बुबा तपाईंले जागिरको समयमा उमेर छउन्जेल परिवारसँग सँगै बस्न नपाएको व्यथा हाल विदेश गएर रोजगारी गर्नेको भन्दा कम छैन। त्यो समयमा प्रसस्त टेलिफोन तथा इन्टरनेटको सुविधा नभएको जमानामा धनकुटाको एउटा विकट ठाउँ ६ नं बुधबारे बसेर जागिर खाएको र तपाईं आउँदा ल्याउने सुन्तला र जुनारको बोराको सम्झना अझै आउँछ।
बजारमा सुन्तला जुनार किनेर खान त पाईन्छ तर स्वाद त्यस बेलाको नै जिब्रोमा झुण्डिएको छ सायद तपाईंको पसिना मिसिएको भएर होला। आमाले पठाएका पत्रहरु तथा त्यसमा तपाईको प्रतिउत्तरहरु पढेको हिजो अस्ति जस्तो लाग्छ। तपाईं जागिरबाट कहिले काहिँ विदामा घर आउँदा सुन्तला लगायतका फलफुल खान पाउने रहर सँग सँगै अनुशासनमा बस्नु पर्ने तथा दिन भरि घर बाहिर नै खेल्ने मलाई आफ्नो इच्छा अनुसार खेल्न जान नपाउने कुरा मिश्रित भएर आउँथ्यो त्यस बेला।
तपाईं जागिरमा फर्कनेभन्दा पीडा र खुसिसँगै मिसिएर आउँथ्यो। आफ्नो इच्छा अनुसार बेलगाम भएर खेल्न पाईने भयो भनी खुसी अझ बढी हुन्थ्यो होला। सानोमा मैले कति चकचक गर्थें भन्ने त तपाईंलाई थाहा नै छ। तपाईंको याक चुरोटको बट्टाबाट तपाईं कै नक्कल गर्दै चुरोट झिकेर खानलाग्दा आमा आएको चाल पाएर सिरकभित्र चुरोटको ठुट्टो लुकाउँदा झण्डै घर जलेको कुरा अझै स्मिृतिमा आईरहन्छ।
तपाईंले पान खाएको देखेर मैले पनि पान पहिलो पटक खाँदाको स्वाद अझै मुखमा बाँकी नै छ। तपाईं जुम्ला बसेर जागिर खाँदा खिचेको भनेको फोटोमा लगाएको पाइन्टको डिजाईन तथा तपाईंले पालेको लामो कपालको सम्झना अझै बाँकी नै छ। तिनै फेसनका डिजाईनहरु घुमिफिरि हाम्रो पालामा पनि आएका थिए। घर अगाडिको हाईस्कूलमा राति नाटक चलिरहँदा एक्कासी हावाहुरीसहित ठूलो पानी पर्दा धन्न तन्न घर आई पुगेर तपाईं र आमाले रातभरी छानाबाट चुहिएको पानी बाल्टीमा थापेर ओछ्यानको कुनाकानीमा अलिकति ओभानो भएको ठाउँमा हामीलाई सुताएर आफू नसुति रात विताएको अझै विर्सिएको छैन।
त्यो घर भत्काएर नयाँ घर बनाउँदै गर्दा खाँबा र टाँड मात्र सकिएको बेला राती नै हात्ती आउँदा सुँडले तान्ला कि भनेर रातभर डरसरि बसेको अझै ताजा नै छ। गाउँमा पर कतै पटेका पड्कँदा हात्ती आयो होला भन्ने आशंका तथा त्रास विर्सेको छैन।
सुपारीको बोटको टुप्पोमा पुगेर सुपारी टिपेर खाएको तथा उप्रेती हजुरआमाले चिच्याएको अझै कानमा गुञ्जिरहेको छ। विजुलीको मिटर रिडरले आफूले भने जति अंक राखेन भनेर दाउराको झट्टीले हानेर खेदाएको अझै सम्झना छ। काठको फल्याकलाई काटेर धान मिलमा फ्यालेको व्यारिङ्ग जोडेर बनाएको व्यारिङ गाडीबाट कालिखोलाको ओह्रालोमा चिप्लिएर खुट्टा भरी पिल्स्याउँदा तपाईंहरुले थाहा पाउनु हुन्छ होला भन्ने डरमा गर्मीका दिनमा ट्राउजर लगाएर पिल्सिएको घाउ पकाउँदा तपाईंले हानेको चढ्कन अझै याद छ। त्यस्ता चढ्कन समयमा नै नखाएको भए आज म जे जस्तो छु त्यस्तो हुँदिन थिएँ होला।
