सम्भवतः पार्टी नेतृत्वमा पदासीन नेताले आफ्नो र दायाँबायाँ बस्नेको स्वार्थ नहेरी गहिरो दिलचस्पी दिएर संविधानको परिधि र नेपाली कांग्रेस पार्टीको विधानले निर्धारित समयसिमा भित्रै प्रस्तावित १४ औं महाधिवेशन सम्पन्न गरिछाड्ने अडानमा एकाग्रता पुगेन भने पार्टीको वैधानिक साखलाई जोगाउन २०७८ भदौ २३ गतेपछि सरोकारवाला सबैलाई पटकौं पटक अनुनयविनय गरिरहनु पर्नेछ।
ठिकै हो, अहिले समय अनुकूल छैन। परिस्थिति विषम र वातावरण महाप्रतिकुल छ। हाम्रो अघि देखिएको बाटो त्यति सहज छैन। संसारभरको सिंगो मानवजगत र चलिरहेको सृष्टीसँगै हामी नेपालीलाई अहिलेको जस्तो कठिन समय त इतिहासमा पनि आएको थिएन होला? सायद भविष्यमा पनि कहिल्यै आउँदैन होला? कामना गर्छु। यस्तो अवस्था मानव समुदायले फेरि कहिल्यै भोग्नु नपरोस्।
सभापतिलाई थपिएको ब्यस्तता,
पार्टी सभापतिलाई इतिहासले थपिदिएको प्रधानमन्त्रीको जिम्मेवारी प्रभावकारी बनाउनु छ। कोरोना कहरले बिछिप्त बनाएको नेपाली समाजमा बिगतको सत्ताले तहसनहस अर्थतन्त्र र लोकतन्त्रको आधारस्तम्भका धरोहर, संवैधानिक अंगलाई यथोचित रुपमा पुन:जागृत पार्नुपर्नेछ। गरिब निमुखा, असाहय अपाङ्ग, श्रमजीवी सिमान्तकृत, पिछडिएको वर्ग र क्षेत्रमा बसोबास गर्ने नागरिकको निभ्न लागेको चुल्होको जगेर्नाको निम्ति विशेष कार्यक्रम ल्याउँदै अगाडि जानुपर्ने छँदैछ।
समस्यासँग जुध्ने कांग्रेसको स्वभाव
देश समाज र स्वयं पार्टीको परिस्थितिजन्य प्रतिकुलतालाई छिचोल्दै अनुकुलतामा परिणत गर्ने कांग्रेस नेताको परम्परागत विशेषता नै हो। बिपी कोईरालाले आफ्नो जीवनभर यसैलाई आत्मासाथ गर्नुभयो। २०४६ सालको जनान्दोलनमा गणेशमान सिंह, बहुदलीय व्यवस्थालाई संस्थागत गर्न कृष्ण प्रसाद भट्टराई, गणतन्त्रलाई कार्यान्वयन गर्न गिरिजा प्रसाद कोईराला, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न सुशील कोईराला र संविधानको पूर्ण कार्यान्वयनमा शेर बहादुर देउवाले खेल्नु भएको भूमिका उल्लेखनीय छ।
ऐतिहासिक निर्णयहरुमा सरिक नेतृत्व
मैले, विगतको यी घटनाक्रमलाई किन यहाँ प्रस्तुत गरेको भन्ने तपाईँलाई लाग्छ सक्छ। पाठ हिजोबाटै सिक्ने हो, शिक्षा बिगतबाटै लिने हो। हाम्रो पार्टी सभापति प्रधानमन्त्री हुँदा गरेको साहसिक निर्णयहरुको प्रसंशा तपाई हामीले नै गर्ने हो।
खबरदार र सचेतनाको औंलाहरू तपाई मेरै उठ्ने हो। गाली र तेजोवतमा रम्न बाध्य नेपाली समाजलाई सकारात्मक कामहरुको सम्प्रेषण हामीले नै गर्ने हो। माथिका कतिपय घटनाक्रमको साक्षी होईन, आफैं संलग्न भई निर्णयमा सामेल नेता नै अहिले कांग्रेसको शीर्षतहको नेतृत्वमा हुनुहुन्छ।
भविष्यमुखी विचार
अहिले, नेपाली कांग्रेसको सभापति प्रधानमन्त्री भएको सरकारले देशको जल्दाबल्दा समस्याको समाधान गर्न प्रभावकारी ढंगले आफ्नो कामहरू गर्नसक्यो भने, यसको सम्पूर्ण श्रेय र जसको लाभ शेरबहादुर देउवा मात्र पाउँदैनन्। सिंगो देशबासीको मन मष्तिस्कमा नेपाली कांग्रेस भन्ने भावनाको स्थापित हुनेछ। ३०/३५, ४०/४५, ५०/५५ र ६०/६५ वर्षको उमेर हुँदा पनि अवसर पाईनँ र पाएकाले पनि धर्मगौडो पारगर्ने अचुक औषधि बन्नसक्छ। तथापि हाम्रो आन्तरिक कृयाकलाप र यसमा दीर्घकालिक सोंचको विकास अझै भइसकेको छैन।
