गाउँमै हुर्केको बढेको भएर पनि होला गाउँ जाने भनेपछि हुरुक्कै लाग्छ मलाई। म आफैमा रमाउँछु जब मलाई त्यहाँका रुख बिरुवा, सुसाई रहने खोला, बाख्रा, भैंसी, खेत,जंगल आदिले मेरो बाल्यकाल ताजा बनाइदिन्छन्।
जब म गाडीबाट ओर्लान्छु अनि त्यसपछि हिँड्नु पर्ने एक घण्टाको बाटो मेरो लागि किन किन विशेष बन्छ। स्कुल जाँदा आठ काठ कुन काठ खेल्ने गरेका ती बोटबिरुवा कत्रा भएछन् है भन्दै, हामी लुकामारी खेल्ने ठूलो ढुंगा उस्तै नै रहेछ भन्दै, स्कुलबाट फर्किँदा चढ्ने काफलको रुख कति मोटो भएको भन्दै दाँज्दै सबै तिर हेर्दै हिँड्नुको मज्जा नै बेग्लै लाग्छ।
गाउँ सुरु भएपछि सबैको घरमा पस्दै हालखबर बुझ्दै सबैको माया थाप्दै हिँड्दा त त्यो पराई सहरमा किन बस्नु जस्तो लाग्छ, जहाँ कसैलाई कसैको मतलब नै हुँदैन। गाउँमा त जसको घर गएपनि आफ्नै घरजस्तै लाग्छ। उहाँहरूले गर्ने माया कति निश्चल हुन्छ, आफ्नै नातिनी आए जस्तै गर्नुहुन्छ। हुन त सबैको घरमा हुने बुढापाका मात्रै, कोही केटाकेटी आए पनि आफ्नो नातिनातिनाको झल्को मेटिँदा साह्रै रमाइलो लाग्दो हो।
अघिल्लो पटक गाउँ जाँदाको कुरा हो। म गएको दुई दिन मात्रै भएको थियो, अलि पर गाउँकी उजेली आमा एकाबिहानै हाम्रो घर आउनुभयो र मलाई 'नानी, हाम्रो घर आऊ है एकछिन' भन्नुभयो।
किन रहेछ भनेर गएको अघिल्लो दिन एकादशी परेको रहेछ। व्रत बस्नु भएको रहेछ टीका लगाइदिने अनि खाना खुवाउन भनेर बोलाउनु भएको थियो।
नामजस्तै गोरो वर्णकी उजेली आमा धेरै वर्ष भयो घरमा एक्लै बस्नुहुन्छ। उहाँका सन्तान नभएर त होइन, चारभाइ छोरा, अनि एउटी छोरी हुनुहुन्छ। उहाँहरू सबैको बिहे भएर नातिनातिना भइसकेका छन्। सबैले सहरमा घर बनाउनु भएको छ। उहाँहरू सबै आ-आफ्नो घरमा बस्नुहुन्छ।
जातले उहाँ क्षेत्री हो। उहाँ चोखनिष्ट धर्म व्रतमा धेरै नै ध्यान लगाउनु हुन्छ। आमा काम गर्न साह्रै सिपालु अनि टाठी पनि हुनुन्छ, हुन त त्यतिको नभएको भए जवानीमा श्रीमान मरेर गएपछि एक्लो शरीरले पाँच/पाँच जना छोराछोरीको लालनपालन पढाइलेखाइ कसरी सम्भव हुन्थ्यो होला र!
आमा काम गर्न नै व्यस्त हुनुहुन्थ्यो, म पनि आमासँगै पुराना कुराहरू खोतल्दै बस्दै गरेँ। सोधेँ 'आमा, अंकल आन्टीहरु कहिले आउनुहुन्छ?'
आमाले भन्नुभयो 'खोई नानी, अंकलहरु सबैले जागिरबाटै फुर्सद पाउँदैनन्, नाति नातिना सबैको माथि माथि पढाइ होला। आन्टीहरुले घर सफा गर्ने, खाना बनाउने, कपडा धुने गर्दा भ्याउँदैनन् रे। पोहोर सालको दसैँमा आउँछन् कि भनेको कोरोना छ आउन पाइएन भने, यसपालि त आउँछन् कि बाटो हेर्दै बस्दै गर्छु नानी अरु त के गर्न सकियो र!'
