मनाव सभ्यताको उदयसँगै वस्तु विनिमय मानव जीवन पद्दतिको एउटा अभिन्न अंग थियो। ढुङ्गेयुगदेखि मानव समूहमा बस्ने गर्थे, घुमन्ते र फिरन्ते जीवन ब्यतित गर्दा एकअर्काबीच मासुसँग हातहतियारको साटासाटबाट प्रारम्भ भएको वस्तु विनिमय, पछि कृषि युगहुँदै मुद्राको प्रचलन नहुँदासम्म विश्वका प्रायः मुलुक चलिरह्यो।
जसरि अहिले विश्व ब्यापीकरणसँगै एक देशमा उत्पादित वस्तु बडेमानको पानिजहाज तथा हवाइमार्ग र रेलमार्गद्धारा सात समुद्र पारि लगिन्छ। त्यसरिनै त्यतिबेला महिनौ दिनको लामो यात्रा गरेर वस्तुभाउको लावालस्कर (क्याराभान ट्रेड) गरेर एक ठाउँको उत्पादित वस्तु अर्को ठाउँको वस्तुसँग विनिमय हुन्थ्यो।
इतिहासको एक कालखण्डमा कर्णाली सम्बृद्ध थियो। खस साम्राज्यको भैवब काठमाडौं (नेपाल) उपत्यकासम्म थियो। खस साम्राज्यको उद्गम भूमि होस या नेपाली भाषाको उदगमभूमि, कर्णालीको एउटा आफ्नै विराट इतिहास थियो।
भेरी र कर्णालीजस्ता अलौकिक नदीको उद्गम बिन्दु नेपालको इतिहासमा एउटा छुट्टै बिरासत बोकेको क्षेत्र हो कर्णाली। त्यस बेलाको कर्णाली एक किसिमको समृद्ध थियो। कर्णालीमा उत्पादित अनाज (खाद्यन्न) तिब्बतमा निर्यात हुन्थ्यो। समृद्ध कर्णाली बनाऊने मान्ठाहरू (हिमाली जाति/भोटे,खस, र मतवाली) को कर्मभूमी कर्णाली र तिनै कर्मठ हटारू मान्ठाको इतिहास कोट्याऊने प्रयास यो आलेखमा गरिनेछ।
कर्णालीका उच्च हिमाली भूभाग (भोट) तिब्बतसँग सिमा जोडिएका क्षेत्रमा हिमाली जातिहरू, मध्यतिर मगर र मतवालीको बासस्थान रहेको पाइन्छ। कर्णालीका तल्लो भु–भागमा खस र ठकुरी बसोबास गर्थे। यी तीन क्षेत्रका भुभागमा बस्ने मनिसको सम्बन्धलाई नुन, ऊन र अन्नले जोडेको थियो।
यी क्षेत्रका बासिन्दाको पेशा कृषि र पशुपालनसँगै लामो दुरिको ब्यापार थियो। ब्यापारमा विशेष गरी नुन, ऊन र अन्नको विनिमय हुन्थ्यो। नुन र अन्न खानको लागि र पुन विनिमयको लागि प्रयोग हुन्थ्यो भने ऊनबाट बस्त्र बनाएर ती बस्त्रहरू हाटमा बेच्ने गर्थे।
यीनै हटारूलेनै कर्णालीको अर्थतन्त्र थामेका थिए। हटारूको सम्बन्धलाई नेचाङ (इष्ट) तथा मितमितेरी सम्बन्धले बाधेँको थियो। हटारूको यात्रा तिब्बतदेखि हिमाल, पहाडदेखि तराई र भारतसम्म हुन्थ्यो। जसलाई हामि ‘भोट जान्या र हाट जान्या’ भनेर पनि बुझिन्छ।
‘भोट जान्या र हाट जान्या’ प्रक्रियामा सम्बन्धित क्षेत्रमा मान्ठाको आ-आफ्नो भूमिका हुने गर्थे। वस्तु विनिमयसँगै विचारको पनि विनिमय हुन्थे। मानिसबीच सम्बन्धहरू स्थापित हुन्थे। हिमालको सम्बन्ध पहाडहुँदै तराइसम्म मानिस स्थापित हुन्थे।
भुगोललाई मानिसले जोड्थे र मानिसलाई कला संस्कृति र सम्बन्धले जोड्थे। समाज आत्मनिर्भर हुन्थे, मेहनत र परिश्रमले भौतिक रूपमा दुःख भए पनि मानसिक रुपमा सुखी थिए।