तपाईंले दराजमा राखेको म्याक्सिम गोर्किको आमा उपन्यास ७/८ कक्षा पढ्दाको बखतमा नै पढेको भए त्यति उग्र भइन्थेन होला त्यस बखत। तपाईंले राखेको किताब मध्ये भएको माक्सवाद तथा लेलिनवादको किताव हेर्ने रहर कहिल्यै लागेन। कोर्सको किताव पनि पढ्न मन नलाग्ने बेलामा त्यसता किताबहरुमा मन जाँदैन थियो। पछि आएर एम ए पढ्दाताका हरेक प्रसंगमा माक्सवादको कुरा आउँदा, हेगेलको द्वन्दात्मक भौतिकवादको सिद्घान्त पढ्दा तथा अमेरिकन स्वतन्त्रताको विषय पढ्दा बामपन्थी नेताहरुलाई घरमा लुकाएको, मोहन वि.क. दाइलाई प्रहरीले खेदाउँदै गर्दा भागेर लुक्न आएको तथा धान राख्ने भकारी भएको टाँड मुनि लुकेको अझै सम्झना छ।
त्यस बेलाका मानिसहरुले पञ्चायति व्यवस्थाको विरुद्घ लडेका रहेछन् भनेर अलि ठूलो भएर मात्र बुझ्ने मौका पाएँ। अहिले आएर त्यसरी परिवर्तन ल्याए पनि आखिर विकासको बाटोमा किन मुलुक अगाडि बढेन भन्ने विषयमा जहिल्यै कौतुहलता आईरहन्छ। त्यसैले त्यसबेलाका मानिसले गरेको परिवर्तनको लडाईंबाट मुलुकले फाईदा पायो या नेताले भनेर कसैले अहिले आएर जवाफ माग्यो भने तिनीहरुको जवाफ के होला जस्तो लाग्छ मलाई। हुन त यही प्रश्न माओवादी सेनाबाट भर्खर बर्हिगमनमा परेका भाइबहिनिहरुलाई सोध्दा मलाई फाइदा नभए पनि मुलुकलाई घाटा भएको छैन भन्थे। अहिले सोध्ने हो भने के भन्छन थाहा छैन।
तपाईंले बैंक ड्राफ्टमार्फत पठाएको पैसाले आमाले घर खर्च चलाएको तथा ड्राफ्ट भनेको के हो भन्ने नबुझेता पनि ड्राफ्ट आयो अरे भन्दा खुसी हुने पलको सम्झना अझै आउँछ। तपाईंले फाल्न माया लागेर राखेको डिंगो जुत्ताको साईडमा भएको गोजीमा कहिले काहीँ तपाईको पकेटबाट झिकेर राखेको पैसा र त्यो पैसाले चोकमा रहेको विन्देश्वरको पसलमा गएर छाली चिउरा किनेर खाएको अझै सम्झना आउँछ।
तपाईंले पटक्कै मन नपराए नपराउँदै पनि पैसाको लागि नागपञ्चमिमा मन्त्रै नआए पनि नाग टाँस्न गएको तथा कुशे औंसिमा कुश बोकेर गाउँ भरी हिँडेको अझै सम्झना आउँछ। आमासँगै बर्ने चिया कमानमा घाँस काट्न गएको तथा पटक पटक चौकिदारले डोको च्यातेर रित्तो हात घर फर्किएको हिजो जस्तो मात्र लाग्दछ।
गोजिभरी सिसाका गुच्चा बोकेर कक्षा कोठामा जाँदा केदार सरले गणितको अभ्यास अगाडि कालो पाटीमा गर्न लगाएको र कालो पाटिमा लेख्दा गुच्चा बजेको आवाजको सम्झना अझै ताजा नै छ। मोजाभित्र प्लास्टिक कोचेर बनाएको फुटबल खेलेको र सिल्डको आकारमा काटिएका काठमा याक चुरोटको भित्रको टल्किने कागज टाँसेर पाँच दश पैसाको सिक्का ठोकेर सिल्ड बनाएर फुटवल खेलेको अझै सम्झना आउँछ। भोटेटार भन्दा माथिको चुलिको जंगलबाट दाउराको ठूटो बोकेर ल्याएको र त्यही मध्येको एउटा ठूटो ग्वालीको पाखाको खाँबो बनाउन काम लागेको अझै सम्झना छ।
