वि.सं. २००७ सालमा रेडियो नेपालको स्थापना विराटनगरमा हुँदा त्यस समयमा बजाइएका नेपाली गीत प्राय: कलकत्तामा रेकर्ड गरिएको हुन्थ्यो भन्ने मैले सुनेको थिएँ। मलाई सम्झना भएसम्म नातिकाजी दाइले 'पहाड बसी वनमा खेली हुर्केको अकेली' बोलको गीत सन् १९५३ सालमा कलकत्ताको स्टुडियोमा रेकर्ड गर्नु भएको थियो। रेडियो नेपालमा वि.सं. २०२३ साल अगाडि रेकर्डिङको सुविधा थिएन।
मभन्दा अग्रज मास्टर रत्नदास प्रकाश, हरि प्रसाद रिमाल, भैरव बहादुर थापा, नातिकाजी, शिवशंकर, कोइलीदेवी, तारादेवी, पुष्प नेपाली उहाँहरू रेडियो नेपालमा जागिरे हुनुहुन्थ्यो। तर गीत रेकर्ड लागि उहाँहरू पनि कलकत्तामा नै पुग्ने गर्नुहुन्थ्यो।
त्यस समयमा कलकत्तामा गीत रेकर्ड गर्न जान त्यति सहज भने थिएन। कलकत्ता पुगेर गीत रेकर्ड गर्न आवश्यक सम्पूर्ण खर्च गायक आफैं व्यहोर्नु पर्थ्यो। त्यसैले गीत रेकर्डको लागि जाँदा नेपालबाट आफूबाहेक गीतको लागि आवश्यक वाद्य–वादकहरू पनि आफूसँगै लैजाने सम्भावना निकै कम हुने गर्दथ्यो। कलकत्ताको सबभन्दा पुरानो हिन्दुस्तान रेकर्ड कम्पनी थियो जहाँ सुरू सुरूका दिनमा भारतीय चललिचत्रका गीतहरू रेकर्ड हुने गर्थे।
नेपालबाट त्यता पुग्ने त्यस बखतका अधिकांश गायक कलाकार सोही स्टुडियोमा त्यहीका वाद्य वादकहरू प्रयोग गर्ने गर्थे।
नेपालबाट वाद्य वादक उता लैजान नसकिने र रेकर्ड कम्पनीले गीतको लागि वाद्य वादक त्यही नै बन्दोबस्त गरिदिने चलन भएकोले विशेष गरी नेपाली मौलिक बाजाहरू त्यस समयका नेपाली गीतहरूमा प्रयोग नै भएन।
म रेडियोमा वि.सं. २००९ सालमा स्वर परीक्षा 'क' श्रेणीमा पास भएदेखि रेडियोमा गाउन थालेको थिएँ।
म घरमा गाउँदा हार्मोनियम बजाएर गाउँथे भने आमाले तबला सिकाइ दिनु भएकोले गर्दा म तबला ठिकै बजाउँथें। घरमा आमाले हार्मोनियम बजाएर गाउनु हुँदा म तबला बजाउँथे भने वाद्य शिरोमणी गुरु गणेशलाल श्रेष्ठ जीले सितारको अभ्यास गर्नु हुँदा म तबला बजाउँथें।
तबलाको साथ-साथै मलाई हाम्रो आफ्नै मौलिक बाजा मादल पनि साह्रै मन पर्थ्यो। तबला बजाउन सक्ने व्यक्तिले मादल सजिलै बजाउन सक्छ। म पनि मादल बजाउँथें।
मैले अलि सानो आकारको मादल किनेर आफूसँग राखेको थिएँ। पछि गितार पनि सिकें। सुरूआतदेखि नै म आफ्नो गीतमा आफैं संगीत राख्ने गर्थें। यसरी आफूले संगीत राख्दा गीतलाई कसरी मिठासपूर्ण बनाउन सकिन्छ भन्ने प्रयास गर्थें। गीतको शब्दमा मात्रै होइन संगीत पक्ष राम्रो भए गीत अझ मिठासपूर्ण हुन्छ।
