हामीलाई शिक्षा भन्नेबित्तिकै गह्रौं झोलामा बोकेका किताबहरू याद आउँछ। चार पर्खालभित्र ६–७ घन्टी कहिले घम्सघम्सी त कहिले मिलिजुली एकै ठाउँमा साथीसंगीसँग बसेको याद आउँछ।
त्यही कोठाभित्र जे सुन्यौं, जे सिक्यौं, त्यही शिक्षा हो भन्ने लाग्छ। तर सबभन्दा बढी याद आउने भनेको जाँचका बेला गरेको दुःख याद आउँछ, त्यसमा ल्याएको अंक याद आउँछ। पाएको मार्कसिट याद आउँछ।
हरेक वर्ष एउटा कक्षाबाट अर्को कक्षामा फड्को मार्न दिइएको मार्कसिटले धेरै विद्यार्थीको 'स्तर' मापन गर्छ। डिस्टिङ्सन र ए+ लाई ध्यानमा राखी बालबालिकाले पाएको शिक्षालाई राम्रो वा नराम्रो भनी ग्रेडिङ गर्छ हाम्रो समाजले, हाम्रो शिक्षा पद्धतिले।
हामी आफू विद्यालयमा हुँदा किताब र कक्षाकोठा बाहिर पनि सिक्नुपर्ने धेरै कुराहरू छन् है भनेर विद्यालयले खासै सिकाएको थिएन। न त हामीले अहिले विद्यालय जाने बालबालिकालाई नै यसको महत्व बुझाउन सिकाउँदै छौं।
एसइइमा ए प्लस ल्याए साइन्स (विज्ञान) पढ अनि डाक्टर/इञ्जिनियर बन, नभए म्यानेजमेन्ट पढेर बैंकमा जागिरे होऊ। यही एउटा दुइटा बाटो मात्र राम्रो हो भनेर एकोहोरो ए प्लस ल्याउने पाइपलाइनमा धकेलेर आफ्ना बालबालिकालाई सफल बनायौं भनेर गर्व पनि गर्छौं हामी कहिलेकाहीँ। तर उसको इच्छा आकांक्षा के हो बुझ्न केही मेहनत गर्दैनौं हामी।
हाम्रा शैक्षिक संस्थाहरूको बनोट पनि त्यस्तै छ। एउटा कक्षाकोठा र एउटा सेतो पाटीको भरमा देशको भविष्य कोर्न खुला छाडिदिएका छौं शिक्षकलाई। टक्क अडिएर यो कसरी सम्भव छ वा साँच्चिकै हाम्रा विद्यार्थीको भविष्य उज्ज्वल यसरी हुन्छ होला भनेर न मनन गर्ने फुर्सद निकालेका छौं न त्यसबारे बहस नै आवश्यक ठानेका छौं।
ए प्लस ल्यायो, काठमाडौं गयो। त्यहाँ पनि अब्बल नम्बर ल्यायो र जब उसले आफ्नो देश र समाज बुझ्ने मौका पाउनै लागेको हुन्छ, टक्क युरोप/ अमेरिका/ अस्ट्रेलियाको भिसाको लाइन मा बस्नेको झुन्डले उसलाई आकर्षित गर्छ। अनि उसलाई पनि त्यही लाइनमा पुर्याउँछ। अर्को जमात सेना, लाहुरे, भर्ती हुन पल्टन ट्रेनिङ गर्ने मार्चपासतिर।
अब विदेश गएर आफ्नो देश या आफ्नो समाजका बारेमा केही बुझ्छ, पढ्छ अनि केही लेख्न खोज्छ। तर उसलाई नानाथरी गाली त्यही समाजको त्यही जत्थाले गर्छ जसले लड्डू खाएर विदेश जान टिकाटालो अनि खादा दिएको हुन्छ। हाम्रो शैक्षिक व्यवस्थाले नै धकेलेर पठाइएका त हुन नि उनीहरू! त्यो पनि ठीक त्यति बेला, जुन बेला हाम्रो समाजको कखरा बुझ्नै लागेका हुन्छन्। ग्रेडिङ त समाजको हुन पर्ने, होइन र?
