बालबालिकाहरू कथा भनेपछि हुरुक्कै हुन्छन्। छ वर्षे छोरीलाई मोबाइल र टिभीबाट भरसक बिमुख गराउनसँगै खेल्ने क्रममा अहिले कथाहरू पनि भन्ने गरेको छु।
'झुटो बोल्यो कि पोल्यो' जस्ता नीतिकथाहरु भनिसकेपछि पालो आयो लोककथाको। अनि मात्रै महसुस भयो महिला पात्रहरूलाई निरीहताको बिम्ब बनाएर ती रोमाञ्चक कथाहरूले कसरी छोरीहरूको आत्मविश्वासको हुर्मत लिँदा रहेछन्।
एक-दुई वटा चर्चित कथाहरूलाई फर्की हेरौँ त।
एक नम्बरमा आउँछ सुनकेशरीको कथा। सुनको केश भएकी अति सुन्दरी राजकुमारी सुनकेशरीको नदीमा नुहाउँदा एउटा केश हराएपछि केश भेट्टाएर ल्याउने मान्छेसँग उनको बिहे गराइदिने घोषणा हुन्छ। केश उनको आफ्नै दाजुले भेट्छन्। सुनकेशरीले पूर्वघोषणा मुताबिक दाजुसँग बिहे गर्न मान्ने कुरा त भएन तर राजाको घोषणा त्यसै खेर जान पनि दिन भएन।
राजपरिवार जसरी पनि बिहे गराइदिने मेलोमा लागेपछि सुनकेशरी विद्रोह गरेर निस्कन्छिन् र भाइसँग जंगलमा छाप्रो हालेर गाई पाल्ने पेसा गर्न पुग्छिन्। एकदिन शिकार खेल्न आएका अर्कै देशका राजकुमारले सुनकेशरीलाई देखेर मोहित हुन्छन्, उनीहरूको बिहे हुन्छ र अन्तमा सुनकेशरी फेरि दरबारिया बनेर खुसीसाथ रहन थाल्छिन्।
अर्को राजकुमार दिक्पालको कथा त हाम्रो पाठ्यक्रममै थियो। एकजना योगीको आशिकले नि:सन्तान राजदम्पतीको एक्लो सन्तानको रुपमा जन्मेका राजकुमार दिक्पाल किशोरावस्थामा योगीसँगै जंगलमै बस्न बाध्य हुन्छन्। तर कालीलाई बलि दिनको लागि आफूलाई तयार पार्दै गरेको थाहा पाएपछि उल्टै योगीको बध गरी त्यहाँबाट हिँड्छन्। बाटामा एउटा शहरै कब्जा गरी बसेका राक्षस गणलाई ध्वस्त गरेर मानव जातिमध्ये बचेकी एकमात्र राजकुमारीलाई लिएर दरबार फर्कन्छन्।
सौतेनी आमाको षड्यन्त्रले दरबारबाट गल्हत्याइएका शिशिर-वसन्तको कथामा पनि ती राजकुमारहरुले आफ्नो बुद्धि पराक्रमले कसरी फेरि राजा बन्छन् भन्ने रोचक कथा छ।
हिजोआज गाउँ-गाउँमै खुलेका अङ्रेजी माध्यमका विद्यालयहरूले आफ्नै छुट्टै पाठ्यक्रम पढाउने हुनाले विद्यार्थीहरू नेपाली लोककथाहरुबाट अलि बिमुख भएकोजस्तो देखिए पनि त्यहाँ समेत अङ्रेजी/अन्तर्राष्ट्रिय लोककथाहरू समावेश भएकै हुन्छन्। त्यसमध्ये सिन्ड्रेलाको कथा सबैभन्दा चर्चित कथा हो।
सौतेला दिदीबहिनीहरूको दमनमा परेकी दु:खी सिन्ड्रेला एकदिन एउटी परीको बरदानबाट प्राप्त सुन्दर कपडा र अनेक सौन्दर्य प्रसाधनले सजिएर राजकुमारको नजरमा परेपछि उनको दिन खुल्छ। उनको रूपमा मोहित भएका राजकुमारले उनीसँग बिहे गरेपछि उनी एकैचोटि दासीजस्तो स्थितिबाट दरबारिया बन्छिन् भने सौतेला दिदीबहिनीहरू हेर्या हेर्यै हुन्छन्।
