मेरो नाम राजेश जन मगराती हो। मेरो जन्म अतिविपन्न दलित परिवारमा भएको हो। म नाबालक हुँदा नै मेरो जीवनमा केही आकस्मिक र अकल्पनीय घटनाहरू आइपरे जसले मेरो जीवनको दिशा बदलियो।
मेरो घर नुवाकोटको बेलचौर, कबिलास हो। ककनीको उत्तरतर्फ बग्ने लिखु खोलापारि कपिलेश्वर थुम्कोको फेदीमा हाम्रो गाउँ छ। आधाजसो गाउँबासी दलित छन्।
राजधानीबाट नजिक र बाटोघाटोको बिस्तारले सुगम भए पनि परम्पराको हिसाबले हाम्रो गाउँ दुर्गम छ। दलितहरूलाई छिछी र दुरदुर गर्ने परम्परा कायम छ।
यही गाउँमा आमा, बा र पाँच जना छोराछोरी गरी सात जनाको हाम्रो परिवारको जीवन अरू विपन्न दलित परिवारसरह गुज्रिरहेकै थियो। मेरा बा अत्यधिक मद्यपान गर्नुहुन्थ्यो। अत्यधिक रक्सी खाएको अवस्थामै भिरबाट खसेर उहाँको मृत्यु भयो। त्यसको प्रत्यक्ष असर आमालाई पर्यो।
हाम्रो परिवारको आयआर्जनको स्रोत ज्याला मजदुरी थियो। एक्ली आमाले ज्याला मजदुरी गर्दै, अनेक दु:ख झेल्दै हामीलाई पढाउनुभयो। हामीलाई स्कुल जान प्रेरित गरिरहनुभयो। जस्तोसुकै परिस्थितिमा हाम्रो पढाइ टुट्न दिनुभएन।
मैले जंगलको बीचमा झाडी पन्छाएर बाले बनाउनुभएको झुपडीमा टुकीको उज्यालोमा पढेँ। कहिलेकाहीँ जंगलको बाटो हुँदै घाम, बर्खा, हिलोमा हिँडेर फाँटमा रहेको मामाघर जाँदा मात्र बिजुलीको उज्यालोमा पढ्न पाइन्थ्यो। घर चलाउन संघर्षरत एक्ली आमाको दु:ख सह्य हुँदैनथ्यो। त्यसैले उहाँको बोझ हलुका बनाउन बेलाबखत मेलापात, ज्याला मजदुरी गर्दै बचेको समयमा पनि पढेँ।
म पढ्ने सरकारी स्कुल एक घन्टा पैदल दुरीमा थियो। स्कुलको भौतिक संरचना म पढ्दाताका दारुण थियो। अन्य गाउँका सरकारी स्कुलजस्तै कमजोर व्यवस्थापनको शिकार पनि थियो।
यति हुँदाहुँदै निजी स्कुल पढ्ने हाम्रो हैसियत थिएन।
म गाउँको सरकारी स्कुलमा कक्षा ७ पढ्दाको कुरा हो। एक जना गाउँबासीले विपन्न दलितका सीमित केटाकेटीलाई आफ्नै खर्चमा निजी स्कुलमा पढाउने व्यवस्था गर्नुभयो। आमाको अनुरोधमा म र मेरी बहिनी पनि उहाँको छनौटमा पर्यौं।
म पढाइमा मेहनती र अब्बल थिएँ र छु। निजी स्कुल गएपछि पनि कक्षामा पहिलो नै रहेँ। अतिरिक्त क्रियाकलापहरूमा पनि अग्रपंक्तिमै रहेँ।
यही मेहनतका कारण २०७५ सालको एसइई परीक्षामा ३.८५ जिपिए ल्याएँ।
यसरी अरू कसैको सहयोगमा निजी स्कुल पढेर उत्कृष्ट श्रेणी त ल्याएँ, त्यसपछि कलेज र उच्च शिक्षाका लागि स्रोत कहाँबाट जुटाउने भन्ने चिन्ताले सतायो। छात्रवृत्ति पाइहाल्छु कि भन्ने आशले सेन्ट जेभियर्स कलेजमा प्रवेश परीक्षा दिएँ।
नाम पनि निस्कियो तर निजी स्कुलमा पढेको भएर मैले दलित नै भए पनि छात्रवृत्ति नपाउने भएँ। यसले मलाई निराश बनायो।
तर जसले मलाई स्कुल पढाउन मद्दत गर्नुभयो, उहाँले नै सेन्ट जेभियर्सजस्तो प्रतिष्ठित शैक्षिक संस्थामा प्रवेश परीक्षा पास गरेकोमा बधाई दिँदै मेरो थप दुई वर्षको कलेजको शुल्क लगायत पढाइ खर्च बेहोरिदिने हुनुभयो।
म गाउँमा विपन्न परिवेशमा जन्मे-हुर्केको मान्छे, सहरी परिवेश मेरो लागि नौलो थियो। त्यसमा पनि देशभरका अब्बल विद्यार्थीहरूमाझ अध्ययन गर्नु चुनौतीपूर्णजस्तो लाग्थ्यो सुरू सुरूमा।
आमालाई सुखसँग राख्ने सपना र भाग्यले जुराइदिएको अवसर सदुपयोग गर्नुपर्ने जिम्मेवारी सम्झेर हिम्मत बटुलेर पढेँ।
