सप्ताहव्यापी कार्यक्रम हुन्थ्यो। अर्थात् हप्ताको सबै दिन कुनै न कुनै शाखामा सत्संग समारोह हुन्थ्यो आफ्नो ठाउँमा पायक पर्ने गरी खोलिएका शाखा छन् र प्रत्येक शाखामाा प्रत्येक हप्ताको एक दिन नियमित सत्संग चल्दै आएको थियो।
कोरोनाको महामारी फैलियो। पहिलो महामारी फैलिएको करिब ८ महिना सत्संग समारोह हुन सकेन। विस्तारै समय अनुकूल हुन थालेपछि पुनः भौतिक दूरी कायम गरी जम्मा भई सुरू हुन थालेको थियो। तर अकस्मात नेपालमासमेत कोरोनाको दोस्रो भेरियन्टको बढ्दो संक्रमणका कारण कार्यक्रम स्थगित नै भयो। त्यसयता सामान्य भेटघाटकोसमेत अवस्था बनिसकेको छैन। तर बढ्दो प्रविधिको विकासले भने भौतिक रूपमा भेटघाट नभए पनि नियमित रूपमा सत्संगको सुरूआत भएको छ।
घरमा वाइफाईको व्यवस्था भएकाले पनि बुवा र ममीले आ–आफ्नो संगत अनुसार म्यासेन्जरमा सत्संगबारे नै कुरा गर्नुहुन्थ्यो तर त्यो बेलासम्म कार्यक्रम नै सञ्चालन गरी अघि बढ्नेबारे कुनै भएको थिएन।
अघिल्लो लकडाउनमा बुवा–ममीसँगै म बयरघारी थिएँ। दाइ नेपालगञ्ज, भाइ भारत र दिदी स्याङ्जा भएकाले लामो समयसँग कसैसँग भेट हुन सकेन तर नियमित रूपमा भने म्यासेन्जरमार्फत कुरा हुन्थ्यो। ममी धेरै नै आध्यात्मिक भएका कारण पनि पारिवारिक सत्संग गरौं भन्नुहुन्थ्यो तर त्यो बीचमा कार्यक्रम भने भएन। यसैबीच ममीले ज–जस्कोमा प्रविधिको पहुँच छ उहाँहरूबीच म्यासेन्जरमार्फत समारोह गर्ने तय गर्नुभयो। तर प्राविधिक कठिनाइ म्यासेन्जर कलमा सीमित संख्या मात्र अट्छ भन्नेबारे त्यतिबेला मात्र थाहा भयो जतिबेला ग्रुपमा संख्या बढ्दै गयो।
घरमा बच्चाहरूको नियमित रूपमा जुममार्फत् पढाइ सञ्चालन भइरहेको थियो र दाइले पनि यसबाट नै आफ्नो काम गर्दै आउनुभएको थियो। यसबाट पनि ममी बुवामा जुमको प्रभाव परिरहेको थियो। बुवा ममीले जुममार्फत् नै कार्यक्रम गर्न सजिलो हुने भन्ने निचोड निकालेपछि दाइले जुम आइडी बनाउनुभयो।
जुम आइडी त बन्यो तर यस सस्थासंग आवद्ध धेरै जनालाई यो एप्सबारे जानकारी थिएन। प्रायको घरमा वाइफाईको व्यवस्था भए पनि यो एप्स जरूरी पनि थिएन। कोभिडको समय म आफैं पनि घरमा भएकाले बुवा ममी मात्र होइन हजुरआमाको पनि प्रविधिसँगको सजिलो पनि देखेको थिएँ।
नेपालमा मोबाइल प्रयोगको सुरूआतसँगै चलाउन सुरू गरेकाले मोबाइल चलाउन कुनै समस्या थिएन तर समयको क्रमसँगै थपिएका विविध प्रविधिको उपयोेग गर्न भने जो कोहीलाई पनि पहिलो पटक समस्या नै हुन्छ।
फेसबुक, म्यासेन्जर, युट्युबको उपयोग गर्न जानेजस्तै पहिलो जुम चलाउन पनि हामी छोराछोरीले सिकायौं। बुवा–ममीले अरूलाई सुरूको अवस्थादेखि अन्तिमसम्म पटक-पटक गरी जुमबारे पोख्त गराउनुभयो।
