मलाई बाल्यकालदेखि नै स्वास्थ्य सेवामा काम गर्ने सपना थियो। सपना पछ्याउँदै २०७४ जेठ महिनादेखि प्युठानको गौमुखी गाउँपालिकास्थित खुङ्ग स्वास्थ्य चौकीमा स्वास्थ्य चौकी प्रमुखको भूमिकामा रहेर सेवा गर्ने मौका पाएँ।
यसैबाट जनताको घरदैलोमा गएर सेवा गर्ने, स्वास्थ्य सेवामा सहयात्री बन्ने अवसर प्राप्त भयो। गाउँमा जनताको आशा भरोसा पूरा गर्न पाउनेमा खुसीयाली छायो। तर अफसोस! सेवा गर्ने क्रममा सेवा लिन आउने दिदीबहिनीको कुरा सुन्दा मन खिन्न हुनथाल्यो।
बाल विवाह अनि जन्मान्तर कम हुँदा बच्चाले आमाको दूध खान नपाएर कुपोषण व्याप्त भएको देखेँ। ओपिडीमा आउने कुपोषणको शिकार भएका हुन्थे। पोषणका निम्ति संचालन भएका कार्यक्रम ओझेल परेको देख्दा मेरो मनमा परिवार नियोजनको सेवा बढाउँदै कम खर्चमा जनताको मनमा खुसी छाउने र परिवार नियोजनको साधन नै कम खर्चिलो र राज्यका निम्ति सर्वसुलभ साधन भएको अनुभव गरेँ।
मेरो कार्यक्षेत्रमा यशोदा (परिवर्तित नाम) को १६ वर्ष उमेरमा बिहे भएको रहेछ। बिहे भएको पाँच महिनामा गर्भवती भएकी रहिछन्। १८ वर्ष नपुग्दै बच्चा जन्माउँदा निकै गाह्रो भएर राति अन्दाजी १२ बजे स्वास्थ्य चौकी आइन्। मध्यरात भएता पनि सेवाग्राहीको दुःखमा मल्हम लगाउने सपनाले स्वास्थ्य क्षेत्रमा होमिएकी स्वास्थ्यकर्मीलाई कुनै प्रवाह भएन।
हामी स्वास्थ्यकर्मी अनमी उषा सुवेदी र म उसको बच्चालाई बचाउने प्रयास गर्दा पनि कम उमेरमा गर्भवती भएकी, गर्भावस्थामा स्याहार नपाएकी र पेटमा रहेको बच्चाको अवस्था बिग्रिसकेकोले र बच्चा जन्माउन नसकी हाम्रो अथक मेहनतका बावजुत पनि यो धर्तीबाट बिदा लिनुपरेको घटना घट्यो।
यो घटना मेरो मानसपटलमा घुमिरह्यो। सानै उमेरमा बिहे हुनु र परिवार नियोजन साधनबारे अनभिज्ञ हुँदा यस्तो घटना घटेकोदेखि दुःखित भएँ। उक्त घटना घटेको केही दिनमा मासिक प्रतिवेदन बैठक (स्वास्थ्य चौकीहरुको) पूजा स्वास्थ्य चौकीमा रहेको थियो। त्यही बेला त्यहाँ खोप कार्यक्रम चलिरहेको रहेछ। मेरो आँखा त्यतातिर गयो।
एकजना अन्दाजी २० वर्षिया महिला तीन वर्षको बच्चा हिँडाउँदै एउटा बच्चा बोकेर खोप केन्द्रमा आएकी थिइन्। उनको पेटमा अर्को बच्चा हुर्किरहेको रहेछ। गरिबीको कारण गाँसको समस्या रहेको रहेछ। 'हरेक बार खाना चार' एकादेशको कथा थियो उनका लागि। उनका दुवै बच्चा कुपोषणका शिकार थिए।
उनी हेर्दै रक्तअल्पता भएको थाहा हुन्थ्यो। उनका दुःखका कुरा सुन्दा कसको आँखाबाट आँसु नआउला र? सम्झाउन सोचेँ तर मेरो ओठबाट आवाज फुट्न गाह्रो भयो। विभिन्न यस्ता समस्या समाधान गर्न कसरी सकिएला भन्दै मस्तिष्क मन्थन गर्दै आफ्नो कार्यक्षेत्र तर्फ लागेँ। त्यहीबेला दैनिक पत्रिकामा सुन्तलीको पेटमा बच्चा बसेको थाहा पाएपछि प्रेमीले धोका दिँदा १६ वर्षको उमेरमा आत्महत्या गरेको घटनाले समाजलाई गिज्याइरहेको अनुभव गरेँ।
मलाई लाग्यो परिवार नियोजनको साधन स्वास्थ्य चौकीमा निःशुल्क वितरण भएको छ। यो साधन किन प्रयोग गर्न नसकेका होलान्? किन जानकारी नभएको होला? किन प्रयोग गर्न डराउँछन् होला? यशोदालाई सम्झेँ अनि सुन्तली र नाम थाहा नभएको बच्चालाई खोप लगाउन आएकी अर्की महिला। मनमनै सोचमग्न भएँ। थोरै रकममा खुसी दिने भनेकै परिवार नियोजनको प्रयोगदर बढाउने हो। यसको भरपर्दो प्रयोग गर्दा नागरिक र राज्यको खर्च जोगिन्छ।