सन् १९६२ देखि म प्रत्येक वर्ष गीत रेकर्डको लागि कलकत्तास्थित हिन्दुस्तान रेकर्ड कम्पनी (एचआरसी) एक्लै जान थालें। जाने बेलामा आफूसँग साथमा नेपालमा किनेको त्यो सानो आकारको मादल र गितार पनि सँगै लैजाने गर्थें। आफूले गीतमा संगीत राख्थें। आधुनिक गीतमा मौलिकताको मिठास होस् भन्ने चाहन्थें। त्यसैले गीतमा लय राख्दा यस कुरालाई ध्यान दिने गर्थें।
गीतमा मादलको प्रयोग गर्न पाए आधुनिक गीतमा नौलोपनको साथै आधुनिक गीत अझ राम्रो हुन्छ जस्तो लागेर नै मादल आफूसँग लैजाने गर्न थालें। मलाई जानकारी भएसम्म म भन्दा अग्रज कसैले पनि त्यस समयमा यसरी नेपालबाट मादल कलकत्ता लगेर आफ्नो गीतमा प्रयोग गरेको थाहा भएन।
गितारमा गीतको अभ्यास गर्ने भएकोले लैजाने गरेको हुँ र आवश्यक परेको बेलामा मेरा केही गीतमा आफैं गाउँदै गितार पनि बजाएर गीत रेकर्ड गरेको छु तर गितार जस्तो मादललाई गाउने व्यक्तिले गीत पनि गाउँदै मादल पनि आफैं बजाउन भने त्यस समयमा सम्भव भएन किनभने वाद्यवादक र गायकको लागि एउटैमात्र माइक प्रयोग हुने गर्दथ्यो।
उक्त एउटा माइकलाई वाद्यवादकहरू र गाउने गायक कलाकारहरूका बीचमा राखिन्थ्यो। लाइभ रेकर्ड गर्नुपर्ने भएकोले वाद्यवादक र गायक कलाकारहरू कसैको पनि सानो गल्ती भए फेरि सुरूदेखि गर्नुपर्ने भएकोले हामी बडो सजक हुने गर्दथ्यौं।
मैले आफ्नो गीतमा मादलको प्रयोग गर्छु भनेर आफ्नो साथमा मादल त लगें तर समस्या आइपर्यो। आफैं मादल बजाएर गाउन नमिल्ने उताका वाद्यवादकहरूलाई मादल बजाउन नआउने। त्यसैले मैले जो तबला वादक थिए, उसलाई मादल बजाउन लगाउने विचार गरेर म तबला बजाउने व्यक्तिलाई नै आफ्नो गीतको यहाँ–यहाँ यसरी मादल बजाइदिनु भनेर उसलाई सिकाएँ।
तबलामा निपूर्ण ती व्यक्तिहरू केही समयको अभ्यासमा नै मैले जसरी नै मादल दुरुस्त बजाए। यसरी मैले सन् १९६२ देखिका आफ्ना गीतमा मादल प्रयोग गरें। नेपाली मात्र नभई त्यस समयमा रेकर्ड गरेको नेपाल भाषाको गीतमा पनि उसैगरी मादलको प्रयोग गरेको छु।
ती गीतहरू 'माया नमार मायालु', 'पारी देखि जुनकिरीले', 'तिमीले त्यो लाएको फूल', 'मुहारलाई पछ्यौरीले लुकाई नराखे', 'वछु गल्ली', 'वारी मथ्य', 'राजामती' गरी नेपाली तथा नेपालभाषाका गीतहरूमा यसरी नै सिकाएर मादलको प्रयोग गरेको हुँ।
पछि जब सन् १९६९ नोभेम्बर १५ मा तत्कालीन बम्बेमा ८ महिना बसें। अफिसबाट १ वर्षको अध्ययन बिदा मिलाएर गएको थिएँ। मलाई भारतमा सुगम संगीतको अध्ययनदेखि हिन्दी चलचित्रमा कसरी पाश्र्य संगीत र पाश्र्य गायन गरिन्छ? त्यसबारे विस्तृत रूपमा अध्ययन गर्न मनले म भारतको बम्बेमा पुगेको थिएँ।