हाट जान्या भोट जान्यामा सबै उमेर समूह महिला, बालकदेखि वयस्क पुरूष सबै समाहित हुन्थे। प्रत्येक समूहमा एक जना टोली नेता हुन्थे, ती टोलीनेताले कहाँ बस्ने, कहिले फर्किने आदि इत्यादिको चाँजोपाँजो मिलाऊनेदेखि बगाल (समूह) लाई सुरक्षित रूपमा आफ्नो गन्तब्य पुर्याऊनुपर्ने नैतिक दायित्व हुन्थे। त्यहीँ बगालबीच बालक र युवामा बिस्तारै नेतृत्वको पनि विकास हुन्थे। यी र यावत हेर्दा केही नदेखिने जस्तो तर त्यस भित्र जीवन पद्दति र मानवीय महत्वपूर्ण आयम थियो ‘हाट जान्या र भोट जान्या’ संस्कृतिमा।
उत्तरमा तिब्बतसँग सिमा जोडिएका हिमाली जातीले वर्षायाममा तिब्बतबाट नुन लिएर आउँथे। कात्तिक मंसिरमा त्यही नुन याकमा जाकेर रोङ (बेँसी) क्षेत्रमा आएर रोङ्बासँग नुन र अन्न साटासाट गर्थे। रोङ्बाले फेरि त्यही नुनलाई भेडा बाख्रामा जाकेर खसान (म्होन) खस र ठकुरीसँग धानचामल र उवासँग नुन र ऊनको सटाबाजी गर्थे।
फेरि खस र ठकुरीले ऊनबाट बनेका बस्त्र, सिलाजित, र जडिबुटीहरु बोकि तराई र भारतसम्म गएर ब्यापार गर्थे। ठकुरी र खसले तराई तथा भारतबाट चिया, चुरोट, मसला, धातुजन्य, प्लास्टिक, चिनी आदि लिएर फर्किने गर्थे।
कर्णालीका हटारूको रूट
कर्णालीका हटारूहरूको चारवटा प्रमुख रूटहरू थियो। ती रूटबाट कर्णालीका हटारू आफ्नो ब्यापार गर्थे।
हुम्लाको ताक्लाकोट र लाप्चा, मुगुको नाक्चा, डोल्पाको मरिम, कान्कुन र क्याटो यी नाकाबाट हुम्ली, मुगाली र डोल्पो आदिबासीले नुन र ऊन ल्याएर रोङ (बेँसि) क्षेत्रमा ल्याऊने गर्थे।
तिब्बत पठार र मरूभूमी भएकोले त्यहाँ नुन हुन्थ्यो तर अन्नको उब्जनी हुँदैनथ्यो। त्यसैले त्यहाँको लागि अन्न महत्वपूर्ण थियो भने दक्षिण कर्णाली क्षेत्रमा नुन नभएकोले नुन महत्वपूर्ण थियो। त्यहीँ दुई क्षेत्रबीचको वस्तुको आपूर्ति हटारूले गर्थे।
तिब्बतबाट ल्याएको नुन तीन क्षेत्रहुँदै, मध्य कर्णालीमा आउँथ्यो र मध्य कर्णालीको अन्न फेरि तिब्बत पुग्थ्यो। त्यसबेला कर्णालीमा हटारूका चार वटा प्रचलित रूट यस्ता थिए।
(१) उपल्लो मुगु–करण र जाजारकोटहुँदै दैलेख
उपल्लो मुगु सन्जालबाट मुगाली र करणीहरूले तिब्बतबाट नुन लिएर खसान क्षेत्रमा ल्याउँथे। खसान क्षेत्रका खस र ठकुरीहरूले त्यही नुन जाजरकोट हुँदै सुर्खेत र दाङसम्म पुर्याउँथे।
(२) उपल्लो हुम्लाको ताक्लाकोट र लाप्चा ला बाट तल्लो हुम्लाहुदैं बाजुरा र अछाम सम्म
उपल्लो हुम्ला सन्जाल–ताक्लाकोट नाका एकदमै महत्वपूर्ण नाका थियो। यस वरपर धेरै वस्ती भएकोले त्यो नाका निकै महत्वपूर्ण थियो। उता महाकाली तिरबाट ब्याँसीहरु पनि ताक्लाकोट आउँथ्यो। लाप्चा ला बाट लिम्यालले नुन ल्याएर सिमिकोट वरपर विनिमय गर्थे।
(३) डोल्पा फोक्सुन्डो र रिग्मोबाट नुन लिएर जुम्लाको मनिसाँगु, डिल्ली कोटसम्म नुन लिएर आउँथे। त्यसपछि ती नुनहरू खस ठकुरीले बाजुरा र अछामसम्म पुर्याउँथे।
(४) उपल्लो डोल्पाका डोल्पोले मरिम, क्याटो नाकाहुँदै तिछुरोङ क्षेत्रमा नुन ल्याउँथे। त्यही नुन तराली मगरले रूकुम र जाजरकोटसम्म ल्याएर चामलसँग साट्थे।
