लकडाउनपछि घरमै थन्किन परेको नि १५० दिन बढी भएछ। थन्किन परेको! हुन त थन्किन परेको के भन्नु, अक्सर कलेज खुल्दाका सामान्य दिनहरु पनि त केही घन्टा कलेज त्यसपछि थन्किएरै बितेका त हुन्। कलेजको केही समयपछि फेरि त्यही सुनसान भित्तासँगको मनोवाद त दैनिकी जस्तै बनिसकेको थियो।
बचेको समय बिना उपलब्धी, बिना अध्ययनको प्रयोगात्मक फाइल सार्न अनि दुनियाँका तस्बिरमा मात्रै खुसी अनुहार नियाल्न सामाजिक सन्जालमा रुमलिँदै बित्दै रहेछन्। मनभरि सपनाहरूको गह्रौ भारी र केही थान घरपरिवारको आफू माथिको विश्वासको भारी बोक्नु, तिनै सपनासँग शंकाको युद्ध लड्दै मस्तिष्कलाई भारी बनाउँदै प्रत्येक दिन तिनै सामाजिक सन्जालका भित्ताहरुमै रुमलिरहँदा त म कर्म गर्नै भुलेछु।
भुलेछु छलाङ मारेरै त कहीँ पुगिन्न, गन्तव्यमा पुग्न प्रत्येक खुड्किलाहरु पार गर्नै पर्छ भन्ने। लड्दै उठ्दै पाएका सफलताले दिने खुसीको स्वादको मिठास नै बेग्लै हुन्छ। काल्पनिक दुनियाँमा अल्झिएर, काल्पनिक दुनियाँमै मात्र रमाएर त कहीँ पुगिन्न रहेछ। सगरमाथाको उचाइ हासिल गर्न कैयौं पटक लड्दै, तिनै खुड्किलाहरुमा लडिबुडी गर्दै अघि बढ्न सिक्नुपर्छ।
परिस्थितिसँग आफूलाई भिजाउन जान्नेहरु जीवनरुपि दौडमा अब्बल कहलिन्छन् नै। मेरो पुस्ता कर्म नगरी सपना देख्न माहिर छ। सपना देख्दादेख्दै केवल सपना देख्नमै सीमित भएछौँ हामी। प्रविधि त पायौं तर प्रविधिसँगै फैलिन बिर्सेछौँ सायद। हातमा सेलफोन आँखाभरि संसार जित्ने आकांक्षा जीवनको उर्वर समय त अक्सर उपलब्धिहीन भएर सकिँदै रहेछ। मेरो मात्रै होइन, मेरा पुस्ताको कैयौँ बलिया खम्बाहरुका कहानी यस्तै नै हो।
एक पटकको हारमै मैदान छोड्ने मेरो पुस्तालाई स्मरण गराउन जरुरी छ कि चोट खाँदैमा त केबल ऐना टुट्ने गर्छ, आकृति त उस्तै रहन्छ। हामी अक्सर अरुका आलोचनाबाट डराउँछौँ। आफूलाई अरुले राम्रो भनिदिओस्, राम्रो देखिदिओस् चाहन्छौँ। त्यही चाहनाले गर्दा अक्सर आफ्नै क्षमतामाथि शंका गर्न हतासिन्छौँ।
आफैँले आफैँलाई विश्वास नगरे अरु कसले गरिदिने? स्वप्रेम अनि आत्मविश्वास दृढ भए कैयौँ कहालीलाग्दा गन्तव्यहरु सजिलै हासिल गर्न सकिँदा रहेछन्। मेरो पुस्तालाई असफलताको डर नपालिकन यात्रा थाल्न जरुरी छ।
अँ साँच्ची, प्रविधिसँगै हाम्रा खुसीहरु पनि साँघुरिँदै गएछन्। वर्षौं भएछ मेरो पुस्ताले सेलफोनेमै खुसी खोज्दै हिँडेको, आमा-बुवाका वचन बेवास्ता गर्दै हिँडेको। इन्टरनेटमै खुसी खोज्दै हिँडेको, इन्टरनेट नै सर्वश्व ठान्दै हिँडेको। सायद समय, प्रविधि अनि पुस्तासँगै खुसी तथा 'कन्टेनमेन्टको' परिभाषा फेरिँदो हो।
बालुवाका घर, मोजाका फुटबल, ढुंगाका छोराछोरीमै वजनदार खुसी भेट्ने मनलाई आज किन यति सकश मुस्कुराउने कारण भेट्न? गगनचुम्बी महल, मार्बलले नै पोतेको घर, रंगिबिरंगी सुन्दर रंगहरुले लाखौँ खर्चिएको घरमा किन त्यो पहिलेजस्तो माटोले चिनेको, खरले छाएको, गेरु चुनाले रंगाएका बेखर्चिलो घरमा जस्तो रौनक अनि खुसी छाउन नसकेको। भलै सुविधा थोरै थिए, अभावका बिच पनि मनहरु बेहिसाबले रमाएकै थिए।
आ-आफ्ना महत्वाकांक्षाका पछि भाग्दाभाग्दै यो भागदौडमा अल्झिँदा अल्झिँदै हामीले स-साना पलहरुले नै जीवनलाई खास बनाउँदा रहेछन् भन्ने भुलेछौँ। सायद भुलेछौँ भविष्य कल्पिँदा कल्पिँदै आजमा जिउन।
आजमा जिउन भुल्दाभुल्दै आज राज्यका कैयौं कर्णधार नैराश्यता, उदासिनताका शिकार बनेका छन्। बर्सेनी राष्ट्रका अमूल्य गहना मानसिक चिन्ताका शिकारका कारण ज्यान गुमाइरहेका छन्। सायद आफैँले आफैँलाई बेलैमा चिन्न सके, सोअनुसार आफैँलाई डोर्याउन सके मनलाई ओझेल पारेर जीवनको रथ हाक्न पर्दैनथ्यो होला।
आ-आफ्नै आत्मा खुसी राख्न नसके के काम त्यो भोलिको? हाम्रो शिक्षा प्रणाली र समाजले मेरा तथा म पछिका पुस्तालाई आज राम्रोसँग जिउन सिकाउन जरुरी छ। भोलिलाई उज्ज्वल बनाउन जति जरुरी छ आज मनमा बादल छाउन नदिन पनि उत्ति नै। ठूला उदेश्य हासिल गर्न जति जरुरी छ स-साना पललाई जीवन्त राखिरहन पनि उत्ति नै।
म चाहन्छु मेरो पुस्ताले समाजले तोकिदिएको सीमित परिधि भित्र रहेर मात्रै खुसी हुन जरुरी नठानोस्। जहाँ आनन्द मिल्छ त्यही बेहिसाबले रमाउन सिकून्। जहाँ मन रम्छ त्यहाँ कर्म गर्न नहिचकिचाउन्। मन र कर्मको दूरी फराकिलो नहोस्।