सधैंजसो कलकत्तामा झैं बम्बेमा पनि आफूसँग केही गीतमा संगीत राखी तयार गरी लगेको थिएँ। साथमा गितार र मादल पनि लगेको थिएँ।
त्यसै समयमा भारतको पोलिडोर कम्पनीमा दश वटा गीत रेकर्ड गर्ने अवसर मिल्यो। त्यहाँ पुगेर थाहा भयो कि म नै नेपालबाट बम्बेस्थित पोलिडोर कम्पनीमा रेकर्ड गर्न पुग्ने पहिलो नेपाली गायक रहेछु।
भारत र जर्मन सहकार्यमा स्थापना भएको पोलिडोर कम्पनीमा गीत रेकर्ड गर्न भने सजिलै नपाइने रहेछ। गीत रेकर्ड गर्नको लागि सबैले पोलिडोर कम्पनीमा स्वर परीक्षा दिनुपर्दो रहेछ। त्यसैले ममात्र होइन जो जो पोलिडोर कम्पनीमा एल.पी. रेकर्ड गर्न चाहन्छ पहिले कम्पनीमा स्वर परीक्षा दिँदा रहेछन्। मैले पनि दिएँ। स्वर परीक्षामा उत्तीर्ण भएपछि मलाई पोलिडोर कम्पनीले गीत रेकर्डको लागि सन् १९७० जुन १ र २ तारिखमा दुई दिनको गीत रेकर्ड गर्ने समय दिए।
मैले आफैंले संगीत राखेर दश वटा गीत तयार पारिराखेको थिएँ। त्यसैले म ढुक्क भएँ।
रेकर्डिङको समय त पाएँ तर मेरो गीतका मुख्य संगीत संयोजक मनोहरी सिंह जी नेपाली हुनुहुन्थ्यो। मलाई औधी माया गर्नु हुने त्यस बेलामा उहाँ अति व्यस्त भारतीय संगीतकार आर.डी. वर्मनको संगीत सहायक हुनुहुन्थ्यो। दिउँसो मनोहरी जीले नभ्याउने भएकोले उहाँले रातिको समय लिने सुझाव दिनुभयो। उहाँको सुझाव अनुसार साँझ ६ बजेदेखि राति ११ बजेसम्मको समय लिएँ।
वाद्यवादक मुख्य गरी मनोहरी सिंह जीले संगीत संयोजनका साथ साथै इङ्लिस फ्लुट, सैक्सोफोन, बजाइ दिनुभयो। उहाँ सैक्सोफोन बजाउने त्यस समयमा एसियामै उत्कृष्ट हुनुहुन्थ्यो। त्यसैगरी भुपेन्द्र सिंह जीजो पाश्र्य गायनमा मुख्य गरी गजल गायक हुनुहुन्थ्यो। त्यसबेला उहाँ गायनका साथ–साथै गितार पनि बजाउनुहुन्थ्यो। इलेक्ट्रिक, होलो, गितार दुवैमा उहाँ साह्रै निपूर्ण हुनुहुन्थ्यो। मसँग राम्रो परिचय भएकोले गर्दा भूपेन्द्र जीले दश वटा गीतमा नै गितार बजाइ दिनुभयो।
यसैगरी अर्का व्यक्ति चरणजित सिंह, उहाँ सन् १९६० देखि नै भारतीय प्रख्यात संगीतकार शंकर–जयकिसनदेखि आर.डी. वर्मनसम्मका संगीतकारका गीतमा एकोड्रियन बजाउनुहुन्थ्यो। उहाँ त्यस समयमा नामुद एकोड्रियन हुनुहुन्थ्यो। बम्बेमा रहँदा राम्रो मित्रता रहेकोले उहाँले पनि मेरो दश वटा गीतमा एकोड्रियन बजाइ दिनुभयो।