हाम्रा विद्यार्थीले आफू जन्मेर हुर्केको समाज कहिले बुझ्ने, कहिले बनाउने? ए प्लसको चक्रव्यूहमा परेका विद्यार्थीले यसबारे कहिले सोच्न भ्याउने?
एक मानेमा हेर्दा उल्टै उनीहरूबाटै मौका खोसिरहेका छौं कि जस्तो लाग्छ मलाई। त्यहीमाथि समाजै बुझ्न नदिइ उनीहरूलाई नै सभ्य र समान समाज बनाउने मेरुडण्ड हौ तिमीहरू भनेर पगरी पनि भिराइरहेका छौं हामी। यो गलत हो।
हाम्रो यही शैक्षिक व्यवस्थामा रहेको ठूलो खाडल पुरपार पार्ने मन थियो। आफूले गर्न सक्ने कुरा नगरी बस्न मनले नै मानेन। त्रिचन्द्र कलेजमा जियोलोजी अन्तिम वर्ष पढ्दा नै 'टिच फर नेपाल' बारे सुनेकी थिएँ। पढाइ सकेर दुई वर्ष गाउँ बुझ्छु, केही दर्जन विद्यार्थीको सोच बदल्छु, समाज बुझाउँछु भनेर प्रज्ञार्थी बन्ने अठोट गरेँ। अनि होम्मिएँ।
दुई वर्ष सामुदायिक विद्यालयलाई दिन्छु अनि बालबालिकालाई ग्रेड र ए प्लसबाहेक पनि यो दुनियाँमा धेरै कुरा छन् है भनेर सिकाउन फेलोसिपका माध्यमबाट गणित प्रज्ञार्थीका रूपमा तनहुँ जाने भएँ।
कोभिडको पहिलो लहर आयो। तनहुँ जान हिँडेकी म, तर काठमाडौंको घरबाट तनहुँका विद्यार्थी पढाउने जिम्मा लिएँ। ३-४ महिना रेडियो कार्यक्रम, फोनबाट सिकाइलाई निरन्तरता दिन खोजेँ। धेरै कमलाई विश्वासमा लिएर २ घन्टीसम्म पढाउन सकेँ। तर चित्त बुझेन। धेरै कुरा सिकाउने अठोटका साथ यो चुनौती लिएकी थिएँ। त्यसैले अलिकति खुला हुनासाथ समुदाय नै जाने निर्णय लिएर हाम्रो टोली तनहुँ आयो।
पोखराबाट धेरै टाढा नरहेको तनहुँको एउटा सामुदायिक विद्यालयमा दुई वर्ष गणित पढाउने जिम्मा मेरो भागमा थियो। चार महिना भर्चुअली नै केही चिनजानेका विद्यार्थीसँग यहाँ आएर गफगाफ गर्दा थाहा भयो, विद्यार्थीको मन मस्तिस्कमा ग्रेडिङभन्दा पनि खतरनाक अभिलाशा पलाएको रहेछ।
झन्डै ६ महिना लकडाउन हुँदा सबैको जस्तै यहाँका विद्यार्थीको जीवनशैलीमा पनि परिवर्तन आएको रहेछ। यही परिवर्तित जीवनशैलीसँग विद्यार्थीको मनमा पनि ठूलै आशा पलाएको रहेछ- कोभिड महामारी फेरि फैलियोस्, अनि विद्यालय बन्द भइदिरहोस्।
मेहनतै नगरी कक्षा ८ देखि ९ पुगेका विद्यार्थीले एसइइसम्म महामारी लम्बिए उच्चस्तरको ग्रेड पाइन्थ्यो, त्यही ए वा ए प्लस भन्ने आशा बोकेका रहेछन्। त्यो पनि आमाबाको मोबाइलमा गेम खेली खेली। निकै डरलाग्दो अभिलाशा थियो। सिकाइ जे सुकै होस्, ग्रेड ए प्लस नै चाहिने।