अदलबदलमा सहजता
नेपाली कांग्रेस आफैंमा सजिलो पार्टी छ। आन्तरिक लोकतन्त्रको ब्यापकताले गर्दा जघन्यबाहेक सबै गल्ती गर्नेलाई छुट मिल्ने चलनचल्ती कायम छ। बोलीचाली र ब्यवहारमा खासै एकरूपता चाहिदैन। स्वार्थनुकुल गुटहरू जन्मसिद्ध देखिनै आएको छ।
यता फिटिक्क केही भयो कि? वा, उताबाट हरियो देखाई दियो कि? बरू खाडलमा परे परिएला बुर्लुक्क हाम्फाल्ने संस्कृति जिवितै छ। यसले उसको ब्यक्तित्वमा ह्रास आउँछ अनि नेतृत्व क्षमतामा प्रश्नचिन्ह्र खडाहुन्छ। हामीले यसलाई अवसरको रुपमा लिएको छौं। तर, यसले सृजित परिणामलाई कहिल्यै ध्यान दिएनौं। हुन त बलेकै आगो ताप्ने हो। जित्ने कै इतिहास लेखिने हो।
स्थापनाकालीन उद्देश्य
नेपाली कांग्रेस पार्टीको स्थापनाको एउटा अर्कै ध्येय छ। यसको छुट्टै विशिष्ट पहिचान र भिन्नै मौकिकतासँगै सभापतीय पद्धतिमा चल्ने स्थापनाकालिन परम्परागत मान्यता छन्। नेपाली समाजलाई समाजवादको शिखरमा पुर्याउने महान् उद्देश्यले सिञ्चित छ।
समयको क्रमसँगै हामीले हाम्रो स्थापनाकालिन मान्यतालाई बिस्तारै स्कलित गर्दै आयौं। हाम्रा ध्येयहरू ओझेलमा पर्दै गए। विचार र सिद्धान्त क्रमशः छायाँमा छन्। हाम्रो पहिचान लोभपाप र स्वार्थहरुमा रुपान्तरण भयो। ब्यक्ति केन्द्रीत आक्रमणले पार्टीको संगठनात्मक संरचनालाई नै तहसनहस बनाईयो। माथि नै भनेँ- अनुशासनको दायरा निकै कमजोर छ। आन्तरिक स्वतन्त्रता हदबढी दुरूपयोग भयोभन्दा त्यसमा गुट बढी सकृय हुन्छ।
अलोकप्रियताको भय
नेपाली कांग्रेसमा मासलाई डोर्याउने हिम्मत कोहीमा जागेन। मासमा कुर्लनेको भीड बढ्न थाल्यो। ब्यवहारिक विषयमा बोल्दा अलोकप्रिय भईन्छ भन्ने डरको भुतले सबैलाई तर्साएको छ। त्यसैले त कर्णप्रिय लोकप्रियता रम्न खोज्दछन्। दीर्घकालिकतामा बहस गर्ने कसैलाई फुर्सत छैन, अल्पकालिनता मच्चिरहेको मात्र देखिन्छ। समाजवादी चिन्तन र विचार विधानमा कैद गरिएको छ। जीवनशैली र गतिविधि पुरै तडगभडकपूर्ण नै पाईन्छ। विषयगत बोलीमा निरन्तरता दिईएको पाईदैन। स्वार्थ र लोभको टोकरीमा बाणीहरू निरस प्रायः छन्।
वैचारिक बहसमा कमी
नेपालको राजनीतिक इतिहासमा मात्र होईन, विश्वकै राजनीतिक मानचित्रमा जननायक विपी कोईराला नै यस्तो राजनेता हो। जसले आफैं पार्टीको संगठनात्मक संरचनाहरु बनाए। त्यसलाई चाहिने नेपाली माटो अनुसारको लोकतान्त्रिक समाजवाद उन्मुख सिद्धान्तको प्रतिपादिन गरे।
सम्पूर्ण देशबासीको घरदैलोमा पुगी नेपाली कांग्रेस पार्टीलाई निर्वाचनको माध्यमबाट दुई तिहाई बलियो हुनेगरी जनताबाट अनुमोदित गरे र कांग्रेसको विचारको सही कार्यान्वयनको लागि सरकारको नेतृत्वमा रही काम गर्न शुरू गरे। उनको विचारको महत्व दिनानुदिन अझ बढ्दो छ। कांग्रेसलाई नयाँ कुनै विचार होईन, बिपी विचारलाई समयानुकूल वैज्ञानिक ब्याख्या गर्नेसक्ने इच्छाशक्तिले पूर्ण क्षमतावान् मानिसको ब्यग्रता छ। महाधिवेशनहरू विचारप्रधान नभई नेतृत्वप्रधान हुने दीर्घरोग छ। आम कांग्रेस यस रोगको सल्यकृया गर्नेसक्ने तेजवान नेताको खोजिमा छ।
