चारै तिर तीजको लहर अनि यो झिलिमिली सहरको वातावरण देख्दा त्यहीँ तीज र त्यहीँ अमूल्य चिजको यादले मनलाई भारी बनाइदिन्छ। मनमा त्यहीँ दिनको सम्झनाले चस्क्क हुन्छ, त्यहीँ पाखा पखेरोमा गुन्जिरहने भाकाहरुले बोलाइएको आभास हुन्छ।
अहिलेको यो रोजाइ महंगा लत्ता-कपडा, ठूला-ठूला महल, बुटिककको जमाना बेग्लै बनेको छ। न त रहर सकिन्छ न त रोजाइ। दराजभरि महंगा लत्ताकपडाले भरिएको छ तर मन भरिएको छैन। इच्छा चाहाना बर्खाको झरी च्याउ जसरी उम्रिरहन्छन् न मन भरिन्छ न मनमा शान्ति।
त्यो पुरानो लुगाले त सधैं मन प्रफुल्ल हुन्थ्यो। मनमा सधैं उत्साह उमंग मात्र हुन्थ्यो। यो जमानाको कुरै बेग्लै छ। देखासिकी भनौँ या परिवर्तनशील हाम्रो समाज। जसले बाहिरी सन्तुष्टि मात्र दिन्छ, मनमा के छ कसैलाई थाहा छैन।
मनभरि त त्यहीँ अमूल्य चिजको सम्झना आउँछ। दिदीले अघिल्लो साल लगाएको लुगा आफ्नो हातमा पर्दा म दंग पर्थेँ। मेरो अघिल्लो सालको लुगा बहिनीको हातमा पर्दा बहिनी पनि दंग पर्थी। तीजको लुगा त कहिले स्कुलको ड्रेस पो हुन्थ्यो तर पनि मन त्यसै फुरुंग हुन्थ्यो।
आज ठूला-ठूला महलमा किनिएका महंगा चिजहरूले दिने खुसीभन्दा हजारौँ गुणा खुसी त्यहीँ चिजमा मिल्थ्यो। दिदीले अघिल्लो साल लगाएको त्यो पुरानो कपडा कति मूल्यवान थियो।
भोलि त हाम्रो बुवा-आमा लुगा किन्न जाने रे! त्यो कुरा जब राम्रो कानले सुन्थ्यो खुसीले त सीमा नै पार गर्यो। संगीहरुलाई सुनाउनको त्यो हतार। मन त्यसै-त्यसै दंग। कति बेला हातमा लुगा पर्ला भन्ने हतार हुन्थ्यो।
बुबाआमाले 'के ल्याइदिउँ छोरी? के लगाउन मन छ?' भनेर कहिल्यै सोध्नु हुँदैन थियो। उहाँहरुको रोजाइमा नै संसारको सबैभन्दा ठूलो खुसी लुकेको हुन्थ्यो। सायद आफूले रोजेको खोजेको भए त्यो खुसी नमिल्न पनि सक्थ्यो।
उहाँहरूले हातमा जुन लुगा थमाइदिनु हुन्थ्यो, त्यहीँ नै मूल्यवान हुन्थ्यो। चाहे स्कुलको ड्रेस किन नहोस्, थाहा छैन त्यो किन त्यति मूल्यवान हुन्थ्यो। बुवाहरू बाटो लागेदेखि आउने बाटो हेरेर बस्थ्यौँ। आँखा केवल बारीको डिल तिर मात्र हुन्थ्यो जुन बाटो हुँदै उहाँहरु हाम्रो खुसी किन्न हिँड्नु भएको थियो। बुबाआमाले बिसाउँदै गरेको त्यो लुगाको पोको भित्र खुसीको संसार हुन्थ्यो।
तीजको भोलिपल्टदेखि औँला भाच्न थाल्थ्यौँ। अब तीज आउन कति दिन बाँकी भन्दै। अर्को साल त आफ्नै नयाँ लुगा लाउने पालो छ। यसपालि दिदीको लुगा लगाएँ भन्दै त्यहीँ दिनको पर्खाइमा बस्थ्यो।
बुबा-आमाले लुगाको पोको बिसाउनु हुन्थ्यो। हामी हाम फाल्दै वरिपरि भेला भएको त्यो पल निकै नै अमूल्य थियो। 'ल तँलाई र बहिनीलाई जामा सिलाउने कपडा एकैठाउँमा छ है। अलि ठूलो पारेर सिलाउनू अर्को साललाई पनि हुन्छ।'
जब हातमा लुगा पर्थ्यो त्यो क्षणको कल्पना गर्दा आज पनि रमाइलो महसुस हुन्छ। दिदीहरुलाई कुर्ता-सुरुवाल रे! बहिनीले म तिर हेर्थी। हामी पनि ठूलो भएपछि कुर्ता-सुरुवाल लाउन पाउछौँ, मनमनै सपना बुन्थ्यौँ।
भाइहरुको आँखा त्यहीँ हाम्रो हातको लुगामा हुन्थ्यो। मन र रहर सबैको एउटै हो नि, आफ्नो पालो कुरिरहन्थे। बुबाले भन्नु हुन्थ्यो, 'केटा मान्छेलाई किन चाहियो र तीजमा? अहिले आइमाईहरुको पालो हो है। हामी केटाहरुले दशैँमा किनौँला, दिदीहरुसँग डाँडामा जाँदा लाउनलाई स्कुलको ड्रेस छँदै छ नि हैन?'
बुबाको कुरा सुनेर भाइहरू पनि खुसीले गद्गद हुँदै मुन्टो हल्लाउँथे अनि हामी तिर हेरेर मख्ख पर्थे।
हातमा नयाँ लुगा परेदेखि मनमा खुसीको सीमा नै हुँदैन थियो। साथीसंगीलाई कहिले देखाउने होला? चर्खे पिङमा कहिले घुम्ने होला मनमा छटपटी सुरु हुन थाल्थ्यो। तीज आउन हप्ता दिन अघिदेखि खुसीले खुट्टा भुइँमा हुन्थेनन्।
त्यो सिलाएको जामा जसमा कुनै डिजाइन थिएन। त्यसको मूल्य आजको हजारौं पर्ने नाम चलेको बुटिकमा सिलाएको भन्दा मूल्यवान थियो। गोठको माथिल्लो तला त घाँसले भरिएको हुन्थ्यो। पानीको झरीमा निथ्रुक्कै हुँदै अरुले पालेको घाँस चोरेर गाईभैसीलाई हप्ता दिनको लागि पुग्नेगरी जम्मा पार्थ्यौं। झरी परेको मौका छोपी घाँस चोरी-चोरी जम्मा पार्थ्यौं।
त्यसरी आउने तीज पो तीज थियो, त्यहीँ तीज थियो, त्यहीँ अमूल्य चिज थियो। अहिलेको यो परिवर्तन समाजको तीजभन्दा कोयौं गुणा आनन्द त्यहीँ चिजमा थियो। त्यहीँ मास्टरजीले सिलाइदिएको फूलबुट्टे जामामा थियो।