पहिलो लहरको अन्त्यपछि केही खुकुलो हुनासाथ मसँग एउटा सिंगो कक्षाकोठा, विद्यालयको ठूलो खेल मैदान थियो। यहाँ कक्षा कोठाभित्र अनि बाहिर हाम्रो जीवनसँग गणितलाई जोड्ने प्रशस्त विषयवस्तु थिए। मैले विद्यार्थीको सिकाइलाई फरक ढंगमा लैजाने पर्याप्त स्रोतसाधन पाएकी थिएँ। अनेक प्रयास गर्दागर्दै पनि उनीहरूका लागि सिकाइ उपलब्धि मापक भने पुरानै ढर्राको, त्यही ए, ए प्लस, बिमै अड्किरह्यो। उनीहरू सँगै एक हदसम्म मेरो पनि बाध्यता थियो त्यो।
निक्कै फरक शैलीमा विद्यालयको खेल मैदानमा गणित पढाएँ। विद्यार्थी रमाएर खेले, सिके पनि। तर यसरी कक्षा चलिरहँदा पनि मेरा विद्यार्थी ए, ए प्लस आउला नआउलाको चिन्तामै बढी डुबिरहन्थे। करिब छ सात महिना नयाँ तरिकाबाट पढाइयो।
दोस्रो लहर आयो र त्यति फराकिलो सिकाइको मैदानबाट बाध्यात्मक परिस्थितिमा एउटा १४ इन्चको स्क्रिन मा सर्नु पर्यो। नयाँ परिस्थिति बन्यो तर पनि मेरा विद्यार्थीको ध्याउन्न त्यही ए र ए प्लसमै अड्किरह्यो।
आज शैक्षिक संस्थाहरू ठप्प भएको पनि डेढ वर्ष हुन लाग्यो। परिस्थिति हेरी विद्यालय अध्ययन-अध्यापन र सिकाइ अगाडि बढाउन निर्देशन पनि आएको छ। अब छिटै विद्यालयहरू खुल्लान् पनि। शिक्षकहरूसँग हिजो भए जति श्रोतसाधन पक्कै छैनन् होला, न त विद्यार्थीसँग नै।
हिजो अंकगणित, क्षेत्रमिति, ज्यामितिसम्म बुझ्न खेल्थ्यौं, कुद्थ्यौं आज एउटा सानो स्क्रिनअगाडि नबसी केही सम्भव होला भन्ने आशा गर्नु पनि एक किसिमको अन्तरद्वन्द्व नै हो।
सामुदायिक विद्यालयकै विद्यार्थीबीच पनि सिकाइस्तरमा फाटो छ। हुने घरका विद्यार्थीले मोबाइल, ल्याप्टपमा पढिरहेकै छन्। तिनै विद्यार्थी सँगै बेन्चमा बस्ने साथीको घरमा मोबाइल/ल्यापटप केही नभएर पढ्न पाएका छैनन्। न भेटघाट छ न सिकाइको निरन्तरता। न सँगै विद्यालय जान पाउँछन् न सँगै बसेर खाजा खान। न मिस आज एउटा पजल/गेम खेलेर सुरू गरौं न भन्न कक्षा कोठा जान पाउँछन्। न आज मैले यो आफैं गरेको भन्दै उत्सुक भएर आफ्नो कापी शिक्षक को आँखैमा लगेर देखाउन पाउँछन्।
म आफू एउटा प्रज्ञार्थी शिक्षक भएर गर्नुपर्ने धर्म पढाउनु हो, सिकाउनु हो, चाहे त्यो विद्यालयका चार भित्ताभित्र बसेर होस् या जुम र गुगलमिट बाट। त्यो माथि समाज बुझाउन हिँडेकी म। यही सोचेर रिमोट लर्निङ (दूरशिक्षा) गराउँदा अलिअलि खुसी हुँदै आफैंमा गर्व गर्न पनि खोजेँ।
तर मैले जसलाई गणित सिकाएँ उसले पहिला यो बदलिएको परिवेशलाई स्वीकार गर्न सिकेको छ कि छैन होला त? यो प्रश्नले हरेक पटक ल्यापटपको पावर बटन थिच्दा झसंग बनाउँछ। अझै पनि ए प्लसकै सुईमा विद्यार्थीको सपना अड्किरहेको त छैन भनेर?
