जन्म पछिको मृत्यु ध्रुवसत्य कुरा हो। जो अकाठ्य छ। कठोर छ। मानव नियति नै बनिदिन्छ। मुहम्मद इब्राहीम जौकले भनेझैं मान्छे आउँदा रूदै आउँछ जादा अरूलाई रूवाएर जान्छ।
मान्छेको जीउनुको अर्थ र भोगाई त्यतिबेला झल्किन्छ, जतिबेला जीवनमा गरेका कर्म, उसलाई हेर्ने समाज र देशको दृष्टिकोण देखापर्छ। इमानदारिता, सहयोगीपन र प्रेरणादायी बन्न सक्नु नै जीवन जिउनुको सार्थक अर्थ हो।
यही बीचमा एक सार्थक जीवन बाँचेर जानुभयो पूर्व सांसद अक्बर बहादुर सिंह। बि.सं.१९८९ फागुन २८ गते दार्चुला जिल्ला लाटीनाथ गा.पा.मार्मा चिउरानीमा बुवा अमर बहादुर सिंह र माता पार्वती सिंहका कोखबाट परिवारको कान्छो सन्तानको रूपमा सिंहको जन्म भएको थियो। यही २०७८ साउन १५ गते ९० वर्षको उमेरमा निधन भयो।
दार्चुला जस्तो दुर्गम क्षेत्र सुदूर पश्चिमको चर्चित मार्माली ठकुरी परिवारमा जन्मेका पूर्व सांसद अक्बर बहादुर सिंहको बाल्यकाल दाजु र दिदीका साथ मार्मामा नै बितेको थियो। उहाँको प्रारम्भिक शिक्षा त्यतिखेरको चलन अनुसार गुरू बोलाएर घरमै भएको थियो। उहाँ सानै उमेरदेखि हटी, निर्भिक र इमानदारिताका प्रतिमूर्ति हुनुहुन्थ्यो। सुरूमा सरकारी सेवामा बिचारीको रूपमा प्रवेश गरी केही वर्ष काम गरे पनि कसैको अधिनमा बस्न नसक्ने र अरूको खटनपटनमा रहन नसक्ने मार्माली बाउसाफलाई त्यो सरकारी जागिरले कहाँ स्थिर गराउन सक्थ्यो र?
२०१५ सालको आम निर्वाचनमा मतदान अधिकृत भई निर्वाचन गराउनु भएका उहाँलाई स्वतन्त्र हुन मन लागेपछि जागिर नै छोडिदिनुभयो।
जागिर छोडेको केही वर्ष पछि समाज सेवामा खटिनुभयो। त्यस समयमा पढेलेखेको, सरकारी जागिर खाइसकेको, नियम कानुन, काईदा कानुन जानेको ब्यक्ति गाउँ घरमा जनताको माझ बस्दा उच्च सम्मान हुने नै भयो। गाउँ घरका जातजाती समुदायबीच उहाँको छवि जनप्रिय भइरहेको थियो।
सबै गाउँलेको आग्रहमा तत्कालीन लाटिनाथ गाउँपञ्चायतको प्रधानपञ्चमा निर्विरोध निर्वाचित हुनुभयो। उहाँ प्रधानपञ्च हुँदा जिल्लाकै अत्यन्तै प्रभावशाली प्रधानपञ्चको रूपमा चिनिनुहुन्थ्यो। अन्यायको बिरोध र भ्रष्टाचार बिरोधिको रूपमा अभियान नै चलाउनुभएको थियो।
उहाँले त्यस समयमा प्रधानपञ्च भन्दा माथिको पदमा कहिले पनि इच्छा गर्नु भएन। आफू जन्मे हुर्केको ठाउँको सेवामा नै जीवनका सारा दिन बिताउनु भयो। जिल्ला वा सो भन्दा माथिको पदमा आफूले चाहेको ब्याक्तिलाई जिताउन सक्ने हैसियत राख्नु भयो। तर आफू भने प्रधानपञ्चमै रमाउन थाल्नुभयो।
मध्यम परिवारको पहाडको आर्थिक अवस्था, रहनसहन,पाँच वटा छोरा र दुई छोरी गरी सात वटा सन्तानको पालनपोषण, राजनीतिक जीवन र इमानदार चरित्र यी सबै एक साथ डोर्याउनु चानचुने विषय थिएन। तर पनि कहिले निरास हुनु भएन।
२०२७ सालमा पूर्व-पश्चिम महेन्द्र राजमार्गको केन्द्रबिन्दु ठानिएको हेटौंडामा बसाइँ सर्नु भयो। प्राय सु.प.का बासिन्दा बसाइँ सराइ गर्दाको रोजाइ कैलाली, कञ्चनपुर वा काठमाडौं हुने गर्छ तर उहाँले हेटौंडा नै रोज्नुमा उहाँको दूरदृष्टि झल्किन्छ।
हेटौंडामा बसाइँसराई गरे पनि दार्चुलाका जनताको मायाले सधैं तानिरहन्थ्यो। फुर्सद पाउने बित्तिकै दार्चुलाको जनताको पिरमर्का बझ्न पुगिहाल्नु हुन्थ्यो। यो क्रम लामो समयसम्म बिना पद बिना स्वार्थ चलिरह्यो। जनताको आग्रह त नभएको होइन। तर धेरै समय दिन नसक्ने भएको कारण देखाउँदै अरूलाई नै सहयोग गर्दै आउनुभयो।
२०४६ सालको परिवर्तन पछि देशमा बहुदलीय ब्यवस्थाको प्रादुर्भाव भयो। देशमा पार्टीहरू दर्ता भए उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (सूर्य बहादुर थापाको) मा जानुभयो। समयको प्रतिकुलताको बाबजुत पनि २०४८ सालको चुनावमा अत्यधिक बहुमतबाट बिजयी हुनुभयो। त्यो समयमा सो पार्टीबाट चुनाव जित्नु चानचुने विषय पक्कै थिएन।
