२०७८ सालमा हुने जनगणनाको तयारी दुई वर्षदेखि प्रारम्भ गरिएको हो। ठूल्ठूला गणना र लामा सर्वेक्षण गर्न धेरै समय चाहिन्छ जसलाई हामी पूर्वतयारीको समय भनेर भन्छौं। यसमा स्रोत व्यवस्थापन गर्ने, प्रश्नावलीभित्र के-के विषय राख्ने भन्ने सम्बन्धमा सरोकारवालासँग छलफल, निर्णय, बजेटको अनुमान, जनशक्तिको अनुमान आदि गर्ने गरिन्छ।
पूर्वतयारीका सम्बन्धमा २०७६ साल चैत्र महिनामा नमुना जनगणना भयो जसलाई 'पाइलट सेन्सस' पनि भन्ने गरिन्छ। नमुना जनगणनाको क्रममा प्रदेश स्तरका छानिएका गाउँपालिका तथा नगरपालिका तहमा अध्ययन गर्दैगर्दा गतवर्ष पनि हामीलाई कोभिड-१९ ले प्रभावित पार्यो। हामीले भनेको समयमा त्यो काम सम्पन्न गर्न सकेनौं लकडाउनका कारणले।
२०७७ असारमा लकडाउन अलिक खुकुलो भएपछि फेरि त्यसलाई निरन्तरता दियौँ। पाइलट जनगणनाबाट प्राप्त नतिजाहरूलाई विश्लेषण गरेर (सामान्यता पाइलट जनगणनाका नतिजालाई सार्वजनिक गरिँदैन) बजेटको, जनशक्तिको अनुमान गर्नका निम्ति, हामीले राखेका प्रश्नहरू सान्दर्भिक छन् कि छैनन् जाँच गर्नका निम्ति, हाम्रा गणकहरूले ती प्रश्न सहीसँग बुझ्न सक्छ कि सक्दैनन्? उत्तरदाताले त्यसको सही जवाफ दिन सक्छन् कि सक्दैनन्? भन्ने प्राविधिक विषयको जाँच गर्नका निम्ति पाइलट जनगणना गर्ने चलन छ। त्यसमा कोभिडको पनि प्रभाव परेको हुनाले हामी गत वर्षदेखि सचेत पनि भयौं।
कोभिडका कारणले १० वर्षमा गरिने जनगणनामा केही असर नपरोस् भनेर पूर्वतयारीका कार्यक्रमहरू सञ्चालन गर्यौं। तर दुःखको कुरा, कोभिडका कारण नेपाल सरकारले जनगणनाका सबै कार्यक्रमहरू २०७८ वैशाख २० गतेदेखि स्थगन गर्ने निर्णय गर्यो र, भदौको २१ गतेदेखि पुनः जनगणना सञ्चालन गर्न सकिने निर्णय गर्यो। जसअनुसार जनगणनाको नयाँ कार्यतालिका सार्वजनिक भएको छ। भदौ ३० गतेदेखि असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण फारम भर्ने काम भइरहेको छ। मूल जनगणना अर्थात् गणकहरू घर-घरमा गएर व्यक्तिगत लागत लिने काम कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुँदैछ।
सेन्सस ईन एक्सन
अहिले हामी जनगणनाको स्थलगत कामको दौरानमा छौं। करिब ७ हजार सुपरभाइजरहरू घर-घरमा पुगेर घर-परिवार लागत लिने काम गरिरहेका छन्। ३९ हजार जना गणकको नतिजा हामीले प्रकाशन गरेर उनीहरूलाई नियुक्ती पत्र र तालिम दिने तयारीमा छौं। एउटा गणना क्षेत्र तोकेर उहाँहरूलाई नक्सासमेत दिएर पठाउने भएको हुँदा गणकहरू घर-घरमा पुग्छन्। एउटा गणकले एउटा घरपरिवारमा सरदर आधा घन्टाभित्र प्रश्नको उत्तर टिपिसक्छ।
खेतीपातीको बेला जनगणना किन?
