केटीको उमेर २०/२१ कट्यो कि बिहे गर्नै पर्ने? २५ वर्षको उमेरपछि त राम्रो केटा पाउन्न रे! छोरीको जातलाई समयमै बिहे गराइदिएको राम्रो रे!
आजकल मलाई वैशाख-जेठ, माघ-मङ्सिर बिहेको महिनाहरु मनपर्न छोडेको छ र मनपर्न छाडेको छ केही आफन्तहरु जसले नयाँ-नयाँ बिहेको प्रस्ताव ल्याउँदै हाम्रो घरको मान्छेलाई उस्काइरहनु हुन्छ।
अहिलेको चाडपर्व मेरा लागि तनावग्रस्त हुने गरेका छन्। दसैँ नै उस्तै छ, तिहार नि उस्तै तर म र मेरो आफन्तहरुसँगको कुराकानी फरक हुन्छ। 'हेर तिमी बिहे गर अब। उमेर भएको छोरीचेली घरमा धेरै बसेको राम्रो हुँदैन।' अनि सँगै बुवाआमालाई नि उस्काइरहनु हुन्छ।
छोडिसकेकी छु आफन्तहरुको घरमा भेटघाट गर्न जान। सुनाउनु हुन्छ 'आजकल तिमीसित भेटघाट नि हुँदैन, किन आउँदिनौ?' प्यारा आफन्तहरु भन्न त सजिलो छ नि बिहे गर, बिहेपछि नि पढाइ भैहाल्छ भन्नलाई तर जसलाई परेको हुन्छ उसले मात्र बुझ्ने गर्दछ।
अनेकौँ प्रश्न तर उत्तर केही हुँदैन मसित। एउटै कुरा बारम्बार दोहोर्याएको नि मन पर्दैन। बिहेको लागि प्रस्ताव आउँदा घरबार हेर्यो, केटो राम्रो छ भन्यो, बिहेको लागि हुन्छ भन भन्यो। झन् त्यसमा केटा सरकारी नोकरीवाला भए त त्यो केटा छोड्नै हुन्न। जे-जसरी भए पनि मिलाउनु पर्छ। यसरी जिद्दी गर्छन् कि मानौँ त्यो केटा बाहेक अब यो संसारमा अरु बिहेको लागि केटा नै छैन जसरी।
मान्छु म बिहे समयमै गर्नुपर्छ र बिहे नै गर्दिनँ भनेकी नि होइन। ब्याचलर सकेर अहिले मास्टर जोइन गर्ने विचारमा बसेकी म। मेरो विचारलाई आँच आउने गरेर पटक-पटक एउटै कुराको मात्र बहस हुन्छ- 'बिहे कहिले?'
सायद घरको मान्छे अलि पुरानो परिपाटीको भएर मेरो कुरा नबुझेको होलान् भनेर कोही अरु साथीभाइ, इस्टमित्रसित कुरा सेयर गर्दा पनि अरुको जवाफ 'पढाइ त बिहेपछि पनि भैहाल्छ नि' भन्ने सुन्छु। नराम्रो लाग्छ आफ्नो पक्षमा कोही नहुँदा। मन नहुँदा-नहुँदै बिहे गर्नु पनि कसरी?
छर छिमेकमा आफ्नै उमेरको साथीहरुको बिहे हुँदा पनि धेरै कुरा सुन्नुपर्छ- 'उसको त बिहे भयो, उसले त नाइँ भनिन।' अब कसरी बताउँ सबैको मनमा बिहेको लागि एउटै उमेरमा हो, अब म बिहे गर्छु भनेर लाग्दैन। तैपनि म कुनै घरमा काम नलाग्ने गरेर बसेकी छैन। आफ्नो पढाइ अनि आफ्नो इज्जतमा बसेकी छु।
मैले पटक-पटक बिहेको कुरा टाल्ने प्रयास गर्दछु तर आमाबुवाले मलाई घच्घच्याइरहनु हुन्छ यो कुरामा- 'आमा-बुवाको जिम्मेवारी हो छोरीलाई राम्रो घरमा बिहे गराइदिनू।'
हो, म बुझ्छु जिम्मेवारी हो तर म पनि आफ्नो जिम्मेवारी आफै धान्न सक्ने बन्न चाहान्छु। उमेर २१/२२ कटैकै कारण होइन, आफ्नो इच्छाअनुसार बिहे गर्न चाहान्छु।
मेरो उमेरको कतिपय दिदी-बहिनीहरुलाई उहाहरुको घरबाट बिहेको लागि जिद्दी गरेर उहाँहरुलाई मानसिक तनाब झेलेर अन्तिममा बाध्य भई बिहे गर्नु हुन्छ। कतिको त घरबार ठिकै चल्छ तर धेरैजसोको बिहेपछिको जीवन कष्टकर बनिदिन्छ।
नेपालको परिपाटीमा हेर्ने हो भने रोजगारी छैन। अनि २०/२१ को उमेरमा पढाइ नि कमकमै हुने गर्दछ। बिहेपछि कतिले त पढाइ छोड्छन्। सयमा बिस प्रतिशतले मात्र जागिर र पढाइ गर्छन् होला।
म बिहे नै नगर भन्ने पक्षमा होइन तर छोरी सक्षम नहुँदासम्म उसको मन इच्छा छ भने पढाउनु पर्छ। जसले गर्दा पछि गएर आमा-बुवाको नाम अगाडि आउने छ उसको छोरीले यो पोस्टमा काम गर्छिन् भनेर। धेरै कम अभिभावकले मात्र आफ्नो छोरीको भविष्य हेर्ने गर्छन् बाँकी सबले त छिमेकी, आफन्तजनहरुकै कुरा सुनेर छोरीको बिहेको लागि अगाडि बढ्छन्।
म यही भन्न चाहान्छु, कुरा सबैको सुन्नु पर्छ तर काम आफ्नो मनको गर्नु पर्दछ न कि कुनै करकापमा। जिन्दगी हाम्रो हो, कोसिस गरौँ आफूले आफूलाई सकेसम्म सक्षम बनाउने।