एसएलसी पास गरेपछि काठमाडौंमा गएर आई ए पढ्ने सपना सजाउनु भएछ बुवाले र काठमाडौं पनि आउनु भयो रे त्यो बेलामा।
काठमाडौंमा दुई चार दिन बस्नुभएछ, साथीसँग घुम्नुभएछ अनि फर्कनु भएछ।
फर्किंदा पनि त सपना देख्दै फर्किनुभो होला! भर्खरैको युवा जोश, तातो रगत अनि केही गर्नुपर्छ भन्ने मनमा अठोट।
पातलो अग्लो शरीर, घुम्रिएका लामा कपाल बुवाको त्यो फोटो हेर्दा म छक्क अनि मख्ख परेको थिएँ, कति हिरो हाम्रो बुवा युवाबेलामा।
आँखाभरि काठमाडौंलाई झलझली राख्दै आफ्नो पनि सहरमा गएर पढने इच्छा जाहेर गर्नुभयो रे बासँग तर बाले बुवाको साथ दिनुभएन।
भन्दिनु भो- मेरो कान्छो छोरो मसँगै बस्छ, कतै जान पनि पर्दैन अनि पढ्न पनि पर्दैन। मलाई अरु कसैको पनि भर लाग्दैन, त्यसैले मेरो कान्छो मसँगै बस्छ। हाम्रो बा (हजुरबुवा) सारै नै कडा स्वभावको हुनुहुन्थ्यो। हामीले थाहा पाउँदा त उहाँको स्वभाव कडा नै थियो झन् त्यो बेलामा कस्तो थियो होला।
जेठा बराल भन्थे सबै, कोही हात हेराउन आउथे त कोही जोखाना हेराउन आउथे, कोही विवाह, ब्रतबन्ध, पूजालगायतको शुभ साइत जुराउन आउथे भने कोही दुखेको टाउको फुकाउन समेत आउथे। टाउको दुखेर ऐंया-आथा भन्दै आउनेहरू बाले हातमा अलिकति खरानी लिएर निधारमा लाउँदै आँखा चिम्लेर एकछिन के-के बर्बराउनु हुन्थ्यो र 'फू' गर्नेबित्तिकै आधा दुखाइ ठिक हुन्थ्यो र त्यही पूरा ठीक हुने आशामा फेरि पनि आउथे र ठीक पारेर जान्थे। यस्तो गज्जबको कला थियो बाको जेठा बराल भनेसी सबैले चिन्थे र मान्थे पनि। त्यस्ता बाले एकपटक हुन्न भनेसी बुवाले फेरि दोहोर्याएर केही भन्नसक्नु भएन रे।
अनि त्यसबेलादेखि नै आफ्नै खेतीपाती सम्हालेर अनि बा-आमालाई स्याहारेर बस्न थाल्नुभयो रे बुवा बाको छोरो भएर।
बुवा भन्नुहुन्छ- आजकालका छोरा-छोरीहरू धेरै जिद्दी हुन्छन्, उनीहरूले जे भन्यो त्यही मान्दिन पर्छ, जस्तो भन्यो तेस्तै गर्दिन पर्छ नभए घर छोडेर हिँडिदिने धम्की लाउँछन्, मर्दिन्छु म त भनेर घुर्क्याउँछन्। तर हाम्रो पालामा बा-आमाले हामीलाई घुर्क्याउनु हुन्थ्यो, धम्क्याउनु हुन्थ्यो। आफ्नै मनपरि गर्ने भए घर छोडेर गए हुन्छ अनि कहिल्यै फर्केर आउने होइन फेरि भनेर ठाडो आदेश आउथ्यो रे।
अब हर्ताकर्ता भनेको बा नै अनि बाबाट नै यस्तो आदेश आएपछि बुवाले के सक्नुहुन्थ्यो आफ्नो सपना पूरा गर्न। अहिले पो छोरा-छोरीको सपना पूरा गर्नको लागि बाबु- आमा मरिहत्ते गर्छन् तर हाम्रो बुवाको पालामा त्यस्तो थिएन रे, जसरी भए नि बाले भने जस्तो गरिदिन पर्ने।
जग्गा जमिन ओगटेर बस्नु भाको हाम्रो हजुरबाले बुवालाई पनि त्यही खेत नै जिम्मा लगाउँदै भन्नुभयो रे किसानको छोरो किसान नै बन्छ। बाको आज्ञाकारी छोरो भएर, बाको र आमाको सेवा गरेरै बस्ने भन्ने रोज्नुभयो बुवाले पनि अनि बिर्सिदिनु भयो रे त्यो काठमाडौंलाई।
