कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको छ। कति देशमा संक्रमण कम भएको देखिन्छ त कति देशमा फेरि तेस्रो भेरियन्टको कारण संक्रमण दर विस्तारै उकालो लाग्दै गरेको देखिन्छ। यो सँगसँगै कोभिड भ्याक्सिनले पनि तहल्का मच्चाइरहेको छ।
कुनै देशमा कोभि-शिल्ड त कुनै देशमा कुनै देशमा भेरोसेल, कहीँ जोन्सन भ्याक्सिन र अरु के-के भ्याक्सिन पनि। नेपालमा पनि अहिले भेरोसेल र जोन्सन भ्याक्सिनको चर्चा चलिरहेको छ। कति ठाँउमा आम-नागरिकले लगाइरहेका पनि छन्।
भर्खर मात्र नेपालमा भेरोसेल र जोन्सन भ्याक्सिन लगाउने कार्य भैरहेको छ। ५५ वर्षदेखि माथिका नागरिक, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक यातायातका चालक, सहचालक र अन्य केहीको लागि यसपालि पनि मिति तोकिएअनुसार भ्याक्सिन लगाउने काम भइरहेको छ।
आफू पनि शिक्षा सम्बन्धी कर्मचारी भएको नाताले संस्थाको सिफारिस पत्र, परिचय पत्र र नागरिकता लिएर बिहानै खाना खाएर १० बजे राप्ती प्रादेशिक आस्पताल पुगेँ। पुग्दा खोप केन्द्रतिर लामै लाइन भइसकेको थियो। त्यति बेलासम्म लगभग ७० पुरुष अनि ५० बढी महिला लाइनमा हुनुहुन्थ्यो होला।
कतै दर्ता गर्नु पर्ने वा सिरिअल नम्बर केही लिनु पर्छ कि भनेर बुझेँ। अगाडि तिरका व्यक्तिहरुले क्रमसंख्याअनुसार नागरिकताको फोटोकपी पछाडि नम्बर लेखेको देखियो र पछि पछि जाँदै गर्दा सबै लाइनमा बसेर खोप लिने, लेख्नु पर्दैन भन्ने कुरा सुनेपछि म पनि लाइनमै बसेँ।
लाइनमा धेरैजसो ५५ वर्ष माथिका बुवाआमा हुनु हुन्थ्यो त कोही-कोही कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, चालक, सहचालक लाइनमा बस्दै जाँदा पछाडितिरको भिड बढ्दै थियो र लाइन इमर्जेन्सीको अगाडिसम्म पुग्न आटिसकेको थियो। तर अगाडिको लाइन एक पाइला पनि अघि बढेको थिएन।
मभन्दा पछाडि तीन जना चालक साथीहरु हुनुहुन्थ्यो। लाइन बसेको एक घन्टापछि उहाँहरुलाई थाहा दिइयो कि चालक, सहचालकको खोप यातायातबाट सिफारिस आएपछि यातायतमै आएर एकमुष्ट लगाउने कुरा भएको छ। त्यसैले तपाईंहरु लाइन नबस्दा हुन्छ भन्ने कुरा आयो तैपनि स्पष्ट रुपमा आएन। त्यसो भए बसेर के गर्ने, जाउँ भनेर उहाँहरु त्यहाँबाट निस्कनु भयो।
लाइन बसेको लगभग डेढ घन्टासम्म पनि एक पाइला लाइन अघि नसरेपछि केही साथीहरु बुझ्न जाँदा प्रहरी दाइले खोप नै आइपुगेको छैन भन्नुभयो। सबै जना अलमल्ल पर्यौँ। लगभग साढे ११ तिर गाडी आयो खोप ल्याएर। त्यसपछि लाइन अघि सर्न लाग्यो कछुवाको गतिमा।
यसै क्रममा अस्पताल परिसरमा प्रहरीको गाडीहरु आउने जाने गरेको देखिन्थ्यो, त्योसँगै प्रहरीहरु पनि। उहाँहरु पनि खोप लागाउन आउनु भएको रहेछ। महिला र पुरुषको छुट्टै लाइनको व्यवस्था थियो। प्रहरीहरु धेरै समय लाइन बसेको देखिएन। उहाँहरु आउनु हुन्थ्यो, दर्ता गराउनु हुन्थ्यो अनि जानु हुन्थ्यो। पछि फेरि अर्को गाडी आउथ्यो, त्यही क्रम चल्थ्यो।