यस वर्षको अपवाद बाहेक नेपालमा जनगणना प्रायः जेठ असारमा गरिन्छ। यो चलन २००९/११ सालको जनगणनाबाट सुरु भएको हो। नेपालको जनगणनाको इतिहासमा यो पाँचौँ जनगणना हो। र, पहिलो वैज्ञानिक जनगणना हो। त्यसको खास कारण पनि तथ्यांकलाई वास्तविक बनाउनका लागि नै हो। जेठ असारमा खेतीपाती गर्नका लागि बाहिर गएका मान्छे पनि घरमा फर्किन्छन्।
कृषि प्रधान र पाखुरे श्रम गर्नुपर्ने बाध्यताका कारण यो समयमा प्रायः मानिसहरू घर-घरमा भेटिन्छन्। घर बाहिर भएका मानिसहरू चाडबाडको समयमा पनि घरमा फर्किन्छन्। चाडबाडमा जनगणना गर्दा मानिसले अलि असहज महसुस गर्छन्। त्यसैले चाडबाडभन्दा खेतीपातीको समय जनगणनाका लागि उपयुक्त हुन्छ।
कोरोनाका कारण खेतीपातीको समयमा तय गरिएको जनगणना यसपालि बाली भित्र्याउने बेला अर्थात् कात्तिक मंसिरमा गर्नुपर्ने भयो। दशैं-तिहार र छठ जस्ता नेपालिका ठूला पर्व सकिने वित्तिकै जनगणना सुरु हुने हुनाले धेरै मानिसहरू घरबाट फर्किसकेका हुँदैनन् भन्ने हाम्रो अनुमान छ। फेरि जेठ असारमा बाली लगाउन जति चटारो हुन्छ कात्तिक मंसिरमा बाली भित्र्याउन पनि उस्तै चटारो हुने भएकोले धेरै मानिस घरमै भेटिएलान् भन्ने हाम्रो अनुमान पनि छ। जनगणनामा 'कोही पनि नछुटुन् कोही पनि नदोहोरिउन्' भन्ने हाम्रो मुख्य उद्देश्य नै हो। यसलाई अझ प्रभावकारी बनाउन यसपालि 'मेरो जनगणना मेरो सहभागिता' भन्ने नारा तय गरिएको छ।
जनगणनाः देशको हालसालैको फोटो खिचेजस्तो
जनगणनालाई हामीले देशको फोटो खिचेको जस्तो सम्झिनु पर्दछ। यो एक किसिमले देशको 'स्न्याप सट' नै हो। केको फोटो भन्दा समग्र राष्ट्रको। अहिले हामीले गणना गर्नका लागि दुई हप्ताको समय लिने गरेका छौं तर योभन्दा छोटो समयमा जनगणना गर्न सक्ने हो भने अझ राम्रो हुन्थ्यो। कैयौं देशहरूले छोटो समयमा जनगणना गरेको पाइन्छ। यसलाई 'डिफ्याक्टो विधि' भन्छन्।
हाम्रोमा डिफ्याक्टो विधि नगरेर 'मोडिफाइड डिजुरे विधि'को प्रयोग गर्ने गरेका छौं। यो भनेको मान्छे प्रायः गरेर धेरै समय जहाँ बसोबास गर्छ त्यहींबाट उसको गणना हुन्छ। उदाहरणका लागि दार्चुलाबाट कोही मानिस कामको सिलसिलामा रिपिटेड काठमाडौं आएर छ महिनादेखि बसेको छ भने उसको गणना काठमाडौंमै गरिन्छ। त्यसैले हामीले अपनाएको विधिलाई मोडिफाइड डिजुरे भनिएको हो।
जनगणनामा के-के सोधिन्छ?