त्यस्तै, चौथो वाद्यवादक होमियो नामका हुनुहुन्थ्यो। उहाँ पनि आर.डी. वर्मनका एक प्रमुख रिदमिष्ट हुनुहुन्थ्यो। कंगो, बंगो बजाउने उहाँ रिदम इफेक्ट गर्नुहुन्थ्यो। एक जना सानो किशोरले रिदम इफेक्टको लागि मोराकस बजाएर साथ दिए।
यसरी मेरो गीत रेकर्डको लागि मुख्य मुख्य वादकहरू त पुगे। दशवटा गीतमा नै मेरो आफ्नै संगीत थिए। त्यसैले म कलकत्तामा झैं केही गीतमा मादलको प्रयोग गर्ने विचारले नेपालबाट आफूसँग मादल लिएर आएको थिए। यहाँ पनि परिस्थिति कलकत्तामा जस्तो भयो। मादल आफैंले बजाएर गाउन नमिल्ने, लाइभ रेकर्ड हुने त्यस समयसम्म ट्रयाक सिस्टम आइसकेको थिएन। कलकत्तामा मादल बजाउन सिकाएर गीतमा प्रयोग गर्थें तर यस पटक तबला वादकको सट्टामा कंगो, बंगोको प्रयोग गरेको भएर उसले मादल बजाउन दिने कुरै भएन।
यसभन्दा अगाडि सन् १९७० जून महिनाभन्दा अघि सन् १९६५ मा नेपाली चलचित्र ‘माइतीघर’ को लोक गीतको लागि मादल प्रयोग गरिएको थियो त्यसको लागि मादल बजाउने हर्ष नामका मादल वादकलाई रेडियो नेपालबाट नै लगिएको थियो। उनी काम सकेपछि नेपाल नै फर्किहाले। त्यसयता बम्बेमा अरु कोही नेपाली गायक पुगेर कुनै नेपाली गीत रेकर्ड भएको थिएन।
यो पटक त म एक्लै पुगेको थिएँ। मादल त सँगै लगें तर आफैंले बजाउन नमिलेपछि मलाई मादल बजाउन सक्ने व्यक्तिको खाँचो पर्यो अनि म र मेरो मित्र, ज्ञान प्रकाश मान्छे खोज्न थाल्यौं तर कोही भेटिएनन्।
त्यस समयमा बम्बेमा नेपाली विद्यार्थीहरू विभिन्न विषयमा अध्ययन गर्दथे। ती नेपाली विद्यार्थीहरू प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको दिनमा आफूहरू अध्ययनरत विश्वविद्यालयमा नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गर्थे। म पनि एक पटक नेपाली विद्यार्थीले आयोजना गरेका ती कार्यक्रममा गीत गाउन पुगेको थिएँ। त्यसकारण त्यहाँका नेपाली विद्यार्थीहरूबीच परिचित हुन पुगेको थिएँ।
मलाई लाग्यो त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीमध्ये कसैलाई त मादल बजाउन आउँछ होला भनी नेपाली विद्यार्थी बस्ने ठाउँमा सोध्न पुगें। सोध्दा थाहा भयो एक जना नेपाली विद्यार्थी राम्रो मादल बजाउन सक्ने रहेछ। यो कुरा थाहा पाएपछि उनलाई भेट्न उनी बस्ने ठाउँमा साथी ज्ञान प्रकाशसहित पुगें।
ती नेपाली विद्यार्थी वर्त्स गोपाल वैद्य थिए। उनी बम्बेमा चित्रकला विषयमा अध्ययन गर्दै थिए। उनलाई भेट्न पुगें। मैले आफू आउनको कारण बताए र मादल बजाइदिनु हुन्छ कि भनेर अनुरोध गरे।
