समयसँग बढ्दै गरेको उमेर, उमेरसँग बढ्दै गरेको इच्छा अनि आकांक्षाहरु। तिनै इच्छा-आकांक्षाहरुसँग बढ्दै गरेका रहरहरु र समुन्द्री छाल जसरी आउने रहरहरुसँग बढ्दै गरेका सपना र सोचाइहरु।
सानै उमेरदेखि नै अचम्म अचम्मका सोचाइ आउने मेरो मानसपटल पनि अचम्मकै थियो। हुन त उमेर नै त्यस्तै थियो। रहर पनि अनेक त लाग्थे नि, कहिले के लाग्ने कहिले के। स्कुलमा कक्षाकोठामा सरले पढाएको भन्दा बाहिरी दुनियाँमा हेर्न रुचाउने म। मेरो ध्यान पाठ्यपुस्तकभन्दा उट्पट्याङ सोचाइमा बढी हुने गर्दथ्यो।
कहिले कक्षामा सरले रमाइलो कुरा गर्दा, म पनि विद्यार्थी पढाउने शिक्षक बन्छु अनि विद्यार्थीहरुसँग रमाइला-रमाइला कुरा गर्दै यिनीहरुको प्यारो शिक्षक बन्छु, कहिले ह्या यसरी त म बस्न सक्दिनँ भन्ने सोच आउँथ्यो। मान्छे जिरे म, सोच हात्ती जत्रो आउने। कहिले कहिले बाहिरी संसार बनाउने।
उट्पट्याङ गरेर नै शिक्षकको राम-धुलाई पनि औधी भेटियो। एक पटक त एकजना साथीको गृहकार्य अर्कै तल्लो कक्षाको साथीले गर्दिएको थियो। शिक्षकले अक्षर चिनेर कसले गर्दिएको हो भनेर सोध्दा 'मैले गरेको सर' भन्दा रेस्लिङमा विपक्षी प्रतिस्पर्धिले धुलाई भेटे जसरी भेटियो।
कहिले बसमा चड्दा यो बसलाई जाबो चार पाङ्ग्राले कसरी धान्छ, त्यहीमाथि यत्रा मान्छे, तल त पाङ्ग्राले हिँड्यो यो माथि केले हिँडेछ भन्नी सोच। कहिले हवाई जहाज चड्न पाए आहा! हवाई जहाजको पाइलट हुनुपर्छ कि भन्नी सोच आउने तर पढाइ देख्दा लाजै मर्दो। जेनतेन गरी एसएलसी पास गरेँ, राम्रै भयो।
एसएलसी पास हुँदा एकदमै खुसी म तर अब आयो उच्च शिक्षा केमा? विज्ञान कि कमर्स। लौ पढ्ने त विज्ञान हो भनेर सुरु गरेँ, रमाइलो नै थियो अनि आए त्यही बीचमा हावासँग बहकिँदै इच्छा र आकांक्षाहरुर। लागेँ त्यसैमा।
ओहो! सौन्दर्य कार्यक्रममा पसियो अब त बसि-बसि सबैले चिन्छन, कहीकतै जानु नै पर्दैन भन्ने उट्पट्याङ सोच आयो। लौ विस्तारै उच्च शिक्षा पनि पार गरियो। गर्न त गरियो त्यसपछि के नि?
२०७४ सालको कुरा हो, बृजकोर्स पढ्ने भनेर साथी र म हुइँकियौँ रात्री बसमा काठमाडौं सहरतिर। याद आयो पुरुषोत्तम न्यौपानेको गीत- मौरी घुम्यो फूलको रसैमा, आज मुग्लिन झरौ भोलि त बसमा सरर बुटवल हुँदै तुल्सिपुरैमा...।' तर म त मुग्लिन नझरी सिधैँ काठमाडौं जाँदै थिएँ, मेल खास्सै खाएन।
घरीघरी त गीत लेखेर गाइदिउँ गाइदिउँ लाग्ने। फेरि स्वर कागको जस्तो। त्यो पनि सोचाइ मात्र। पुगियो काठमाडौं, त्यो त अवसरै अवसर भएको सहर तर अवसरभन्दा बेसी अवसरवादी रैछन्। तानातान र हानाहान। बानेश्वरदेखि पुतलिसडक हिँड्दै पढ्न जाँदा अनेक देख्न पाइने।
अझ पुतलीसडकबाट तल आएपछि त झन् बिहेका जन्ती सरी मानिसको भिड पार्टीको झण्डा बोकेर, फलानो निर्णय फिर्ता गर, दोषीलाई कारबाही गर, फलानो मन्त्रीले राजिनामा दे, यस्तै-यस्तै।
घरी-घरी त राजनीति गरिदिउँ कि नि लग्यो तर भयो नगर्ने, यस्तो गरेर आफ्नो सानो देखिका रहर र सपना टुटाउन मन थिएन। तर साँच्चै मेरो सपना खास के हो? काठमाडौंमा पनि मेरो सपना के हो त नि जस्तो लाग्यो तर मन सोचमा खुम्चिएन, दुर्गन्धित काठमाडौंमा मेरो मन स्वच्छ तवरले उडिरहेको थियो।
