राज्यको नीति नै राजनीति हो। राज्य संचालन गर्ने व्यवस्था वा राज्य संचालन पद्दतिलाई राजनीति भनिन्छ। मानवीय जीवनको भविष्य संकेत गर्ने युवा वर्ग हो। युवालाई केही आशाको साथ हेरिएको हुन्छ। वास्तवमा बिहानीले त्यो दिनको पूर्व सूचना दिएजस्तै विद्यार्थी जीवनले पनि कुनै मानिसको भविष्य संकेत गर्दछ।
विद्यार्थी जीवनमा नै आफ्नै सकुशल प्रतिभा प्रदर्शन गर्न सक्ने व्यक्तिले पक्कै पनि भविष्यको सुनिश्चित गर्न सक्छ। कुनै पनि व्यक्ति अध्ययनमा रुचि राख्छ, खोजिमा रुचि राख्छ, ठिक बेठिक छुट्टयाउन सक्ने क्षमता राख्छ भने सही र गलत पनि छुट्टयाउन सक्छ। अहिलेको युवाहरुमा राजनीतिप्रति घृणा छ, वितृष्णा छ, नकारात्मक सोच छ।
अहिलेका युवा पंक्ति राजनीतिबाट सर्वथा टाढा भने होइन किनभने विभिन्न विषयको अध्ययन गर्ने क्रममा राजनीति पनि आउँछ। ऐतिहासिक राजनीतिक पृष्ठभूमि होस् या समसामायिक राजनीतिक अवधारणा होस् ती विभिन्न सन्दर्भलाई आफूभित्र समाहित गर्न सक्ने क्षमता युवाहरुमा हुन्छ।
खुला राजनीतिक प्रतिस्पर्धाबाट वा सडकको राजनीतिमा प्रत्यक्ष सम्बन्धित भएर पनि युवाहरु राजनीतिमा सहभागी हुन सक्छन्। वैचारिक राजनीतिको प्राप्ति अध्ययन र लगनशीलताबाट नै प्राप्त हुने गर्दछ। वैचारिक अभ्यासका लागि विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरुमा सहभागीता गराउन सके मात्र युवाहरुलाई राजनीतिमा अघि बढाउन सकिनेछ।
अध्ययनलाई मूल गन्तव्य बनाउँदै अध्यावधिक समसामयिक परिप्रेक्ष्यलाई समीपबाट नियाल्न सक्ने र अन्तर्विश्लेषण गर्न सक्ने क्षमताको विकास गर्दै जानुपर्ने हुन्छ। त्यसले राजनीतिका रचनात्मक वा सृजनात्मक पक्षहरुले भविष्य निर्माणका सहायक बन्न सक्छन् तर सडक राजनीतिबाट सफलता पाउन गाह्रो हुन्छ।
युवाहरु राष्ट्रनिर्माणको लागि वैचारिक अभिव्यक्ति दिन सक्छन् तर अन्धभक्त भएर कसैको जयजय गर्न सक्दैनन्। वैचारिक दर्शन दिउँ, असल र कुशल नेतृत्वको विकास गरौँ। सैद्धान्तिक अवधारणालाई खण्डनमन्डन होइन कर्तव्यपथबाट विचलित होइन, विचार र दृष्टिकोणले प्रशिक्षित गराऔँ।
गँवारो किराले केराको रुखलाई सुकाइदिएजस्तै राजनीतिले युवा वर्गलाई सुकाउने गर्दछ। आफ्नो स्वार्थको लागि अरुको भविष्यलाई खाडलमा पुऱ्याउने किसिमले कसैद्वारा परिचालित गर्न खोजिए पनि सचेत, निडर भै सही र सत्यको विश्लेषण गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने हुन्छ। सामान्य जनताको छोराछोरीलाई परिचालन गरी प्रसिद्ध प्राप्त गर्न केही व्यक्तिहरु लागे पनि सचेत युवाहरु लाग्नु हुँदैन।
नेपालको विश्वविद्यालयहरुमा राजनीतिक प्रभाव अधिक देखिन्छ। आफू सत्तामा पुग्नका लागि भातृसंगठनको विकास गर्ने होडबाजी प्रत्येक दलहरुमा देखिन्छ। तर कसरी राजनीतिक संस्कार सिकाउने भन्ने छैन, एकअर्कालाई गालीगलौजको संकृतिको विकास भएको छ।
क्षणिक स्वार्थको लागि युवाहरुलाई लिने, अनि छोड्दिने प्रवृत्तिको कारण पनि युवा वर्गमा राजनीतिप्रति वितृष्णा उत्पन्न हुनेगरेको पाइन्छ। पुरानो पुस्ता र नयाँ पुस्ताको बिच अन्तरनिर्भरता त हुन्छ नै तर पनि राजनीतिक, वैचारिक सैद्धान्तिक प्रशिक्षणहरु दिन सके मात्र युवा वर्गको व्यापक सहभागिता गराउन सकिनेछ।