होलीको समयमा भाँङ खाएर नसामा घरमा आएको र आमाले बोरामा हालेर सिस्नुले पड्काउनु भएको अझै याद छ। साथीहरुसँग लहडमा गाँजा खान झण्डै सिकेको अझै याद छ। केटाहरुले भित्तिको पुच्छर संकलन गरेर चिरेर स्कूलको छानोमा सुकाएर पछि चुरोटसँग खाने गरेको अझै याद छ। गाउँ भरिको पुराणमा भजन गाउँदै रमाईलो गरेको अझै याद छ।
दश कक्षा पढ्दाखेरी तपाईंले एस.एल.सी. मा राम्रो गर्न सक्यो भने मात्र ठूलो मान्छे बन्न सकिन्छ भनेर सम्झाएको कारण ठूलो मान्छे हुने जोसमा प्रथम भएको अझै सम्झना आउँछ। खगेन्द्र काकाले काठमाडौंबाट विदा भएको समयमा गएर पढाएको अप्सनल म्याथको ट्युसन कक्षाको अझै याद आउँछ। एस.एल.सी. सकेर आफ्नो इच्छा अनुसारको विषय पढ भनेर भन्दा रहरले कृषि पढ्न प्रवेश परीक्षा दिन गएको तर फेल भएको अझै याद छ। पछि अरु तिर पढ्न नपाईएलाकि भन्ने अवस्थामा मेची क्याम्पसमा मानविकिमा भर्ना भएर पढेको अझै ताजा नै छ।
आमाले एक्लै आँट गरेर तपाईंको अनुपस्थितिमा घर चलाएको तथा खेती गरेको अझै हिजो मात्र हो जस्तो लाग्छ। हामी केटाकेटी हुँदा तपाईं हामीसँगै घरमा बस्न नपाएको, दशैंमा एकादशि भन्दा पछाडिको दिनहरुमा घरमा बस्न नपाएको, कति पटक तिहारमा घरमा आउन नै नपाएको, घर चलाउनको लागि जिन्दगी भरी घर बाहिर जागिरको सिलसिलामा बसेको याद छ। तपाईं विर्तामोड सरुवा भएर आउँदा आफु काठमाडौं पढ्न आई सकेको र जिन्दगी भरी सम्पूर्ण परिवार एकै ठाउँमा परिस्थितिको कारण बस्न नपाएको कुरा दिन दिनै याद आउँछ।
सेनाले तालिमको लागि आफ्ना सैन्य जनशक्ति विरिङको किनारमा छोड्न आएको हेलिकप्टर हेर्नको लागि खाँदा खाँदैको चियाको गिलास झटारो हानेर घरबाट विरिङको बगर सम्म कुदेर गएको र हामी पुग्ने वित्तिकै हेलिकप्टर राम्ररी हेर्न नपाईकन उडेर गएको अझै याद छ। मलाई संयुक्त राष्ट्र संघमा जागिर खाएर एक हप्ता भित्र नै विराटनगरबाट सिन्धुलिको दुधौलिमा रहेको माओवादी सेनाको क्याम्पमा हेलिकप्टरमा जाँदा कस्तो संयोग होला एक दुई दशक अघि हेलिकप्टर हेर्न त्यसरी दगुरेको म आज हेलिकप्टर चढिरहेको छु जस्तो लागेको थियो।
त्यस दिन मैले आँखा भरि आँसु पारेर आकाशबाट धर्तिमा हेर्दै तपाईं र आमालाई सम्झिएको थिएँ। तपाईंहरुले समयमा मार्ग निर्देशन नगरेको भए अथवा भनौं तपाईंहरुको योगदान नभएको भए आज यो ठाउँमा हुदिन थिएँ होला जस्तो लागेको थियो त्यस बखत। संयोग पनि कस्तो भने हेलिकप्टर हेर्नैका लागि चार पाँच किलोमिटर दगुरेको मान्छे म पछि वाक्क हुने गरी हेलिकप्टर चढ्ने मौका पाएँ।
माओवादीको याङसिलाको क्याम्पमा तलव बाँड्ने काममा तपाईंको नेतृत्वमा भएको नेपाल बैंकको शाखाले बाँड्ने र त्यसको अनुगमन गर्नको लागि संयुक्त राष्ट्र संघको तर्फबाट जाने टिममा आफुलाई पाउँदा पनि अनौठो लाग्थ्यो। जिन्दगी कहाँबाट कहाँ पुग्यो भने जस्तो लाग्दथ्यो।
