बुवा ! जीवनको कुनै मोडमा ‘म’ मेरा लागि 'मैले विश्राम लिनुपर्छ'।भन्नसम्म नरुचाउने परिश्रमी।
खेतका आलीमा होस् वा सरकारको घुम्ने मेचमै किन नहोस्, बिनाकाम टुसुक्क बस्न नरुचाउने स्वाबलम्बी। मेरो लागि ‘बुवा’ एक मात्र अथक यात्री। तपाईंको आफ्नै किसिमको परिभाषा होलान्,जुन उत्कृष्ट नै हुन्छ।
साहित्य सृजनातिर धर्तीभन्दा आकाशको प्रशंसा धेरै गरिएको पाइन्छ। तर फेरि आमालाई धर्ती र बुवालाई आकाश भन्नेहरूले नै आकाशझैं अटल, अदम्य साहस बोकेका ‘बुवा’ का बारेमा लेख्न र बोल्न किन कन्जुस्याइँ गरे होलान् ?
मस्तिष्कमा उजिएका धेरै प्रश्नमध्ये यो प्रश्नले प्रायः मलाई झस्काइरहन्छ। जब मेरा ‘बुवा’ को मुहार हेर्छु, सोच्न बाध्य हुन्छु।
जीवनको हरेक परिस्थितिलाई विल्कुलै हतास नगरी, सामना गर्न सक्ने क्षमता छ उहाँ र बुवा भएकाहरूमा। जीवनका भोगाइ अनि दुखाइलाई भावीको लेखाइ मानेर; सन्तानको खुसीका लागि आफ्नो जीवनको प्रवाह नगरी, अहोरात्र खटिरहने रणभूमिको योद्धा हुन् बुवा।
हाड र छालाले नै बनेको शरीरलाई पनि बुवाहरूले मुस्ताङे चट्टानजस्तो जब्बर बनाएर हिँडेको देख्छु।
थाकेको छु भनेर कतै सुस्ताएको कहिल्यै सुनिँदैन। न त बिसञ्चो छु भनेर कतै ढलेकोे नै देखिन्छ।
'१४/१५ वर्षको कलिलो उमेरदेखि जिम्मेवार भइयो। अब अन्तिम सास रहुन्जेलसम्म यसलाई बोकेर हिँड्नु पर्छ कान्छा। नत्र यी बालखाको बिच्चली हुन्छ। हामीले हार माने यिनले के सिक्छन् भन त ?' बेलाबेला जिम्मेवारीको भारीले वाक्क भएका तल्लाघरे काकालाई सम्झाउँदै गरेको भेट्छु बरु।
उमेरले २५ नलागेका र आफ्ना पखेंटामा उड्न बाँकी नभएका छोराछोरीलाई पनि ‘बालखा’ देख्ने बुबालाई, कहिलेकाहीँ तल्लाघरे काकाको जस्तै वाक्क लाग्दो हो... जिम्मेवारी सम्झेर।
हो! बुवा बिलौना गर्दै आँसु झार्नु हुन्न तर वेदना छैन उहाँमा भन्न मिल्दैन। समाजले छोरा मान्छेलाई आँसु देखाउन प्रतिबन्ध लगभग ऊ जन्मेको आठदेखि दस वर्षको उमेरभित्र लगाइसकेको हुन्छ।
भन्छ 'छोरा मान्छे भएर पनि कोही रुन्छन्?' छोरा त स्ट्रङ हुन्नुपर्छ। सोही अनुरुप एउटा छोरा मान्छे आफूलाई स्ट्रङ साबित गर्न कै निमित्त; आफ्ना दु:ख न परिवारमा पोख्न सक्छ। न त समाजसँग ओकल्न नै सक्छ। सक्छ त केवल घुटन सहेर बाँच्न।
जीवनमा सफल भनिएका मान्छेको हामी वर्तमान देख्छौं। विगत बुझ्न खोज्दैनौं र त्यहाँसम्म आइपुग्न उसले गरेका संघर्षलाई बेवास्ता गरिदिन्छौं र सजिलै भन्छौं 'विगतलाई फर्केर नहेर्नू है अब।' मलाई बडो अचम्म लाग्छ यस्ता वाक्य सुन्दा। यदि बुवाले आफ्नो विगतलाई फर्केर नहेरेको भए, काँधको छाला उकिँदासम्म पनि आफ्नो बेवास्ता नगरी पैदलै-पैदल सुगम नझारेको भए, तपाईं हाम्रो जीवन यति सहज हुने थिएन।
आफ्नो जीवनमा बिताएका दुर्गमका कष्टकर समय सन्तानले भोग्न नपरोस्, भनेर नै बुवाले जन्मघर र देश छोडेर बिरानो भूमिमा पसिना बगाइरहनु भएको हो।