ती भर्खर २४/२५ वर्षका विद्यार्थी वर्त्स गोपाल तुरुन्तै खुसी साथ राजी भए। उनले आफूसँगै भएको मादल बजाएर सुनाए। राम्रो मादल बजाउन सक्ने देखेर म त दङ्ग परें। मैले आफ्नो दश वटा गीतमध्ये जुन गीतमा मादल बजाउने हो त्यसबारेमा जानकारी दिई उनलाई रेकर्डिङको तारिख जून १ र २ बताएर म र साथी फर्क्यौं।
उनी समयमा नै आए। साँझ रेकर्डिङ थियो साँझ ६ बजेदेखि राति ११ सम्म उनले दुवै दिनसम्म राति ११ बजेसम्म बसेर मादल बजाइदिए। यसपटक मैले सिकाउनु परेन किनभने उनी आफैं राम्रो मादल बजाउँथे।
वर्त्स गोपालले सन् १९७० सालमा मादल बजाएका गीतहरू:
१. घुम्तीमा नआऊ है
२. आइ जाउन छहारि निर
३. गुलाफी घुम्टो
४. मिरमिरे उषामा
५. लाग्दछ मन
६. तोरी फुल्यो
यसरी दश वटा मध्ये ६ वटा गीतमा उनले मादल बजाइदिए। दुई दिनमा जम्मा दश घण्टाको समय अवधि पाएको थिएँ। दश घण्टामा १० वटा गीत लाइभ रेकर्ड गर्न सकियो।
रेकर्डिङ सकेपछि मलगायत मनोहरि सिंह जी सबै जना खुसी भयौं। म भित्री मनदेखि साह्रै खुसी थिएँ। आफूसँग भएको सीमित खर्चबाट मैले यसरी एल.पी. रेकर्ड गरेको थिएँ।
यसरी त्यहाँ एक जना नेपाली गायकले १० घण्टामा १० वटा गीत रेकर्ड गर्यो भनेर निकै हल्ला चलेछ। मलाई पोलिडार कम्पनीमा यसरी एल.पी. रेकर्ड गर्नेमा सुरूआत देखि नै मनोहरि सिंह जीले निकै साथ दिनु भएको थियो। उनले मलाई 'प्रेमध्वज जी तपाईंको गीत एकदम राम्रो लाग्यो म यो गीतको एल.पी रेकर्ड आर.डी. वर्मन जीलाई दिन्छु। यसमा राम्रो लागेको केही स्टाइल लिएमा तपाईंलाई केही फरक त पर्दैन?' भनेर सोधे।
म मनोहरि जी प्रति निकै आभारी थिएँ। मलाई निकै माया गर्ने उनले भनेको कुरा म नाइँ भन्ने कुरै थिएन खुसी साथ हुन्छ भनेर म नेपाल फर्कें।
त्यस समयसम्म आर.डी. वर्मनका गीतमा मादलको प्रयोग भएको थिएन। म नेपाल १९७० अन्त्यतिर फर्केको। सन् १९७२ तिर आर.डि. वर्मनका संगीतका गीतहरूमा मादलका प्रयोग सुने भारतीय चर्चित भारतीय संगीतकार आर.डी. वर्मन प्रयोगात्मक संगीतकारको रूपमा परिचित छन्। उनी आफ्नो संगीतमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउँछन्। यो संयोग हो या के हो मलाई थाहा भएन तर मेरो गीतमा मादल प्रयोग भएपछि मात्रै मैले उनले संगीतबद्ध गरेका गीतमा मादल प्रयोग भएको सुनेको सुनें। मलाई सुनेर खुसी लाग्यो। नेपाली मौलिक बाजा मादल भारतीय चर्चित गीतमा समेत प्रयोग भयो यो खुसीको कुरा हो।
