समाजका एक जना प्रतिष्ठित व्यक्तिका छोरा लागुऔषध दुर्व्यसनीमा नराम्रोसँग फसेछन्। यतिसम्मकी बाबु-छोराको भनाभन हुँदा बाउमाथि हात उठाउन पनि हात कपाएन त्यो छोराले।
समाजमा उदाहरण बनेका बुवाको त्यस्तो छोरो भएसी अब छोरोलाई सुधार्ने वा भनौं छोरो सुध्रिन्छ कि भन्ने एउटैमात्र आशा भनेको छोरोको विवाह नै हो भन्ने सोचेछन् र केटी खोज्न थालेछन्।
केटी पनि भेटे। विवाह हुने नि पक्का भयो, केटीका बाले छोरीको विवाह केटा हेरेर होइन केटाको बाबुको नाम, दाम र समाजमा उनको प्रतिष्ठा हेरेर पक्का गरिदिए। यो कुरा सुनेर मलाई एकदमै नराम्रो त लाग्यो तर त्यहाँ केटी नै राजी भएको देखेर कसैले केही भन्न सक्ने वा गर्न सक्ने अवस्था पनि थिएन।
केटी आफैं राजी भइन् कि गराइयो भन्ने कुरा उनीहरू नै जानुन्। नभए लागुऔषध दुर्व्यसनीमा लागेको केटा भन्ने थाहा पाई पाई कुन चाहिँ केटीले बिहे गर्दी हो र खोई ? २४ सैं घण्टा नसामा रहने त्यो केटासँग विवाह त गरिन् ती केटीले तर त्यसपछि के भैरा’छ उनीहरूको जीवनमा भन्ने कुरामा मैले त्यति चासो पनि दिइनँ भन्नुपर्यो म त्यता त्यति नबस्ने हुनाले मैले त्यो कुरा सुनें अनि बिर्सिदिएँ।
त्यस्तै, अर्को घटना थियो हाम्रो छिमेकमा नसामा झुलिरहने भाइको विवाह गरिदिए सुध्रिन्छ कि भनेर दिदीहरू मिलेर राम्री कुलघरानकी केटीसँग विवाह गरिदिए।
केटीका बाबा-आमाले पनि के हेरे केटा हेरे कि दिदीहरूको रवाफमात्र हेरे भन्न सक्दिनँ म। ती दिदीहरूले केटीका बाबुआमालाई ठगे या उनीहरू आफैं ठगिए भन्ने कुरा पछि उनीहरूले पक्कै पनि महसुस गरे होलान्। किनकि विवाहको दुई चार दिन पो सबै राम्रो थियो तर नसामा फसेको त्यो केटा कसरी उम्किन सक्छ र ? अन्तत: जे हुनुपर्ने थियो त्यही भयो केटी बस्न नसक्ने भएर माइततिर लागिन्, उतै बस्न थालिन्।
धेरै समय भएपछि केटीका माइतीहरू आएर झाको झारेछन् र विवाहमा दिएको दाइजोसहित लिएर गएछन्।
अस्तिको चैत महिनामा नै हो काम विशेषले पूर्वतिर गएकी थिएँ। सुनसरी दाइकोमा बसें, भाउजु सारै नै मजाकी हाम्री, हुन त दाइ पनि त हीरा नै हो नि! मेहनती, सादा जीवन उच्च विचार छ उहाँको कुलतबाट टाढा।
उहाँको छिमेकीमा एक जना बैनी भर्खरकी २०-२२ वर्षकी हुँदी हुन्। 'को हो दिदी नयाँ मान्छे' भनेर भाउजुसँग सोध्दै थिइन्।
पछि मैले नि सोधें भाउजुसँग 'त्यो घरमा ती बैनी एक्लै बस्छिन् कि क्या हो' भनेर। किनकि दुई दिन बस्दा पनि मैले उसलाई त्यहाँ एक्लै देखेकी थिएँ।
'सासू बुहारी बस्छन्, बुढो घर आउँदैन, अहिले त सासू पनि महिला समूहबाट तीर्थ जानुभाछ। आमाले बिहे त गरिदिइन् छोरोको तर के गर्नु नानी यो बैनीको जीवन बर्बाद पारो त्यसले। न माइत जानु, न बुढा बिनाको घरमा बस्नु भाको छ उसलाई। सबैसँग हाँसेर नै बोल्छे सारै नै मजाकी छे यो तर त्यो ट्यापे कहाँ छ, कहाँ थाहा पत्तो नै छैन।'
