तपाईंको पुर्ख्यौली सम्पत्ति कति छ? तपाईं वा तपाईंको परिवार आर्थिक रुपमा सम्पन्न भैइसकेको छ? छ भने तपाईंको जीवन सहज नै हुन्छ होला, र होस् शुभकामना। यदि तपाईं वा तपाईंको परिवार आर्थिक रुपमा सम्पन्न छैन भने…
विश्वको उत्कृष्ट संविधानहरुमध्ये नेपालको संविधान पनि उत्कृष्टमा पर्दछ। यस संविधानले नागरिकको लागि धेरै अधिकारको सुनिश्चित गरेको छ। त्यसमध्ये स्वास्थ्य क्षेत्रको केही कुरा गरौं।
संविधानले प्रत्येक नागरिकले आवश्यक ठाँउमा गुणस्तरीय सरकारी स्वास्थ्य सेवा पाउछन् भने पनि नेपालमा सम्पन्न र विपन्न व्यक्तिले पाउने स्वास्थ्य सेवामा ठूलो अन्तर छ। तपाईं वा तपाईंको परिवार आर्थिक रुपमा सम्पन्न छ भने, तपाईंले गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गर्न पाउनु हुन्छ।
आर्थिक रुपमा सम्पन्न व्यक्तिलाई गुणस्तरीय सेवा दिन नेपालमा थुप्रै निजी स्वास्थ्य संस्थाहरु खुलेका छन्। तर आर्थिक रुपमा विपन्न व्यक्तिलाई सामान्य रोग लाग्यो भने पनि ओछ्यानमा सुतेर मृत्यु पर्खिने वा कोही कसैले सहयोग गर्छन् कि भनेर सहयोगका लागि अपिले गर्नेभन्दा विकल्प छैन।
हुन त नेपालमा सरकारी स्वास्थ्य संस्था नभएको होइन। राजधानी लगायत ठूला सहरमा भएका सीमित स्वास्थ्य संस्थामा गएर सबैले सहजै सेवा पाउने अवस्था छैन। प्रायःजसो स्वास्थ्य संस्था आफै भद्रगोल अवस्थामा छन्। त्यही स्वास्थ्य संस्थामा पनि अलि सम्पन्न वा पहुँच वालाको हालीमुहाली छ।
अस्पताल प्रशासनमा पहुँच नहुने मान्छे त मुटुको शल्यक्रिया गर्न पनि महिनौं होइन, वर्ष नै पालो पर्खिनु पर्ने अवस्था छ। विभिन्न प्रकारको रोग लागि उपचार गर्न नसकेर आत्महत्या गरेका उदाहरण पनि नेपालमा धेरै छन्। आफू वा परिवारको सदस्य बिरामी भएको र उपचार गर्न पैसा छैन भन्दै सहयोगको अपिल गर्नेहरुको संख्या त कति हो कति।
मैले थाहा पाएदेखि नै मेरो गाउँमा स्वास्थ्य चौकी छ। मलाई लाग्छ त्यो स्वास्थ्य चौकी स्थापना हुँदा सहरको कुनै गल्लीमा एउटा निजी मेडिकल पनि स्थापना भएको थियो होला। आज त्यो मेडिकलले कति शय्याको अस्पतालको रुपमा विकसित भैसक्यो तर गाउँको स्वास्थ्य चौकी अझ पनि एउटा दराजमै चलिरहेको छ।
अनि संविधानमा जे लेखे पनि व्यवहारमा नेपालीले कसरी स्वास्थ्य सेवा उपभोग गर्न पाउँछन्? चुनावमा भोट माग्न आउने नेता राजनीतिक दल सबैले नागरिकलाई गुणस्तरीय स्वास्थ सेवा दिने व्यवस्था मिलाउछौँ भने तर आजसम्म अवस्था जहीँको त्यहीँ छ। न स्वास्थ्य चौकी अस्पताल बन्यो न त्यो स्वास्थ्य चौकीमा आवश्यक उपकरण, स्वास्थ्यकर्मी, औषधिहरु नै छ।
र, हामीले गरेको वाचा पूरा हुन सकेन भनेर कसैले आत्मालोचना गरेको छन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा अन्तरवार्ता सुनेको थिएँ। उहाँ भन्दै हुनुहुन्थ्यो, 'मैले नेपालमै सरकारी अस्पतालमा सात लाख रुपैयाँमा दौस्रो पटकको मृगौला प्रत्यारोपण गरेँ, मृगौला प्रत्यारोपणमा यस्तो सस्तो उपचार विश्वको कुन देशमा हुन्छ?'
सरकारी स्तरमा पहुँच नभएका निम्न वर्गीय नागरिकले पनि यो सेवा सहजै पाउने भए आज हाम्रो देशमा मृगौला खराबी भएको र उपचारको लागि धेरै खर्च लाग्ने भन्दै आम मानिससँग सहयोगको अपिल गर्नेहरु किन बढिरहेका छन्? खै कहाँ तालमेल मिलिरहेको छैन?