यति भन्नु भएपछि प्रेमध्वज मामा चुप लाग्नु भयो। मलाई भने मनमा झन् एउटा जिज्ञासा लागि रह्यो।
प्रेमध्वज मामालाई सोधें- अरु त वाद्यवादकहरू सब व्यवसायिक वादक थिए। जसले मामाको गीतमा बम्बेमा सम्भवत पहिलो पटक मादल बजाइ दिए ती नेपाली विद्यार्थी वर्त्स गोपाल थिए। मामा नेपालमा फर्कनु भएपछि भेट भयो ? अनि आफ्नो गीतमा मादल बजाइ दिए वापत तपाईंले पारिश्रमिक दिनुभयो भनी सोधें – मेरो प्रश्नहरू सुन्ने बित्तिकै मामा उत्साहित हुँदै भन्नुभयो।
'अँ ! भेटे। उनी निकै राम्रो चित्रकारको रूपमा परिचित छन्। माइतीघर मण्डलाका मण्डला निर्माणकर्ता प्रसिद्ध चित्रकार वर्त्स गोपाल वैध उनै नेपाली विद्यार्थी हुन जसले बम्बेमा मेरो गीतमा बजाइदिएँ। नेपाल फर्केपछि चित्रकला प्रदर्शनमा उनीसँग भेटघाट भई राख्थ्यो।
यो कुरा सुनिसकेपछि मैले मलाई उनीबारे जान्न थप उत्सुकता जाग्यो र प्रेमध्वज मामालाई सोधें- तपाईंले हालसाल भेट्नु भएको छ मामा ?
मामाले भन्नुभयो- उनी नेपालका एक प्रतिष्ठित अतिव्यस्त चित्रकार हुन्। भेट नभएको धेरै भयो। फोन नं. छैन नत्र कुरा गर्नु हुन्थ्यो।
यो सुन्ने बित्तिकै मैले उनका छोराको माध्यमबाट फोनमा सम्पर्क गर्न सकिन्छ होला कि भनि सुझाएँ।
नभन्दै प्रेमध्वज मामाले उहाँको छोरा अनिश गोपाल वैद्यमार्फत वर्त्स गोपालसँग बेलुकी फोनमा भेट भयो।
म अगाडि उभिएर उहाँहरूको कुरा सुनिरहे। लामो समयपछि भेट भएको उहाँहरू दुवै जना अत्यन्त खुसी हुनुभयो। मामाले कुराको सन्दर्भमा मेरो जिज्ञासा शान्त पार्न सोध्नुभयो। लगभग ५१ वर्षअघि तपाईंले मेरो गीतमा मादल बजाइ दिनुभएको थियो। उहाँले आफूलाई याद रहेको भन्दै ५१ वर्ष अघिको सम्झना ताजै छ भन्नु भएछ। मामाले स्मरण गर्दै सोध्नुभयो- मलाई याद भएसम्म मैले तपाईंलाई मादल बजाइदिनु भएवापत कुनै पारिश्रमिक दिइनँ जस्तो लाग्यो। ओहो ! मैले त्यस समयमा याद नै गरेको रहेनछु।'
यो सुन्ने बित्तिकै वर्त्स गोपालले- होइन, होइन तपाईं दुःख नमान्नुस् प्रेमध्वज जी। तपाईंले मलाई आफ्नो गीतको एल.पी. रेकर्ड दिनु भएको थियो भन्नु हुँदै कुरा गरिरहनु भयो।
यो सबै सुनिरहेको म प्रतिक्रियाविहीन भएँ र एउटा कुरा सम्झेर भने अत्यन्त खुसी भएँ। ५१ वर्षअघि १९७० मा जुन सानो आकारको मादल प्रेमध्वज मामाले आफ्नो गीतमा प्रयोग गर्ने गर्नु हुन्थ्यो, त्यही मादल मामाले मलाई पनि बजाउन सिकाइ दिनुभएको थियो। सुखद संयोग!
(मामाले नेपाली संगीतमा मादलको प्रयोग गर्नुभएको अनुभव साट्नको लागि यो लेख तयार पारेको हुँ।)