बिहानको ५ बज्यो। यो कुरा मैले अलार्म बजेपछि मात्र थाहा पाएँ। तर, मेरो अलार्म कुनै मोबाइलको कान खाने रिङटोन या मनै नपर्ने गीत होइन। मेरो अलार्म मेरो हजुरबुबा हो। अर्थात्, हजुरबुबाले आज पनि मैले जहिल्यै सुन्दै आएको तर कहिल्यै बुझ्न नसकेको मन्त्र पाठ गर्न थाल्नुभयो।
बुबाका अनुसार बिहानै उठेर मन्त्र पाठ गरे 'थिङ्किङ पावर' बढ्छ अरे। बुबाले प्राय: 'थिङ्किङ पावर' का बारेमा मलाई प्रवचन दिइरहनु हुन्छ। तर, मलाई भने आधा निन्द्रामा कुनै किसिमको 'पावर' प्राप्त होला जस्तो लाग्दैन। त्यसैले म सिरानीले कान थुन्दै अर्कोपट्टि फर्किन्छु। बुबाले यो कुरा जानेर झन् जोडले पाठ गर्न थाल्नुहुन्छ। मेरो निन्द्रा बिग्रिसकेको भएर पनि होला मलाई अब बुबाको आवाज झन् ठूलो लाग्न थाल्छ।
यस्तै अर्धनिन्द्राबाट पूरै होसमा आउने यात्राका क्रममा म आधा घण्टा बिताइसक्छु। समय भयो ५:३०, अब अझै आधा घण्टा बित्यो भने अनलाइन क्लास छुट्न सक्छ। त्यही भएर अब भने उठ्ने तयारी गर्नुपर्छ। ५:४० मा उठेर ५:५५ मा ल्यापटप तयार पार्दासम्म मलाई महसुस हुन्छ, हजुरबुबा साँच्चै मेरो अलार्म क्लक हो।
कालो लोती भएको सेतो चप्पल, खैरो रङको कमिज सुरुवाल, कालो इस्टकोट, झुस्स सेता दारी, जेब्राजस्तो कालोसेतो रंग मिसिएका जुँगा, चाउरी परेका गाला, शीरमा पूर्वेली ढाका टोपी र हातमा सेतो घडी लगाएर बुबा मूलपानीको डाँडामा डुल्न निस्कनुहुन्छ। बुबा डुल्नका लागि बाहिर निस्कनसाथ कुनै देशको राष्ट्रपतिलाई बडिगार्डले पहरेदारी गर्न बसेजस्तै मूलपानी छेउछाउका करिब आधा दर्जन कुकुर बुबालाई पर्खिएर बसेका हुन्छन्। बुबाको पछि-पछि लाग्दै ती कुकुरहरू माथिल्लो डाँडाको किराना पसलसम्म पुग्छन्।
'के छ है नानी, म त मेरा सैनिकहरूलाई बिस्कुट खुवाउन आएँ, दुई प्याकेट देऊ देऊ' भन्दै २० रुपैयाँको नोट दिएर बुबा बिस्कुट बाँड्न थाल्नुहुन्छ। हिजोआज साहुनीले बुबालाई मात्र होइन, कुकुरहरूलाई पनि चिन्न थालेकी छिन्। कुकुरहरूले बुबालाई मात्र होइन, साहुनीलाई पनि चिन्न थालेका छन्। बुबालाई अहिले कुन लोभी कुकुरले अरूको भाग पनि खोसेर खान खोज्छ र कुन सोझो कुकुरको भाग सधैँ खोसिन्छ भन्ने पनि थाहा छ।
बुबालाई थाहा छ, कुन कुकुरलाई अलि बढी भोक लाग्छ र कुन कुकुरले थोरै खाएर पनि चित्त बुझाउँछ। बुबाले दुइटा प्याकेट किन्नासाथ एउटा कुकुरले मज्जाले भुक्छ। त्यो खुसी भएर भुकेको हो कि अझै एउटा प्याकेट माग गर्दै भुकेको हो म बुझ्दिनँ। बुबाले पक्कै बुझ्नु हन्छ होला। तर, जे बुझे पनि बुबा दुई वटाभन्दा बढी प्याकेट बिस्कुट किन्नुहुँदैन। किनकि, बुबाले महिनाको ३ हजार वृद्ध भत्ताबाट हरेक दिन २० रुपैयाँ कुकुरलाई छुट्याउने गर्नुभएको छ। र, बाँकी रहेको २४०० परेवालाई मकै, बिरालालाई दूध, बाँदरलाई फलफूल जस्ता कुराहरूमा खर्च गर्नुहुन्छ।
हरेक दिन कुनै काखे बच्चाले आफ्नी आमालाई हेरेझैँ ती कुकुरहरूले बुबालाई हेर्दै बिस्कुट थापेर बसेको देख्दा यस्तो लाग्छ, मानौँ बुबा विश्वकै धनी व्यक्ति हो। हो पनि किनकि बुबाका लागि धनको परिभाषा अरूभन्दा फरक छ।