भाउजुको कुरा सुनेर म अवाक भएँ। यी त केही उदाहरण घटनामात्र हुन् यस्ता कैयौं घटना छन् जहाँ घर परिवार हेरेर बाबुआमाले आफ्नो छोरी जिम्मा लगाउँछन्। केटो कस्तो के भन्ने वास्ता नै गर्दैनन्। जसरी हुन्छ तैंले घर गरेर खानुपर्छ, बुढालाई रिझाउनुपर्छ सासूलाई खुसी राख्नुपर्छ भनेर सिकाउँछन्।
केटाको बाबुआमाको सम्पत्ति टन्न छ भने मेरी छोरीले सुख पाउछे भन्ने बाबुआमाको गलत धारणा र कुलतमा फसेको छोरोको विवाह गरिदिन पाए सुध्रिन्छ कि भनेर सोझी-साझी केटीहरूको जिन्दगी बर्बाद पारिदिने त्यस्ता छोराका आमाबाबुहरू पनि धेरै नै छन् हाम्रो समाजमा।
एकातिर दाइजो प्रथाले जकडेको छ, जहाँ दाइजो कम ल्याएको नाउमा बुहारीलाई दिनदिनै शारीरिक र मानसिक यातना दिने कुसंस्कार अझै मौलाइरहेको छ भने अर्कोतिर कुलतमा फसेर बाउआमा समेत नचिन्ने भइसकेको छोरालाई सुधार्न फेरि अर्काकी छोरीको जिन्दगी 'दाउ'मा लगाइँदै पनि छ यही समाज मै।
आफ्नो बाबुआमालाई समेत नटेर्ने र नचिन्ने भैसकेको त्यो छोराले बिचरी त्यो केटीलाई के चिनोस्। बाबुआमाको रिस पनि अब त त्यही केटीमाथि नै उतार्ने भैगो नि!
सिराहामा जन्मे हुर्केकी मैले आफ्नै समाजमा प्राय: गरी मधेसी समुदायमा यो दहेजको नाममा गरिने घरेलु हिंसा धेरै नै देखेकी छु।
हाम्रै छिमेकी मधेसी दाइ थिए, १७/१८ वर्ष कतिको भाको थियो छोरो विवाह गरिदिए अर्को गाउँकी सानी सानी केटी १५/१६ वर्षकी। विवाहमा पल्सर बाइक पनि दिए केटीका बाबुले अनि पैसा पनि त दिए होलान नि !
अलिक दिन त मेरो बहू भन्थी माया नै गर्थी सासूले तर अलि पछि भएसी तेरो बुढीले काम गरिन भनेर अनेक बाहना बनाएर छोरोलाई कराउने अनि छोरोले बुढी कुट्ने। दिनदिनै रुवाबासी हुन्थ्यो त्यो घरमा। मेरो ममीले कति सम्झाइ बुझाइ गर्दा नि उल्टै हामीलाई नै गाली गर्थे। पछि आजित भएर हामी बोल्नै छाड्यौं। यतिसम्मकी गर्भवती हुँदा पनि त्यसलाई पिट्न छोडेनन् अनेक बाहना झिकेर।
हाम्रो घरमा दुहुना भैंसी थियो। गर्भवती छे। राम्रोसँग खान पनि पाकी छैन भनेर ममीले त्यसलाई दूध दिनुहुन्थ्यो। बुढोको अत्तोपत्तो थिएन। पछि त्यसले छोरो पाई। म त भन्छु धन्न भगवान छोरो पाई त्यसले, छोरो पाएको भएर अलि-अलि भए नि माया पाई। सासूले पनि माया गर्न थाली, मेरो नाति भनेर बोकेर हिँडिरहन्थी, मख्ख पर्थी। पछि बुढो पनि मख्ख पर्दै घर आइपुगेछ। छोरो पाएकी बुढीलाई अब त माया गर्न थालेको छ भन्ने सुन्दै थिएँ मैले।
एउटी छोरीले गर्नुपर्ने सम्झौता कति छ भनेर साध्य नै छैन। दिनरात पिटाई खाएर पनि त्यही घरमा बस्नुपर्ने किनकि बाबुआमा त आफ्नो जिम्मेवारीबाट पन्छिसके कहाँ जाने अब! जाने ठाउँ नै नभएसी हरेक दिन-रात परिस्थितिसँग सम्झौता नगरे के गर्ने फेरि!
