२०७२ असोज ३, जुन दिन ६ दशक लामो जनसंघर्ष, बलिदान एवं सशस्त्र संघर्षलाई विश्राम लगाउँदै देशमा पहिलो पटक जनप्रतिनिधिमूलक संविधानसभाबाट संविधान बनेको थियो।
जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको दिन। संविधान जारी भएको खुसियालीमा नयाँ संविधानको भव्य स्वागत गर्दै देशभर दीपावली गरी हर्सोल्लास भइरहँदा हाम्रो घरको दियो त्यही दिन निभेको थियो।
हाँसीखुसी जीवन बाँचिरहेकै बेला हामीले हजुरआमा गुमायौं। हजुरआमासँगै हाम्रो भरोसाको बलियो खम्बा ढलेको थियो। उहाँ बिनाको हाम्रो जीवन कहाँ यति सजिलै मौलाउँथ्यो होला र!
'आमा' कति महान शब्द तर यही शब्दले कहिलेकाहीँ निशब्द बनाइदिँदो रहेछ। यो शब्दले हजुरलाई सम्बोधन गर्न नपाएको पनि करिब पाँच वर्ष भइसक्यो। हजुरलाई गुमाएको यतिका वर्ष भइसक्दा पनि अझै कतैबाट आएर नानी भनेर बोलाउनु हुन्छ कि भन्ने आश लागिरहँदो रहेछ।
हामीलाई छिट्टै छोडेर जानेले 'सावाँको भन्दा ब्याजको माया' भन्दै यति धेरै माया नगरिदिएको भए पनि त हुन्थ्यो नि। अनेकौं सोच, विचार, आशा, निराशा, तिता मिठा स्वप्न लहरीका बिचबाट सामीप्यताको अनुभूति गर्न पाउँदा मनलाई कति राहत मिल्ने थियो होला।
सानो छँदा स्कुलको परीक्षामा केही कम नम्बर ल्याउँदा बाबाको गाली खान्छु भनेर कति डराउँथेँ। त्यो बेला मलाई बाबाको गालीबाट जोगाउने मेरी हजुरआमा। आमाले कहिलेकसो अलि धेरै काम अह्राउनु भयो भने 'तिमी बुहारी हौ, यो त छोरी हो नि। तिमी आफैँ गर' भनेर मलाई घरको कामबाट पन्छाउन खोज्ने मेरी हजुरआमा।
निकै याद आउँछन ती दिन अनि रातहरु जुनबेला हामी अबेरसम्म घरको आँगनमा बसेर कालीगण्डकी हेर्थ्यौं। पारिपट्टिको कालिपार, रिडी बजार, अर्गलीको मुस्लुकको डाँडा त कहिले थोर्गाको डाँडा हेरेर खुब गफ गरिन्थ्यो। सम्बन्धले नातिनी-बजै, तीन पुस्ता फरक परेता पनि साथीत्वको भूमिका बखुबी निभाउनु हुन्थ्यो।
यी सबैकुरा कहिलेकाहीँ दिमागमा यसरी आइदिन्छ कि भक्कानो छुटेर आउँछ। कहिले खाँदाखाँदैको गाँस नै रोकिन्छ त कहिले निकै थकान महसुस हुँदाहुँदै पनि निन्द्रा आउँदैन। आज हजुरसँगका तिनै अतीतका परिदृश्यहरुले स्तब्ध बनाएको छ।
हजुरआमा! हजुरको भौतिक शरीर हामीबाट टाढा गए पनि हजुर सधैँ हाम्रो परिवारको समीपमा रहेर हामी सबैलाई कुनै न कुनै माध्यमबाट सही मार्गदर्शन दिइराक्नु है? गन्तव्य त ढिलोचाँडो एकदिन सबैको एउटै हो तर हजुर क्यान्सरको पीडाले हामी माझबाट छिट्टै विलाप भएर जानु भयो। कहिलेकाहीँ सम्झनामा मन निसास्सिएर अवरुद्ध भइदिन्छ।
किन नियति पनि यति बिघ्न निर्मम बन्छ? यति चाँडै मेरो साख खोसिदियो। दुःख बिसाउने छहारी ढालिदियो। जीवनमा हरेक कुरा गुमाइसकेपछि त्यसको महत्त्व अझै बढी बुझिँदो रहेछ। आखिर समय र भाग्य जस्तो भए पनि हजुरले उभ्याइदिनु भएको त्यो विशाल विरासतप्रति जीवनभर कृतज्ञ रहने छु। आज त्यही पृष्ठभूमिमा उभिएर बाँच्न पाउँदा निकै प्रफुल्लित छु।
हामीले परिवारबाट हजुरआमा त गुमाइसक्यौं तर हजुरबुवाको छहारी अझै हाम्रो परिवारमा छ। आजसम्म परिवारमा जे राम्रो भइरहेको छ त्यो सबै हजुरबुवाको आशीर्वादले नै भइरहेको छ। हजुरबुवाले हामीप्रति गर्नु भएको त्यो सदाशयता वा विश्वास अझैसम्म पनि कायम नै छ।
घरमा हजुरबुबा-हजुरआमा हुनु भनेको धेरै भाग्यको कुरा हो। बिना स्वार्थको यस्तो साथ र आशीर्वाद भाग्यमानीले मात्रै पाउँछन्। आज भन्न मन लागेको छ, अहिले जो-जो भाग्यमानी हुनुहुन्छ समयमै कदर गर्नुहोला। पछि त्यो माया, ममता र साथ चाहेर पनि पाउन सकिदैँन।
हजुरबुवा-हजुरआमालाई सम्झेर त सबै रोइएला तर विगतमा उहाँहरुलाई दिएको पीडा, दुःख, कष्ट र व्यवहार सम्झेर वर्तमान वा भविष्यमा रुन पर्ने काम कसैले गर्नु नपरोस्। हामी सबैको मन-मस्तिष्कमा सदैव जीवित रहिरहनु हुनेछ प्यारी हजुरआमा।
हरेक पाइला-पाइलामा सम्झना र श्रद्धाले मन छटपटिन्छ। हजुरले देखाएको बाटो सधैँ हिँडिरहन सकूँ। कहीँ कतै गल्ती गरेकी भए क्षमा पाउँ। हजुरको आत्माले शान्ति पाओस्।