बुवाको बिहे भएको १० वर्षपछि आमा बित्नु भाको रे, १० वर्षसम्म हजुरआमाले आँखा देख्नु भएन रे, दिसा-पिसाबको होस नहुने र आँखा पनि नदेख्ने आमाको स्याहार ममी र बुवा भएर गर्नुभयो, आमा बाचुन्जेल।
बाको सेवा पनि कति गर्नुभो बुवाले भन्ने कुरा मैले नि देखेकी छु। बा हट्टाकट्टा नै हुनुहुन्थ्यो एकदिन गौमन सर्पले डस्यो बालाई। तुरून्त अस्पताल लगियो ८-१० दिन अस्पतालमा राखियो अनि घरमा ल्याइयो। त्यसपछि त बा राम्रोसँग उठ्न पनि नसक्ने हुनुभाको थियो। दिसापिसाब गर्न गराउन एक जना हुनैपर्थ्यो, कोपरामा बसुन्जेल नि बालाई समाइरहनु पर्थ्यो। धेरैपछि बा तंग्रिनु त भयो तर शरीर एकदमै कमजोर भएको थियो। त्यसपछि त झन् बालाई कान्छो छोरो धेरै नै चाहियो।
बुवाको बाप्रतिको माया, श्रद्धा अनि सम्मान देखेर हामी पनि छक्क पर्थ्यौं। बाको कान्छो छोरो भएर बालाई हरेक अवस्थामा साथ दिने हाम्रो बुवा अहिले एक्लै हुनुहुन्छ। छोरा- छोरीको भविष्य राम्रो हुन्छ भने के भो र हामी यहाँ एक्लै बसिहाल्छौं नि भन्नुहुन्छ।
बाको लागि आफूलाई किसान नै बनाउने हाम्रो बुवा, बाको एक पटकको जवाफमा आफ्नो सपना मारेर बासँगै बस्न राजी हुने हाम्रो बुवाले हामीलाई कहिल्यै पनि कुनै पनि कुरामा रोक्नु भएन।
मेरो छोरा-छोरी मसँगै बस्नपर्छ भन्नुभएन, आफ्नो दु:ख हामीलाई देखाउनु भएन। कहिले रिसाउनु भएन, कहिल्यै हामीमाथि हात उठाउनु भएन। हाम्रो हरेक गल्तीमा आमाले हामीलाई कराउनु हुन्थ्यो तर बुवा रिसाएको हामी चारै जनाले देखेका छैनौं अहिलेसम्म।
कहिलेकाहीँ घर ढिलो पुग्दा ममी रिसाउने तर बुवा डराउने गर्नुहुन्थ्यो। तिमीहरू खेतीपातीमा नअल्झ, पढ जे गर्नुपर्छ मै गरौंला, कसरी गर्नुपर्छ मैले गरौंला भन्नुहुन्थ्यो। दिनरात नभनी, जाडो गर्मी नभनी अनि हिलो वर्षात नभनी सधैं नै आफूलाई त्यही खेतीपातीमा समर्पित गर्ने हाम्रो बुवाको त्यो निधारबाट तरर बग्ने पसिनाको मूल्य कसले लगाउन सक्छ, पटपटी फुटेका कुर्कुच्चा अनि ठेला उठेका हत्केलाहरू कसले निको पार्न सक्छ। अझै पनि बुवाको हत्केला छाम्छु जब्बर, साह्रो छ, कोदाली खन्दा र हलो जोत्दा उठेका ठेलाहरू त्यही बिलाएछन् र जब्बर भएर बसेछन्।
सधैं आमाको माया, पीडा र महानतामात्र देख्ने हामी छोराछोरीले बुवाको त्याग, तपस्या अनि मेहनतलाई नजर अन्दाज गरिदिन्छौं। बुवाको औंला समाएर हिँड्न सिक्यौं, क ख रा बुवासँगै सिक्यौं अनि काठको पाटीमा बासको कलम बनाएर माटोको मसिमा चोबेर बुवाले गराउनु भएको अक्षराम्भ अझै पनि ताजा नै छ मानसपटलमा। बुवाले बनाइदिनु भाको काठको खेल्ने कुरा, मोजाको भकुण्डो बजारबाट ल्याइदिएको पापा, दसैंमा किनिदिएको नाना।
