विश्वभर अहिले कोभिड खोप कार्यक्रमहरु जोडतोडका साथ भइराखेको छ भने केही वैज्ञानिक र अनुसन्धान खोपलाई अझै बढी प्रभावकारी र कम हानिकारक (साइड इफेक्ट) बनाउन तिर व्यस्त छन्।
हामी सबैले इन्ट्रामस्क्युलर अर्थात् पाखुरामा इन्जेक्सनले खोप लिइरहेका छौँ। तर, के तपाईलाई थाहा छ इन्ट्रानेजल अर्थात् नाकबाट पनि दिन मिल्ने कोभिडका खोपहरु पनि विकास हुँदै छन्?
इन्ट्रानेजल भ्याक्सिन बारे बुझ्नु अघि हामीलाई हाम्रो शरीरको प्रतिरक्षा प्रणाली कोभिड विरुद्ध कसरी काम गर्छ भनेर थोरै थाहा हुनुपर्दछ।
हाम्रो शरीरमा रोगबाट बचाउने फरक फरक कोषहरू छन् जस्तैः मेमोरी बी र टी कोषाणुहरू जो भाइरस अथवा ब्याक्टेरिया विरुद्ध लड्दछन्।
त्यस्तैगरी, 'आइजिए' हुन्छन् जुन शरीरको सिरम (रगतको एक भाग) र श्वासप्रश्वास तरल पदार्थ र मुख्यतः माथिल्लो श्वासको भागमा, भाइरस र ब्याक्टेरियाहरूबाट बचाउन खट्ने एउटा 'इम्युनोग्लोबिन', अर्थात् एक विशेष किसिमको प्रोटिन हो। साथै 'आइजिजी' नाम भएको इम्युनोग्लोबिन हुन्छन्, जो आइजिए जस्तै सुरक्षा दिने तर फोक्सोको तल्लो भागमा बढी पाइने गर्छ।
धेरैजसो खोपहरू सोही आधारमा काम गर्दछन् र यस्ता प्रोटिन र कोषको संख्या बढाउन मद्दत गर्दछन्। जब हामी खोप लगाउछौं, शरीर प्रतिरक्षा प्रणालीको काम सुरु हुन्छ र त्यसपछि सोही तयार भएको प्रतिरक्षा प्रणालीले पछि भाइरस शरीरमा आएमा नष्ट गर्दछ र हामीलाई सुरक्षा दिन्छ।
के हो त नाकबाट दिने कोभिड खोप?
यस्ता खोपहरु पहिलो पटक १९६० को दशकमा एफडिए अमेरिकाले इन्फ्लुएन्जाका लागि प्रस्तुत गरेको थियो र अहिले कोभिडलाई पनि नाकबाट खोप दिने कुरामा धेरै वैज्ञानिकहरु सहमत भएको तथा खोप विकास विभिन्न चरण नि पुगिसकेको छ।
किन पाखुराभन्दा नाकबाट दिइने खोप बढी प्रभावकारी?
भारतका सेरम इन्स्टिच्युटका वैज्ञानिक मान्दछन् कि कोरोना भाइरस संक्रमण नाकबाट सुरु हुन्छ। यदि हामीले आइजिए र आइजिजी कोषहरु खोपमार्फत नाक म्युकोसामा (जहाँ भाइरस बस्छ्न्) बढाउन सक्दछौं भने हामी पहिले नै कोभिड भाइरसलाई शरीरमा प्रवेश गर्नबाट रोक्ने र भाइरल लोडलाई पनि कम गर्न सक्नेछौँ, जसले भाइरसलाई फितलो बनाइदिन्छ।
इन्ट्रामस्क्युलर खोपहरूभन्दा बढी लाभहरू?
सबै पछिल्लो अनुसन्धानले देखाए कि, इन्ट्रानेजल खोपहरु इन्ट्रामस्क्युलर खोपले भन्दा पनि बढी आइजिए र आइजिजी निकाल्छ। र, यसले स्थानीय रूपमा कार्य गर्दछ। यसलाई वैज्ञानिक भाषामा लोकल इफेक्ट भनिन्छ जसले अझ प्रभावकारी बनाउँछ। दोस्रो, यो एक डोजमात्र स्प्रेको रूपमा प्रयोग गर्न सकिने कुरा बताइएको छ। साथै व्यक्तिहरूलाई खोप लिन स्वास्थ्यकर्मी नै आवश्यक पर्दैन।
तेस्रो, यसले साइड इफेक्ट कम गर्दछ जस्तैः खोप लगाउँदा दुख्ने, सूजन हुने, दुखाइले ज्वरो आउने समस्या हुँदैन।
यी इन्ट्रानेजल खोपहरू कति विकास भइसकेको छन्?
अहिलेसम्म केहीमात्र कम्पनीहरू इन्ट्रानेजल खोपहरूमा काम गरिरहेछन्, जसमा हाम्रो छिमेकी देश भारतमा 'बिबिभी १४४' नाम रहेको यस्तो खोप विकास हुँदैछ र यसले क्लिनिकल ट्रायल्स चरण पार गरिसकेको छ। भ्याक्सिन पूर्ण विकास हुन अझै अरु चरण र प्रयोगका लागि मान्यता प्राप्त गर्नुपर्दछ। अरू यस्तो खोप तल सूचिकृत गरिएको छ।
हामी अहिले इन्ट्रामस्क्युलर (पाखुराबाट दिने) भ्याक्सिन लगाउँदै छौँ। हामीसँग उपलब्ध भेरोसेल, जोनसन, कोभिसिल्ड जुन भएपनि एउटा भ्याक्सिन लगाउनु आवश्यक छ।
नेपालमा जोनसनको धेरै गलत हल्लाहरू फैलिएका पनि छन् तर यो पनि धेरै प्रभावकारी छ र यसले अन्य खोपहरू जस्तै मान्यता प्राप्त गरेको छ। त्यसो भएकोले आफूले पाउन सक्ने नै सबभन्दा राम्रो खोप हो। खोप लगाएकाको कोभिड बिरामीमा मृत्यु दर शून्य बराबार भएको कुरा विभिन्न अनुसन्धानले देखाइसकेको छ।
आशा छ कि खोप लगाउन अझै सजिलो र अधिक सुरक्षित बनाउन इन्ट्रानेजल खोपहरू चाँडै नै विकसित हुनेछन् र त्यतिबेलासम्म नेपाल सरकारले जनतालाई धेरैभन्दा धेरै कोभिडको खोप दिलाउने छ।
(लेखक एमबिबिएस तेस्रो वर्षका विद्यार्थी हुन्।)