सबै कुरा परिवर्तन हुँदा एउटा विद्यार्थीको सिकाइको उत्साहमा नविनता किन नआएको होला? कि आउँदैन होला? हामीले एकोहोरो सिकाएर मात्र हाम्रो जिम्मेवारी पूरा भइराखेको छ त? बिहानदेखि बेलुकासम्म त्यही स्क्रिनबाट आएको आवाज कति सुन्न सक्छ? कति बुझ्न सक्छ एउटा १२–१३ वर्षको बच्चाले?
यस्ता प्रश्नले गुजुल्टिएको छ मेरो साँझ अनि बिहान।
केही हप्ताअगाडिको कुरा हो। अनलाइन कक्षा पढाइरहेका बेला अन्तिममा विद्यार्थीहरूलाई कस्तो अनुभव भइराखेको छ भनेर सोधेँ।
'मिस लकडाउनले गर्दा पहिलाजस्तो पढ्न मन नै लाग्दैन, मिस होमवर्क र प्रोजेक्ट वर्क गर्दागर्दै एकछिन पनि खाली समय पाइँदैन'- लगभग सबै विद्यार्थीको एउटै भनाइ थियो।
कक्षामा हाँस्दै-खेल्दै सिकेभन्दा अहिलेको सिकाइ निकै भिन्न छ भन्ने कुरा हाम्रा विद्यार्थीले महसुस गरेकै छन्। त्यति हुँदा पनि आफूबाट गरिने अपेक्षा किन भिन्न भएन भनेर प्रश्न गर्दैनन् उनीहरू?
हामी प्रज्ञार्थी शिक्षक, विद्यालय, समाजको जिम्मेवारी आफूले जानेका कुरा विद्यार्थीलाई सक्दो प्रयास गरी सिकाउनु हो। एउटा विद्यार्थीको सिकाइ उपलब्धि उसको कक्षाकोठाको सिकाइमा मात्र निर्भर हुँदैन। उसको पारिवारिक वातावरण, उसको सामाजिक वातावरण र उसले पाउने साथ र हौसलाले पनि उत्तिकै ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ। आधा विश्व उल्टिएर घरभित्रै थन्किँदा पनि हाम्रो विद्यार्थीको, विद्यालयको, समाजको प्राथमिकता ए, ए प्लस ल्याउनुपर्छ भन्ने मनस्थितिले डोर्याएको हुन्छ भने विद्यार्थीको सिकाइको मापन होइन, मापकहरू गलत छन् भन्ने मेरो निष्कर्ष हो।
ए प्लस ल्याउनु यतिसम्म महत्त्वपूर्ण मानिन थाल्यो कि अभाव र संकटको घडीमा भएको एसइइमा ए प्लस ल्याउने विद्यार्थीको संख्या पहिलाको वर्षभन्दा अपत्यारिलो तवरल ह्वात्तै बढ्यो। पहिले ए प्लस ल्याउने विद्यार्थी संख्याले विद्यालयको गुणस्तर मापन भइराखेकै थियो। अहिले त झन् महामारी बेला यस्ता विद्यालय अपत्यारिलो तवरले बढेका छन्। हाम्रो अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीले कसरी ल्याउने ए प्लस?
१४ इन्चको स्क्रिन त परैको कुरा, आमाबाका टिकटिके फोनमा पाएको निर्देशनबाट कसरी सिक्छन् २१ औं शताब्दी शिक्षा? प्रश्नको पहाडै पहाड छ।
विद्यालयको स्वच्छाले दिइएका ए प्लसले विद्यालयलाई त केही हदसम्म फाइदा गर्ला। तर त्यसले हाम्रो जस्तो सामुदायिक विद्यालयमा पढिरहेका विद्यार्थीलाई के नै फाइदा गर्ला र? मार्कसिट हेरेर आफैंमाथि प्रश्न गर्न नसक्ने विद्यार्थी बनाउनु कहाँको सिकाइ? कहाँको उपलब्धि?