अनि नयाँ नाना लगाएर सिंगै गाउँ डुल्दै भन्ने गर्थे सानी छु, काली छु अर्काको बाउको के गरिदिन्छु आफ्नो बाउको मनपर्दी छु। बुवा कतै जानु भाको बेलामा हामीलाई दिन बिताउन गाह्रो हुन्थ्यो। कति खेर आउनुहुन्छ, कहिले आउनुहुन्छ भन्ने छटपटी हुन्थ्यो। अरुहरू आफ्नो बुवासँग डराउँथे तर हामीलाई बुवासँग कहिल्यै डर लागेन। बुवासँग बस्दा, बुवाको साथमा हुँदा रमाइलो लाग्थ्यो।
कथा, कविता, चुटकिला भन्ने, सुन्ने अनि हाँस्ने। छरछिमेकी पनि भेला हुन्थे हाम्रो रमाइलो हेर्नका लागि। मलाई अझै याद छ हाम्रो घरमा भानुभक्त रामायण थियो, बुवाले राति सुत्ने बेलामा लय हालेर हामीलाई सुनाउनु हुन्थ्यो। कहिले रामायण, कहिले मुनामदन, कहिले गौरी।
बुवालाई पढ्न एकदमै मन लाग्थ्यो र अझै पनि मन लाग्छ। टुकीको उज्यालोमा बुवा पढ्ने अनि हामी सुन्ने। टुकीको तेल सकिन्थ्यो निभ्थ्यो अनि हामी सुत्थ्यौं। हामी सानो छँदा बुवाले हामीलाई मधुपर्क, मुना अनि गरिमाजस्ता मासिक पत्रिकाहरू किनेर ल्याइदिनुहुन्थ्यो।
आफू पनि पढ्नु हुन्थ्यो अनि हामीलाई नि पढ्न लगाउनु हुन्थ्यो। अझै पनि हाम्रो बुवा नयाँ-नयाँ किताबहरू पढ्न भनेसी मरिहत्ते गर्नुहुन्छ।
अहिले नि हामी बुवालाई किताब किनेर पठाइदिन्छौं। बुवा आफू पनि पढ्नु हुन्छ अनि आमालाई पनि सुनाउनु हुन्छ। पढाइप्रतिको हाम्रो बुवाको रुचि देख्दा लाग्छ यदि त्यो बेलामा बाले मानेर बुवालाई पढ्न दिनुभाको भए, मेरो छोरो मैसँग बस्छ भनेर आफ्नै जिदलाई नबढाइ दिएको भए आज हाम्रो बुवाको सपना मर्ने थिएन।
हिजो बाको लागि मारेको सपना आज छोराछोरीमा देख्दै हुनुहुन्छ बुवा। आफ्नो सपना छोरा- छोरीले पूरा गरून् धेरै पढून्, असल बनून्। मैले सानैदेखि बुवासँग सिकेको असल व्यक्ति बन्नुपर्छ भन्ने नै हो।
समाजमा छर-छिमेकमा बुवा असल व्यक्तिले चिनिनु भाको थियो र छ पनि। कसैलाई समस्या परेको बेला सहयोग गर्न हात नकपाउने। गाउँ घरमा ज्याला मजदुरी गरेर छाक टार्नु पर्ने धेरै परिवारहरू थिए तिनीहरू भरे खान केही छैन दाजु भन्थे बुवाले चामल, पिठो, दिएर पठाउनु हुन्थ्यो र भोलि आएर धान लिएर जानु भन्नु हुन्थ्यो।
पैसा चाहियो कसैलाई तर आफूसँग छैन भने अरूसँग मागेर भए नि दिने।
बुवाले कहिले पनि सहयोग माग्न आउनेलाई खाली हात फर्काउनु भएन। बिना कुनै स्वार्थ, बिना कुनै लालच सधैं अरुलाई सहयोग गर्न तयार रहने हाम्रो बुवा सधैं नै हाम्रो लागि प्रेरणाको स्रोत हुनुहुन्छ।
अरुबाट कहिल्यै केही आशा नि नराख्नू अनि कसैप्रति रिसराग नि नराख्नू भनेर सधैं नै हामीलाई सम्झाइरहने, बुझाइरहने र पैसा होइन मान्छे कमाउनु पर्छ भनेर हामीलाई सधैं सही बाटो देखाउने हाम्रो बुवा हरेक पल हाम्रो लागि एकदमै खास हुनुहुन्छ।