हुनलाई यी सबै कथाहरू काल्पनिक हुन्। तर मनोवैज्ञानिक विश्लेषकहरूका अनुसार जति नै काल्पनिक भएपनि यी सबै कथाहरू पनि लोभ-लालच, आशा-निराशा, न्याय-अन्याय, सुख-दु:ख, सौर्य, धैर्य अनि डर र रोमाञ्चकता जस्ता हाम्रा स्वभाव, भोगाइ र भावनाहरूकै वरिपरि घुम्ने हुनाले तिनले सूक्ष्म रुपमा विस्तारै हाम्रो संसारलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने तरिकामा पनि व्यापक प्रभाव पार्दछन्।
लोककथाहरुले निश्चित स्वभाव, गुण र क्षमता निश्चित लिंग, वर्ण र जातजस्ता प्रवर्गका पात्रहरुमा चित्रण गर्ने भएकाले तिनीहरूले ती प्रवर्गहरूको खास बिम्ब निर्माण गर्ने गर्छन्। तिनै बिम्बहरू हुन् जस्को माध्यमबाट स्रोता, पाठक र विशेषगरी बालबालिकाहरूले आफू र आफ्नाहरूलाई हेर्ने आत्मछवि (सेल्फ इमेज) र विश्वास प्रणाली (बिलिफ सिस्टम) बनाउने गर्छन्।
लैङ्गिक दृष्टिकोणले हेर्दा माथिका लोककथाहरुले क्षमताको हिसाबले महिला र पुरुष असमान हुन्छन् भन्ने देखाएर महिला र पुरुषको फरक बिम्ब तयार गर्दछन्। ती सबै कथाहरुमा नायक पुरुष पात्रहरू नै छन्। शिशिर-वसन्त हुन् या राजकुमार दिक्पाल, आफ्ना जीवनमा भैपरि आएका समस्याहरू आफ्नै बुद्धि, वीरता र सौर्यले पन्साएका छन् र आफूमाथि भएका अन्याय विरुद्ध आफ्नै बर्कतले लडेका छन्।
उता महिला पात्रहरू भने नियतिका दास छन्, आफ्नै प्रयासले नभै अर्काको कृपाले मात्र यिनका जीवनका अप्ठ्यारा हटेका छन्, न्यायको मार्ग खुलेको छ। राजकुमार दिक्पाल योगीको मात्र हैन पूरा राक्षस गणको नै अन्त्य गर्न सक्ने, तर उनले पछि बिहे गरेकी राजकुमारीको जीवन भने उनलाई राक्षस गणबाट मारिनबाट बचाएकी एउटी बुढी राक्षसीको दयामा निहीत हुन्छ भने उनको मुक्ति पनि राजकुमार दिक्पालको अनुग्रहमा रहेको देखिन्छ।
जंगलमा दु:खी जिन्दगी बिताउन पुगेकी सुनकेशरीले पनि राजकुमारसँगको बिहेपछि मात्रै सुखी जीवन पाउँछिन्। ठ्याक्कै त्यस्तै सिन्ड्रेलाको दु:खबाट मुक्तिको द्वार पनि उनको आफ्नै प्रयास, संघर्ष र वीरताले गर्दा नभै परीको बरदान र राजकुमारको निगाहबाट नै खुल्छ।
एकपछि अर्को यस्ता कथाहरू पढ्दा र सुन्दा बालबालिकाले कस्तो सन्देश ग्रहण गर्लान्? पक्कै पनि पुरुषहरूमा जीवनका समस्याहरुसँग जुझ्न सक्ने सौर्य, बुद्धि र साहस हुने अनि महिलाहरूको चाहिँ समस्याबाट उम्कने चाबी आफैसँग नहुने, तर सहनशील र धैर्य भए एक दिन भाग्यबस दु:खबाट मुक्ति मिल्छ भन्ने लाग्दो हो।
माथि उल्लेखित 'पुरुष गुण' हरूको सम्बन्धमा त बालबालिकाहरूको धारणा विभिन्न अध्ययनहरूले पुष्टि पनि गरेका छन्। विश्व प्रतिष्ठित साइन्स जर्नलमा सन् २०१७ मा प्रकाशित एउटा अनुसन्धानले बालबालिकाहरूले छ वर्ष पुग्दा नपुग्दै बौद्धिक उत्कृष्टता सामान्यतय: पुरुषहरूमा नै निहीत हुन्छ भन्ने धारणा बनाउने देखायो।
त्यसैले तीव्र बुद्धि भएकाहरूको लागि मात्रै हो भनिएका वा मानिएका कृयाकलापहरूमा बालिकाहरू सहभागी हुन स्वत: हतोत्साहित हुँदारहेछन्। त्यस्तै 'चाइल्ड डेभलपमेन्ट' जर्नलमा प्रकाशित अर्को लेखले पत्ता लगाएअनुसार बालबालिकाहरू आमरूपमा वैज्ञानिक भनेको पुरुष नै हो भन्ने मान्दा रहेछन्।