नियमअनुसार नेपालमा ९२ प्रकारका औषधि निशुल्क पाइन्छ रे। त्यो औषधि तपाईंको नजिकको स्वास्थ्य चौकीमा पाइन्छ? यो आम नागरिकलाई मेरो प्रश्न। अहिले नेपालमा मृगौलाका बिरामीको लागि डायालसिस निशुल्क रहेछ। ठूला सहरदेखि टाढा गाउँको कुनामा भएका बिरामीहरुको लागि यो व्यवस्था छ भन्नु खाए खा, नखाए घिच भने जस्तो भएन र?
जुन परिवारमा बिहान बेलुकाको छाक टार्न धौ धौ छ, उस्ले सहरमा डेरा लिएर बिरामी, बिरामी कुरुवा सबै बस्न लाग्ने खर्च कहाँबाट ल्याउँछ? त्यसैले चर्चामा आउन र लोकप्रियताको लागि यस्ता कागजी कुराभन्दा सेवाका लागि व्यवहारिक काम गर्न अनुरोध छ।
केपी शर्मा ओलिको सरकार ढलेकोमा खुसी हुनु कि दुःखी? शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो, खुसी हुनु कि दुःखी? राजनीतिक दल सम्बन्धी नयाँ अध्यादेश आयो रे, राम्रो कि नराम्रो? आदि विषयको चर्चाले सामाजिक संजाल तातेको छ। तर मेरा लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै हो।
आफ्नो सन्तानलाई लागेको रोग केही पैसाको अभावमा उपचार गर्न नसकेर पुर्पुरोमा हात राखेर बसेको अभागी बाउ, आर्थिक अभावकै कारण रोगको उपचार गर्न नसकेर बाउ वा आमा गुमाएका टुहुरा छोराछोरी, आदिको लागि पनि यसरी दिनदिनै भैरहेको राजनीतिक घटनाले कुनै प्रभाव पारेको छैन र वास्ता पनि छैन।
मेरो बुवा ६४ वर्षको हुनु भयो। उहाँको उमेर समूहको मान्छेहरु पञ्चायत कालमा हुर्किनु भयो, प्रजातन्त्र आउँदा वयस्क, लोकतन्त्र हुँदै अहिले नयाँ संविधान जारी भएर देशमा नयाँ राजनीतिक संरचनाको स्थापना हुँदा बुढो हुँदै हुनुहुन्छ। त्यो उमेर समूहको मान्छेको जीवनमा यति धेरै राजनीतिक परिवर्तन भयो तर उहाँहरुको जीवनमा कहिल्यै पनि परिवर्तन भएन।
उमेर, शरीर सबैमा बुड्यौलीले छोपेको कयौं मानिसहरु आज पनि निरन्तर उहीँ दुई छाकका लागि अरुको मेलापात गर्दै शारीरिक रुपमा अति नै कष्टकर काम गरिरहेका छन्। सायद उनीहरुमा पछिल्ला घटना क्रमको त कुरै छाडौं, यस्तो राजनीतिक व्यवस्था नै परिवर्तन हुँदा पनि कुनै हर्ष बिस्मात छैन होला। बडेमानको ढुंगा जस्तो दुःख र पिरले थिचेको मनलाई बाहिरी कुरा जान्ने न फुर्सद छ, न इच्छा।
कोरियामा हुनुहुने एकजना नेपाली टिकटकरले आफ्नो टिकटकमा लेखेको देख्या थिएँ। उहाँले लेख्नु भएको थियो- 'मलाई नेपाली हुनुमा जति गर्व छ, त्यति नै फलानो पार्टीको कार्यकर्ता हुनुमा पनि छ।'
आफ्नो पार्टी र आफ्नो गुटको नेताको लागि मरेरै बचाउ गर्ने र अर्काको लागि हात धोएरै विरोध गर्ने आम कार्यकर्ताहरु आफू र आफ्नो परिवारका सदस्यहरुमा आउन सक्ने स्वास्थ्य समस्याको बारेमा कति चिन्तित हुनुहुन्छ होला? उहाँहरुको जीवनमा आउने स्वास्थ्य समस्या उहाँहरुले आफ्नो सम्पत्ति खर्चेर समाधान गर्नु हुन्छ कि आफ्नो नेता र पार्टीको पहुँचमा सरकारी क्षेत्रबाट समाधान गराउनु हुन्छ?
मलाई लाग्छ सबै कार्यकर्ताको एउटै अवस्था हुने छैन। आम कार्यकर्ताको बचाउ र समर्थनबाट अहिले शीर्ष स्थानमा रहेका नेताहरुलाई यो देशमा जतिनै ठूलो समस्या आए पनि उनीहरुको व्यक्तिगत जीवनमा कुनै समस्या पर्ने छैन। साँच्चै व्यक्तिगत जीवनमै अप्ठ्यारो पर्ने दिन आयो भने आफ्नो गाँस, बास सबै संसारका विकसित मुलुकमा सार्ने छन्।
त्यसैले आम कार्यकर्ताहरुलाई अनुरोध छ, आफ्नो नेता, पार्टीलाई दबाब दिएर/अनुरोध गरेर आफ्नो र आम नागरिकको जीवन पनि सुरक्षित बनाउन लागि परौँ। मदन भण्डारीले भने झैँ, मान्छेलाई बाच्ने अधिकार दिने भनेको गोली नहान्नु र मृत्युदण्डको सजाय नदिनु मात्रै होइन।