०००
केश नं. १
डोल्पा तिछुरोङ क्षेत्रका तराली मगर र उपल्लो डोल्पाका डोल्पो जातिबीच नेचाङ (इष्ट)को सम्बन्ध थियो। कात्तिक मंसिरमा डोल्पो नेचाङले भोटे नुन र ऊन लिएर तिछुरोङ आऊने गर्थे। अनि नुन र अन्नको विनिमय हुन्थ्यो।
तराली मगरले आफूलाई चाहिने नुन राखेर बाँकी नुन मंसिरतिर दक्षिण खसान क्षेत्रहुँदै रूकुम र जाजरकोटसम्म बाधे (भेडाबाख्रा)मा जाकेर बकर (भेडाको क्यारभान) जाने गर्थे।
ती नुन चामलसँग साटेर चैत बैशाखमा तिछुरोङ फर्किन्थे। त्योसँग कसैले ऊन र अन्न साटेर ऊनबाट स्वेटर, पटुका, राडी बुनेर जंगलाको लेख छिचोल्दै रुकुम र रोल्पासम्म पुग्थे। रूकुम रोल्पामा ती समान बेचेर बुट्वल र भारतको कालिम्पुङ र कलकत्तासम्म पुगेर चिया, घोडाको घण्टी आदि ल्याएर चैत बैशाखमा तिछुरोङ फर्किन्थे। ती समान लिएर फेरि साऊन भदौमा उपल्लो डोल्पा (भोट) जाने गर्थे।
केश नं. २
मुगुको उपल्लो क्षेत्रका मुगुम र करनहरू साऊन भदौमा नाम्जाला पास भएर याक क्याराभान लिएर तिब्बतको छेप्तु जान्थे। त्यहाँ तिब्बती ड्रोक्पासँग नुन र अनाज साटेर मुगाली नुन लिएर आउँथे। मंसिरमा फेरि त्यही नुन र ऊन लिएर मुगाली र करनी मुगुको गमगढी आसपास र जुम्लाको सिँझासम्म पुग्थे। त्यहाँ ऊनीहरूको नेचाङ (इष्ट्) खस र ठकुरीहरू हुन्थे। नुन र ऊन, चामललगायत अन्य अन्नसँग साट्थे।
केश नं. ३
हुम्लाको प्रमुख र मुख्य नाका ताक्लाकोट कर्णलीको सबैभन्दा महत्वपूर्ण नाका थियो। यो नाकामा हुम्लाको मात्र नभएर बझाङ र दार्चुलाको ब्याँसीहरू नुन लिन पुग्थे।
विशेष गरी हुम्लाबाट नुन लिन बिभिन्न समुदाय जस्तै साथ थाप्ले (यारि, तुम्कोट, मुचु, याङ्गर, याल्बाङ, र छाला), स्यान्देफाले (खाङ्गल गाउँ, जाडखोल्ची), पाँचसती (केर्मी, दिङ्ना, च्याडुकी, याक्बा, र टाङेन), बाह्रथाप्ले (बुरुङ्शे, तोर्पा, निमाटाङ, र बरगाँउ), लिमी (तिल, हाल्जी र झाङ) आदि ताक्लाकोट गएर नुन र अन्न साटेर ल्याउँथे।
हुम्लामा लिमीका हटारूहरू लाप्चा पास भएर तिब्बत जान्थे। त्यसैगरी हुम्ला कर्णालीको पश्चिम भेगमा बस्ने दार्मा, मेल्छाम, दिपलाङ र नेप्का बासीहरू ताँके खोला हुँदै चाङ्ला पास भएर तिब्बतमा नुन र अन्न साट्थे।
सातथाप्ले (यारी, तुम्कोट, मुचु, याङ्गर, याल्बाङ, र छाला), त्यही नुन र ऊन याक, जोपालाई जाकेर बाजुरा र आछामसम्म पुग्थे। त्यसैगरि पाँच थाप्लेका याक्बाहरू भेडामा नुनको लुकाल (भारि) जाकेर कात्तिकतिर अछाम पुग्थे।
त्यस्तै हुम्लाका बाह्रथाप्लेहरु पनि भेडालाई नुन बोकाएर रास्कोटधाराहुँदै बाजुरासम्म पुग्थे। लिमीका लिम्यालहरु तल्लो हुम्ला ठकुरी र खससँग नुन र अन्न साट्थे। नुनसँग अन्नका साथै खेर्सानी, चुरोट र मह आदि पनि साट्थे।
केश नं.४
जुम्लाका खस र ठकुरीले नुन र ऊनसँगै जडीबुटीहरू- शिलाजित, कस्तुरीको विणा आदि लिएर नेपालगन्ज र भारतसम्म पुग्ने गर्थे। तराई तथा भारतबाट मसला, चिया, चिनी, धातुबाट बनेका चिजबिज आदि लिएर आउँथे र ती बस्तुहरू फेरि मुगालीलाई बेच्ने गर्थे।