आर्थिक सहयोग र विकास संगठन (ओइसिडी) को एक रिपोर्टको दाबी के छ भने बालबालिकाहरुले सानैमा बनाउने यस्ता धारणाले उनीहरुको पेसागत छनौट र वयस्क हुँदा अंगाल्ने पेसामा प्रत्यक्ष प्रभाव पार्छ। बृहत् तथ्यांकमा आधारित उक्त रिपोर्टले देखाएअनुसार विश्वविद्यालय स्तरमा ईञ्जिनियरिङ, भौतिक विज्ञान, कम्प्युटर विज्ञान, खगोल विज्ञान आदि अप्ठ्यारा मानिने विषयहरूबाट छात्राहरू उल्लेख्य रूपमा बिमुख हुन्छन्। परिणाम स्वरूप श्रम बजार पनि लैङ्गिक रूपमा प्रष्टै छुट्टिन्छ।
तर यो फरक छात्र र छात्राको बिचमा संज्ञानात्मक (कग्निटिभ) र बौद्धिक क्षमता धेरै र थोरै भएकोले नभै परिवारले छोरा र छोरीबाट गर्ने फरक अपेक्षा, विद्यालय स्तरमा सूक्ष्म रूपमा हुने मार्गदर्शन, बजारमा देखिने श्रम विभाजनको दृष्य आदिले समग्र रूपमा पार्ने उत्प्रेरणागत प्रभाव नै कारक रहेको उक्त अध्ययनको निष्कर्ष छ। यसरी हेर्दा लैङ्गिक भिन्नतालाई बृहत सामाजिक-आर्थिक प्रणालीद्वारा ऐतिहासिक रूपमा निर्मित र पोषित लैङ्गिक विभेदको सन्दर्भमा विश्लेषण गरिनु पर्छ।
हाम्रो जस्तो समाजमा गर्भदेखि नै छोरा र छोरीबिच सुरू हुने विभेद बच्चाको स्याहार, पोषण, स्वास्थ्यर शिक्षाको व्यवस्थापन जस्ता बाल विकासका हरेक चरणमा जारी रहन्छ। यस्ता आधारभूत विभेदलाई हटाउन वा कम गर्न सफल समाजहरूमा पनि महिलाहरूलाई प्रजनन र परिवार नियोजनको असमान भार पर्दछ, साथै बालबच्चाको स्याहार र घरको काम पनि ज्यादा नै गर्नु पर्दछ। फलस्वरूप पुरुषहरूको तुलनामा उनीहरूको वैयक्तिक विकासमा कठिनाईहरू बढी नै हुन्छन्।
ती सबैको सामना गरिसकेर पुरुषसँगै उभिएका महिलाहरूलाई पनि नजानिँदो हिसाबले भरसक उपेक्षा नै मिल्ने गर्छ। उदाहरणको लागि पश्चिमा प्राज्ञिक समाजमा महिला प्राध्यापक/वैज्ञानिकहरूको नवप्रबर्तन, विज्ञानमा नयाँ खोजको दाबी वा प्रस्तावना र उचित पदोन्नतिलाई समेत पुरुषहरूको तुलनामा हम्मेसी नपत्याइने त अनुसन्धानले नै देखाएको छ।
पूर्व-प्रधानन्यायधीश सुशिला कार्कीदेखि नोबेल पुरस्कार बिजेता प्राध्यापक एलिनोर ओस्ट्रमसम्मले महिला भएकै कारण पुरुष समकक्षीको दाँजोमा कैँयन पटक आफ्नो कार्यक्षमताको सही मूल्यांकन नभएको अनुभव रहेको कुरा व्यक्त गरेकै छन्।
सामाजिक सञ्जालमा हिजोआज योग्यतन्त्रको (मिथकको) खुब पैरबी हुने गरेको छ। महिलाहरू धेरै क्षेत्रमा पछि पर्नुमा महिलाहरूलाई सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा संकुचित बनाउने व्यवस्थित प्रणालीको नै मुख्यभूमिका हुन्छ भनिसकेपछि यहाँनेर उडन्ते कथाका साधारण बिम्बलाई लिएर तिललाई पहाड बनाएको पनि भन्नुहोला। तर यहाँ मैले बिम्बहरू हामीले सोचेभन्दा ज्यादा प्रभावशाली हुन्छन् जसको मनोवैज्ञानिक प्रभाव गहिरो हुन्छ भन्न खोजेको हो।