अरुलाई होम सिक्नेस हुन्थ्यो, मलाई रमाइलो लाग्थ्यो। कृषि पढ्छु भनेर तयारी गरियो, प्रवेश परीक्षा दिएँ, नाम निस्केन। अब अन्योल सुरु भयो, पोखरा आएर एकदिन पत्रिकामा बाबाले देखाउनु भयो 'ल ईन्जिनियर गर्, छात्रवृत्ति दिने रैछ के हो ट्रस्टले' भनेर गएँ काठमाडौं प्रवेश परीक्षा दिन अनि त्यतैबाट वन विज्ञानको परीक्षा दिन भनी हेटौँडा पुगेँ।
ईन्जिनियरमा नाम पक्कै निस्किन्न भनेर हेटौँडाबाट पोखरा आएँ। नारायणघाटको रातभरिको जाम पार गर्दै बिहानी पख। घरमा के टेकेको थिएँ, बाबाले 'किन पोखरा आएको? अन्तर्वार्ताको लागि काठमाडौँ जानुपर्ने' भन्नु भयो लौ बर्बाद अब! त्यसताका सानो दिदी यति एयरलाइन्समा काम गर्ने हुनाले 'ल तत्काल टिकट चाहियो' भनेर भन्नु भयो बाबाले, मन त मेरो फुरुंग भयो।
उतिबेलै १० मिनेटमा टिकटको बन्दोबस्त भयो र साथीलाई लिएर गएँ एयरपोर्ट पोखरा विमानस्थल। मलाई अन्तर्वार्ताको चिन्ताभन्दा सानोदेखि हवाई जहाज चढ्ने सपना पूरा हुन लाग्दै छ भनेर मन मोहित उमंगीत थियो। पहिलो पटक जहाज चड्दै थिएँ, के कसो केही थाहा थिएन।
सुनेको थिएँ जहाजमा त मिठो-मिठो खानेकुरा दिन्छन् भनेर, सोचेँ फलानो-फलानो चिज दिए हुनि नि भनेर। त्यत्तिकैमा सुरक्षा जाँच भयो र बोर्डिङको लागि मानिसहरु लामबद्ध रुपमा बसे। म त कता छुट्छ भनेर अगाडि-अगाडि गएँ।
ओहो! जहाजको आवाज त कति ठूलो हुनि रैछ कान नै नसुनिने, जहाजको भर्याङ पुगेपछि हरियो पोसाक मिलाएर लगाएकी भर्खरकी महिलाले नमस्ते गरिन्। मैले नि नमस्ते फर्काएँ, उनी थिइन् त्यस जहाजकी एयर होस्टेस, यात्रुको सेवाको लागि।
सिट खोज्न समय लागेन, मन चङ्गासरि उडिरहेको थियो। सबै ढोकाहरु बन्द भए, एयरहोस्टेसले सुरक्षा सम्बन्धी सबै जानकारी दिएपछि जहाज हिँड्न पो थाल्यो, एक मनले यो हिँड्ने होकि उड्ने त्यही पनि यति सुस्त हिँडेर काठमाडौँ कहिले पुग्ने भन्नी प्रश्न आफैसँग गरेँ।
मेरो सिटैमा एक अर्धबैँसे महिला पनि थिइन्, लाग्थ्यो उनको यो पहिलो जहाज यात्रा हैन। मलाई त पेटी बाध्न पनि हम्मे-हम्मे पर्यो। बल्लतल्ल बाँधेँ। जहाज त एक्कासी हुइँकियो, कहाली लाग्न थाल्यो र आँखा बन्द गरेको त पेटमा काउकुती पो लाग्न थाल्यो। फेरि आँखा खोलेर झ्यालबाट यसो हेरेको त जहाज उडिराखेको रैछ।
बल्ल आफैले उत्तर पाएँ, उड्नको लागि नै अघि गति लिएर दौडिएको रहेछ। एयरहोस्टेसले थर्मस र कप लिएर आइन्। मैले कफी दिनु भनेँ। कप हातमा दिइन्, स्वाल्ल पानी खन्याइदिइन् र दुई वटा प्याकेट दिइन्। यसो हेरेको चिनी र कफी रहेछ।
अब त्यो कप कता राख्ने भन्ने अन्योल पर्यो र दुईवटा साप्राले कप अड्याउन थालेँ। मैले के कप त्यसरी राखेको थिएँ सिट छेउकी ती महिलाले मेरो अगाडि भएको एउटा अंकुशे घुमाइन्। त्यहाँबाट त्यही जोडिएको एउटा प्लास्टिकको टेबल जस्तो पातो निस्कियो। म त रातो पिरो भएँ।