'बुबा, यो सब गर्दा खुसी मिल्छ हो?' मैले सोधेँ।
'तैँले भोक मेटाउन कसैको बाटो कुरेर बस्नु परेको छ?' बुबाले उल्टै मलाई प्रतिप्रश्न गर्नुभयो।
'अनि, त्यसरी कुकुरले पो बिस्कुट पायो त, तपाईंले के पाउनुभयो?' म फेरि सोध्छु।
'सुख र दुःख स्वभाव हो केटा, पैसा होइन' बुबाले पुन: जवाफ दिनुहुन्छ।
बुबाको कुरा मैले बुझ्न खोजेँ। तर, सायद बुबाको कुरा बुझ्न मेरो 'थिङ्किङ पावर' अलि पुगेको थिएन। यसको अर्थ, म अब बिहानै उठेर पाठ गर्ने वाला पनि थिइनँ।
बाटोमा हिँड्ने दृष्टिविहीन, जोगी, अपांग या कोही अशक्त व्यक्ति बुबाको दैलो नढकढक्याइ जाँदैनन्। आखिर मान्छेलाई डोर्याउने आशाले नै त हो। पशुलाई आहाराको आशा, मान्छेलाई सहाराको आशा। बुबाले आफूसम्म आएका जो-कोहीलाई कफी हालेको चिया खुवाउन छुटाउनु हुँदैन। हजुरआमा घरमा भएको बेलामा हजुरआमाले बनाउनुहुन्छ र नभएको बेला आफैँले अरू बेलाभन्दा एक चम्ची चिनी बढी हालेर बनाउनुहुन्छ।
भेट्न आएका हरेकका कथा सुन्नुहुन्छ, आफ्ना कथा सुनाउनुहुन्छ र आफूले निर्माण गरेका केही 'थिङ्किङ पावर' का थियोरी पनि बुझाउनुहुन्छ। अनि, उनीहरूले बुझे जसरी टाउको हल्लाइरहेका देख्दा म मात्र पो अबुझ रहेछु कि जस्तो लाग्छ। ती मान्छेहरूसँग छतमा बसेर बुबाको लामो संवाद चल्छ। बुबालाई बाटामा कुकुरले पहरेदारी दिएजस्तै छतमा परेवाले पहरेदारी दिन्छन्। परेवा हेर्दै बुबा सम्झनुहुन्छ, कसरी हातमा भिर्न र भित्तामा झुण्ड्याउन घडी नहुँदा परेवाले घुर्दै समय दिने गर्थे। बिहानबिहानै कुखुराले बासेर समय दिन्थ्यो। साँझ झ्याउँकिरीले कराएर समय दिन्थ्यो।
अहिले हात र भित्तामा घडी छ भन्दैमा समयले सिकाएको प्रेमभाव बुबाले भुल्नुभएको छैन। बुबाले आफ्नो सारा जीवन गाईवस्तुसँग बिताउनुभयो। गोठालो कर्म निभाउँदा बुबाको संगत मान्छेभन्दा बढी गाई, भैँसी, गोरु, बाख्रा आदिसँग भयो। दूध बेचेरै जीविका चलाउने बुबाको आयआर्जनको स्रोत नै पशुपालन थियो। सोही कारणले पनि होला बुबाको पशुपन्छीप्रतिको प्रेम अझै प्रगाढ छ। अहिले पनि बुबाका मान्छेभन्दा बढी पशुपन्छी साथी छन्। बुबा भन्नुहुन्छ 'मान्छे तर्क गर्छन्, तर्क नमिल्दा विवाद गर्छन्। पशु त्यति बाठा हुँदैनन्, बाठालाई भन्दा अरुलाई माया गर्न सजिलो हुन्छ।'
एकदिन बुबा छतमा बसिरहँदा अचानक पल्लो घरबाट बच्चा रोएको आवाज आयो। पछि बुबालाई थाहा भयो, त्यस घरका अभिभावकले बच्चालाई कुटिरहेका रहेछन्। बुबा त्यही घरको गेटसम्म पुगेर जोडले कराउन थाल्नुभयो। बुबाले पत्रकार र पुलिस बोलाउने चेतावनी दिँदै हुनुहुन्थ्यो। विस्तारै बच्चाको रुवाइ कम हुँदै गयो। त्यस दिन बुबालाई ठुलै सकस पर्यो। उहाँ अबेरसम्म टोलाएर बस्नुभयो। भोलिपल्ट घरभन्दा अलि परको स्कुल गएर त्यहाँको हेडमास्टरलाई केही सल्लाह दिएर आउनु भएछ।
सल्लाह नम्बर १- कुटाइले बच्चा डराउँछन्। डरबाट सपना जन्मदैन। तपाईंले त अनेकौँ सपनाको बिउ रोप्नुपर्छ। कसैको सपना तुहिन दिनु हुँदैन।