बरू उल्टै मथिल्लो कक्षामा चहिने न्यूनतम सिकाइको अभावका कारण असन्तुलित भने पक्कै पार्नेछन् उनीहरूलाई।
मूल्यांकन नै हुनु हुँदैन भनेको होइन। मूल्यांकन त कुनै न कुनै तरिकाले हुनैपर्छ। त्यस्तै गुणस्तरको पनि कुनै हिसाबले मापन गर्नु जरूरी छ। पूर्ण रूपमा आफ्नो शैक्षिक व्यवस्थाबाट टाढा रहेर काम गर्न पनि त सकिँदैन। तर प्रत्येक कक्षाकोठामा मूल्यांकनको महत्व बुझाउन भने धेरै फरक गर्नु पर्दैन। मान्छेको उमेर बढ्दै जाँदा उसले कति धेरै रूपमा आफूलाईद मूल्यांकन गर्छ, त्यही कुरा सिकाइ दिए पनि पुग्छ। मेरा विद्यार्थीलाई फरक तरिकाले मूल्यांकन गर्ने वातावरण बनाएकी छु।
कक्षाकोठामा छिर्नेबित्तिकै उसले आफ्नो 'सेल्फ इभ्यालुअसन' चार्टमा रातोबाट पहेँलो, पहेँलोबाट हरियो रङ फेरिँदै गएको देखेपछि सायद उसलाई पनि आफैंमा विश्वास हुँदै जान्छ होला। जाँचमा जुन ग्रेड आए पनि उसलाई आफूले के कति सिकेको छु भन्ने थाहा भएसम्म त्यो ग्रेडले पार्ने नकारात्मक असर गर्न सक्दैन।
आफूले आफैंलाई मूल्यांकन गर्न सिक्यो भने कुन ठाउँमा के सुधार गर्नु पर्छ, पहिलाभन्दा कति सुधार भयो त्यो सबै कुरा आफूलाई थाहा हुन्छ।
नितान्त व्यक्तिगत रूपमा भन्दा, यो बदलिँदो परिवेशमा सिकाइ मापन गर्दा मात्रामा भन्दा गुणस्तरमा ध्यान दिनु आवश्यक भएको देख्छु। यो महामारीले कुनै न कुनै तरिकाबाट सबैको जीवनमा असर पारेकै छ। खेल्ने कुद्ने उमेरका बालबालिका आज घरभित्रै खुम्चिन बाध्य छन्। बाहिर निस्किन नपाउँदा उनीहरूको मानसिक र भावनात्मक स्थितिमा संकट पैदा भएको छैन होला त? यस्तो बखत ए प्लसको रटान छाडेर बरू रातोदेखि हरियोको यात्रा गर्न पो सिकाउने हो कि? विद्यार्थी आफैंले सिकाइको हिसाब/मापन आफैं गर्न सक्ने थिए।
हामी हाम्रा लागि बोल्न सक्छौं, समस्याको समाधान खोज्न सक्छौं तर पनि हाम्रा लागि यो समय चुनौतीपूर्ण छ।झन् विद्यालयको सिँढी नटेकेको १६-१७ महिना भइसकेका ती बालबालिका कुन मनस्थितिमा होलान्, विचार गरौं।
अहिले मार्कसिटमा यो ग्रेड ल्याउनुपर्छ भनेर दबाव दिनुको सट्टा उनीहरूको साथ र हौसलाको श्रोत भइदियौं भने उनीहरूको शैक्षिक सिकाइको गुणस्तर आफैं बलियो हुँदै जान्छ कि? त्यस बखतसम्म ए प्लसको भारीलाई एकैछिन चाबी लगाएर बन्दाबन्दी गरिदिऊँ।
विद्यार्थीका लागि कक्षाकोठाका ढोका सतर्कता अपनाउँदै खोल्न लागिएको छ। कोभिडको सतर्कता साथसाथै मूल्यांकन, सिकाइ अनि त्यस्को महत्वबारे पनि सतर्क सजग भइदिने पो हो कि? नभए त मेरा ए प्लस नल्याउने भाइबहिनीलाई यो समाजले नै स्वीकार नगर्न हो कि!