अस्पतालमा व्यापक भिड भैसकेको थियो। ठ्याक्कै थाहा भएन, तर अनुमानमा ५०० भन्दा बढी मानिसहरु लाइनमा हुनुहुन्थ्यो होला। दर्ता गर्ने फाँटमा ४ कर्मचारी हुनुहुन्थ्यो। उहाँहरु आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो। काम गरिरहनु भएको थियो यद्यपि बीच बीचमा यता उताबाट विचलित भैरहेको देखिन्थ्यो।
मभन्दा अघि एकजना साथी हुनुहुन्थ्यो। उहाँ समय समयमा अगाडि जानुहुन्थ्यो। एकपटक जानु भएपछि लाइनमा फर्कनु भएन। एकछिनपछि 'मैले त लगाएँ अब जान लागेको' भन्न आउनुभयो। उहाँले कुन डिभिजन कार्यालयको कर्मचारी हुँ भन्दै हुनुहुन्थ्यो। कसैलाई भनसुन गरेर पालो आइहालेछ भन्ने सोच्यौँ हामी वरिपरि भएकाले।
घडीले लगभग १:३० बजाइसकेको थियो। कति मान्छेहरु समय समयमा अगाडितिर जाने र लाइन मिचेर घुस्ने प्रयास गरिरहेको देखिन्थ्यो। लाइनमा बसेका साथीहरु कराएपछि उहाँहरु छेउ लाग्नुहुन्थ्यो त कति त लाइनमै घुसेको देखिन्थ्यो। भन्दाभन्दै पनि नमानिकनै घुसिहाल्ने।
यतिकैमा दुई जना कपालमा चुल्ठो बाटेका लाइनमा घुस्नु भयो। त्यो पनि सबैभन्दा अगाडि, प्रहरीकै आँखा अगाडि उहाँहरुसँग गफ गर्दै। म लगायत लाइनमा बसेका करायौँ। एकैछिन हो, हामी गइहाल्छौँ भन्दै दर्ता गराउन लाग्नु भयो। एकजना पछाडितिर आएर लाइन मिलाएको जस्तो नि गर्नु भयो पटक-पटक। उहाँहरु कुनै नाम चलेको संस्थाको कर्मचारी हो भन्ने कुरा उहाँहरुले हातमा समातेको कार्डबाट प्रस्ट हुन्थ्यो।
त्यसैगरी अरु पनि छिर्न थालेपछि भिडबाट व्यापक विरोध भयो। त्यसपछि उहाँहरु भित्रको ढोकाबाट समेत आउने प्रयास गर्नु भयो तर भिडको विरोधले हुन दिएन। त्यसपछि ती दुई जना कर्मचारीले नागरिकता र कार्ड माग्दै भित्रभित्रै अन्य ६/७ जनाको दर्ता गर्नुभयो। जति विरोध गरेपनि आम सर्वसाधारणको केही लागेन। उहाँहरुले लगभग ८/१० जनाको दर्ता गराउनु भयो प्रहरीकै अगाडि र जानुभयो।
लगभग मेरो पालो पनि आउने आउने बेला भैसकेको थियो। म उभिरहेको थिएँ। भित्रबाट एकजना अस्पतालकै कर्मचारीले १०/१५ वटा खोप कार्ड ल्याएर 'म्याम यो कसले पठाएको? भित्र दर्ता नम्बर नै छैन भनेर फर्काइदिनु भयो' भन्दै हुनुहुन्थ्यो।
दर्ता फाँटमा बसेकी अर्को कर्मचारीले यो कसले गरेको भन्दै यता उता हेर्नु भयो। उता कुनामा अर्को एकजना त्यही अस्पतालकै कर्मचारीले कार्डमा नाम लेख्दै हुनु हुन्थ्यो। र भित्रबाट आएकी कर्मचारीले उहाँलाई नै सिकाउँदै नामै भनेर उहाँले गर्दै हुनुहुन्छ भन्नु भयो।
आँखै अगाडि लाइन नबसेका व्यक्तिको पटक-पटक खोप कार्ड बनाउँदै भित्र पठाएको पनि देखियो। बल्लतल्ल २:१५ तिर सबै प्रकृया पुगेपछि मेरो पनि दर्ता भयो र खोप कार्ड लिएर भित्रको लाइनमा गएँ। त्यहाँ पनि ८/१० जनाको लाइन थियो। तीन जना म्याडमहरु कसैलाई पर्खदै हुनु हुन्थ्यो खोप कार्डको लागि।
एकैछिनमा छोरी, बहिनी केही नाता पर्छ जस्तो देखिन्थ्यो, तीन वटा खोप कार्ड सहित आउनुभयो र सबैजना मेरो पछाडि लाइनमा बस्नु भयो। 'म लाइन बसेको त साढे चार घन्टा हुन लाग्यो म्याम, हजुरको खै कति समय भयो कुन्नी?'