संगठनात्मक स्वरूप
नेपालको संविधानले औल्याएको समावेशिता र समान प्रतिनिधित्वको सिद्धान्तलाई नेपाली कांग्रेसले पनि पछ्याएको छ। संविधान जारी भएपछिको गएको ६ वर्षमा पनि कांग्रेस पुरानै संगठनात्मक स्वरूपमा चलिरहेको छ। कतिपय अवस्था र स्थानमा हचुवाको भरमा निर्धारण गरिएको वैधानिक परिपाटीले नै समान प्रतिनिधित्वको सुनिश्चिततामा ठेस नै लाग्ने देखिदैछ।
संरचनाको प्रारूप तयार गर्न माथिल्लो नेतालाई मात्र किन दोष, स्थानीय नेताको पनि राम्रै आनाकानी देखिन्छ। यस सम्बन्धमा छलफल होईन, विषयले नै प्रवेश पाएको छैन। सबैले एक अर्कोलाई आरोप लगाउँदैमा उम्किन पाईने सरल प्रावधान छँदैछ।
महाधिवेशनको चाहाना
विषय वा प्रसंगले अर्को अर्थ नलगाईएमा, नेपाली कांग्रेसका आदरणीय सभापति देउवा, बरिष्ठ नेता पौडेल र अपवाद केही युवानेताबाहेक बाँकी बीचको कसैलाई पनि महाधिवेशन समयमा नै सम्पन्न होस् भन्ने चाहाना र चिन्ता रत्तिभर छैन। उहाँहरूको कृयाकलापबाट यी विषयको निर्कौल निकाल्न सकिन्छ।
सभापतिले एकपटक होईन, पटकपटक सर्दैन सर्दैन सर्दैन! कुनै पनि हालतमा तोकिएकै समयमा महाधिवेशन हुन्छ हुन्छ हुन्छ भनेको बिषयलाई मुर्तरुप दिन त्यसको प्रकृयामा प्रवेश गर्न तपाईहरू सबै अहोरात्र आफैं खटिनैपर्छ। बरू परे कांग्रेसको शुभचिन्तक हामी आप्रवासीको पनि सहयोग माग्नुस्। सहयोग माग्दैमा कसैको कद होचो हुँदैन, उल्टै बढ्छ।
सबैको नजर पदाधिकारीमा
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको सबै पदाधिकारी महाधिवेशनको मैदानबाटै निर्वाचित हुने महासमिति बैठकको पपुलर निर्णय र त्यसको वैधानिक ब्यवस्थाले धेरैको ध्यान र महत्वाकांक्षा पदाधिकारीमा नै उम्मेदवार दिई निर्वाचित हुनेमा रहेको देखिन्छ। झ्वाट्ट सुन्दा रसिलो रमाईलो लाग्ने, तर परिणामबाट भौतारिदै तालपरे कत्तिको त राजनीतिक जीवनबाट नै बिट मार्नुपर्ने स्थितिको सृजना यसैले नगर्ला भन्न सकिँदैन। सबै पपुलर निर्णयहरू गुलियो मात्र हुँदैनन्। यो अति टर्रो, अब्यवहारिक साथसाथै पार्टीको स्थापनाकालिन भावनाको मर्म विपरित छ। अर्कोलाई जाल थाप्दै गर्दा यही चुके हाम्रा पपुलारिष्ट नेताहण।
मनोनयनको उच्च अभिलाषा
नेपाली कांग्रेस पार्टी भित्र आफूसँगै पराजित साथीलाई पुनः केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने चलन छ। केन्द्रीय सदस्यमा निर्वाचन लड्दैमा जितिन्छ नै भन्ने कुनै ग्यारेण्टी छैन, हुँदैन। हार्ने भय डर सबैतिर उत्तिकै भएपछि हार्नै त हो। किन पदाधिकारीमा नै नहार्ने भन्ने सबैलाई लाग्नसक्छ। यता फेरि, पराजित भएपछि केन्द्रीय कार्य समितिमा मनोनयन बाटो सहज छँदैछ।