मलाई कस्तो उत्सुकता जाग्यो आमाको मनको कुरा बुझ्न। अनि फ्याट्टै सोधिहालेँ, 'आमा, हजुरलाई सहरमा जान, छोरा, बुहारी, नाति, नातिनासँगै बस्न मन लाग्दैन? किन त या एक्लै बस्नुभाछ?'
'ए नानी कहाँ सक्छु र म यहाँ यसरी बसिछु, त्यहाँ गएर डेरीको सेतो मात्र भाको दूध खान, त्यो अनकन्टार ठाउँमा, कुरा मिल्ने कोही छैन। उनीहरूको इष्टमित्र त हुनेखाने छन्, कुरा मिल्छन्। म यस्तो गाउँले उनीहरूले जस्तो सरसफाइ गर्न जान्दिनँ, ग्याँस चलाउन जान्दिनँ। भो नानी! मलाई त झन् बोझ भएजस्तो लाग्छ एकदिन जाँदा पनि। सक्दासम्म यही बस्छु। एउटा भैंसी पालिछु, घिउ बनाएर सबै पठाइदिन्छु। मैले त जस्तो खाए पनि दुःख पाएपनि केही हुँदैन, मेरा छोराछोरी नातिनातिनाको टाउको नदुखे पुग्छ नानी मलाई त।'
अझै थप्नुभयो 'कान्छो छोराकी छोरी, सबैभन्दा सानी नातिनी तिमीजस्तै छे। उसकै झल्को मेटाउन आज तिमीलाई बोलाएकी नानी।'
सोधेँ 'आमा, हजुर कहिलेकाहीँ बिरामी पर्नुहोला, के होला, एक्लै बस्न त नहुने हो। सधैं एकैनास त हुँदैन। जंगलको नजिकै एक्लो घर छ, डर लाग्दैन हजुरलाई राति?'
'यो जंगल त के हो र बाबु, म यहाँ बसेको कति वर्ष भयो कति, पहिले त कहाँ अहिले जस्तो बिजुली थियो र! टुकी बालेर बस्नुपर्थो, पानी लिन तल खोल्सामा जानुपर्थ्यो, दिशा बस्न त बारीको डोरामा जान्थेँ, रातिमा कति तर्साउँथ्यो तर अगुल्टो हातमा लिएर हिँड्थे डर भन्ने लाग्थेन। अहिले त बाहिरका दुइटै बत्ती बाल्छु झल्झली हुन्छ, बानी परिसक्यो डर लाग्दैन।'
साँझमा फोन गर्छन्, रमाइलो लाग्छ। हेर न नानी मेरा नातिनातिना कति ठूला भइसकेछन्' भन्दै मलाई स्क्रीन टच मोबाइल देखाउनु भयो। मलाई 'यो माइलो छोराकी छोरीले ल्याइदिएकी' भन्दै चलाउन थाल्नुभयो खुसी हुँदै।
अझै थप्नुभयो 'भन्यो भने सबैकुरा मुखबाट फुत्किन नपाउँदै पुर्याइदिन्छन् हेर, अघिल्लो पटक आउँदा ग्याँस पनि जोडेका छन्। तर म बुढीले जान्दिनँ बाल्न। डर लाग्छ पड्किन्छ कि भनेर, खोल्दिनँ।
टिभी पनि छ छ न त उनीहरू आउँदा हेर्छन् रमाउँछन्, मलाई त हेर्नै मन लाग्दैन नानी, पुराना दिन सम्झिन्छु र विरक्त लाग्छ। कुरा सुनाउँ भने कसलाई सुनाउँ। भित्तासँग कुरा गर्छु बस्छु। राती अबेरसम्म निद्रा लाग्दैन, अनेक कुरा मनमा खेलाउँछु बस्छु।
कुरा गर्दै खाना बनाउँदै हुनुहुन्थ्यो आमा। उहाँलाई पनि आफ्नै नातिनी जस्तै लागेछ। मसँग निर्धक्कले असेट मेट्न जस्तै कुरा गरीरहनु भयो। सोध्नु भयो, 'नानी, तिमी पनि मस्तै पढिछौं है, तिमी त कस्तो बेलाबेलामा घर आइरहन्छेऊ, हाम्रा नानीबाबु त जहिले पनि पढाइ छ भन्छन्, तिम्रा मास्टर कति जाती रैछन् है छुट्टी दिने बेलाबेलामा।'
