गत वर्षको माघ २३ गते डडेल्धुरामा वर्षकै पहिलो हिँउ परेको दिन। मै आउने दिन कुरेर बसेझैं, डडेल्धुरा जिल्ला टेकेपछि खसेको त्यो हिँउले भव्य स्वागत गरेको थियो। यही आतिथ्यतालाई मोबाइलमा कैद गरेँ र घरमा सन्देश पठाएँ, 'आकाशैबाट के उडी आयो भेडाको ऊन जस्तो' हिउँसँग त्यो मेरो पहिलो अनुभव थियो।
असाध्यै खुसी थिएँ र डडेल्धुरा बसाइ रमाइलो हुनेछ भनेर विश्वस्त पनि।
सल्लाका रूखले सिंगारिएका डाँडा हुँदै डडेल्धुरा पुग्दा आधा मन मैले त्यहाँको मन लोभ्याउने प्रकृतिलाई सुम्पिसकेकी थिएँ र आधा मन भने ५ महिनाको बसाइमा त्यहाँको कृषि कर्म तथा रहनसहनले पो चोरिसकेछ। आज डडेल्धुरा बसाइको अन्तिम दिन। कोसेली स्वरूप चोरेको त्यो मीठो प्रशन्नता मनमा भरेर बिदाइ गर्दैछ, जसलाई म मेरो ओठको मुस्कान बनाएर फर्किँदै छु।
मेरा लागि इन्टर्नसीपले जुराएको सुनौलो अवसर हो, डडेल्धुरा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, डडेल्धुरामा कृषि इन्टर्नको रूपमा कार्यरत रहँदा छोटो समयमा धेरै कुराहरू सिक्न पाएकी छु, त्यसैले खुसी छु।
डडेल्धुराका सम्पूर्ण सहयोगी साथी, कृषक दाजुभाइ तथा कर्मचारीहरूले मप्रति गरेको व्यवहार सम्झनलायक छ, सबैमा हार्दिक आभार।
डडेल्धुरा जिल्लाको प्रमुख नगदेबाली आलु हो र मेरो अनुसन्धान पनि आलु बालीमै भएकाले आलुसँगको नाता अझ निकट भएको छ। डडेल्धुरामा व्यवसायिक रूपमा वर्षको दुई सिजन आलु खेती हुँदै आएको छ। हिजो आज व्यवसायिक आलु खेतीलाई आफ्नो प्रमुख व्यवसाय मानी यस खेतीमा संलग्न हुने कृषकहरूको संख्या र खेती गरिने जमिन दुवै बढ्दो छ। त्यसैले जिल्लामा गुणस्तरीय बीउ आलुको अभाव पनि बढ्दै गएको छ। यहि समस्यालाई मध्यनजर गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, डडेल्धुराका वरिष्ठ कृषि अधिकृत खेमराज जोशी ज्युको सल्लाह अनुसार मैले मेरो अनुसन्धान बीउ आलुमै गर्ने निधो गरेँ।
पछिल्लो ५ महिना फर्केर हेर्दा कैयौं यस्ता पल बाँचेकी रहेछु, जसलाई सम्झेर आज म निकै मख्ख छु, पुलकित छु। अनुसन्धानका लागि आलु लिन जाँदाको यात्रा भने म कहिल्यै बिर्सन्नँ।
कीर्तिपुरमा रहेको हाम्रो अफिसबाट करिब २० किलोमिटरमा रहेको बल्तडी भन्ने ठाँउमा एक जना कृषक आलु खन्दै हुनुहुन्छ रे भन्ने थाहा पाएपछि म र विष्णु दाइ बाइक लिएर आलु लिन गएका थियौं।
डडेल्धुरामा त्यसताका आलु खनेर फेरि आलु लगाउने बेला भैसकेको थियो। नयाँ आलु पाउन गाह्रै थियो, धन्न पाएँ, मख्ख भएँ। नयाँ आलुलाई थायोयुरियाले उपचार गरेर बीउ आलु बनाएर उक्त आलुको उत्पादन के कस्तो रहन्छ भन्ने विषयमा नै मेरो अनुसन्धान केन्द्रित थियो।
पहाडको ओरालो बाटो, जाँदाको यात्रा रोमाञ्चक र सहज नै रह्यो, तर फर्कँदा काखमा ३० किलोको आलुको बोरा राखेर उक्लँदा कति ठाँउमा त झण्डै खसेकी थिएँ। जति उकालो लाग्यो त्यति म तल सर्दै जान्थेँ। खुट्टा पनि सर्दै बाइकको साइलेन्सरमा आइपुग्थे। ५० किलोकी लुरी मान्छेले ३० किलोको बोरा काखी च्यापेर बाइकमा पछाडि सिटमा बसेर पहाडको ठाडै उकालो बाटो नखसी पार गर्नु गर्वकै कुरा थियो मेरो लागि। त्यसैले पनि त्यो दिनको सम्झना राख्न साइलेन्सरले पगालेको मेरो जुत्ता साथैमा लिएर आएकी छु।