आफू आवद्ध दलको सिद्धान्त, नीति, विधान प्रतिको ज्ञान, चेतना, अध्ययन संस्कृतिको विकास गराउँदै प्रभावकारी रुपमा युवाहरुलाई नेतृत्वामा ल्याउन सकिन्छ। समाजमा रोलमोडल कायम गर्न सक्ने विचार व्यवहार, समाजको परिवेशलाई बुझ्न सक्ने जनतासँगको असल सम्बन्ध कायम राखेर अघि बढ्ने नेतृत्वले मात्र युवा, महिला, पिछडिएका, सीमान्तकृत, अल्पसंख्यकहरुलाई समेटेर लैजान सक्छ।
अहिले राजनीतिमा युवा किन कम? भन्ने प्रश्न थुप्रै उठ्ने गरेका छन्। हुन पनि हो नेतृत्वमा नदेखिएकाले यस्तो भएको हो। युवाहरुको थुप्रै सहभागिता छ तर नेतृत्वमा भने छैनन्, त्यो स्वाभाविक हो। त्यसैले नयाँ पुस्ताको उदयका लागि रचनात्मक संघर्ष गर्नुपर्ने हुन्छ। आफ्नै खुट्टामा उभिन सक्ने वैचारिक धरातल निर्माण गर्नुपर्ने हुन्छ।
व्यापक जनसमुदायको समर्थन, उन्नत चेतना, आधुनिक युगको मूल्यबोध, बहुआयामिक क्षमताको विकासमा जोड दिनुपर्छ। नेतृत्व एक प्रणाली हो। यसले प्रणालीको विकासमा जोड दिनुपर्छ। राज्यमा प्रणाली विकासको ठोस योजना सहितको मार्गचित्र प्रस्तुत गर्नुपर्छ।
सामान्यत: युवाको अर्थ उमेर समूह हो, यद्यपि यो मात्र सम्पूर्ण होइन। युवा उमेर समूहभित्र पर्ने व्यक्तिको चिन्तन कति प्रगतिशील छ, व्यवहारमा ऊ कति सक्रिय छ, कार्यशैलीमा ऊ कति गतिशील छ, जस्ता पक्षहरू पनि महत्त्वपूर्ण हुन्छन्। तसर्थ, उमेरका साथै उसको चिन्तन, व्यवहार र कार्यशैली सफलता वा असफलताका लागि जिम्मेवार रहन्छन्।
नेतृत्वको विकास सामाजिक विकास र त्यसको स्तरमा निर्भर रहन्छ। समाजको आर्थिक अवस्था जस्तो छ, चिन्तनको स्तर जस्तो छ, सामाजिक अन्तर्सम्बन्धको आयाम जे छ, त्यसको आधारमा नेतृत्वको विकास हुन्छ। पिछडिएको समाजबाट प्रगतिशील र गतिशील नेतृत्व जन्मिने सम्भावना न्यून हुन्छ। तसर्थ, गतिशील नेतृत्वका लागि सामाजिक रूपान्तरण महत्त्वपूर्ण हुन्छ।
पूरानो पुस्ता र नयाँ पुस्ताबिच अन्तरनिर्भरता र विरोधाभाष दुवै हुन्छ। अन्तरनिर्भरता यस अर्थमा हुन्छ कि अघिल्लो पुस्ताको ज्ञान र अनुभव नयाँ पुस्तालाई उत्तरदेनका रूपमा प्राप्त हुन्छ। विरोधाभाष यस अर्थमा हुन्छ कि नयाँ पुस्ताको गतिशीलता पूरानो पुस्ताले बोक्न सक्दैन।
युवा उमेर मात्र नभएर एक विशाल दृष्टिकोण पनि हो। यसर्थ युवा पुस्ताले उमेरका आधारमा मात्र होइन, उन्नत चेतना, आधुनिक युगको मूल्यबोध र बहुआयामिक क्षमता विकासका आधारमा नेतृत्व विकास गर्नुपर्छ।
राजनीतिमा नेतृत्व विकासका लागि केही महत्त्वपूर्ण आयाम छन्, आफू आवद्ध दलको सिद्धान्त र नीतिप्रतिको ज्ञान, त्यसमा नयाँपन र परिस्करणको चेतना, अध्ययन संस्कृतिको विकास, समाजमा रोलमोडल कायम गर्ने विचार र व्यवहार, समाज र जनताको अध्ययन र सम्बन्ध आदि। यी कुरामा पारंगत भएर मात्र सही नेतृत्व विकास हुन सक्दछ।
नेतृत्व एक प्रणाली पनि हो, यसले प्रणालीको विकासमा जोड दिनुपर्छ। राज्यमा प्रणाली विकासको ठोस मार्गचित्र प्रस्तुत गर्नु हाम्रो जिम्मेवारी हो।
राजनीतिमा नयाँ पुस्ताको उदयका लागि रचनात्मक संघर्ष र आफ्नै खुट्टामा उभिन सक्ने वैचारिक धरातल, जनसमुदायको समर्थन र प्राप्त जिम्मेवारीको कुशल कार्यसम्पादन चाहिन्छ, त्यसका लागि सबैले मेहनत गरौँ।