विचरा आमालाई के थाहा, नातिनातिना नआका हुन् कि नभ्याएका भन्ने। उनीहरूले पनि के गरून् र? बाबा-आमाले जे भन्यो त्यही मान्ने, जे सिकायो त्यही गर्ने। हुन त घरमा जस्तो संस्कारमा हुर्कियो उस्तै हुने न हुन्। सानैदेखि सहरमा हुर्केको बढेकोलाई किन मन लाग्दो हो र यहाँको उकालो, ओरालो, धूलो र मैलोमा। अनि हजुरआमाले माया कति गर्नुहुन्छ भन्ने नबुझेकालाई के महत्त्व भयो र हजुरआमाको।
त्यत्तिकैमा एउटी नातिनीले फोन गरिन्, 'आमाको फोनमा स्पिकर अन रैछ, मैले पनि सबै सुनेँ।
'आमा हजुरलाई के चाहिएको छ भन्नु है, हामी पठाइदिन्छौँ। हजुरले केही दुःख नगर्नु है। हामी दशैमा आउँछौ होला' भनेको सुनियो।
आमाले भन्नुभयो, 'नानी अहिले त तिजमा आओ न मलाई कस्तो रहर लागेछ तिमीहरू नाचेको हेर्न, दुई दिन मात्रै बसेर जाउला, सोस्ता बोडी फलेछन्, घिउ जम्मा गरिछु लैजाउला।'
उताबाट 'आमा अहिले त मिल्दैन, नेटबाट क्लास लिनुपर्छ। त्यहाँ आएपछि पढ्न मिल्दैन, दसैँमा मिल्यो भने आउँछौ नि। बरु हजुर आउनुस् न आमा तिजमा यता।'
आमा रुँदै, 'हस् नानी, म त कसरी आउन सक्छु र? भैंसी दुहुनो छ, एक्लै बसौंला, तिमीहरू त्यतै धेरै रमाइलो गर्नु है।'
फोन राखेपछि आमा मसँग धेरै रुनुभयो। 'नानी, तिमी त आउँछौ नि यसपालि तिजमा? तिम्लाई नै दर खुवाउँछु मैले। आफ्ना त छोराछोरी नातिनातिना कोही रहेनछन्। तिमी नै हौ मेरो नातिनी।
यस्तो दुःख त कसैलाई नपरोस्। दुःख गरी आफूले खाई नखाई हुर्काएको यस्तै हुन रैछ। हुन त मै अभागी रैछु, उहिल्यै श्रीमान गुमाएँ, जसको मुख हेरेर बाँचौला भन्ने आशा थियो, सबै बिरानो भए। छोरा पाए बुहारीलाई छोरी पाए ज्वाइँलाई भन्थे, साँच्चीकै हो रैछ।
यो कालले पनि चाहेको बेला नलैजाने रैछ। मर्न पाए त बरु सुख हुन्थ्यो होला नि, कसैको आश गर्न त पर्थेन होला। अहिले त सन्चै छु, खाना पकाउन,घाँस काट्न सक्छु। कहिलेकाहीँ त यस्तो गाह्रो हुन्छ ज्यान गरेर पल्टिन्छु, के गर्नु पानी तताएर खान दिने कोही हुँदैन। सकिनसकी आफै धासिन्छु घिसरिँदै भएपनि।
अब त भैंसी पाल्न नि गाह्रो हुन लाग्यो मलाई। के गरौँ एक मुठी दूध खान मन लाग्ने, भैंसी नपाले फेरि दूध किन्न नि दिँदैनन् गाउँमा। जसोतसो पालेँ सहरमा केटाकेटी घिउ भनेपछि हुरुक्कै गर्छन्, पठाउन हुन्थ्यो भन्ने हुन्छ। यस्तै छ नानी म बुढीको दुःख कसलाई सुनाउँ? धान्न आज तिम्लाई पाए सुनाउने मान्छे।