नेपाल सरकारले १२ हप्तासम्म गर्भपतन सेवा निःशुल्क गरेको छ। गर्भपतन गर्दा आमाको स्वास्थ्यमा समेत खतरा हुन्छ। अर्कोतर्फ राज्यको तर्फबाट जनशक्ति र श्रोत साधन पनि खर्च हुन्छ। यसको सट्टा परिवार नियोजनको साधन प्रयोग गर्दा नागरिकले स्वास्थ्य चौकीबाट लिँदा पैसा तिर्नु पर्दैन भने राज्यले साधन सूपथ मूल्यमा प्राप्त गर्दछ।
नेपाल सरकारले सूचिकृत संस्थाबाट निःशुल्क प्रसूति सेवा उपलब्ध गराएको छ। पूर्वप्रसूति सेवा पनि निःशुल्क उपलब्ध गराउँछ अनि स्वास्थ्य संस्थामा गर्भवती जाँच र सुत्केरी गराउन प्रोत्साहन बापत थप रकम उपलब्ध गराउँछ। पोषण कार्यक्रम र खोप कार्यक्रममा ठूलो रकम खर्चनु परेको छ भने अनिश्चित गर्भधारण रोक्न सकेमा मात्र परिवार र राज्यको ठूलो धनराशी जोगिन्छ। परिवार नियोजनका साधनको बारेमा जानकारी दिनु नै वुद्धिमत्ता हुन्छ भन्ने अनुभव गरेँ।
मैले स्वास्थ्य संस्थामा आउने महिलालाई परिवार नियोजनका साधनको प्रयोग दरमा वृद्धि गरी सुखी र खुसी जीवनमा जोड दिएँ। स्टाफसँग कुरा गरेर नियमित आमा समूहको बैठक संचालन गर्नेमा जोड दिएँ। धेरैजसो आमा समूहको बैठकमा म उपस्थित भएर परिवार नियोजनको महत्व र नियमित सेवा लिँदाको फाइदा दर्शाएँ।
सासू-बुहारी कार्यक्रम संचालन गरेँ। त्यहाँको स्थानीय विद्यालय जनसहयोगी आधारभूत विद्यालयमा त्यहाँका प्रधानाध्यापकसँग समन्वय गरी परिवार नियोजन, महिनावारी र किशोरावस्थामा घट्ने घटनाबारे पटक-पटक स्वास्थ्य शिक्षा दिएँ। प्रजनन उमेरका महिला र उनका सासू खुलेर कुरा गर्न सक्ने भए। सेवा लिन आउनेको संख्या बढ्यो।
२० वर्ष नपुगी गर्भवती हुनेको संख्या कमी हुँदै गयो। अज्ञानताको कारण र अनिच्छित गर्भवती हुनेको संख्यामा कमी आयो। यसले मातृमृत्युदर र नवजात शिशु मृत्युदरमा समेत कमी ल्यायो। परिवार नियोजन साधन मध्ये कण्डम, पिल्स र डिपोको दैनिक सेवा प्रवाह भएता पनि तालिम प्राप्त जनशक्तिको अभावमा इम्पलान्ट सेवा निरन्तर दिनका लागि गौमुखी गाउँपालिका स्वास्थ्य शाखासँग समन्वय गरी सेटेलाइट क्लिनिक संचालन गरेर प्रयोगकर्ताको वृद्धि गरियो।
यस्तै किशोर-किशोरी कार्यक्रम स्वास्थ्य चौकीमा संचालन गरेर किशोर-किशोरीमा आउने परिवर्तन र अपनाउनु पर्ने सावधानीका कुरा बताएर शिक्षित तुल्याउने काम गरियो। यसरी सुन्तलीको जस्तो ब्यथा सुन्नु परेन। यसरी सुधार हुँदा आफैँलाई गर्वको महसुस हुँदो रहेछ। स्वास्थ्यकर्मी भएपछि गर्नुपर्ने भूमिका गर्न पाएकोमा मलाई खुसी लाग्छ र अहिले सुधार भएको भनि गाउँका दिदीबहिनीले भन्दा मन गद्गद् हुन्छ।
'परिवार योजना सेवामा पहुँच बराबरी'को नारा सहित आठौँ परिवार नियोजन दिवस मनाउँदा अनि परिवार योजनाका कार्यक्रम संचालन हुँदा मलाई आज मैले संचालन गरेका कार्यको झझल्को आउँछ। राजधानी र शिक्षित परिवारमा बालविवाह हटिसके पनि परिवार योजना बारे जानकारी भए पनि दुर्गम वस्तीमा अझै प्रचारप्रसारको अभावको अनुभवले मेरो मन पिरोल्छ।
सहरका तारे होटेलमा सेमिनार हुँदा योजना बन्दा गाउँ-गाउँमा सुधारका लागि दुर्गम दूरदराजमा स्वास्थ्यकर्मीको साथ कार्य भैदिए कस्तो राम्रो हुनेु सम्झिएकी छु।