सिकाइ र भोगाइका कुरा गर्दा सुरूमै सम्झना आउँछ- डोटी घटाल।
कृषि कर्मले सिंगारिएको फाँट हो डोटी घटाल। जहाँ म, मनिषा, गंगा र सावनले आ-आफ्नो अनुसन्धानको काम गरेका थियौँ। सम्झिँदा कति आँटिला रैछौँ जस्तो लाग्छ। आलु रोप्नेदेखि खन्नेसम्मको सबै काम आफैंले गरेका थियौं।
हातका ती ठेला त्यति बेला ठूला लागे पनि आफूले फलाएका आलुका दाना देख्दा भन्थ्यौं, ‘जति ठूला हातका दाना, त्यति ठूला आलुका दाना।’
हामी त किसान नै भएका थियौँ नि।
बिहानको तुसारोले भर्खर उम्रँदै गरेका आलुका बोट बिगार्दा कम्ता पीर परेको थियो हामीलाई।
आलुलाई बेलैमा सिँचाइ गर्यौं र तुसारोबाट पनि जोगायौं। तुसारोबाट जोगिएका आलुलाई अलि दिनपछि खडेरीले सताउन थाल्यो। खोलाको पानी सुकिसकेको थियो।
गाउँमा खानेपानीको अभाव हुन थालिसकेको थियो। उता खेतमा आलुका बोट तिर्खाएका थिए यता हामी छट्पटाइ रहेका थियौं। हामी चाहेर पनि केही गर्न नसक्ने लाचार जस्ता भएका थियौं।
माटो सुख्खा भएकाले फेद कटुवाले पनि सताउन थालेको थियो। १ एम.एल. कोल्रपाइरिफस १ लिटर पानीमा मिसाएर फेद वरिपरिको माटो भिजाएपछि भोलिपल्ट उत्तानो परेर मरेका फेद कटुवाका लार्भा देखेर केही राहत भएको थियो।
आशा मार्ने बेला हुनै आँटेको थियो, धन्न पानी पर्यो। खुसीको सीमा थिएन। अलि दिन खुसी के भएका थियौं, कोरोनाको दोस्रो लहरले फेरि निराश बनायो।
लकडाउनको घोषणा भएपछि हिँडेर भए पनि फिल्ड जाने निधो गरेका थियौं। एकदिन त गयौं पनि। भोलिपल्ट टाउको दुखेर सुतेपछि त्यो उपायलाई हामीले बहिस्कार गर्यौं। त्यसपछि हामीलाई अफिसबाटै जाने आउने व्यवस्था मिलाइदिनु भएको थियो खेमराज सरले। कति पटक त सर आफैं पनि लिन आउनु हुन्थ्यो।
अरू साथीहरू डाहा गर्दै भन्थे, ‘कति भाग्यमानी तिमीहरू’ हामी भने मख्ख हुन्थ्यौं। त्योभन्दा मख्ख चाहिँ आलु खन्ने बेला भएका थियौं। मौसमले खासै साथ दिएको त थिएन तर उत्पादन राम्रै आयो।
किसानहरू पनि खुसी नै थिए यो वर्षको उत्पादन देखेर। पढेका र देखेका कुरामा कति अन्तर थियो। कृषि डायरीदेखि कृषि मन्त्रालयको वेब पेजसम्मका सबै डकुमेन्टमा डडेल्धुरा जिल्लाको आलुको उत्पादकत्व १४ मेट्रिकटन प्रति हेक्टर भनिएको छ। जबकि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, डडेल्धुराबाट गरिँदै आएको क्रप कटिङको नतिजा अनुसार डडेल्धुरा जिल्लामा आलुको उत्पादकत्व आ.व. २०७३-७४ मा २१ मे/हे, २०७४-७५ मा २३.९ मे/हे, २०७५-७६मा २५.४९ मे/हे र २०७६-७७ मा २३.८९ मे/हे रहेको छ।
यही वर्षको वर्षेबालीको क्रप कटिङ्गमा डडेल्धुरा जिल्लामा एक जना कृषकले २५ वर्ग मिटरबाट २५० किलो आलु उत्पादन गरेको कुरा प्रत्यक्ष आफूले देखेकी छु। यही कुराले सोचमग्न बनायो कि हामीले पढेका अङ्क अन्त कति ठाँउमा गलत होलान्, यिनै गलत अङ्कका आधारमा कति असफल कार्यक्रम ल्याइए होलान् र यिनै गलत तथ्याङ्कले कति वास्तविकतालाई ओझेल पारेका होलान्।