यस्तो दुःख कसैलाई नपरोस् भगवान! धन पैसा मात्रै ठूलो होइन रहेछ, माया ममता साथ नै ठूलो रहेछ। अब मलाई के धनको कमी थियो र! सरकारले भत्ता दिएकै छ, एउटा ज्यानलाई कति के नै चाह्यो र? बाँचुन्जेल छोराछोरी सँगै रहुन् भन्ने हुँदो रहेछ, उँधो माया रैछ, उनीहरूलाई मतलब नहुने रैछ बुढाबुढीको चाहना इच्छा, मैले मात्रै चाहेर भएन।
सहरमा आइज भन्छन्, गएपछि दुई दिनमै वचन सहनु पर्छ। छोराले बुहारीलाई नै साथ दिनुपर्यो, म झन् एक्लो हुन्छु भनेर जान मन लाग्दैन। पढेलेखेका बुहारीहरु गाउँ बस्न मान्दैनन्।
यस्तै त रहेछ नि, जस्तो आयो उस्तै जाने हो, मर्दा लाने केही होइन। बस बाँचुन्जेल खुसीले बाँच्न पर्ने हो। मलाई त त्यहीँ पनि लेखेको रहेनछ। अब कुन दिन यही एक्लो घरमा मर्छु अनि आनन्द हुन्छ सबैलाई।
आमा हुँ सबैको माया लाग्छ, जति धेरै छोराछोरी भएपनि मलाई धेरै लाग्थेन। कसैलाई केही कुरामा कमी हुन दिइनँ। अहिले म कमजोर भएँ, उनीहरू बलिया छन्, टाठाबाठा छन्। यति ठूला भइसकेछन् कि म एउटी आमालाई कसले पाल्ने भनेर झगडा गर्छन्।
मलाई पाल्न पर्ने त होइन होला, कि म पशु सरहको भएँ? आमासँग म बस्छु भनेर सबैले जिद्दी गर्नुपर्ने ठाउँमा पाल्न सक्दिनँ पो भन्ने रहेछन्। विचरा छोरीले बरु आमालाई मैले राख्छु भनेकी थिई, म नै लाजले गइनँ। छोराको इज्जत जाला कि भन्ने डरले।'
आमाको आँसु देखेर मलाई साह्रै नराम्रो लाग्यो। अनि मैले आमालाई आफ्नै हजुरआमा जस्तै लाग्यो र भनेँ, 'आमा, नआत्तिनुस् म आउँछु नि बेलाबेला बिदा मिलाएर। तिजमा हजुर र मसँगै नचौँला नि। म बेलाबेला फोन गरिरहन्छु नि। जे पर्दा पनि हजुरले केही अप्ठ्यारो नमानी भन्दा हुन्छ, म हजुरकै नातिनी त हो।
भलाकुसारी गर्दा गर्दै दश बजिसकेछ। आमाले मलाई टीका लगाइदिँदै भन्नु भयो, 'नानी ठूलो मान्छे बन्नु पर्दैन, धेरै पैसा पनि कमाउनु पर्दैन, यत्ति कुरा सधैं सम्झिए, कहिलै पनि आफ्नो आमाबुवाको मन नरुवाउनू। साह्रै सराप लाग्छ नानी। सधैं मनको धनी हुनु है। बेलाबेला मलाई सम्झिएर आउने, हाँस्ने, बोल्ने गरे है। मलाई त्यत्ति भएपछि पुग्छ। देउता पूज्न मन्दिर जानु पर्दैन, आफ्नै घरमा आमाबाबुलाई सजायौ भने पुग्छ।'
आमाले दक्षिणा पनि दिनुभयो आँसु झार्दै। कति सम्हालिन खोज्दा पनि आँखा रसाएछन् मेरा। अनि हाँसेजस्तो गर्दै 'भयो आमा अब हाँस्नुस्' भन्दै आँसु पुछिदिएर भनेँ, 'खाना खान जाउँ आमा।'
आमाको आँसुले भरिएका आँखा हेर्दै सम्झाउँदै खाना खाए र एकछिनपछि घर फर्किएँ।