कक्षा ११ र १२ को नतिजा पनि सन्तोषजनक नै आयो। मैले एमबिबिएस प्रवेश परीक्षाका लागि मेहनत गर्ने अठोट गरेँ। सरकारले सुरक्षित गरिदिएको दलित कोटामा जसरी पनि पर्छु भन्ने मेरो भरोसा थियो।
पहिलोपटकको प्रवेश परीक्षामा राम्रो नतिजा ल्याउन सकिनँ। चित्त बुझाएँ तर हिम्मत हारिनँ। दोस्रो परीक्षा कुर्ने निर्णय गरेँ।
आफ्नो परिवारको अवस्था त अनिश्चयमा रूमल्लिएको थियो नै, त्यसमाथि महामारी लगायत कारणले शैक्षिक क्षेत्र अस्तव्यस्त थियो र दोस्रोपटकको प्रवेश परीक्षाको अनिश्चितताले अरू चिन्ता थपेको थियो।
यसबीच परिवारको आर्थिक जोहो गर्न धेरै भौतारिनु पनि पर्यो। बिहान बेलुकीको छाक टार्न ज्याला मजदुरी गरी हिँड्दा मनमा एमबिबिएस प्रवेश परीक्षाको चिन्ताले घर त गर्थ्यो तर तयारीलाई निरन्तरता दिन मुश्किल थियो।
मैले जसोतसो प्रवेश परीक्षा दिएँ। नाम त निस्किएको छ तर निल्नु न ओकल्नु भएको छ। कसैको दयाले निजी स्कुलबाट आर्जन गरेको शिक्षा नै मेरो लागि अभिशाप भएको छ।
जो जो नीति नियमको तहमा हुनुहुन्छ, एमबिबिएस छात्रवृत्ति छनौट गर्ने निकायमा हुनुहुन्छ, उहाँहरू सबैसँग मेरो याचना र पुकार छ –
म दलित हुँ, अति नै विपन्न दलित। सरकारले गरेको व्यवस्था मजस्तै गरिब र पिछडिएको वर्गका लागि हो। दलित नै भए पनि आर्थिक रूपले अघि बढिसकेकाहरूले वास्तविक रूपमा पछि परिरहेकाहरूलाई अवसरबाट वञ्चित गर्न नपाऊन् भनेर नै कोटामा सरकारी स्कुलसम्बन्धी व्यवस्था भएको म राम्रोसँग बुझ्छु।
मेरो हकमा भने म आफू सम्पन्न भएर निजी स्वामित्वको स्कुल पढेको होइन। मैले आफ्नो आर्थिक अक्षमताका बाबजुद दाताको दयाले निजी स्कुल पढ्ने अवसर पाएको हुँ। मेरी अशिक्षित आमाले निजी स्कुल पढ्दा पछि अवसरबाट वञ्चित हुनुपर्ला भनेर बुझ्नुभएको भए, मेरो बाल मानसिकताले बुझेको भए, म त्यति बेला सरकारी स्कुलमै मेहनत गरेर पढ्थेँ।
जसले मेरो शिक्षा आर्जनमा आफ्नो व्यक्तिगत स्रोत खर्च गरेर मलाई यहाँसम्म आउन मद्दत गर्नुभयो, म उहाँको नातेदार होइन। तर उहाँको पवित्र सेवाभाव नै मेरो लागि अमूल्य शिक्षा बनेको छ। म दक्ष चिकित्सक बनेँ भने मेरो प्राथमिकता समाज र देश सेवा नै हुनेछ। मैले प्राप्त गर्ने दक्षता दु:खीहरू र देश सेवामा लगाउने कबुल गर्छु।
मलाई राम्रोसँग थाहा छ, मैले मेरो प्राथमिकता आफ्नो परिवारमा मात्र सीमित राख्दा मेरो जिन्दगी खुसी त होला तर मैले खोजेको मनको सन्तोष जीवनभर पूरा हुने छैन।
त्यसैले कृपया बुझिदिनुहोस् –
निजी स्वामित्वका स्कुल पढ्ने सबै दलितहरू आफ्नै खर्चले त्यहाँ गएका हुँदैनन्। नीतिमा भएको त्रुटिले मजस्तै नागरिकलाई मद्दत गर्न बनेको नीतिको शिकार म आफैं भएको छु।
कसैको सेवाभावले प्रदान गरेको शिक्षालाई मैले जीवनभर धिक्कार्नुपर्ने परिस्थिति नबनाइदिनुहोस्। कक्षा ८ देखि आजसम्म मेरो पढाइ खर्च अरू कसैले बेहोरिदिएको प्रमाण जुटाएर तपाईंहरूसमक्ष पेस गर्न म तयार छु। मेरो परिवारको दारूण अवस्था बुझाउने हरेक प्रमाण तपाईंलाई बुझाउन तयार छु।
मैले निजी खर्चमा एमबिबिएस पढ्न पाउने गरी नाम त निकालेको छु तर त्यति धेरै शुल्क बुझाउन मेरो परिवारको आर्थिक क्षमताले सक्दैन। पैसा नहुँदा आफ्नो लक्ष्य पूरा गर्न नसकेको पीडा जीवनभर झेल्नुपर्ने बाध्यतामा मलाई नपारिदिनुहोस्।
मेरो हृदयको पुकार कतै न कतैबाट सुनुवाइ हुनेछ र मेरो पवित्र लक्ष्य पूरा गर्न साथ मिल्नेछ भन्ने आशा छ।
(राजेश नुवाकोटको पञ्चकन्या गाउँपालिका- २, कबिलास, बेलचौरका हुन्।)