१५ दिन लगाएर घरपरिवारमा हाम्रा गणकहरू पुगेर उत्तरदाताहरूसँग विस्तृत विवरण संकलन गर्दै हुनुहुन्छ। गणकहरूले मूलतः जनसाङ्ख्यिक विषयहरू मान्छेको संख्यादेखि लिएर जन्मका विषयहरू, उमेरका विषयहरू, विवाहका विषयहरू सोध्छन्। उत्तरदाताले आर्जन गर्नुभएका गुणहरू शिक्षासम्बन्धी, स्वास्थ्य सम्बन्धी, सम्बन्ध विच्छेद सम्बन्धी विषयहरू अथवा बसाइसराईका विषयहरू, मृत्युसँग सम्बन्धित विवरणसमेतदेखि लिएर मान्छे जन्मिएदेखि नमरुन्जेलसम्म गर्ने क्रियाकलापहरू विशेषरुपमा हामी संकलन गर्दैछौं।
यसमा मूलतः गणना गरिने विषय भनेको जनसाङ्ख्यिक विषयहरू नै हुन्। जसलाई हामीले जनसंख्याका अवयवहरू भनेर पनि भन्छौं। जन्म, मृत्यु, बसाइसराइ र तीसँग सम्बन्धित अन्य विषयहरू मृत्युका कारणहरू, आन्तरिक बसाइसराई, देशबाहिरका बसाइसराई आदि। अनुपस्थित जनसंख्याका बारेमा पनि उहाँहरूका विषयमा विस्तृत विवरण संकलन गर्दैछौं।
मान्छेले जन्मँदै आर्जन गरेका विषयहरू जसलाई हामीले सामाजिक विषय भन्ने गर्छौं। जस्तै जातिका कुरा, भाषा, धर्म लगायत सामाजिक विषयका कुरा पनि संकलन गर्दैछौं। मान्छे बढ्दै गएपछि शिक्षाका, रोजगारका कुराहरू, कुन-कुन कुरामा दक्षता छ, कति दक्षता हासिल गर्नुभएको छ, पढाइको स्थिति के छ भन्ने कुराहरू पनि संकलन गछौं। त्यसपछि आर्थिक क्रियाकलापहरुः मूलतः अक्सर रोजगार र बेरोजगारीका विषय, सामाजिक विषय, आर्थिक विषयहरूको पनि संकलन गर्दैछौँ।
अक्सर के काम गर्नुभयो? अक्सर कहाँ काम गर्नुभयो? अक्सर रोजगारी, अक्सर बेरोजगारीका विषयहरू मूलतः हामीले १० वर्ष वा सोभन्दा माथिका मानिसहरूसँग यी विवरण सोध्दै छौं। यो बाहेक पारिवारिक विवरण पनि हामी संकलन गर्दैछौं। जस्तै खेतीयोग्य जमिन कति छ, गाईवस्तु कति छन्? पशुपंक्षी पालनको अवस्था, परिवारका मान्छेको वित्तीय पहुँच छ कि छैन, सरकारले उपलब्ध गराएका सेवा-सुविधा माथिको पहुँच अथवा आफ्नै क्षमताबाट प्राप्त गरेका सेवा-सुविधाको पहुँच जसलाई हामीले (यो शब्द अलि वेल्थ इन्डेक्स मापन गर्नका लागि प्रयोग गछौं।)
ती विस्तृत विवरणहरू खानेपानीको स्रोत के हो? विद्युतको स्रोत के हो? घरमा शौचालय छ कि छैन? ढल निकासको व्यवस्था छ कि छैन? रेडियो, टेलिभिजन छ कि छैन? लगायत सेवासुविधाको पहुँच पुगेको छ कि छैन भन्ने विषयमा पनि हामीले विस्तृत विवरण संकलन गर्दैछौं।
यसपालि हामीले नयाँ संकलन गर्ने भनेको गैरआवासीय घरहरू। व्यापारिक भवनहरू, सरकारी भवनहरू अथवा अन्य प्रयोजनमा प्रयोग गरिएका घर, भवनहरू जहाँ परिवार बस्दैनन् तर अन्य प्रयोजनमा प्रयोग गरिन्छ। यसपालिको जनगणनाले वास्तविक रुपमा घरको संख्या पनि दिनेछ। अघिल्ला जनगणनाहरूमा हामीले परिवारको संख्या मात्रै प्रकाशन गर्ने गर्दथ्यौं। यस वर्ष घरको संख्या र ती घरहरूको प्रयोजन, आयु र तला संख्या के छ भन्ने कुराहरू पनि सार्वजनिक गर्दैछौं। यसका अतिरिक्त मान्छेका व्यक्तिगत विवरणहरूको विस्तृत विवरण संकलन हुँदैछन्।