नुन चक्रमा ग्रहण र हटारूको अवस्था
एकछत्र रूपमा चलेको भोटे नुन चक्रमा बिस्तारै सन् १९५९ पछिको ग्रहण लाग्दै गएको देखिन्छ। शुरूमा एकछत्र रुपले चलेको भोटे नुन चक्र बिस्तारै आंशिकहुँदै विस्थापित भयो।
भोटे नुन चक्र विस्थापन हुनुको कारणबारे मानवशास्त्रीहरू हेमन्ड्रफ (१९७५), जेम्स फिसर (१९८७), केन्नेथ बौएर(२००४) र भूगोलविद बेरी सि. बिसप (१९९०) ले गरेको अध्ययनमा भेटिन्छ।
ऊनीहरूका अनुसार नुनचक्रमा ग्रहण लाग्नुको प्रमुख कारण- तिब्बतलाई चीनले आफ्नो अधिनमा राखेर सीमा सम्बन्धी नीतिमा कडाइ गर्नु हो। चीन सरकारले तिब्बतमा भोटे नुनमा अत्यधिक कर बढायो। भोटे नुन उत्पादनमा पनि कोटा प्रणाली लागू गर्यो। जसको कारण भोटे नुन महंगियो। सिमामा कडाइ गरेकाले पहिला जस्तो सजिलै आवतजावत गर्न सम्भव भएन।
अर्को पक्ष विकासमा आएको परिवर्तन- जस्तै नेपालको पूर्व पश्चिम महेन्द्र राजमार्ग, तथा एयरपोर्टको निर्माण, १९६३ मा नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको स्थापना पश्चात देशी नुन मध्ये पहाडी क्षेत्रमा हेलिकप्टर चार्टर गरेर हिमाली जिल्लामा सहुलियत रुपमा वितरण गर्न थाल्यो।
त्यससँगै भोटे नुनमा खुला भएर आयोडिन नहुने र त्यसको कारण गलगाँड आउँछ भन्ने खालको बजारीय विज्ञापन र औलो ऊन्मुलनजस्ता विविध कारणले भारतीय देसी नुनको बजार बिस्तारमा टेवा पुग्यो। फलस्वरुप त्यसले भोटे नुन विस्थापनमा सघायो।
नुन चक्र हराउँदै जाँदा त्यसको प्रत्यक्ष असर हिमाली आदीवासीको ज्ञान, सिप, र कलामा पर्यो। नुन बोक्न याक, जोपा, घोडा र भेडाबाख्रा हुँनै पर्थ्यो। लामो दूरीको भोटे नुन चक्रको यात्राको सारथी यीनै वस्तुभाउसँग हुन्थ्यो। यीनै वस्तुभाउलाई भारी बोकाएर भोटे नुन र अनाज लिने ल्याऊने गर्थे।
चीनले सिमा क्षेत्र कडाइ गरेसँगै चरनको लागि असुविधा भयो र त्यो सँगै पशुपालन घट्दै गयो। पशुपालन घटेपछि ऊनबाट बुन्न कपडा बख्खु, दोचा, कम्मल आदिको उत्पादन घट्दै गयो। सँगसँगै आदिवासीका ज्ञान र सिप ओझेलमा पर्दै गए। त्यसको सट्टा नयाँ बजारीया लत्ता कपडा र खानाले ठाँउ पाए।
यसरी ‘हाट जान्या र भोट जान्या’ विस्थापित हुँदै जाँदा र कर्णालीका हटारूको सवालमा नुनको ब्यापारको मन्दिपछि जनजीवन झन कठिन र कष्टकर हुँदै गयो। हिजो तिब्बतमा अनाजको निर्यात गर्ने कर्णालीका हिमाली क्षेत्रमा आज त्यहीँ तिब्बतबाट चामल आयात गरिरहेको छ।
त्यसैले हिजो भोटे नुन चक्रको कालमा तिब्बतमा हाम्रो नेपालको मध्य पहाडबाट अनाज चक्रको विपरित आज ती हिमाली भूभागमा चामल, मैदा, घिउ, तथा दैनिक उपभोगको वस्तुको लागि पूर्ण रूपले चीनमा भरपर्नु परेको छ। त्यहीसँग स्वाभलम्भी संस्कृती घट्दै, परनिर्भरता र उपभोग्यवादले प्रसय पाउदै गइरहेको छ।
(लेखक मानवशास्त्री हुन्।)