विद्यार्थी संगठनका पदाधिकारी, नेता, कार्यकर्ताका समाजिक संजाल हेर्दा अचम्म लाग्छ। फेसबुकमा शेयर गरेका विषयवस्तु, टेलिभिजन, युट्युबका वादविवाद, बहसहरुले वर्तमान समयमा विद्यार्थी संगठनहरु आफ्नो मुद्दाहरुबाट विमुख हुँदैछन् भनेर सजिलै भन्न सकिन्छ।
विद्यार्थी संगठनलाई सही मार्गमा ल्याउने हो भने, विद्यार्थी संगठनको पुर्ननिमार्ण र आन्दोलनको सही कार्य दिशाका निम्ति निर्मम रुपमा समीक्षा गदै व्यापक बहस र छलफल चलाउन आवश्यक भैसकेको छ।
यदी हामीले समयमा नै बहस र छलफल चलाउन र कमिकमजोरीलाई सुधार गर्न सकिएन भने विद्यार्थी आन्दोलन गैर विद्यार्थीको नेतृत्वमा गई विद्यार्थी संगठनहरु पार्टी त्यसमा पनि कुनै एक नेताका मुखपत्रका रुपमा सीमित हुने खतरा बढ्दो छ।
विद्यार्थी संगठनका नेताहरुको बहस गैरप्रागिक, गालीगलोज सहित अरुको बढी आलोचना र आफ्नाको बढी सर्मथनमा केन्द्रित हुँदै गैरहेको छ। राजनैतिक मुद्दामा बोल्नु पर्छ तर ठूला-ठूला स्वरमा कराउँदैमा, अन्यलाई खराब मेरा राम्रा प्रमाणितका लागि भएभरका उर्जा शक्ति, सृजनशीलता खर्च गर्नुलाई तर्कशील र प्रागिक बहस मान्न सकिँदैन।
उनीहरुले समाजिक संजालमा शेयर गर्ने विषयहरुको बारेमा अध्ययन गर्दा आफू पक्षका सबल र अन्य विपक्षका खराब विषयहरु शेयर गरिरहेको देखिन्छ। यस्ता क्रियाकलापले उनीहरुको बौद्धिक स्तरलाई झल्काइरहेको हुन्छ। यी सबै कुराको अध्ययन अनुसन्धान गर्दा अपवाद बाहेक विद्यार्थी संगठनहरु समयमा नै सही मार्गमा ल्याउन सकिएन भने विगतका इतिहास पनि खरानी हुँदै विद्यार्थी राजनैतिकको अस्तित्व नै समाप्त हुने देखिन्छ।
विद्यार्थी संगठनको इतिहासलाई अध्ययन गर्दा नेपालको राजनीतिक परिवर्तन, समाजिक रुपान्तरमा विद्यार्थी आन्दोलनले मत्वपूर्ण भूमिका रहेको छ। बलिदान, संघर्ष, आहुतिका कथाहरु स्वर्ण इतिहासमा लेखिएको छ।
विगतमा विद्यार्थी आन्दोलनको राप र तापको अघि विभिन्न तानाशाहीहरुले घोडा टेक्न बाध्य भएका छन्। राष्ट्रिय स्वाभिमान, राष्ट्रियता, सामाजिक, राजनैतिक रुपान्तरका निम्ति, त्यस्तै यथास्थितिबाट अग्रगमका निम्ति विद्यार्थीको नेतृत्वदायी पहलकदमी, आन्दोलनका कारण राणा शासनको अन्त्य, पञ्चायत शासन र राजतन्त्रको अन्त्यसँगै लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको छ।
आज विद्यार्थी आन्दोलनबाट खारिएका विद्यार्थी नेतृत्वहरु आफ्ना पार्टीका विभिन्न तहतप्कामा पुगेर पार्टीको नेतृत्वमा साथै राज्यका महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन्।
विद्यार्थी आन्दोलनलाई हेर्दा राणा शासन विरुद्ध भारत प्रवास गई अध्ययनरत विद्यार्थीहरुले विसं १९९१ मा भारत बनारसमा अध्ययनरत नेपाली विद्यार्थीहरुले नेपालमा निरंकुश जहानीय राणा शासनको अन्याय, अत्याचारको विरुद्ध एक भई लड्न विद्यार्थीहरु संगठित भएको पाइन्छ।
विद्यार्थी आन्दोलन नेपालमा पार्टी आन्दोलनभन्दा पहिले स्थापना भएको इतिहास छ। विसं २००४ सालमा तीनधारा संस्कृतिक पाठशालाका विद्यार्थीहरुले पाठ्यक्रममा आधुनिक विषयहरु थप गर्नुपर्ने माग सहितको आन्दोलनले नेपालमा विद्यार्थीहरुले शैक्षित आन्दोलनको सुरुआत गरेका थिए।