जहाज चड्ने म त्यति नि थाहा भएन भन्दै आफैले आफैलाई भनेँ। लाज लाग्यो। कफी पिएपछि तिनै एयरहोस्टेसले गिलास र फोहोर लगिन, मैले आफैले त्यो टेबल बन्द गरेँ। करिब पन्ध्र मिनेट भएको थियो, जहाज उडेको फेरि झ्यालबाट बहिर नियाले ओहो! कति सुन्दर हिमश्रृंखला लाम्बद्ध रुपमा मिलेर बसेका हिमाल अनि सेताम्मे हिउँ।
लाग्यो म नि त्यही हिमाल सम्बन्धी पढ्न पाए कति रमाइलो हुन्थ्यो होला। तरंगीत सपना बुन्दै यही हिमालको पढाइ पढ्न पाए भन्दै गर्दा जहाज त गुईअ गर्दै धसारिए जस्तो भयो। के भयो भनेर हेरेको जहाज त काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भैसकेछ।
विस्तारै जहाजबाट ओर्लिएर बसमा चढी टर्मिनल भवन तिर जाँदै गर्दा त्यहाँ त अन्तर्राष्ट्रिय निकायमा उड्ने ठूला-ठूला जहाज देखेँ। म पोखरादेखि आएको जहाज त सानो एकदमै सानो रैछ। त्यतिकैमा टर्मिनल भवनबाट निस्किएर साझा यातायातको बसमा चढेँ। बस गुड्यो मेरो ठूलो जहाज चढ्ने सोचसँगै तीनकुने तिर।
त्यस्तै तरङ्गित तरङ्गहरुसँगै पुगेँ अन्तर्वार्ता दिने ठाउँमा। विभिन्न प्रश्नहरु सोधियो जाने बुझेको उत्तर पनि दिएँ। ल भोलि गएर रकम बुझाई भर्ना गर भन्नु भयो तर एकमनमा हैन मैले ईन्जिनियर पढ्न त पढ्ने तर पढ्न सक्छु? पढ्न त पढ्ने तर पढिसकेपछि गर्ने के?
ईन्जिनियरिङ पछिको त मेरो दिमागमा केही छैन। सोच्दै तीनकुने नजिकको होटलमा बास बस्न पुगेँ। त्यहाँ नि गहिरो सोचाइमा परेँ, पारिवारिक सल्लाह भयो। त्यत्तिकैमा बाबाले फोनमा 'पोखरामा त पर्वतीय पर्यटन व्यवस्थापन सुरु भएछ, जनप्रिय बहुमुखी क्याम्पसमा कि त्यही पढ्ने हो?'
म त खुसी भएँ। अघि जहाजमा जे पढ्न पाए हुन्थ्यो भनेर सोचेको थिएँ, त्यही पढाइ सुरु हुँदै रहेछ। त्यही पढ्छु भनेर सोचेँ तर एक मनले दुखित थिएँ। त्यत्रो खर्च गरेर आएँ, नाम नि निस्कियो, भर्ना गर्नी बेला सबैले ओहो गर्ने ईन्जिनियरिङ छोड्दै थिएँ।
हुन्छ त्यही पढ्छु भनेर भोलिपल्ट खुसीसाथ पोखरा फर्किएँ। जनप्रियमा गएर प्रवेश परीक्षा पनि दिएँ। नाम निस्कियो, भर्ना भएँ। अन्तर्वार्तामा सोधिएको थियो 'किन रोज्यौ यो पढाइ?'
मैले सानैदेखि तरङ्गित हुने मेरो सोचाइहरुदेखि केही दिन अगाडि हिमालको मनमोहक दृश्यको प्रलोभनमा परेको बताएँ। 'ईन्जिनियर पढ्न नाम निस्किँदा पनि त्यताभन्द बढी पोखरामै यो पढाइ सुरु हुँदै छ भन्नी सुनेपछि यता नै तानिएँ, नौलो विषय नौलो अनुभव, त्यहीमाथि नेपाल त झन् हिमालै हिमालको देश निकै नै अवसर हुनेछ यो क्षेत्रमा। त्यसैले केही नसोची आएँ पोखरा काठमाडौंदेखि।'
मलाई भर्ना हुने क्रममा धेरै कुराहरु भनिएका थिए, खोज अनुसन्धान पनि गर्नु पर्ने रे, फिल्ड पनि जानु पर्छ रे। आहा! सुन्दै आनन्दित भएँ म, खोजेकै यही हो। नयाँ कुरा नयाँ काम गर्ने केही भिन्न गर्ने, झन् नेपालकै पहिलो ब्याच मन एकदमै खुसी लाग्यो। जीवनको १८/१९ हिउँद कटाएपछि केही भिन्न त गरिने भयो भन्ने लाग्यो।
यो अवसर गुमाउने भन्ने म सपनामा पनि सोच्न सक्दिन थिएँ। त्यसैले लागेँ त्यही अवसरको भरपूर सदुपयोग गर्नतर्फ। अवसर आफूले नै खोज्ने रहेछ, पाइला-पाइलामा अवसर छन्। त्यसलाई आफूले चिन्न सक्नु पर्ने रहेछ। यसरी नै मेरो सुरु भयो हवाई जहाजसँग मेरो स्नातक तह (पर्वतीय पर्यटन व्यवस्थापन) को यात्रा।