बुवाका त्यागले सम्मान नपाएका हुन्, प्रशंसा गर्न योग्य नभएका होइनन्।
एकछिन आँखा चिम्म गरेर आफ्नो बुवालाई सम्झन्छु। झिसमिसे बिहानदेखि साँझ झमक्क पर्दासम्मको दौडधुप।
ओहो ! सास फेर्न नि कति धौधौ भएझैं चलेको छ जीवन। तर जीवनको भागदौडमा बुवाको भूमिका लोप किन गराइयो ? कि पुरूष प्रधान देश भएकै कारण मानव जीवनमा उहाँको अस्तित्व कम देखाइएको हो यकिन गर्न सकेको छैन।
साहित्य लेख्नमा होस् वा औपचारिक शिक्षाका पाठ्यक्रममा, बुवाको महत्व र जीवनयापनका लागि तिनले गरेका कठोर संघर्षका कथा कम लेखिए। सायद बजारमा संघर्षका कथा बिक्दैन्थे होलान्, वेदनाका जति। यद्यपि बजारशास्त्रकै नियम मानेर जे बिक्छ, त्यही उत्पादन गरेका हुन् भने, लेखकले यो पनि भुल्न हुँदैन्थ्यो। आफूले जे उत्पादन गरियो, त्यो बेच्न सक्नु बेष्ट मार्केटिङ पोलिसी हो।
आमाको मायाबारे पढियो, बुझियो र सिंगो संसार बदल्न उनको मात्र योगदान छ भन्ने भ्रम पनि राखियो केही समय। यो भ्रम अधिकांश ‘आमा’ सम्बोधनका कृतिको अध्ययनले जन्माएको थियो। जसमा आमाका ढिँकीजाँतो मेलापातदेखि प्रसव पीडासम्मका वेदना अटाउँदा, घरधन्न नसकेर लाहुर गएर बुवा किन फर्केनन्।
परदेशमा केही विपत् पो पर्यो कि भन्ने सोच्दै नसोची, गाउँमा आमालाई एक्लै छोडेर परदेशिएकै आधारमा बुवा स्वार्थी हुन् भन्ने दृष्टिान्त लेखियो बरू। जुन पढ्दा लाग्थ्यो जीवनमा बुवा त्यति महत्वपूर्ण होइन जति आमा हुनुहुन्छ।
आज बुवाको मुख हेर्ने दिन। बुवा नजिकै बसेर पढ्दै हुनुहुन्छ भने पढिसकेपछि बुवालाई एकपटक सोध्नुस् – बुवा हजुर यहाँसम्म आइपुग्दाको अवस्था कस्तो थियो ? बस् यति भन्दै गर्दा उहाँको अनुहारमा विगतको जुन उकुसमुकुस भैरहेका भाव बाहिर निकाल्न तछाडमछाड गरेको प्रष्ट देखिन्छ नि। हो त्यही बेला बुवाले आफ्नो वास्तविकता तपाईंसामु हाँस्दै सुनाउनु हुनेछ। तर झट्ट सुन्दा कथा जस्तो लाग्ने ती दिन तपाईं हाम्रै बुवाको भोगाइ हो।
आफ्ना इच्छा पूरा नभए, आँसु झार्न, आत्मदाह गर्न पछि नपर्ने हामी, घर धान्नकै लागि उहाँले के-के इच्छा मार्नु भयो सोच्नसम्म भ्याउँदैनौं। जो कोहीलाई आफ्नो सपना, रहर र समस्यामात्रै ठूलो लाग्छ। तिनै सपना पूरा गरिदिनेका पीडा एकादेशको कथा जस्तो।'
हो, बुवा चाँडै गल्नु/पग्लिनु हुन्न किन थाहा छ ? फलाम सेलाउन्जेल मात्र ऊ आफ्नो आकारमा रहन्छ। तात्यो भने मान्छेले आफू अनुकूल बनाउँछ र उसको अस्तित्व खतम हुन्छ। बुवाले पनि आमाले जस्तै तपाईंको अनुकूलतालाई हेर्नु भो भने परिवारको अस्तित्व खतम हुन कुनैबेर लाग्दैन।
तसर्थ, सम्बन्धमा एकअर्कालाई सुनौं र अस्तित्व स्वीकार गरौं।
'आफ्नो जीवनको हिस्साभित्र प्रियतमालाई जस्तै परिवारलाई पनि समेट्न सकेमात्र, वृद्ध अवस्थामा आमाको मृत्युसँगै बुवाहरूको सारथी बनाइँदै आएको वृद्धाश्रमको ढोका सदाको लागि बन्द हुनेछ'।