म आफ्नै देशमा पसिना बेच्छु। तराईको तातो घामले नपोल्ने होइन, माघका शीत-लहरले मुटु नघोच्ने होइने, बर्खामा चुहिएको छानोले मेरो जिउन नभिज्ने होइन। तर म यी सबै सहन सक्छु। किनभने म एउटा गरीखाने अनपढ किसान हुँ। मैले पढेको छैन किताबका पानाहरु। टेकेको छैन स्कुलका ढोकाहरु तर म पनि सरस्वतीको भक्त हुँ।
हेर हेडमास्टर, तिम्रा लापरबाहीले मेरा छोराछोरीको भविष्य औंसीको रात जस्तो अँध्यारो नबनोस्। थाहा छ हेडमास्टर मलाई घामले असाध्यै पोल्छ तर म छाता किन्दिनँ। किनकि मैले सरकारी स्कुलमा जाँच फी र महिना फी तिर्नु पर्छ।
हेडमास्टर, मैले कापी किनिदिएँ। कलम किनिदिएँ। फ्रक, सर्ट, पाइन्ट सबै किनेँ। तर केही दिन जाँचको पैसा तिर्न नसक्दा तिमीले कति पटक तिनै कापी लुछिदिएका छौँ। लकडाउनका कारण गुमेको मजदुरी, गरिबीले पैसा तिर्न नसक्ने मजबुरी र तिमीलाई आवश्यक परेको दसैँ खर्च कहाँ बिर्सन सक्छु र? गतवर्ष मात्र हो तिमीले तिम्रा हातहरुले मेरी माइली छोरीको कापी लुछेको र निकाली दिएको।
लामो लकडाउपछि एकैचोटि सुरु भएको परीक्षामा फी तिर्न सक्ने मेरो कुनै बाटो थिएन, त्यो मेरो मजबुरी थियो। मैले तिमीलाई पैसा नदिने नियत पनि होइन तर तिमी स्थानीय मास्टर भएर पनि मेरो पीडा बुझेनौ। हुन त तिमीलाई दसैँ खर्च चाहिएको थियो याद छ नि मलाई ती तिखा शब्दहरु।
हुन त तिमी सरकारी हेडमास्टर। मैले पढेको पो छैन तर देख्न, बुझ्न अनि सुन्न सजिलै सक्छु। कहिलेकाहीँ छोराछोरीले मास्टरले सिकाएका नैतिकता मिठा कुरा गर्दा तिमी निकै महान् लाग्थ्यो। म तिम्रो मनको पूजारी थिएँ। प्रभु मेरो छोराछोरीले यस्तै सिकून्, यस्तै पढून् लाग्थ्यो।
म हर दिन भारी बिसाएसी स्कुलको दैलोमा पुगेर मुस्कुराउँथेँ र अझै पनि मुस्कुराउँछु। किनकि मेरो छोराछोरीको भविष्य जोडिएको स्कुल एउटा मन्दिर हो।
मैले रिस गरेको होइन। मैले डाहा गरेको पनि होइन तर तिम्रा लापरबाहीले मेरा छोराछोरीको भविष्य नडगमगाओस्। मास्टर मेरा छोराछोरी मात्र नसम्झ किनकि तिम्रा विद्यार्थी पनि हुन्।
तिमीलाई थाहा छ कक्षा १२ मा पढ्ने मेरी छोरीलाई पढ्न आउँदैन किन? यो प्रश्न तिमीलाई हो हेडमास्टर। कसरी पुगिन् मेरी छोरी कक्षा १२ मा जसले अक्षरसम्म चिन्दिन? तिम्रो लापरबाहीले मेरी छोरी पढेर अनपढ भएकी छ। मेरी छोरी जस्ता धेरै छोरीहरु त्यो स्कुलमा छन् तिम्रो लापरबाहीले।
केहीगरी यो लेख तिमी सामु पुग्यो भने मलाई मानहानीको मुद्दा नचलाउनू। त्योभन्दा अघि एकपटक मात्र भएपनि परीक्षामा तिमीले चोर्न दिएका चिटका पानाहरुको गद्धी हेर्न आउनू मास्टरकै अक्षरका अनि मलाई मुद्दा नै हाले पनि म स्वीकार्न तयार छु।
हेडमास्टर, मैले छिमेकीको दुबो चोर्न सिकाएको छैन। तिमीले कापीका पानामा लेखेर चिट चोर्न दियौ, दुःख लाग्छ। मैले त्यही कापी किन्न पसिना बेचेको हो।
हेडमास्टर, बन्द गरीदिऊँ चिट चोराएर पास गर्ने शैली, मेटाइदेऊ नमुना विद्यालयका भाषणहरु, कोरीदेऊ छोराछोरीको भविष्य, टालिदेऊ क्यान्टिनमा रक्सी आउने प्वालहरु अनि विद्यालयबाट सदाका लागि निकालिदेऊ ती रक्सीका बोतलहरु।
हाम्रो देशमा अझै धेरै जनता गरिबीको रेखामुनि छन्। तिनै गरिबीको रेखामुनि थिचिएर बसेका लाखौँ करौड जनताका छोराछोरी सरकारी विद्यालय पढ्छन्। तर सरकारी विद्यालयमा मास्टरहरुको लापरबाही र ज्यादती भने जस्ताको त्यस्तै छ। वर्षेनी गरिबका लागि भनेर लाखौँ रुपैयाँ छात्रावृत्ति आउँछ। तर त्यो बुझ्ने, जान्ने र ठूलाबडाले मात्र चाल पाउँछन्।
छोटो समयको घण्टीमा मास्टर १५-२० मिनेटपछि कक्षामा पुग्ने र आफ्नै शैलीमा बर्बराएर हिँड्ने प्रवृत्तिले पनि सरकारी विद्यालयको पठनपाठन शैली सरकारी काम कहिले जाला घाम जस्तो बनेको छ।