सल्लाह नम्बर २- गुरु भनेको विद्या हो। विद्या हरेक समस्याको मलम हो। तपाईं पनि मलम बन्नुपर्छ; कसैको दुखाइको कारण होइन।
यो सुनेर हेडमास्टर छक्क परे। कोही किन बिनाकारण उनको स्कुलमा आएर उनैलाई पाठ पढाएर गयो। हेडमास्टरले बुबालाई कहिल्यै देखेका थिएनन्। बुबाले पनि हेडमास्टरलाई कहिल्यै देख्नुभएको थिएन। तर, हिजो सुनेको बच्चाको रुवाइले बुबालाई त्यो बच्चाजस्तै सयौँ अरू बच्चाका बारेमा पनि सोच्न बाध्य बनायो।
हेडमास्टरले बच्चा कुट्थे कि कुट्दैन थिए भन्ने त बुबालाई थाहा थिएन। तर, स्कुलबाट फर्कँदा बुबालाई लाग्यो, उहाँले ती हेडमास्टरलाई आफ्नो दायित्वबोध भने गराएर आउनुभयो। यदि हेडमास्टर पहिल्यै आफ्नो कर्तव्यप्रति इमान्दार थिए भने पनि उनलाई एकजना ७५ वर्षका बुढाको 'थिङ्किङ पावर' ले पक्कै आकर्षित गर्यो होला।
बुबा विगतका पाना पल्टाउँदै आफूले ७ दिनसम्म हिँड्न नसक्ने गरी कुटाइ खाएको दिन सम्झनुहुन्छ। कुटाइदेखि बच्न पनि बुबाले कैयौँ पटक घरबाट भाग्ने प्रयास गर्नुभएको थियो। ९ कक्षामा जीवविज्ञान र भूगोल विषय लिएर पढ्नुभएका बुबाको १० कक्षामा पुग्दा बिहे भयो। काम गर्न घरी भारत घरी नेपाल ओहोरदोहोर गर्दै पढाइलाई निरन्तरता दिन खोज्दा बुबाको १० कक्षासम्म पुग्दा उमेर २३ पुगिसकेको थियो।
विद्यालयको शुल्क तिर्ने पैसा नहुँदा 'तेरो अंश नै गोठ भयो' भन्दै घरकाले बिहे गराइदिएको समय बुबालाई अझै याद छ। अहिले पनि बुबाले कोही बच्चाको दुःख देख्दा ५० वर्षअघिको आफूलाई सम्झनुहुन्छ। ५० वर्षअघि बुबालाई जस्तो मान्छेको आवश्यकता थियो बुबालाई अहिले त्यस्तै मान्छे बन्नु छ- फराकिलो हृदय बोकेको मान्छे।
भारतस्थित अरुणाञ्चल प्रदेशमै बुबाका ४ छोरा र एक छोरी जन्मिए। विजयनगरमा त्यसबेला कक्षा ८ पछिको पढाइ थिएन। पढाइलाई निरन्तरता दिन अर्को गाउँसम्म पुग्नुपर्ने बाध्यता थियो। अर्को गाउँमा पढाइमा अब्बल ठहरिने विधार्थीहरूलाई स्थानीय केटाहरूले दुःख दिनेदेखि लिएर गुलेली हानेर आँखा फुटाइदिनेसम्मका हर्कत गर्दा रहेछन्। त्यसै कारणले बुबा र आमाले पाँचै छोराछोरीलाई लिएर झापाको गौरादह आउनुभयो।
बुबाका पाँचै छोराछोरीहरू पढाइमा उत्कृष्ट थिए। जेठा छोराले विजयनगरको स्कुलमा अङ्ग्रेजीमा भाषण दिने गर्थे भने माइला छोराले आफ्नो दाजुका कक्षाका किताबसम्म पढेर भ्याउँथे। त्यस्तै साइँला छोरा, कान्छा छोरा र छोरी पनि कक्षामा विरलै दोस्रो हुनुपर्थ्यो। त्यसैले छोराछोरीको पढाइको पढाइ नबिग्रियोस् भन्ने मनाशयले बुबाआमा नेपाल आउनुभयो। तर, बुबाका गाई, गोठ र जमिन सबै विजयनगरमै छुटे।
गौरादहमा शून्यदेखि जीवन सुरु गर्नुपर्दा निकै उहाँलाई कठिन भयो। छोराछोरी भोलिपल्टै स्कुलमा भर्ना त भए। तर, आर्थिक समस्याले परिवारलाई पिरोल्दै ल्यायो, ऋण थपिँदै गयो। फलस्वरूप बुबा कसैलाई खबर नदिई पैसा कमाउने उद्देश्यसहित फेरि भारत पस्नुभयो। वर्षौंसम्म पनि भारतमा रकम जुटाउन नसकेको बेला बुबाको भेट एक दिन एउटा साधुसँग भयो।
साधुले सोधे, 'तेरा बाउआमा छन् कि छैनन्?'