म नेपाली कांग्रेसको भावी सभापतिलाई बिनम्र अनुरोध गर्दछु। तपाईसँग सभापतिमा हारेको पहिलो प्रतिस्पर्धीबाहेक झुक्किएर पनि सभापति र अन्य पदमा लड्नेलाई भविष्यमा केन्द्रीय कार्य समितिमा मनोनयन नगर्नु होला। यसले केन्द्रीय सभापति र पदाधिकारीमा मात्र चुनाव लड्ने नयाँ परम्पराको थालनी र घुईचो यसै महाधिवेशन मार्फत शुरुआत हुनेछ।
हार्ने कि जुनियरलाई छोड्ने
नेपाली कांग्रेस पार्टी भित्र एउटा अर्कै किशिमको अचम्मको पुरानो संस्कृति छ। पदीय भूमिका निर्वाह गरेको आधारमा भन्दा पनि उमेर समूहको आधारमा एकअर्कालाई आदर सत्कार गर्ने विशिष्ठ प्रकारको संस्कार विद्यमान छ। केही त उमेर र जिम्मेवारी अनि अनुभव सबैले सिनियर नै छन्। यसले अब आउने महाधिवेशनमा क्रमिक बिकराल समस्या सृजना गर्दै जानेछ। सिनियर नेताको समस्या यस्तो हुनेछ।
आफू नलडौं त्यो पदमा आफूभन्दा जुनियर नेता आउँछ भन्ने डर। आफैं लडौं एकै पटक यसै पटक केन्द्रीय कार्य समितिको पदाधिकारी हुने रहरबाट कमसेकम पनि १५ औं महाधिवेशनसम्म त बन्चित हुनैपर्ने गम्भीर पिरलो। केन्द्रीय कार्य समितिमा नहुँदा निकट भविष्यमा हुने संसदीय निर्वाचनमा समेत भाग खोसिने चिन्ता।
समूहगत प्रतिस्पर्धाबाट आउँने दुष्परिणाम
लोकतान्त्रिक पार्टीमा आन्तरिक गुटबीच स्वस्थ प्रतिस्पर्धा हुनु स्वभाविक कुरा हो। स्वच्छ प्रतिस्पर्धाले सक्षम नेतृत्व स्थापित पनि गर्छ। १३ औं महाधिवेशनताका कै पुरानै तीन समूहमा विभक्त भई महाधिवेशनमा जाने सम्भावनामा अझै टरेको छैन, झन् अरू समूह थपिने सम्भावना देखिन्छ। खयर जे होस्। भएको साविकको समूहमा नै बहसको प्रारम्भ गरौं।
यसरी हुँदा कम्तिमा दुई जना सभापति, चार जना उप सभापति, चार जना महामन्त्री, सोह्र जना बढी सह-महामन्त्री र दुई कोषाध्यक्ष गरी लगभग अठ्ठाईस जना जति पहिलो दोस्रो र तेस्रो तीनै पुस्ताको नेतालाई केन्द्रीय समितिमा पुग्नु अघि नै बाँकी अवधिको लागि सामान्य कार्यकर्ताको हैसियतमा पुग्नेगरी बिदाई हुन्छन्।
किन टारिदैछ कांग्रेसको १४ औं महाधिवेशन?
बाहिरी सतही रूपमा हाम्रा युवा, बयस्क, होनाहार, अनुभवी, इतिहास बोकेको जे जे विशेषणले सिंगारिएको नेताहरुको परिभाषा भए पनि पटकौं पटकसम्म अधिवेशन या महाधिवेशनको तालिकाहरु पछाडि धकेल्नु वा सार्नुमा माथिको अन्तिम दुई अनुच्छेदमा उल्लेख गरेको ब्याख्या नै पहिलो र अन्तिम कारण हुन्।
महाधिवेशन हुन्छ/हुँदैन भन्ने चिन्ता कसैलाई होईन। हुने महाधिवेशनबाट आफूले के हातपार्ने भन्ने विषयको चिन्ता हो। आफूले केही नभेट्टाउने महाधिवेशन गर्न इतिहासमा कसैले जोखिम मोलेको पाउँनु भएको छ? सभापति र वरिष्ठ नेतालाई घुर्क्याएर खाईपाई आएको सुविधा र मुखमा आईपुगेको गाँस छोडेर बेकारमा को लाग्छ आफ्नै सत्यानाश हुने महाधिवेशनको पछाडि। आवरण भित्र गम्भीर स्वार्थले घनिघुत काम गरिरहेको छ।
यीनै चिजहरू नै नेपाली कांग्रेसको महाधिवेशन नहुनुको अर्को प्रमुख कारण हो। यस्तै गतिविधिको प्रसयले आसन्न १४ औं महाधिवेशन टर्नेछ, टर्दैछ र विस्तारै बिभिन्न झमेलाहरू तयार पार्दै टारिँदैछ। बाँकी भविष्यलाई जिम्मा।
भट्ट नेपाली जनसम्पर्क समिति अमेरिकाका महाधिवेशन प्रतिनिधि एवं नेपाली कांग्रेसका नेता हुन्।