मेरो बुवाको अनुहार त मलाई याद छैन, त्यसैले होला बुवा भने पनि आमा भने पनि मेरी आमा नै सर्वेसर्वा हुनुहुन्थ्यो मेरा लागि। म दुई वर्षको हुँदा नै बुवाको मृत्यु भएकोले होला बुवाको याद त्यति आउँदैन।
मेरो जन्म र कर्ममा आमाले झेलेको पीडा र आफ्ना सपना मारेर मेरा लागि गरेका अनगिन्ती दुःख मेरो मानसपटलमा नमेटिनेगरी छाप बसेका छ। मलाई जहिले पनि सानो देख्ने मेरी आमा, जागिर गरेको १० वर्ष हुँदा पनि घरबाट आउँदा पैसा खल्तीमा राख्नुहुन्थ्यो। सबैजनासँग सजिलै घुलमिल हुनसक्ने र मेरो गुनगान गाएर नथाक्ने मेरी आमाको अहिले जति बयान गरे पनि मेरा शब्दमा कमी महसुस गरिरहेको छु।
अघिल्लो वर्ष सानीमैयाको डेलिभरी हुने भएकोले आमा मसँगै काठमाडौँ आउनु भएको थियो। आमा आएको एक हप्तामा सानीमैयालाई बेलुका ११ वजे एक्कासी गाह्रो हुँदै आयो। आमालाई एक्लै कोठामा राखी मैले हतार-हतार हस्पिटल पुर्याएँ। सानीमैया आत्तिएकोले रातभर म नै उनीसँगै बसेँ र बिहानपख अरु बस्नुभयो।
बेलाबेलामा आमा आत्तिनु भयो कि भनेर राति फोन गर्थेँ। आमाले एक घन्टीमै फोन उठाउनु हुन्थ्यो। पछि थाहा पाएँ, आमा रातभर सुत्न सक्नु भएनछ। सानीमैयालाई गाह्रो हुँदै थियो तर डाक्टरले भोलि मात्र औषधि चलाउने निर्णय गरेकोले रगत खोज्नमै रात बितायौँ।
अर्को दिन २ बजेसम्म पनि गाह्रो भएपछि डाक्टरको सल्लाहमा अपरेशन गर्नुपर्ने निर्णय गरियो र तीन बजे अपरेशन भयो। पछि डाक्टरले छोरा भएको खबर गरे। सुरुमा आमालाई फोन गरेँ, आमा असाध्यै खुसी हुनुभयो। अपरेशन गरेकोले तीन दिन हस्पिटलमै बस्नुपर्ने भयो। बेलुका भएकोले अर्को दिन आमालाई लिन साथीलाई पठाएँ। साथीले भन्दै थियो, केएमसी हस्पिटलको गेटबाट मुख हेर्नलाई पैसा निकाल्नु भएको थियो आमाले।
छ महिनासम्म छोरा र सानीमैयाको सबै ख्याल आमाले नै गर्नुभयो। कोरोना जताततै बढेकोले बाहिर जान डराउनु हुन्थ्यो र कोठामा बस्नुहुन्थ्यो। बाहिर अप्लाई गर्नको लागि असार महिनामा हामी डकुमेन्ट बनाउन गुल्मी जानुपर्ने भयो। हामीसँगै आमालाई बुटवल घरमा छाडेर डकुमेन्टको लागि गुल्मी गयौँ र काम सकाएर बुटवल आयौँ।
मेरो ससुरा बुवा बित्नु भएको ६ महिना भएको थियो। त्यसैले दशैँको टीका लगाउन नमिल्ने र कोरोनाको त्रास जताततै भएकोले सानो बच्चालाई लिएर हामी दशैँमा नआउने भनि खाना खाएर हिँड्ने निधो गर्यौं र कहिल्यै म हिँडदा नरुने मेरी आमा हामी हिँड्दा बाहिर आएर अब कहिले भेट हुने भन्दै रुनु भएको थियो।
असोजमा आमाको एक्कासी ढाड दुख्यो, कहिलेकाहीँ दुख्ने हुनाले सामान्य नै होला भनेर ख्याल गर्नु भन्यौँ। तर आमाको ढाड अर्को दिन पनि कम भएन, झन् बढ्दै गयो। मलाई अत्यन्तै चिन्ता लागेर आयो। हस्पिटलमा चेक गर्दा पनि इन्जेक्सन लगाएपछि निको हुन्छ र आमाले पनि अलि कम भएको छ भनेपछि मन अलि शान्त भयो।