हामी रमाइलो गर्दै काम गर्थ्यौँ, दु:ख पर्दा संघर्ष गर्थ्यौँ र भन्थ्यौँ पछि सम्झेर गर्व गर्ने दिन यी नै त हुन्। डाटा लिने काम चाहिँ साह्रै झ्याउरे लाग्थ्यो मलाई। मेजरिङ टेप लिएर बोटको उचाइ नाप्नु पर्ने, टन्टलापुर घाममा आलुका पात गन्नुपर्ने, खन्ने बेलामा कति वटा आलु, कति किलोका फलेछन् सब टिप्नुपर्ने र सबभन्दा दु:ख लाग्ने कुरा एक जना प्वाक्क बोल्दा पातको गिन्ति बिर्सियो भने फेरि गन्नु पर्ने। गाउँलेहरूको जिज्ञासा फेरि नेक्सट लेभल कै हुन्थ्यो, सोध्ने गर्थे, ‘नानी यसो गरे आलु धेरै फल्छ?’ बिहान ७ बजे गएर डाटा लिएर सक्दा साँझको ७ बज्ने गर्थ्यो।
त्यसताका बिहानको खाना कहिल्यै खाइएन। तर दिउँसोको खाजा भने पोको पारेर लग्थ्यौं-कहिले फुरौला, कहिले रोटी अचार, कहिले भने सुख्खा चाउचाउ। चना आलु चाँहि जहिल्यै हुन्थ्यो। कोरोनाको कहरले गर्दा दु:ख पाइयो, नत्र चिया खाजा बनाउँछु आनुस् भनेर सधैं बोलाउने मिना मिस र बिहान छिट्टै आउनुस्, खाना यतै खाउँला भन्ने कृष्ण दाइकहाँ पहिले धेरै पटक मिठो मिठो खाना खाजा खाइन्थ्यो।
उहाँहरूको त्यो न्यानो आतिथ्यता कहिल्यै बिर्सन्नँ। सहयोग त हामीले भरपुर पाएका थियौँ। लकडाउनको बेला सवारी साधन ठप्प हुँदा फिल्ड पुर्याईदिने वीरेन्द्र दाइ, मिलन दाइ, सिद्ध दाइ, चक्र दाइ, ललित दाइ सबैलाई जहिले सम्झँदा पनि कृतज्ञ हुन्छु।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, डडेल्धुराका वरिष्ठ कृषि अधिकृत खेम राज जोशी सर र अधिकृत गंगा दत्त अवस्थी सरको मार्गदर्शन हुँदैनथ्यो भने केही पनि सम्भव थिएन। मेरो कोसिस सधैं यही रहनेछ कि उहाँहरूबाट पाएको ऊर्जा, हौसला र प्रेरणालाई राम्रो अन्जाम दिन सकूँ। यति कुराको न्याय गर्न सकेँ भने शब्दले नपुग्ने धन्यवाद म मेरो कर्मले बखान गर्ने थिएँ।
डडेल्धुरा बसाइको सबभन्दा प्यारो अंश भनेको मेरो पुक्कु, मेरी दिदीकी छोरी। कामको सिलसिलामा दिदी भिनाजु डडेल्धुरा नै हुनुहुन्थ्यो। त्यसैले ५ महिनाको मेरो बसाइ उहाँहरू सँगै भयो। घरबाट टाढा जाँदा पनि मैले घर परिवार पाएकी थिएँ जस्तो महसुस हुन्थ्यो। म जति भाग्यमानी को नै होला र? दिदीको बिहेपछि यसरी लामो समय दिदीसँग बस्न पाएकी थिइनँ। इन्टर्नसीपले जुराएको अर्को सुनौलो अवसर थियो यो।
मेरो हरेक समस्याको हल निकाली दिने मेरा भिनाजुले मेरो पढाइ, रिसर्च र अन्य सबै कामकाजलाई सहज बनाइदिनु भएको थियो। भिनाजुसँग मिलेर दिदीलाई जिस्काउन साह्रै रमाइलो हुन्थ्यो। कहिलेकाहीँ बुढाबुढी मिलेर मलाई नै उडाउथे । भिनाजुका तेह्र तले कुरालाई भने हामी दिदी बहिनी पेलिहाल्न सक्दैनथ्यौं।
भिनाजु स्याङ्जाली, त्यही माथि वकिल, बोलेर कसले जित्न सक्नु! पुक्कु त झनै दिदी भिनाजु दुवैका गुण लिएर जन्मेकी जस्ती, घरकी डन ऊ नै हो। पुक्कुको तोते बोलीले “दिदा” भने देखि मलाई अरूले नामले बोलाएको ज्यादै नमिठो लाग्छ। त्यसको आभास त घरमा बाबा, ममी अनि भाइले "बहिनी" भनेर बोलाउँदा अझ बढी हुन्छ। कति रङ्गिन पारेकी छ पुक्कुले हामी सबैको दैनिकी।
दिदी, भिनाजु, पुक्कुसँग हाँस्दै खेल्दै कसरी समय बित्यो पत्तै भएन। घुमघाम पनि राम्रै भयो। सुन्दर सुदूरपश्चिममा यति कै भनेका रैनछन् भन्ने आभास भयो। कोरोनाले गर्दा चाहेका सबै ठाउँ घुम्न भने पाइनँ। सायद फर्केर फेरि आउने एउटा बहाना दिएको छ, कोरोनाले। फेरि भेट अवश्य हुनेछ। त्यतिन्जेललाई मनमरि मिठो सम्झना डडेल्धुरा।