कारक र रचनात्मक हुन जरुरी छ। हाम्रो मस्तिष्क परिवर्तनशील हुन जरुरी छ। नेताहरूको अतिरञ्जित दिवास्वप्नको भ्रमलाई त्याग्नु जरुरी छ। हाम्रो मूल्यांकनलाई बदल्न जरुरी छ। अब युग परिवर्तन भइसक्यो, हामीले पनि युग अनुसारको माग गरौँ। रचनात्मक कार्य गरौँ।
अन्त्यमा, खुसी दिन्छु भन्नेको भ्रम पालेर हामीले कैयौं युग खेर फाल्यौं। अब जुन दिन देशमा शिक्षा निःशुल्क हुन्छ, जुन दिन डोकोमा सुत्केरी बोकेर बाटोमै मर्नु पर्दैन, त्यो दिन खुसी हुनुपर्छ। जुन कोसी नदीले मान्छे बगाउँदैन घरबारविहीन बनाउँदैन, जुन दिन घुस नदिई कार्यालयमा काम बन्छ, त्यो दिन खुसी हुनुपर्छ।
जुन दिन हाम्रो छुट्टै अन्तरिक्ष यान हुन्छ, जुन दिन हामी आफैंले कम्प्युटर-मोबाइल र अन्य वैज्ञानिक उपकरण बनाउन सकिन्छ, त्यो दिन खुसी हुनुपर्छ। जुन दिन विमानस्थलमा राता बाकसमा जवानहरुको लास र मृत सपना हुँदैनन्, त्यो दिन खुसी हुनुपर्छ।
जुन दिन मेरो देशको भूगोल जस्तै राजनीति पनि राम्रो हुन्छ, त्यो दिन खुसी हुनुपर्छ। अब हामी पनि त ठूला र स्थायी खुसीको भागीदार बन्नुपर्छ।