विशेषगरी पाको उमेर समूहका व्यक्तिहरू आवद्ध भएकाले पनि सिकाइका लागि सानो प्रयासले हुँदैनथ्यो तर घरायसी कामको व्यवस्थापनसँगै अरूलाई पनि सिकाउनु महत्वपूर्ण कुरा थियो।
कति जनालाई परिवारको सदस्यले सहयोग गरिदिनुभयो। अहिले सबै जना भिडिओ खोल्नेदेखि माइक म्युट,अनम्युट गर्नेदेखि कसरी बोल्नेसम्ममा सबै पोख्त हुनुभएको छ।
अरूलाई यी विषय सामान्य लाग्न सक्छ तर यसबारे जो सम्बन्धित हुनुहुन्छ उहाँहरूका लागि यो महत्वपूर्ण हो उच्चतम सफलता हो। नियतिम रूपमा हरदिन बेलुका आठ बजेदेखि नियमित सत्संग हुँदै आएको छ।
जेठको २३ गतेदेखि सुरू भएको समारोहमा दुई चरणको कार्यक्रम गरी ८० मिनेट हुन थाल्यो। सुरूआतमा सबैलाई सहज भए पनि जुमले नि:शुल्क प्रदान गर्ने ४० मिनेटपछि स्वतः आफैं काटिने भएकाले पुनः जोडिन सबैलाई झन्झट भयो। सहभागीलाई मात्र नभई समारोह सञ्चालक नै बुवा भएकाले पटक-पटक हरेकलाई एडमिट गर्नेदेखि कार्यक्रम सञ्चालनदेखि रेकर्डकालागि नामावली संकलन पनि होस्टले गर्नुपर्ने हुँदा प्राविधिक समस्या देखा पर्यो।
केही दिन अघिमात्रै सामाजिक सञ्जाल ट्विटरमा जुमबारे जिज्ञासा राखेकी थिएँ। यसबारे केहीले सुझाव पनि दिनुभएको थियो। हामीलाई प्राविधिक कठिनाइ भनेको समयको निरन्तरता नै थियो, यसका लागि सम्बन्धित को हो भन्ने थिएन।
प्रविधि पत्रकार विश्वास रेग्मीले यसबारे सुझाव दिनुभयो र अर्का प्रविधि पत्रकार गोपाल साउदको सहजीकरणमा जुमबारे थप जानकारी लियौं। त्यसपश्चात अहिले हरेक बेलुका ८ बजेदेखि दुई घन्टा नियमित सत्संग हुँदै आएको छ। बीचमा नकाटिने भएकाले पनि अहिले सबैलाई सहज भएको छ।
यसबाट दुई चरणमा गरिने समारोहको पनि अन्त्य भएको छ। देशका विभिन्न ठाउँबाट सय जनाको उपस्थिति छ।
सहभागी सबैले आ–आफ्नो पालो अनुसार आफ्नो अनुभव र गुरू ग्रन्थ पारायण गर्नुका साथै गुरूहरूले हरेक दिन प्रवचन दिँदै आउनुभएको छ।
विशेषतः स्याङ्जामा यसको प्रभाव पर्नुका कारण पूर्वसिडिओ उमाकान्त पौडेल ‘सरस्वर्ती’मार्फत् नै हो, जसले डाक्टर चक्रवर्तीको समिपमा रही ज्ञान लिनुका साथै ज्ञान बाँड्ने काम गर्नुभयो। यसबाहेक पोखरा, सुनसरी, झापा, मोरङ, चितवन र कास्कीमा धेरै शाखा छन्।
अद्धैत संस्था संरक्षण मञ्च डाक्टर क्षितिजचन्द्र चक्रवर्तीले स्थापना गर्नुभएको संस्था हो जहाँ चार वेद , अठार पुराणको सारबाट चक्रवर्तीले तयार पार्नुभएको ग्रन्थबारे ज्ञानको चर्चा गरिन्छ। सरल भाषमा भन्नुपर्दा अघिल्लो जन्ममा गरिएको कर्मको आधारमा यस जन्ममा कर्मको भोग गरिने हो। आगामी जन्म हामीले गरिने कर्मको आधारमा हुने भएकाले चित्त शान्त गर्दै आत्म र परामात्मबारे मनन गर्दै चौरासी लाख जुनी भोगको भवसागरको प्रक्रियाबाट बाहिर रही मुक्त हुनु भन्ने हो। चित्त शान्त गर्दै आफ्नो नित्य कर्मको भोग गरी ईश्वरको शरणमा पुग्नु भन्ने हो।