मन उदास भइरहनु र दुःखी हुनु उदासिनताको समस्या हो। यस्तो समस्या दुई वा तीन हप्तादेखि महिनौँसम्म व्यक्तिले देखाइरहेमा व्यक्तिको विचार, भावना, सोचाइ र व्यवहारमा असर पार्छ। युवा-युवतीहरु प्रायःजसो उदासिनताको शिकार भएका छन्।
उदासिनतामा मुख्यगरी निम्न लिखित लक्षणहरु हुन्छः ध्यान केन्द्रित गर्न नसक्ने, काम गर्ने जाँगर नआउने, बेखुसी हुने, एक्लै बस्न रुचाउने, जीवनदेखि बेकार महसुस गर्ने र आत्महत्याको विचार आउने लक्षणहरु देखिन्छन्। यदि यस्ता लक्षणहरु लामो समयसम्म रहिरहेमा व्यक्तिलाई मनोविमर्श सहित औषधि उपचारमा लाग्नु पर्ने हुन्छ।
विश्व स्वास्थ्य संगठनले युवाहरुको मुत्युका प्रमुख कारणहरु मध्ये उदासिनता प्रमुख कारण मानेको छ। उदासिनता भएका अधिकांश व्यक्तिहरुमा आत्महत्याको सोचाइ वा विचार आउन सक्छ। कहिलेकाहीँ आवेगमा आए पनि व्यक्तिले आत्महत्या गर्ने गर्दछ। प्रायजसो उदासिनता समस्या भएका व्यक्तिहरुमा आफ्नो जीवनलाई आफैले समाप्त पार्ने सोचाइ एवं योजना बनाउने गर्दछन्।
यस आलेखमा आत्महत्या के हो, आत्महत्याको सोचाइ भएको कसरी पहिचान गर्ने, जोखिममा व्यक्ति छ भन्ने कसरी थाहा पाउने र कसरी सहयोग गर्ने भन्नेमा केन्द्रित छ।
आत्महत्या
आफ्नो जीवन आफैं समाप्त पार्ने योजना बनाउनु वा विभिन्न माध्यमबाट आफ्नो जीवनलाई आफैंले समाप्त गर्दछ भने त्यो नै आत्महत्या हो। आत्महत्या नितान्त व्यक्तिगत कुरा हो र व्यक्तिले यस्तो कार्य गोप्यरुपमा गर्दछ। आफ्नो समस्या निराकरण वा समाधान गर्न नसकेपछि व्यक्तिले यस्तो काम गर्ने गर्दछ। परिवारका सदस्य, समाजका व्यक्ति र साथीभाइले आफ्नो समस्यालाई नबुझेको महसुस गरेमा आफूलाई बेकार ठानी अन्तिम उपायको रुपमा आत्महत्या गर्ने गदर्छन्।
आत्महत्या व्यक्ति यही कारणले गर्छ भनेर किटेर भन्न सक्ने अवस्था छैन। पहिले-पहिले प्रेममा असफल भएका व्यक्तिले बढी आत्महत्या गर्छन् भन्ने चलन थियो। तर अहिलेको अवस्थामा सामाजिक कारणहरु बढी पाइएका छन्। सामान्यतय उदासिनता भएको व्यक्तिले आत्महत्या धेरै गर्छन् भनिन्छ। किनभने यस्ता व्यक्तिहरुको मनमा सामान्यभन्दा धेरै दिक्दारी लाग्नु, मुडमा आवश्यकताभन्दा बढी नै उतारचढाव भइरहन्छ। आफूलाई एकदमै दयनीय अवस्थाको ठान्ने र जीवनप्रति कुनै रुची नहुनु अनि भविष्यप्रति आशा नराख्नु नै उदासीपन हो।
व्यक्तिहरु आफ्नो उदासीपन, निराशापन र नकारात्मक भावनालाई हटाउनको लागि रक्सी र अन्य लागुऔषधको प्रयोग गर्दछन् तर रक्सी र अन्य लागुऔषधले मस्तिष्कको सामान्य कार्यमा शिथिलता ल्याउँछ र व्यक्तिमा थप उदासिनता पैदा गर्न सहयोग गर्छ।
यसको साथै रक्सी र लागुऔषधले ल्याउने धेरै प्रकारका शारीरिक समस्याहरु र आर्थिक स्थिति कमजोर बन्दै जानाले व्यक्तिमा बाच्ने रहर कम भएर जान्छ र आत्महत्याको सोच बनाउँदछन्। त्यस बाहेक जटिल मानसिक रोग लागेका व्यक्तिहरुले आत्महत्या गर्न सक्छन्।
त्यसबाहेक सामाजिक समस्याहरु वा मनोसामाजिक समस्याहरु जस्तैः वेवाहिक जीवन आनन्दमय नहुनु, कसैसँग पनि राम्रो सम्बन्ध विकास नहुनु, अचानक जागिर जानु, भावनाहरु पोख्ने ठाउँ वा व्यक्ति नहुनु, किशोर-किशोरीहरु स्कुलमा फेल हुँदा, प्रेमीप्रेमिका बीचको बिछोड, आमा-बाबु बीचको सम्बन्ध राम्रो नभएको अवस्थामा हुने तनावले आदि आत्महत्याका कारण बनेका छन्। कतिपय व्यक्तिहरु रिसको आवेगमा पनि आत्महत्या गर्ने गर्दछन्।
व्यक्तिले आत्महत्या गर्दैछ भन्ने कुरा कसरी थाहा पाउने?