उहाँहरु केही बोल्नु भएन। उहाँहरुको त मुस्किलले आधा घन्टा पनि भयो कि भएन। म खोप लिनको लागि धोकामै थिए, यसपछि भित्र छिर्ने पालो मेरो। तर बीचमै एकजना सिस्टरले अर्को एकजनालाई बोलाउँदै भित्र खोप कोठामा लिएर जानुभयो।
उहाँको सकिएपछि मेरो पालो आयो अनि म भित्र गएँ। ब्याग भुइँमा राखेर सर्टको टाँक फुकाल्दै थिएँ, यत्तिकैमा एकजना फेरि आउनुभयो। उहाँको कुरा गराइ र हाउभाउले अस्पतालकै कर्मचारी जस्तो देखिनु हुन्थ्यो।
उहाँ डाक्टर सापलाई भन्दै हुनुहुन्थ्यो- 'बैंकको म्यानेजर सर आउनु भएको छ, बैंकको चिठी पनि ल्याउनु भएको छ खोपको लागि।'
डाक्टर सापले म्यानेजरलाई भित्र बोलाएर भन्नुभयो- 'आज धेरै भिड छ सर, बाहिर माहोल देख्नु भएकै छ होला। आज त गाह्रो छ, भोलि लगाउनु होला है।'
त्यसपछि ती कर्मचारी जसले ल्याएका थिए, उनले भोलि फर्स्ट आवरमै आउनुहोला अनि भैहाल्छ भन्दै उनीहरु निस्के। मेरो पालो आयो २:३० तिर। अनि खोप लगाउन पाएँ।
विशेषगरी सरकारी अस्पतालमा यस्तो बेथिति कहिलेसम्म? तोकिएका व्यक्तिले पाउनु पर्ने खोप भित्रभित्रै आफ्ना मान्छे र नाता गोतालाई दिइरहेको देखिन्छ। बुढाबुढी पछाडि लाइनमा बसिरहनु भएको हुन्छ, बीचमै घुसेर वा त्यहाँका कर्मचारीमार्फत नै घुसपैठ भैरहेको हुन्छ।
अस्पतालमा ३/४ घन्टा लाइन बसेका व्यक्तिको वास्तै नगरी खोप सकियो भनेर सूचना दिने तर आफ्नालाई घर घरमै पुगेर खोप लगाइदिने परिपाटी पनि देखियो।
यी सबै समस्याको जड हाम्रो सोचमा छ जस्तो लाग्छ। प्रत्येक व्यक्ति नैतिकवान, इमान्दार, कर्तव्यनिष्ठ, जिम्मेवार हुनसके अर्काको लाइनमा घुस्ने थिएन कि। उसले बुढाबुढी, अशक्तलाई पालो दिने थियो, नियम र नीतिको पालना गर्ने थियो, आफ्नो मान्छेलाई घर-घरमा खोप पुर्याउने थिएन।
गलत काम भएमा भण्डाफोर गर्ने थियो, अन्यायको विरुद्धमा आवाज उठाउने थियो। न्यायोचित काम गर्ने थियो, भनसुनमा लाग्ने थिएन कि! आम नागरिकले छिटो छरितो सेवा पाउन र समृद्ध देश बनाउन प्रत्येक नागरिक कर्तव्यनिष्ठ, इमान्दार, जिम्मेवार, व्यवहारिक र नीति, नियम र कानुनको पालना गर्न सके समाज र देश परिवर्तन हुन धेरै समय लाग्ने थिएन कि? आखिर हामी त्यस्तो नागरिक कहिले बन्ने? समयमै सोचौँ र अघि बढौँ।