हामी यस्तो समाजमा बस्छौं जहाँ के भइरहेको छ भनेर हामीले स्पष्टसँग देखिरहेका हुन्छौं, सुनिराखेका हुन्छौं र भोगिरहेका पनि हुन्छौं तर यसो गर्नु गलत हो भनेर आवाज उठाउने हामी हिम्मत नै राख्दैनौं।
समाजमा व्याप्त कुरिती, कुसंस्कार र अन्यायविरूद्ध जबसम्म समाजमै बस्ने हामीहरूले आवाज उठाउँदैनौं, त्यसको उपचारको व्यवस्था गर्दैनौं तबसम्म माथि उल्लेखित घटना भई नै रहन्छन्।
हरेक छोरीका बाबा-आमाले छोरीलाई अर्काको घर जाने जात मात्र नठान्ने हो भने हरेक छोराका आमाबाहरूले बुहारीलाई अर्काकी छोरी त हो नि भन्ने सोच मात्र नराख्ने हो भने, समाजमा बस्ने हरेक व्यक्तिले तिनीहरूको हामीलाई के मतलब नभन्ने हो भने, छोरी-बुहारी भएसी सम्झौता गर्न सिक्नुपर्छ भनेर हरेक अवस्थामा सम्झौता गर्न नभन्ने हो भने मात्र पनि यहाँ धेरै छोरीहरूले नयाँ जीवन पाउँछन्, धेरै छोरीहरूले आफूलाई त्यो घरमा, त्यो समाजमा सुरक्षित महसुस गर्छन्।
अस्ति भर्खरैको सप्तरीको घटनालाई हेरौं। हामी त्यहाँ जातभन्दा माथि मानवाता थियो, कसैकी छोरी थिई ऊ। यो समाजले उसलाई सम्मानका साथ बाँच्न दिएको भए, केटाले छोडेर के भो त तेरो जिन्दगी हो तँ आफ्नो तरिकाले बाँच, हिम्मत नहार भन्ने जस्ता कुराहरूले उसको मनोबल बढाइएको भए। केटाले छोड्दैमा उसले आत्महत्या त पक्कै पनि गर्दिनथी।
मैले मेरो दृष्टिकोणबाट हेर्दा उसले आत्महत्या केटाको परिवारले अस्वीकार गरेको कारणले होइन, यो समाजले एउटी छोरीलाई, उसले गर्ने गल्तीलाई स्वीकार्न नसक्दा उस्ले रोज्ने बाटो नै आत्महत्या बनेको हो।
यसबाट पनि स्पष्ट हुन्छ कि हाम्रो समाजमा अझै पनि दोषी छोरी नै हुन्छे। छोरी भएर जन्मनु उसको पहिलो दोष, त्यसपछि समाजमा बाँच्नको लागि गरिने हरेक संघर्ष नै उसको दोष हुँदै जान्छ। श्रीमानसँग छुट्टेकी छोरी होस् वा आफैंले रोजेर गएको केटाले धोका दिएर फर्केकी छोरी होस्, दाइजोको बाहनामा पटक-पटक पिटाइ खाएर वाक्क भएर अब म त्यो घरमा जान्नँ बाबा भनेर रुँदै आएकी छोरी होस् वा परीक्षामा राम्रो नम्बर नआएर रुँदै घर आएकी छोरी होस्। सबैलाई परिवारले स्वीकार्नु पर्छ अनि त्यो समाजले पनि स्वीकार्दै हौसला प्रदान गर्नुपर्छ।
हरेक परिवारले अनि समाजले छोरीलाई सम्झौता गर्न होइन बाँच्न सिकाउनु पर्छ अनि हाँस्न सिकाउनु पर्छ।
परिवार र समाज हरेक छोरीको प्रेरणा बन्नुपर्छ, आँट, साहस र हौसला बन्नु पर्छ। यसरी अघि बढ्यौं भने पक्कै पनि परिवर्तन आउँछ होला, कुनै पनि छोरीले जातको कारण, दाइजोको कारण अनि सबभन्दा ठूलो कुरा छोरी भएकै कारण अकालमा ज्यान गुमाउनु नपर्ला कि! भन्ने सोच राख्छु म।