हजारौँ सपनाहरु बोकी लाखौँ नेपालीहरु विदेशिने गरेका छन्। कतिको सपना पूरा हुन्छ तर कति ती यस्ता सपनाहरु छन् जो बाकसमा घर फर्किने गरेको दुःखद घटना हामीले देख्दै आइरहेका छौँ।
केही दिन अगाडि मात्र २० वटा शव कतारबाट नेपाल आएको छ। तीन जनाको दाहसंस्कार सम्पन्न भइसकेको कतारस्थित नेपाली दूतावासले जनाएको छ। कतारमा अझै ११ जनाको शव रहेको छ।
हालसम्म साउदीबाट २० वटा शव, मलेसियाबाट ३१ वटा शव, कुवेतबाट ७ जनाको शव नेपाली पुगिसकेको छ भने युएईबाट ५ नेपालीको शव नेपाल पठाइसकिएको छ।
ज्युँदो त आफ्नो देश आउन सकेनन्, मरेको लास समेत आउन सकेनन् नेपाल। यो सोच्दा पनि मन भक्कानिएर रुन्छ। अझ भनौं जसले आफ्नो आफन्त गुमाए र अन्तिम पटक हेर्न पनि पाएनन्, त्यसको मनमा के बितिरहेको होला?
यो बाकसमा आउने यात्रा कहिले रोकिन्छ? त्यो यकिन हामी पक्कै पनि गर्न सक्दैनौँ किनकि देशको हालत अहिले यस्तै छ। सबै राजनीतिक दलका नेताहरु आफू र आफ्नाहरुकै स्वार्थमा लिप्त छन्। कहाँ फुर्सद छ र यी बाकसमा आएका सपनाहरुको बारेमा सोच्ने?
कहाँ फुर्सद छ र स्वदेशमा नै रोजगार सिर्जना गर्ने? कहाँ फुर्सद छ ती आमाहरुको आँसु पुछ्ने? कतिले आफ्नो कोख रित्याए? कहाँ फुर्सद छ ती अभिभावक गुमाएका नाबालाकहरुको बारेमा सोच्ने?
ए मेरो सरकार! कहिलेकाहीँ त तिम्रो व्यस्त समयबाट हामी गरिबहरुको लागि पनि त समय निकाल। हामीलाई पनि त अनुभूति गराऊ हामी यही देशको नागरिक हो भनेर। हामीलाई त बस् चुनावको बेला भोट माग्ने बेला मात्र सम्झिन्छौ तिमीहरु।
धेरै नेपालीहरु यही धर्तीमा मर्ने-बाच्ने कसम समेत खान्छन् तर के गर्नु, कसम भए जस्तो र हामीले सोचे जस्तो समय र परिस्थिति कहाँ हुँदो रहेछ! घर परिवारको समस्या र आफ्नै देशमा केही रोजगार नहुँदा भारी मन लिई, मनमा हजारौँ सपनाहरु लिएर हाम्रा देशका युवाहरु विदेशिने गरेका छन्।
विदेशमा राम्रो काम नपाउँदा, साहुबाट पेलिँदा, एजेन्टबाट ठगिँदा, हो ती सपनाहरुले त्यही दम तोड्छन्। उनीहरुको सपना त पूरा हुँदैन, बस् ती सपनाहरु बाकसमा कैद भएर आउँछन्।
नेपालमा रोजगार नहुँदा वा यसलाई व्यवस्थित गर्न नसक्दा, कृषिमा पनि समसामयिक आधुनिकीकरण गर्न नसक्नाले आयमा कमी हुँदा जीवन निर्वाह गर्न पनि कठिन परिरहेको छ। कारण युवाहरु विदेशिन बाध्य छन्।
अब पनि सरकारले विदेशिने यो क्रम रोक्ने केही योजना ल्याएनन् भने त्यो हाम्रो लागि दुर्भाग्यको कुरा हो। नेपालमा नै राम्रो रोजगारको सिर्जना गर्न भएका र बन्द भएका ठूला-ठूला उद्योग कारखान पुनः संचालन गरेर नयाँ योजना ल्याएर पनि युवाहरु विदेशिने यो क्रममा ब्रेक लगाउन सके यी सपनाहरु बाकसमा आउने क्रम रोकिँदै जानेछ।