धेरै दिनको बिदा नभएकोले गर्दा अर्को दिन म सहर फर्किएँ। गाडीभरि आमाका कुराहरू मनमा खेलिरहेका थिए। एक मनले अंकल आन्टीलाई भेटेरै आमाको गुनासो बारे भनौं कि जस्तो लाग्यो, अर्को मनले फेरि अरूको पारिवारिक कुरामा बीचमा गएजस्तो नराम्रो हुने होकि भन्ने डर। अनि होस, पछि कतै भेट भएछ र कुरा चलेछ भने भनौंला भन्ने सोचें।
उजेली आमालाई बेलाबेला फोन गर्थेँ मैले। सञ्चै छु नानी भन्नु हुन्थ्यो। हिजो बिहानै घरबाट ममीले फोन गर्नु भएको रहेछ। पाँच चोटिसम्म कल गर्दा बल्ल जागेछु। अनि ममीले आत्तिँदै भन्नुभयो, 'नानी हेर त, उजेली आमा हिजो घाँस काट्न जाँदा रुखबाट लडेर…' ममी एकछिन अड्किनु भयो।
मैले आत्तिँदै सोधेँ, 'के भयो ममी? उजेली आमा ठिक त हुनुहुन्छ?'
उताबाट उत्तर आयो, 'उजेली आमा बित्नुभयो।'
ओहो नि! म त एकछिन केही बोल्नै सकिनँ। अनि पछि सम्झिएँ, मलाई तिजमा दर खुवाउने अनि मसँगै तिजको गीतमा नाच्ने धोको अधुरै रह्यो। नत्र मलाई यति धेरै दुःख लाग्थेन होला। मैले उहाँका दुःख सुख सबै सुन्ने मौका पाएको भएर पनि होला साह्रै नराम्रो लाग्यो, उहाँलाई दिएको एउटा वचन पूरा गर्न पनि सकिनँ।
मैले त्यतिबेला बल्ल थाहा पाएको थिएँ कि हाम्रा बुढा हजुरबुवा-हजुरआमा नातिनातिनी भनेपछि कति हुरुक्कै गर्नु हुँदो रहेछ भनेर। त्यसैले हामी नातिनातिनीहरुले पनि झर्को नमानी उहाँहरुका कुरा सुन्ने गर्नुपर्ने रहेछ। उहाँहरूको दुःख पोख्ने ठाउँ नहुँदा गुम्सिएर उकुसमुकुस हुने रहेछ।
आफू जति व्यस्त रहेपनि वृद्धहरुसँगको समय, साथ अमूल्य हुन्छ। भन्छन् नि 'आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाको।' त्यो अमूल्य समयमा उहाँहरू पनि खुसी हुनुहुन्छ। आमाबाबुलाई सम्पूर्ण भौतिक सुख सुविधा पुर्याउँदैमा उहाँहरू खुसी रहनुहुन्छ भन्ने हामीमा ठूलो भ्रम रहेछ।
उहाँहरूले केवल साथ, आधार अनि माया ममता चाहानु हुन्छ। आफ्नो सन्तानको सुखको लागि जस्तोसुकै दुःख पनि सहजै सहने हाम्रो पूजनीय देउता सरहका आमाबाबु, हजुरबुवा, हजुरआमालाई सक्नुहुन्छ सधैँ सँगै राखेर माया गर्नुहोस्, सक्नु हुन्न कहिल्यै पनि नरूवाउनू।
बरु आफूले जे खाइन्छ, मिठो मसिनो एकछाक नै किन नहोस्, त्यही दिएर राख्नुहोस्। अबदेखि वृद्धाश्रममा आमाबाबुलाई देख्न नपरोस्। आमाबाबुलाई कसले पाल्ने भन्ने हाम्रो समाजको तितो यथार्थलाई सच्याउनु जरुरी छ र प्रत्येक छोराछोरीले आमाबाबु सँग सधैँ बस्न पाउनु गौरवको कुरा मान्दै भन्नु पर्छ- 'म बस्छु सधैँ मेरो आमाबुवासँगै।'