त्यसपछि विभिन्न रुपमा शैक्षित केन्द्रित आन्दोलनहरु भए जसमा २०२८ सालमा नयाँ शिक्षा नीतिको नाममा पञ्चायतले लागु गरेको राजारानी र पञ्चायतको स्तुती गाउने शिक्षा नीतिको विरुद्ध होस वा विद्यार्थीहरुको हकहित वा सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट होस वा शैक्षिक शुल्क वृद्धिको विकासमा आन्दोलन गर्दै आएको छ।
विभिन्न कालखण्डमा पार्टीहरु भूमिगत वा कम चलायमान हुँदा विद्यार्थी आन्दोलनले नै विभिन्न माध्यमबाट उनीहरुको पार्टीको प्रतिनिधित्व गदै आन्दोलनका अग्रमोर्चा सम्हालेका इतिहासहरु साँची छन्।
त्यति लामो इतिहास तथा आम जनताको आशभरोसा बोकेका विद्यार्थी संगठनहरु आफ्ना प्रमुख मुद्दाबाट विमुख हुँदा शैक्षिक मुद्दा, विद्यार्थी र आम समाजका साझा मुद्दाहरु ओझेलमा पर्दै गइरहेका छन्। जस्तै वर्तमान समयमा कोरोना संक्रमणका कारण प्रत्यक्ष असर शैक्षिक क्षेत्रमा परेको छ।
नेपालमा सबैको एउटै आर्थिक हैसियत छैन। कति मानिसले दैनिकी ज्यालादारी गरेर आफ्ना परिवारको दैनिकी गुजरा चलाउन बाध्य छन्। उनीहरु आफ्ना र परिवारका सामान्य आवश्यता पूर्ति गर्न पनि धौधौ हुने गरेकामा लकडाउन र त्यसलै सृजना गरेका विविध समस्याहरुले अझ कष्टकर बनाएको तितो यथार्थ हाम्रो सामु छ। व्यक्तिका आर्थिक अवस्थाहरु डामाडोल भएका छन्।। त्यसका प्रत्यक्ष मार उनीहरुका सन्तानको शैक्षिक गतिविधिमा परिरहेको छ।
नेपालमा ५५ प्रतिशत जनता कृषि पेशामा निर्भर छन्। साथै ५५ प्रतिशत को ७५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन्। नेपालमा कुल जनसंख्याको २५ प्रतिशत गरिब रहेका छन्। त्यस्तैगरी नेपालको जनगणना २०६८ अनुसार साक्षर दर ६५.७४ प्रतिशत रहेको छ।
फलास रिपोर्ट २०१७-१८ अनुसार नेपालमा १ देखि ५ कक्षासम्म ३९ लाख ७० हजार १६ विद्यार्थी मध्ये ११ र १२ कक्षामा ५ लाख ८४ हजार ७२ विद्यार्थी छन्। यो तथ्याङ्कलाई हेर्दा कक्षा बढेसँगै विद्यार्थीहरुको संख्या तीव्र रुपमा घटेको पाइन्छ। कोभिड-१९ र लकडाउनका कारण कति विद्यार्थीले स्कुल, कलेज छोड्ने हुन्, अवस्था भयावह छ। जसमा निमुखा र गरिबका बालबालिका बढी प्रभावित हुने देखिन्छ।
यस्तो गम्भीर अवस्थामा विद्यार्थी संगठनहरुले सबैले पढ्नलेख्न पाउने मौलिक हक बारे आन्दोलन, बहस छलफल चलाउन सक्दैन, किन? त्यस्तै महङ्गो शैक्षिक शुल्क, चर्को कोठा भाडा, कोभिड-१९ ले विद्यार्थीलाई पारेको मनोसमाजिक असर बारे पनि मौन बसिरहेको पाइन्छ।
पछिल्लो समय विद्यार्थी संगठनका ओज दिन प्रतिदिन गिर्दै गइरहेको छ। फलस्वरुप आज विद्यार्थी संगठनहरु बृहत मुद्दाबाट संकुचित हुँदै गइहेका छन् जसका कारणहरुमाः
व्यक्ति केन्द्रित
विगतमा विद्यार्थी संगठनहरुले समाजिक, राजनैतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएका थिए। तर वर्तमान समयमा विद्यार्थी संगठनहरुका नेता कार्यकर्ताहरु व्यक्तिगत लाभका लागि साझा मुद्दा, आन्दोलनभन्दा पनि कुनै एक नेताको सहयोग र सद्भावका कारण नेतृत्वमा टिक्न वा जान चाहान्छन्। तसर्थ वर्तमान समयमा त्यस्ता प्रवृत्तिले गर्दा विद्यार्थीका मूल मुद्दाहरु ओझेल पर्दै गइरहेका छन्।
समयमा अधिवेशन हुनु/नहुनु