सामान्यतय व्यक्तिको भावना, समय र परिस्थितिअनुसार निर्माण हुन्छ। रमाइलो वातावरण भयो भने रमाइलो किसिमले प्रतिक्रिया दिने, दुःख लाग्दो अवस्था भए दुखीत हुने व्यक्तिको स्वभाविक प्रतिक्रिया हो। तर जो व्यक्तिलाई आत्महत्याको विचार वा सोच छ त्यस्ता व्यक्तिहरुको भावना एकैनासको हुँदैन। उनीहरुको भावनामा बिनाकारण उतार चडाव आँउछ।
सोचेको जस्तो पुगेन वा भएन भने व्यक्ति एकदमै रिसाउने, झर्किने, छिटो हतोत्साही हुने, अस्वभाविकरुपमा दुःखी तथा खुसी हुने आदि लक्षणहरु देखिन्छ। कुनै पनि कुरामा प्रतिक्रिया नदिने, आफ्नो सरसफाईमा वास्ता नगर्ने, कुनै कुरामा पनि रुचि नदेखाउने जस्ता नैराश्यता झल्काउने लक्षणहरु उनीहरुमा देखिने गर्दछन्।
आफूलाई योग्यहीन महसुस गर्ने, आफूले आफैंलाई हानी नोक्सानी तथा शारीरिक असर पार्ने व्यवहार गर्ने र आफू मर्ने बारे कुराहरु गरिहन्छन्। त्यहीअनुसार मर्नका लागि गोप्य रुपमा तयारी समेत गरेका हुन्छन्। मेरो कोही छैन, मलाई कसैले फुटेको आँखाले हेर्दैनन्, म केको लागि बाच्ने भन्ने शब्दहरु व्यक्त गरिरेको पाइन्छ।
आत्महत्या गरेपछि सामाजिक तथा पारिवारीकरुपमा भोग्नु पर्ने समस्याभन्दा आत्महत्या गर्दा हुने फाइदाको बारेमा मनमा कुरा खेल्न थाल्छ। अनि आफूसँग भएका महत्वपूर्ण सामानहरु अरुहरुलाई बढिदिने काम गर्दछन्। यी लक्षणबाट हामीले बुझ्न पर्ने हुन्छ व्यक्तिमा आत्महत्याको योजना वा विचार हुनसक्छ।
गम्भीर समस्या भएको कसरी थाहा पाउने?
आत्महत्याको सोचाइ कत्तिको गम्भीर छ भनेर थाहा पाउन ४ वटा कुराहरुमा ध्यान दिनु पर्छ।
- समस्या भएपछि व्यक्तिमा मर्ने विचार, सोचाइ आउनु
- मर्ने बारे योजना बनाउन सुरु गर्नु
- योजनाअनुसार मर्नका लागि आवश्यक साधनहरु संकलन गर्न सुरु गर्नु
- म मरेपछि सबैलाई हल्का हुन्छ, म बाचेको कुनै अर्थ छैन आदि जस्ता कुराहरु गर्दै मर्ने योजनालाई सफल बनाउन तल्लीन रहनु
यदि व्यक्तिले आफूलाई मार्नको लागि सामाग्री नै लुकाएर राखेको छ भने त्यस्ता व्यक्ति पूर्णजोखिममा भएको बुझ्नु पर्छ। यस्तो अवस्थामा हामीले उसको समस्याको बारेमा परिवार, नातेदार वा नजिकको छिमेकीलाई जतिसक्दो चाँडो जानकारी दिनु पर्दछ। जति धेरै आत्महत्याको योजनाहरु बनाउनु भनेको गम्भीर खालको उदासिनताको समस्या हो।
कसरी सहयोग गर्ने?