करिब चार अर्ब खर्चमा सबै खाले डाटा
मूलतः तथ्यांक किन चाहिन्छ भन्ने विषयमा हामी प्रवेश गर्यो भने तथ्यांकले हाम्रो धरातल देखाउँछ। हामी कहाँ छौं भन्ने कुरा तथ्यांकले देखाउँछ। हामीलाई कहाँ पुग्नु छ भनेर लक्ष्य निर्धारण गर्दा पनि तथ्यांक चाहिन्छ। हामी कहाँ छौं? हामीलाई कहाँ पुग्नु छ? हामी कहाँ पुग्यौं त? भनेर अनुगमन मूल्यांकन गर्न पनि तथ्यांक नै चाहिन्छ। यी तथ्यांकहरू विभिन्न स्रोतबाट उपलब्ध हुन्छन्।
धेरै तथ्यांक प्रशासनिक अभिलेखबाट पनि लिने गरिन्छ। काम गर्दै जाँदा आफैँ उपलब्ध हुने तथ्यांकहरू। जसलाई हामी व्यवस्थापन सूचना प्रणाली भनेर पनि भन्छौं। त्यहाँबाट पनि धेरै तथ्यांक उपलब्ध हुन्छन्। हाम्रोजस्तो विकासोन्मुख देशमा 'म्यानेजमेन्ट इन्फरमेशन सिस्टम' त्यति व्यवस्थित रुपमा विकास नभइसकेकोले विभिन्न किसिमका सर्वेक्षण र गणनाहरूमार्फत पनि हामीले धेरै विवरणहरू संकलन गर्छौं। यो जनगणनाले हाम्रो धरातल देखाउनेवाला छ।
हाम्रो आर्थिक अवस्था के छ? हाम्रो सामाजिक अवस्था के छ? हाम्रो जनसांखिक अवस्था के छ? अन्य देशको तुलनामा हामी कहाँ छौं? हाम्रै देशभित्रको एउटा भूभाग र अर्को भूभागको अवस्था के छ? हिमालको अवस्था कस्तो छ? पहाडको अवस्था कस्तो छ? मधेसको अवस्था कस्तो छ? राज्यपुनः संरचनापछि स्थापना भएका स्थानीयतहहरूको स्तर जनसांख्यिक आकारको आधारमा, शिक्षा, स्वास्थ्य माथिको पहुँचको आधारमा अथवा अन्य विषय माथिको पहुँचको आधारमा कस्तो छ? मोटरबाटो पुगेको नपुगेको, खानेपानीको स्रोत, आम्दानीको स्थिति लगायत यी विविध विषयमा अध्ययन गर्न तुलनात्मक विवरणहरू पनि अत्यन्तै तल्लो तहसम्मको गणनाले उपलब्ध गराउनेवाला छ।
वास्तवमा धेरै विवरण संकलन गर्न लागेकोले यो अलिकति धेरै खर्चिलो पनि भएको छ। यसपालिको जनगणनामा झण्डै-झण्डै ४ अर्ब रुपैयाँ खर्च हुने भन्ने हाम्रो प्रारम्भिक अनुमान छ। यो ४ अर्ब विभिन्न तहमा खर्च हुने हो।
मूल गणनाको समयमा हाम्रा झण्डै ४० हजार जति गणकहरू, प्रत्येक घरपरिवारमा पुगेर विस्तृत रुपमा पारिवारिक र व्यक्तिगत विवरणहरू संकलन गर्नुहुनेछ। यी विवरणमा ५५ वटा प्रश्नहरू राखिएको छ। जसलाई हामी मूल प्रश्नावली भन्छौं। यति धेरै प्रश्नहरू जम्मा गरेर हामीले गणना गर्न थालेको, यति ठूलो जनशक्तिको परिचालन गर्न थालेको हुनाले र छोटो अवधिमा यी काम सम्पन्न गर्नुपर्दा यो खर्चिलो पनि छ।
जनगणना, सर्वेक्षण संकलन विधि भनेको आफैँमा खर्चिलो हो। यसका वैकल्पिक विषयहरूमा अन्तर्राष्ट्रिय र राष्ट्रिय हिसाबमा पनि छलफलहरू सुरु भइसकेका छन्। यति खर्चिलो जनगणना हाम्रो देशमा पनि आगामी २०/३० वर्षपछि नगर्ने हो कि भन्ने सोच बनाउँदै छौं।
सामुदायिक प्रश्नावली किन?