अर्को दिन झन् गाह्रो भएपछि मन झन् आत्तियो। पछि रिपोर्ट हेर्दा असाधारण लाग्यो। अक्सिजन लेभल पनि ८८ प्रतिशत देखियो। म बेलुका जान खोजेको टिकट मिलेन, अर्को दिन टिकट पाएँ दिउसो २:३० बजेको। राति छोरो बिरामी भयो। ज्वरो १०२ डिग्री आयो। बिहानपख छोरोको ज्वरो अलि कम भयो तर आमालाई कम नै भएन। मन अति नै आत्तियो।
खाना खाएर दिउँसो हिँड्न लागेको ढोकामाथि राखेको गणेशको मूर्ति खसेर फुट्यो। मनमा झन् चिसो पस्न लाग्यो। आँखामा आँसु लिँदै साथीलाई लिएर एयरर्पोट लागेँ, साथीले बाइक चलाएको थियो। मनमा त्रासको र आमाको अवस्थाले आँसु पुछ्दै एयरपोर्ट पुगेँ। दशैँको बेला भएकोले सबैजना खुसी मुद्रामा देखिन्थे। हातले आँसु पुछ्दै जहाजमा बसे।
मास्कमाथि भाइजर लगाएकोले होला रुँदारुँदै गर्दा भाइजरमा बाफले ढाकिन्थ्यो। एकछिन चुप लाग्थेँ फेरि आमालाई सम्झेर रुन्थेँ। मेरो मन एकदमै आत्तिएर उकुसमुकुस भएर आउथ्यो। हस्पिटलको ग्राउन्ड फ्लोरमा पुग्दा गाउँका इस्टमित्रलाई तल देखेर आमालाई अत्यन्तै गाह्रो भऐको आकलन गरेँ।
माथि मात्र के पुगेको थिएँ आमा अब यस धर्तीमा नरहेको कुरा सुनेँ। मेरो मन अत्यन्तै आत्तियो र आमालाई त्यो क्षणमा हेर्न सक्ने आँट गर्न सकिनँ। मनलाई थाम्न सकिनँ सबैजना मलाई सम्झाइरहनु भएको थियो तर मलाई आमाको हरेक पल झलझल आइरहेको थियो।
यो क्षण भनेको अत्यन्तै पीडादायक बनेर आउँदो रहेछ। मनमा जतिबेला पनि आमाले मेरा लागि भोगेका दुःख र मनमा संगालेका सपनाहरु एकपछि अर्को गर्दै आउँदा रहेछन्। आफैलाई सम्हाल्न नसक्ने यो क्षण अरुलाई भन्न जति सजिलो हुन्छ आफैलाई सम्हाल्न एकदमै गाह्रो हुँदो रहेछ।
आश्विन महिनामा आमाको एक वर्ष हुँदै गर्दा सानैदेखि आमाले नै मेरो शिक्षादिक्षामा गरेको दुःख र आफूले नखाई-नखाई मेरो लागि गरेको मेहनतले आमालाई एकदमै मिस गरेको छु। घर पुगेपछि आमालाई थाहा हुने मेरो आनिबानी र ख्याल गर्ने मेरो विचार मानसमटलमा मात्र सीमित छन् अहिले। आजसम्म पनि आमाको कति बेला फोन आउला जस्तो लाग्छ। तर कसरी आउँथ्यो र? पछि सम्झेर रुन्छु र आफैलाई सम्हाल्छु।
सच्चा कर्म र आमाको आर्शीवादको फलस्वरुप मैले गरेका काममा सफलता हुँदै आएको छ। आमाको धर्ती छोड्नुभन्दा तीन दिन अगाडि भइदिए हुन्थ्यो भनेको मेरो काम आज भएको छ। आमालाई अझ धेरै घुमाउन र सुख दिन नसके पनि आमाप्रति मैले गर्नु पर्ने अनगिन्ती कर्महरु रहिरहनेछन् र आमाले देखेका सपनाहरु पूरा गर्ने बाटोमा जहिले पनि दत्तचित्त भएर अग्रसर हुनेछु आमा।