विद्यार्थी संगठनले आफ्नो मातृ पार्टीको लागि नेतृत्व उत्पादन गर्ने एक भट्टी हो। विद्यार्थी आन्दोलनबाट निखारिएका नेतृत्व आज पार्टीको केन्द्रीय स्तरदेखि स्थानीय तहका विभिन्न जिम्मेवारीमा बसेर काम गरेका छन्। पार्टीका लागि विद्यार्थी संगठन भविष्यमा नेतृत्व उत्पादन गर्ने कारखाना हो जहाँ नेतृत्व विकासका लागि केही सिक्ने, खारिने, पोख्त बन्ने अवसर पाउँछन्, जसले पछि भविष्यमा पार्टीलाई र पार्टीको माध्यमबाट राष्ट्रलाई नेतृत्व गर्दै मौका पाउँछन्।
सबै संगठनहरुले आफ्ना क्याम्पस कमिटीदेखि केन्द्रीय तहसम्म लाखौँलाख सदस्य रहेको दाबी गर्छन् तर समयमा विद्यार्थी संगठनहरुको अधिवेशन हुन नसक्दा नेतृत्व पुस्तान्तरण हुन सकिरहेको छैन। फलस्वरुप नेतृत्व हस्तान्तरण नहुँदा नयाँ वास्तविक विद्यार्थीभन्दा पनि अन्यले जिम्मेवारीमा हुँदा सृजनशील, क्रियाशीलतामा ह्रास आएको छ।
आज अधिकांश जिल्ला र केन्द्र तहका पदाधिकारीको उमेर मापन गर्दा सरदर ३० देखि ३५ वर्ष माथिकाले नेतृत्व गरिहेका छन् जबकि वर्तमान समयमा नेपालमा २६ देखि २८ वर्षको उमेरमा विद्यार्थी आफ्नो विश्वविद्यालयको शिक्षा सकिसकेको हुन्छ। तसर्थ विद्यार्थी संगठनहरुका समयमा अधिवेशन हुन नसक्दा विद्यार्थीको नाममा गैरविद्यार्थीहरुले राजनैतिक सिँडी बनाएको पाइन्छ, जसको प्रमुख ध्ये नै कसरी हुन्छ राजनैतिक लाभ केन्द्रित हुने भएकाले विद्यार्थीहरुका प्रमुख मुद्दाहरु ओझेल पर्न गएका छन्।
अध्ययन र प्रशिक्षणको कमि
विद्यार्थी संगठनहरुमा दाइ-दिदी संस्कार हाबी हुँदा नेता-कार्यकर्ताहरु अगैज नेतामा केन्द्रित हुन बाध्य छन्। जसले गर्दा कुनै पनि कार्यकर्तालाई भुइँ तहमा जोडिएरभन्दा माथि जोडिन सके छिटो प्रगति हुने प्रवृत्ति बढ्दो छ। साथै संगठनहरु भित्र गुट हाबी हुँदा पहिलाको अझै नेता/कार्यकर्ताले अध्ययन गर्नु पर्छ भन्ने संस्कार हराउँदै गैरहेको छ। संगठनका र विभिन्न दर्शनबारे प्रशिक्षण पनि हुन नसक्नाले विद्यार्थी संगठनहरु आफ्नो प्रमुख मुद्दा भुल्दै गैरहेका छन्।
मुद्दामा कमि
वास्तवमा भन्ने हो भने विद्यार्थी संगठनको आन्दोलनका मुद्दाहरु सकिरहेका छन्। राणा शासन ढाल्न निर्मित विद्यार्थी संगठन, गणतन्त्रको यात्रासम्म आइपुग्दा पुरानै आन्दोलनका मनोविज्ञान रहेको पाइन्छ। विसं २००६ देखि २०७८ सम्म आइपुग्दा नेपालमा समाजिक, राजनैतिक, शासन प्रणाली परिवर्तन भैसकेका छन् तर अझै पनि पनि विभिन्न विद्यार्थी संगठनहरु विसं २०४६ साल अघिकै मनोविज्ञानले ग्रसित छन्। समय सान्दर्भिक आफूलाई परिमार्जन गर्न नसक्दा अहिलेका प्रविधियुक्त, समाजिक संजालको युगमा विद्यार्थी संगठनहरुले आफ्ना मुद्दाहरु निराकार गर्न सकिरहेका छैनन्।
संगठनभन्दा व्यक्ति हाबी
वर्तमान समयमा कुनै पनि विद्यार्थी संगठनमा अधिवेशन नभएको धैरे भैसकेको छ। प्रायः २/२ वर्षको अन्तरमा हुने महाधिवेशन समयमा नहुँदा पार्टीका केन्द्रीय नेताले आफ्ना व्यक्तिलाई नेतृत्व सुम्पिँदा र उक्त नेतृत्वहरु संगठनभन्दा आफू केन्द्रित भैदिँदा विद्यार्थी संगठनहरु ओझेलमा परेको देखिन्छ।
अहिले विद्यार्थी संगठनहरु मुद्दा र आन्दोलका हिसाबले कठिन र परीक्षणको कालखण्डमा रहेका छन्। विद्यार्थी संगठनका आफै गौरवमय इतिहास सहेका छन्। त्यस गौरवमय इतिहास जोगाउन जरुरी छ। त्यसका लागि विद्यार्थी संगठनमा व्यापक परिवर्तन गर्न जरुरी छ। जस्तै उमेर हकबन्दी, शैक्षिक निरन्तरता, समयमा अधिवेशन, प्रशिक्षण, समय सान्दर्भिक मुद्दाहरुको खोजी गर्न आवश्यक छ।