व्यक्तिले आत्महत्या सम्बन्धी कुराहरु बारम्बार गर्छ भने केही समस्या छ भन्ने बुझ्नुपर्छ। यदि व्यक्तिमा यस्तो भावनाहरु पाइएमा परिवारका सदस्यले ध्यान दिएर उनको गुनासा र समस्याप्रति कुराकानी गर्नुपर्छ। उसलाई सल्लाह दिनुभन्दा उसको मनमा रहेका भावनाहरु पोख्ने वातावरणको सृजना गर्नुपर्छ।
आत्महत्याको विचार वा भावना भएका व्यक्ति परिवार, नातेदार वा आफन्त मध्य कोसँग कुराकानी गर्न सहज मान्छ त्यो पत्ता लगाउनु पर्छ र उक्त व्यक्तिसँग सामीप्यता बढाउनका लागि सहयोग गर्नु पर्दछ। परिवारका सदस्यहरुले व्यक्तिलाई एक्लै छोड्नु हुँदैन्, राती सुतेको बेलामा पनि ध्यान दिएर सुत्नु पर्छ।
हाम्रो समाजमा आत्महत्याको बारेमा खुलेर कुरा गर्दा आत्महत्याको विचारलाई प्रोत्साहान मिल्छ भन्ने विश्वास छ तर यो विश्वास गलत हो। यदि यस्ता व्यक्तिसँग राम्रोसँग कुरा गरेमा व्यक्तिलाई मेरो कुरा सुन्ने र मलाई सहयोग गर्ने व्यक्ति पनि छ भन्ने भावनाको विकास हुन्छ र उसले आफ्ना कुराहरु खुल्ने गर्दछ जसले गर्दा व्यक्तिको भावना वा सोचाइ सकारात्मक हुन सहयोग पुग्छ।
समस्या सबै व्यक्तिलाई हुन्छ। समस्यासँगै व्यक्ति आफैमा समाधानका उपाय पनि हुन्छन्। हरेक व्यक्तिलाई प्रकृतिले राम्रा गुणहरु दिएको हुन्छ। समस्यामा भएको बेला व्यक्तिको मनमा समस्या मात्र हुन्छ। आफूमा भएका राम्रा गुणको बारेमा ध्यान हुँदैन्। त्यसैले सकारात्मक रुपमा व्यक्तिलाई हेर्ने मौका दिनुपर्छ।
भविष्य राम्रो छ। बाच्नुजेल किन आफ्नो शरीरलाई दुःख दिने। आफूलाई माया गर्ने को छ वा आफू नहुँदा कसलाई बढी दुख्छ, आखिर सबै मर्नु नै पर्छ, आफूले आफैलाई सिध्याउनुभन्दा कालगतिबाट मर्दा आफू परिवार र समाज कोही पनि दोषी हुँदैन, जीवन एक पटक पाउने चोला हो, यसको सही प्रयोग गर्नु पर्दछ, भनेर जीवनप्रति आशा जाग्ने खालका कुराहरु गर्नुपर्छ।
आत्महत्या गर्ने विचार भएका व्यक्तिहरुसँग आत्महत्यापछि आउने नकारात्मक परिणामको बारेमा कुरा गर्नुपर्छ। धार्मिक रुपमा पनि आत्महत्या गर्नु महापापको रुपमा लिइन्छ। यदि तपाईले कुराकानी गर्दा पनि त्यसलाई नियन्त्रण गर्न कठिन भएमा दक्षता प्राप्त मनोविमर्शकर्ताबाट मनोविमर्श सेवा लिनुपर्छ।
मनोविमर्शसँगै मानसिक चिकित्सकको पनि सहयोग लिनुपर्छ। औषधि र मनोविमर्श सेवाले व्यक्ति समस्याबाट छुट्करा पाउन सजिलो हुन्छ।