हवाई जहाजसँगको मोहले होला सायद सेवा प्रवेशको समयको उत्तरार्ध तिर नियतिले ल्याएर हवाई जहाज कम्पनिमा नै जागिर खाने बनाईदियो। तपाईंको चाहना अनुसार निजामति सेवामा प्रवेश गर्न नसके पनि जिन्दगीमा कहिल्यै पनि केही पनि गर्न सकिएन भन्ने गरी हतोत्साहि भएको छैन बुबा। मैले जति गर्न सकें त्यसमा सन्तुष्ट नै छु। मेरो जागिर तथा म काम गर्ने ठाउँको बारेमा समाचारहरु आउँदा तपाईंले देखाउने चासो हाल आएर मात्र म बुझ्दै छु बुबा। हाल छोरीहरु अनलाइन परीक्षामा बस्दा आफ्नै परीक्षा चलिरहे जसरी हुट्हुटि हुने गर्दछ। कोठा भित्रबाट सुन्न नमिले पनि बाहिरबाट कान थापेर सही उत्तर भने भनेनन् भनेर चासो लागि रहन्छ।
चाडवाडमा तथा अन्य समयमा घर गए पछि यो कोलाहल, दौडधुप, प्रदुषण तथा तनाबबाट बाहिर आउन पाईयो जस्तो लाग्छ। त्यसैले घर गएर बसेको छोटो समयले केही महिना सम्म मस्तिस्कलाई उर्जा प्रदान गर्दछ। घरै बसिरहन मन भए पनि विभिन्न बाहना र बाध्यताले गर्दा सकिने रहेनछ। रबर्ट फ्रष्टले आफ्नो कवितामा “माइल्स टु गो विफोर आई स्लिप” भने जस्तै जिन्दगिको यात्रा निरन्तर चलिरहेको छ। चलाई रहिएको छ। कोभिडको महामारी पश्चात यात्रा चलाउने दृष्टिकोणमा केही परिवर्तन भएको छ। जिन्दगी कति क्षणिक रहेछ भन्ने कुरा आफन्त जनका मृत्युका घटनाले सिकाई रहेका छन्। जिन्दगिको हजारौं माइल लामो यात्रा गर्न बाँकी छ भन्दै जिउँन नै नजानिकन जिन्दगि नै छोट्याई रहिएको यथार्थ भर्खर बुझ्न पाईरहेको छु। घर व्यवहार चलाउने चक्करको यात्रा निरन्तर जारी छ। यहि यात्रामा सम्बन्ध व्यवस्थापनका कतिपय पाटाहरु अधुरा नै भए जस्तो लाग्छ।
दुई चार वर्ष काठमाडौं आएर पढेर फर्किने सोचको साथ काठमाडौं आएको भएता पनि यहिँ टाँसिएर जिन्दगी कटाउने भईयो जस्तो लाग्छ। अलि फराकिलो गरी स्वच्छ हावा खाँदै अवकास पछिको जीवन गाउँमा कटाउने सपना साकार हुन्छ हुँदैन थाहा छैन। तपाईंले जीवनको उर्जाशिल समय परिवारको भरणपोषणको लागि घर बाहिर नै बसेर जागिर खाएर विताएको विँडो मैलै थामि रहेको छु। फरक यति छ की मसँग अहिले श्रीमति र छोरीहरुसँगै छन। परिवारको सानो हिस्सा लिएर बसेको भएता पनि ठूलो हिस्सा गाउँमा नै रहेको हुँदा बसाई पूर्ण आनन्दित हुन नसक्ने रहेछ।
छोरीहरुले एक पटक आफ्नो पाठ्यक्रममा पढेको कथामा नातिनातिनाहरु हजुरबुबाको ढाडमा चढेको प्रसंग उढाउँदै आफुहरु त कहिल्यै पनि त्यसरी हजुरबुबाको ढाडमा चढ्न पाईएन त भनी गरेको प्रश्न मैले त्यही दिन तपाईंलाई सुनाउँदा दुःख तथा सुख मिश्रित अनुभव भएको थियो। तपाईंका नातिनिहरुले टाढा भएका कारण तपाईंको ढाडमा त साँच्चै नै चढ्न पाएका रहेनछन त भन्ने मनमा आएकोले दुःख महसुस भयो। कम्तिमा पनि नानीहरुले पाढमा सिकेको कुरा आफ्नो व्यवहारमा तुलना गर्न सिकिरहेका छन भन्ने हिसाबले सुख महसुस भयो। सबै टाढा भए पनि प्रविधिको कारणले तपाईं, आमा, हजुरआमा, दाजु, भाउजु, भतिजा भतिजीसँग अनुहार हेर्दै गफ गर्न पाईन्छ।