महिलाहरूलाई पुरुषको तुलनामा कमजोर र निरीह देखाउने यी महिलाद्वेषी बिम्बहरूले सके अङ्कुराउनुभन्दा अगावै उनीहरूको सपना ध्वस्त गरेर वा अङ्कुराएका सपनाहरुलाई फैलन पनि साँघुरो वृत्त मात्रै छ भन्ने बारम्बार सम्झाएर हाम्रा छोरीहरूलाई सानैदेखि हतोत्साहित गर्ने गर्छन्।
अर्को शब्दमा भन्ने हो भने यी कथाहरूले महिलाहरूलाई पुरुषहरूसँगै अघि बढ्न नदिन पितृसत्तात्मक प्रणालीहरू लेखडा गर्ने किसिम किसिमका अप्ठ्याराहरूलाई सुषुप्त ढंगले पोषण गर्ने गर्छन्।
बिम्बहरू हामीले ठानेभन्दा बढी प्रभावशाली हुन्छन् भन्ने कुराको एउटा प्रसङ्ग पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको पछिल्लो पुस्तक 'अ प्रमिस्ड ल्यान्ड' मा पाइन्छ। उनले राष्ट्रपति भएपछि अफ्रिकी-अमेरिकी (काला जातिका) बालबालिकाहरूले पहिलेभन्दा उल्लेख्य रूपमा ध्यान दिएर, मेहनत गरेर पढ्न थालेको भनी विद्यालयका शिक्षकहरूले उनलाई चिठीहरू लेखेको कुरा पुस्तकमा उल्लेख गरेका छन्।
यसलाई गोरा जातिमा प्रतिबिम्बित हुने राष्ट्रपतिको बिम्ब ओबामाको जितले भत्काएको र अफ्रिकी-अमेरिकी बालबालिकाहरूको आत्मछवि र विश्वास प्रणालीमा पनि प्रभाव पारेको अर्थमा बुझ्न सकिन्छ।
अझ धेरै पहिले, झन्डै ७० वर्ष अघि अमेरिकाकै एक अफ्रिकी-अमेरिकी बालक कासेस क्लेले चर्चको एउटा प्रार्थना सभामा आमालाई सोधेछन्, 'आमा, हामी मरेपछि कहाँ जान्छौँ?' उनकी आमाले हामी सबै मरेपछि जिजस क्राइष्टसँग स्वर्ग नै जान्छौँ भनिछिन्।
तब ती बालकले उत्सुकतापूर्वक फेरि सोधेछन्, 'त्यसो भए फोटोमा क्राइष्टसँग किन गोरी परीहरू मात्रै देखिन्छन्? फोटो खिच्ने बेलामा ती काला जातिका परीहरू कहाँ गए? क्राइष्ट त गोरै छन्, तर तिनको अन्तिम भोजमा पनि किन सबै गोराहरू मात्रै?'
पुर्वाग्रही जातिगत बिम्बलाई सानैमा यति आलोचनात्मक ढंगले हेर्न सक्ने बालक पछि गएर प्रसिद्ध बक्सिङ खेलाडी तथा अमेरिकामा नागरिक अधिकार आन्दोलन (सिभिल राइट्स मुभमेन्ट) का वाचाल योद्धा मुहम्मद अली बने।
हाम्रा सबै छोराछोरीहरुले सधैं मुहम्मद अलीले जस्तै गम्भीर प्रश्न गर्दैनन्, उस्तै-उस्तै कुराहरू बारम्बार सुने/देखेपछि आगमनात्मक तर्क (इन्डक्टिभ रिजनिङ) का आधारमा धारणाहरू बनाउने गर्दछन्। त्यसैले उनीहरूलाई पनि उचित मार्गनिर्देश गर्नुपर्छ, 'तिमी पनि सक्छौ' भन्ने हौसला दिनुपर्छ।
मुखले त हामी सबै हौसला नै दिन्छौँ, तर उनीहरूको अगाडि लैङ्गिक रूपमा प्रष्टै छुट्टिने व्यवहार गरेर वा भाषा र साहित्यका बिम्बहरूबाट छोराहरूलाई तिमीसँग सबैथोक गर्न सक्ने क्षमता छ भन्छौँ भने छोरीहरूलाई आफ्नो सीमाको हेक्का राख्नू भनिरहेका हुन्छौँ।
सामान्य र महत्वहीन जस्ता लाग्ने भएपनि सूक्ष्म रूपमा पूर्वाग्रह निर्माण गर्ने लोकसाहित्यका यस्ता लैङ्गिक बिम्बहरूमाथि विचार गर्नु भएको छ?