'छन्।'
'तेरी श्रीमती छ कि छैन?'
'छे।'
'तेरा छोराछोरी छन् कि छैनन्?'
'छन्।'
'यत्रो धन छोडेर त कागजको नोट खोज्दै भौँतारिरहेको छस्। कागजको नोट त जीवनभर कमाउन सक्छस् , परिवार केवल एक पटक पाइन्छ।'
यति भन्दै साधुले बुबालाई घर फर्कने गाडीभाडा दिएर पठाए। बुबा दश वर्षपछि घर फर्कनुभयो। नेपालमै फर्केर केही वर्षको मेहनतले उहाँले सबैको ऋण तिर्नुभयो। आफू घरमा नहुँदा आमाले अनेकौ कष्ट सहेर, कहिले साहुको गाली सुनेर त कहिले आफ्नै गहना बेचेर पनि छोराछोरीको पढाइमा कुनै बाधा आउन नदिएकाले बुबाको हृदयमा आमाप्रति सधैँ उच्च सम्मान छ।
वर्तमान समयमा आउँदा अहिले बुबाआमा काठमाडौँ बसेर १५ वर्षदेखि आफ्नै खेतको चामल खाँदै हुनुहुन्छ। आमाले सागसब्जी आफैँ उत्पादन गर्नुहुन्छ। बुबा सम्झनुहुन्छ माइला छोरालाई इन्जिनियरिङ पढाउँछु भन्दा गाउँ वरपरका मान्छेले 'गोठालाको छोरो इन्जिनियर' भन्दै गिज्याएका थिए। आज तिनै माइला छोरा हाइड्रो इन्जिनियर हुन्।
जेठा छोरा इटहरीस्थित विश्व आदर्श कलेज र स्कुलका प्रिन्सिपल छन्। साइला छोरा आफ्नै व्यवसाय चलाएर बसेका छन् र बुबा आमासँगै मुलपानीमा बस्छन्। कान्छा छोरा युवा वैज्ञानिक र छोरी शाखा अधिकृत हुन्। र, म चाहिँ हजुरबुबा अनिरुद्र दुलालको जेठो नाति हुँ।
बेलुकी भयो। रातिको ९ बजिसकेछ। बुबा आफ्नो टिकटिके मोबाइलमा सर्पवाला गेम खेल्दै हुनुहुन्छ। त्यस गेममा मैले बुबालाई आजसम्म हराउन सकेको छैन। सायद त्यहाँ पनि बुबा आफ्नो कुनै 'थिङ्किङ पावर' लगाउनुहुन्छ होला। बुबाको 'थिङ्किङ पावर' मैले नबुझे पनि यति चाहिँ बुझिसकेँ- बुबाले सिकाएका पाठ कुनै किताबका पानामा भेटिँदैनन्। बुबा आफैँमा एक महाकाव्य हुन्।
म आफ्नो मोबाइल राख्छु। अलार्म भने लगाउँदिनँ। मलाई विश्वास छ, म भोलि पनि ६ बजे अगावै उठिसक्छु। बुबा जो हुनुहुन्छ। सुत्न ओछ्यान मिलाउँदै गर्दा माथि भान्साबाट केही खसेको आवाज आउँछ। बुबा सुतिसक्नु भएको रहेछ। म माथि जान्छु। झ्याल छेउमा बाँदर आएको छ। म त्यस बाँदरलाई हेर्छु। भोकै देखिन्छ। बुबालाई खोज्दै थियो होला। मलाई अब बुबाजस्तै धनी बन्नु थियो।