प्रतिनिधिसभामा रहँदा सार्वजनिक लेखा समितिको कार्यवाहक सभापतिको रूपमा पनि केही समय काम गर्ने मौका पाउनुभयो। सो पदमा रहँदा उहाँले देखाउनु भएको अडान, इमानदारीता र ढृढ निर्णय गर्न सक्ने क्षमता गजबको थियो। प्रखर वक्ता र क्षमताका धनिका रूपमा हुनु हुन्थ्यो भनी त्यस समयका माननीय सांसदहरू अहिले पनि सम्झना गर्नुहुन्छ।
२०५१ सालको मध्यावधि चुनावमा रा.प्र.पा. एक हुँदा उहाँलाई टिकट दिइएन। दुर्भाग्यपूर्ण भन्नू पर्छ। उहाँ बिद्रोहीको रूपमा उठ्नु भयो। असफलता हात लाग्यो। पछि नेपाली कांग्रेस प्रवेश गर्नुभयो।
उहाँलाई २०४७ सालमा पहिलो पटक भेट्दा बोलीमा अद्भुत शक्ति भएको, अग्लो कद, छरितो जिउडाल, हँसिलो अनुहार र लामो आकर्षक जुँगा, लोभलाग्दो ब्यक्तित्वले मलाई निकै नै प्रभावित तुल्याएको थियो। पछि मेरो मन मस्तिष्कले अति नै आदरणीय ब्यक्तिको रूपमा ग्रहण गर्न थाल्यो।
आफ्नो परिवार नाता कुटुम्बलाई छपक्कै ढाक्न सक्ने र सबैलाई एकसूत्र बनाई एकताबध्द राख्न सक्ने उहाँको पृथक क्षमता थियो। त्यसैले त आजको एक्काइसौं सताब्दीमा पनि उहाँका परिवार सदस्यहरू संयुक्त परिवारको रूपमा उच्च संस्कार, मर्यादा र सौहार्दताका साथ रहनुभएको छ।
परिवारका सदस्यबीच कुनै मनमुटाब छैन। एउटाको समस्या सबैको साझा समस्या भइदिन्छ। परिवारबीचको दुःख सुख सबैको सहयात्री बनिदिन्छ। सबै छोरा, बुहारी,नातिनातिना, छोरी ज्वाईलगायत सबै नाता कुटुम्बलाई समेत अत्यन्त अनुसासनका साथ आफ्नो कमाण्डमा राख्न सक्नु उहाँको अद्भुत विषेशता हो। जुन आधुनिक समाजले सिक्नुपर्ने कुरा पनि हो।
कहिले पनि बुहारीलाई अर्काको छोरी भएको महसुस हुन दिनुभएन। त्यसैले त बुहारीहरूको ससुराप्रतिको आत्मीयता, आदर र स्नेहमा कहिल्यै कमी देखिएनन्। यो सायदै कमै परिवारमा देखापर्छ।
जीवनका नौ दशक पार गर्न लाग्दा पनि उहाँको बोलीमा उस्तै दम थियो। त्यो जोस, जागर र उत्साह उस्तै थियो। पूर्वसांसद नरेन्द्र बहादुर चन्द भन्नुहुन्छ, ‘अक्बर बहादुर सिंह एक जिन्दा दिल इन्शान हो।’
जीवनको अन्तिम समय नजिकिनै थाल्दा शायद पूर्वाभाश भएरै हुनुपर्छ हिमाल नरसिङ्ग होमको आई सियु बेडबाट डक्टरहरू र परिवारका सदस्यहरूसँग अनुनय विनय गरी घर जान आग्रह गर्नुभयो। घरमा केही दिनको बसाइ पछि यो संसार छोड्न केही घण्टा पहिले परिवारका सबै सदस्यहरूलाई एकसाथ राखी राखन ढाकन लगायत अर्तीपूर्ति दिई सदाका लागि निस्किनुभयो कुनै अज्ञात लोकको यात्रामा।
हामीबीच सम्झना मात्र छोडी जानु भयो कहिल्यै नफर्किने गरी। यसरी हामीबीचबाट सदाका लागि अस्ताय मार्माली सिंह परिवारका धरोहर, मार्माली बादसाह। उहाँको निधनले राष्ट्रले एक राष्ट्रवादी र इमानदार नेता गुमाएको छ भने परिवारले आत्मीयता र संस्कारका धरोहर सच्चा अभिभावक समेत रहेको सिङ्गो इतिहास गुमाएको छ।
नेपालका नेता गणले स्वार्थ भन्दा माथि उठी जनताको पिरमार्का बुझ्न सके र परिवारले उहाँले छोडेर जानु भएको संस्कारलाई जोगाई राख्नसके उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। यतिखेर मेरो सम्झनामा आइरहेका छन् उहाँको हँसिलो मुहार, प्रेरक व्यक्तित्व, सहयोगी भावना अनि सँगसँगै आइरहेका छन् हीरालाल फलकका यी पंक्तिहरू पनि।
जिन्दगी जिसका बडा नाम सुना जाता है
एक कमजोर—सी हिचकी के सिवा कुछ भी नहीं।
अन्तमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली। परिवारजनमा भावपूर्ण समवेदना।