एकदिन हिँड्दै गर्दा एकजना पुरानो साथी भेटिए र सोधे, 'के गर्दैछौ?'
मैले भनेँ, 'मेरो बुढा त बासी भात खाएर बस्याछन्, म कहिलेकाहीँ तातो दाल-भात खाँदैछु।'
मेरो कुरा सुनेर साथी एक पटक मज्जाले हाँस्यो र अचम्म परेर सोध्यो, 'के भन्छे यो?'
त्यसपछि मैले हाँसेर भनेँ, 'तिमीलाई थाहा छ हामी दुवै जना आ-आफ्नो सरकारी नोकरीबाट अवकाश प्राप्त गरिसक्या छौं, उनी आफ्नो पेन्सन खाएर बस्याछन् र म कहिलेकाहीँ काम गर्छु र अलिअलि पैसा कमाइन्छ। त्यसैले मैले ताजा र तातो भात खाएको क्या?'
हामी एकछिन हास्यौं, कुरा गर्यौं र आ-आफ्नो बाटो लाग्यौं। तर, मेरो मनमा यो बासी भात भन्ने शब्द त्यतिकै आएको हैन, मैले धेरै पहिले एउटा कथा पढेको थिएँ र हाम्रो यो समयलाई कहिलेकाहीँ बासी भात खाएको भनि बुढाबुढी जिस्केर कुरा गर्थ्यौं।
त्यो कथा मलाई अहिले पनि जस्ताको त्यस्तै सम्झना छ। एक पटक एउटा गाउँको ठूलो धनी परिवारमा एउटी संस्कारी बुहारी भित्रिन्छे। एक दिन बिहान त्यो घरमा एक व्यक्ति भिक्षा माग्न आएछ।
बुहारीले भिक्षा दिन चामल लिएर जाँदा ती धनी ससुराले भिक्षुलाई हकारेछन्- 'जाऊ यहाँ तिमीहरुलाई केही छैन।' अनि बुहारीलाई पनि हकारेछन्, 'यिनीहरुलाई दिएर साध्य छ? केही दिनु पर्दैन।'
बुहारी अलि उदास भइ र ती भिक्षुकलाई भनिन्, 'बाबा, यो त आज बासी भात खाने घर हो र भोलि भोकै बस्ने घर हो। आजलाई मैले ल्याइहालेँ, यो भिक्षा लिएर जाऊ तर, अब उप्रान्त यो घरमा नआऊ यहाँ केही पाउने छैनौ।'
ससुरा छक्क परे र रिसाए पनि ती नयाँ बुहारीको कुरा सुनेर। कराए, 'के भन्छिन् यिनी? यत्रो घरमा तिमीले कहिले बासी भात खाएको देख्या छ र यस्तो भन्ने?'
बुहारीले विस्तारै भनिन्, 'आज यो घरमा सम्पत्ति भएको त तपाईंको बुवा-बाजेले पुण्य गरेर कमाएको हो। त्यसैले अहिले तपाईंको सम्पत्ति भनेको बासी हो। आज तपाईंले यो सबै आफैले सिध्याएर जानु हुन्छ। कसैलाई काम नलाग्ने हो, पुण्य नगर्ने हो भने भोलि तपाईंको छोरा-नातिको पालामा सबै सकिहाल्छ नि। त्यसैले भोलि भोकै बस्ने घर भनेको।'
बुहारीको कुरा सुनेर ससुरा सोच्न बाध्य भए।
हुन् त प्रसंग फरक छ तर पनि हामीजस्तो पेन्सन मात्रै खाएर बस्नेलाई यही बासी भात खाएको भनेर हाँसो गरेर बस्यौं। पेन्सनमा त अझ आफूले रिटायर्ड हुन्जेल काम गरे बापत पाइने रकम हो जुन आफू मरेपछि हुर्केका छोराछोरीले पनि पाउँदैन। त्यसर्थ यसलाई मैले आफैले कमाएको बासी भात भनेर त्यो कथासँग दाँजेको हुँ।
नेपालमा विभिन्न सेवामा काम गरे बापत अवकाश प्राप्त हुने मापदण्ड फरक-फरक छन्। कहीँ उमेरको हदले, कहीँ नोकरी अवधिले, कहीँ ५० वर्ष पुग्दा नपुग्दै र कहीँ ६०, कहीँ ६३, कहीँ ६५ को उमेर हदले र कुनै-कुनै काममा त, जस्तै राजनीतिमा त उमेरको हदै छैन।
यो बासी भातको महत्व धैरे नै छ, र त कर्मचारीहरु बिसौं वर्ष काम गरेपछि पाउने पेन्सन हाम्रा संसदहरुले दुई हप्ताको मात्र संसद भए पनि बेलाबेलामा पेन्सन पाउनु पर्छ भनि कुरा उठिरहेको पाइन्छ। यो पेन्सन त भविष्यको आर्थिक सुरक्षाको रुपमा हेरिन्छ र यही सत्य पनि हो।
जीवनको उत्तरार्धमा आर्थिक सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय हो। छोराछोरी आ-आफ्नो बाटो लाग्ने अहिलेको बेलामा पेन्सन साँच्चै नै मिठो बासी भात हुन्छ।
लकडाउनको बेला हामीले पेन्सनको महत्व झनै बुझ्यौं। त्यसपछि दैनिक दिनभरि कमाएर घर परिवार पाल्नेको कष्ट महसुस गर्यौं। उनीहरुको न संचय कोष न पेन्सन। शरीरमा तागत भएसम्म काम गर्यो, पछि बुढो भएपछि कसरी जीवन धान्ने भन्ने प्रश्न टड्कारो छ।
धेरै पहिले गरिएको संचय कोष र पेन्सनको व्यवस्था आजसम्म पनि कर्मचारीहरुको हक र हितको लागि उत्तिकै महत्वपूर्ण छ। अब नयाँ 'सामाजिक सुरक्षा' को लागि गरिएको व्यवस्थाका बारेमा कर्मचारीहरुको असन्तुष्टि के कारणले हो भन्ने कुरा बुझी सोको समाधान गर्नु पर्छ।
यो त सरकारी, गैर सरकारी, वित्तिय, निजी क्षेत्रमा पनि व्यवस्था गर्नु पर्ने जिम्मेवारी हो। दैनिक कामदारहरुको जीवनको उत्तरार्धमा आर्थिक व्यवस्थापनको पनि सोच राख्नु पर्ने हुन्छ। वृद्धभत्ताले कतिको सहयोग गर्न सक्छ होला, तर यो राज्यको प्राथमिकतामा पर्नुपर्ने विषय हो जस्तो लाग्छ।
डाक्टर, ईन्जिनियर, र अन्य प्राविधिक व्यक्तिहरु त अवकाशपछि झनै आफ्नो व्यवसाय गरेर झन् बढी काम गरेको देखिन्छ। बैंकबाट अवकाश हुनेहरु बैंक खोल्छन्, शिक्षाबाट अवकाश हुनेहरु स्कुल/कलेज खोल्छन्। तर, पुलिस, आर्मी र सरकारका शुद्ध प्रशासनिक सेवाबाट अवकाश हुनेहरु के गर्ने? अनि यिनीहरु पेन्सनको मात्र अर्थात्, बासी भात मात्र नखाइ के गर्ने होला? यो मेरो एउटा सोच मात्रै हो।