कतै फेसबुकको वालमा भेटिएको म र मेरा बा भन्ने वाक्यहरुमा भनेको जस्तै उमेरसँगै तपाईंको योगदानको कदर गर्न अझै सिक्दै गईरहेको छु। समय यति चाँडै वितिरहेको छ कि आफुलाई सोह्र सत्रको जस्तै ठान्छु तर ऐना हेर्दा सबै भ्रम चिरिन्छन। रबर्ट फ्रष्टले आफ्नो कविता “द रोड नट टेकन” मा व्याख्या गरे जस्तो मानसिकताका साथ म कहिले काँही सोच्ने गर्छु यस्तो नभएको भए कस्तो भईन्थ्यो तथा यो नगरेर त्यो गरेको भए कस्तो हुन्थ्यो होला जस्तो लाग्छ।
दुविधा हरेक कुरामा हुने रहेछ। अहिले आएर दुविधा हुँदा तपाईंको साथै परिवारको परामर्शको अपेक्षा राख्दै सम्पर्क गर्दा पाउने परामर्शको महत्व बुझ्दै छु। अनि सम्झन्छु सायद तपाईंको डर नहुने भएको भए म कस्तो हुने थिएँ होला, कुलतमा फसेर विग्रिसकेको हुन्थिएँ होला जस्तो लाग्छ मलाई। अनि अर्को मनले फेरि सम्झन्छु त्यो पृष्ठभूमिबाट यहाँ सम्म ल्याउन तपाई र आमाले दुःख नगरेको भए कहाँ हुइन्थ्यो होला जस्तो लाग्छ।
कुशे औसि अर्थात बुबाको मुख हेर्ने दिनमा पछिल्लो समयमा बुबाहरुका तस्विरले फेसबुकका वालहरु रंगिन हुने गरेका छन्। फेसबुकबाट मानिसहरुले बुबालाई सम्झने कुराका सन्दर्भमा हरेक वर्ष सोही दिन फेसबुकमा फोटो राख्नु ठिक कि वेठिक भनी अनेक वादविवाद नआउने होइनन्। तर मलाई कम्तिमा पनि मानिसले आ–आफ्ना बुबालाई सम्झिरहेका छन भन्ने लाग्दछ। बुबाहरुको योगदानलाई कदर गरिहेका छन् जस्तो लाग्दछ। तपाईंको फोटो फेसवुक वालमा भन्दा दिलको भित्तामा राख्न ठिक लाग्ने भएको हुँदा फेसबुक वालमा राखिन। तपाईंको नैतिकताको शिक्षा मन मस्तिष्कमा ताजा नै छ। त्यसैले अहिले सम्म जे काम गरिएको छ गर्वसाथ गरिएको छ। टाउको निउराउने गरी केही गरिएको छैन।
मुलुक र समाजलाई हानी हुने तथा आफ्ना सन्ततिलाई भोलिका दिनमा आफ्नो बुबा चिनाउन कठिन हुने गरेर केही गरिएको छैन। समाजमा ठूलो योगदान दिन नसके पनि समाजलाई हानी हुने केही पनि गरिएको छैन। आफ्नो काममा इमान्दारिता देखाउनु पर्छ भन्ने तपाईंको आदर्शलाई आत्मसात गरिएको छ। आत्म सम्मानमा आँच आउन दिनु हुँदैन भन्ने तपाईंको शिक्षालाई मुल मन्त्रको रुपमा लिएर जिन्दगीको यात्रामा लागि रहिएको छ। क्यापिटल गेन नभए पनि मोरालिटि हाई बनाएर डिग्निटि गेन गरिएको छ। तपाईंको नजरमा झुक्नु पर्ने गरी केही गरेको छैन बुबा। जिन्दगीमा तपाईंलाई केही दिन नसके पनि धेरै कुरा तपाईंबाट लिएको छु। तपाईंबाट पाएका सबै आदर्श तथा ज्ञानगुनका शिक्षाहरुलाई नमन गर्दै मुख म्यासेन्जरबाट नै हेर्ने बाचा गर्दै कुशे औशिको शुभकामना टक्र्याउँछु बुबा। तपाईंको स्वस्थ जिवनको कामना।