यसपालिको जनगणनामा हामीले सामुदायिक प्रश्नावलीको पनि प्रयोग गरेका छौं। सामुदायिक प्रश्नावली सबै घरमा गएर सोधिँदैन। यो प्रश्न वडा कार्यलयहरूमा गएर वडाध्यक्ष र वडाको विषयमा जानकार भएको मान्छेहरूको समूह बनाएर उनीहरूसँग सोध्ने भनेर सामुदायिक प्रश्नावलीको व्यवस्था गरेका छौं। सामुदायिक प्रश्नभित्र जातिका, भाषाका, धर्मका, लोपोन्मुख जातजातिका विषयहरू, यसका सेवा सुविधा माथिको पहुँचका विषयहरू बिजुली, मोटरबाटो, अन्यअन्य सुविधाहरू शिक्षा, स्वास्थ्य माथिका पहुँचका कुराहरू पर्दछन्।
यी विषयहरू सामाजिक प्रश्नावली र व्यक्तिगत प्रश्नावली दुईतिरै छन्। यो गर्नुको उद्देश्य भोलि व्यक्तिगत प्रश्नावलीबाट आएका तथ्यांकहरूलाई जोडेर र सामुदायिक प्रश्नावलीबाट आएका तथ्यांकलाई पनि तुलना गरेर विश्वासनीय तरिकाले उत्पादन गर्न सकिन्छ भन्ने हो। करिब ६ हजार ७ सयवटा वडामा गएर फारम भरेर हुने हो भने ७० लाख घरपरिवारमा फारम किन भर्ने भनेर पनि हामीले यो सामुदायिक प्रश्नावलीको प्रयोग गर्दैछौं।
सामुदायिक प्रश्नावलीका मूल उद्देश्य भनेको सहरी क्षेत्रको एकीन गर्न, दिगो विकास सूचकहरूको जाँच गर्नका निम्ति पारिवारिक र व्यक्तिगत प्रश्नावलीबाट ल्याएका प्रश्नहरू र वडास्तरमा ल्याएका विषयहरूको सामञ्जस्यताको लागि सामुदायिक प्रश्नावलीको व्यवस्था गरेका छौं। एउटा लुकेको उद्देश्य के हो भने यदि सामुदायिक प्रश्नावलीबाट पारिवारिक र व्यक्तिगत विवरण संकलन गर्न सकिने रहेछ भने अब भविष्यमा पनि किन बोझिलो जनगणना गर्ने त भनेर राज्यले त्यो निर्णय पनि गर्न सक्छ। त्यो दिशामा पनि हामी अग्रसर भइराखेका छौं र त्यसैको सुरुआतको रुपमा सामुदायिक प्रश्नावलीलाई निरन्तरता दिएका छौं।
हाम्रो जनगणनाः 'मोडिफाइड डि जुरे'
संसारमा जनगणना गर्ने विधि दुई प्रकारका छन्। एउटा डिफ्याक्टो विधि भनेर भन्छन्। डिफ्याक्टो विधि भनेको फ्रेन्च मोडल पनि हो। फ्रान्समा पहिले प्रयोग गरिएको विधि हो। यसले छोटो अवधिमा जो जहाँ छ, त्यहीँ गन्ने खालको भन्ने विधि हो। यसमा अस्थायी बसोबास भएका मान्छेहरू छोटो अवधिमा घुम्न आएको सबैको २४ घन्टामा आएको मान्छेको पनि गणना गर्ने गरिन्छ। जुनेली रात भएको, घामपानी नभएको राम्रो दिनमा लाखौंको जनशक्ति प्रयोग गरेर जो जहाँ छ, त्यहीँ गन्ने भन्ने तरिकालार्ई वास्तविक उपस्थिति विधि अर्थात 'डिफ्याक्टो मोडल' भनिन्छ। संसारका धेरै देशहरूले यो विधि प्रयोग गर्दैनन्।
तर दक्षिण एसियाको हाम्रो छिमेकी मुलुक भुटानले यो विधि प्रयोग गरेर जनगणना सम्पन्न गरेको छ। हामीकहाँ अहिलेसम्म यो डिफ्याक्टो विधिको प्रयोग भएको छैन। हामीले प्रयोग गर्ने विधि भनेको डिजुरे विधि हो। डिजुरे भनेको जो जहाँ छ त्यो त्यहाँ नगन्ने, त्यसलाई नियम बनाएर गणना गर्ने विधि हो। हामीले बनाएको विधि के हो भने अक्सर बसोबास गर्ने ठाउँमा गन्नु भनेर हामीले एउटा नियम बनाएका छौं।
वर्षभरिमा अक्सर हामी कहाँ बस्यौं, त्यो आधारमा जनगणना गर्ने भन्ने हाम्रो पहिलेदेखिको चलन छ। यो विधिलाई यसपालि पनि हामीले अंगिकार गरेका छौं। समग्र नेपालको जनगणनाको विधि भनेको डिजुरे विधि हो। अक्सर बसोबासको आधारमा जनगणना गर्ने। अस्थायी बसोबास हुन सक्छ, काम विशेषले मान्छे भाडामा बसेको हुनसक्छ, विदेशी हुनसक्छ सबै मानिसहरूको जनगणना गर्ने गरिन्छ। उसको अक्सर बसोबास (यूजल रेसिडेन्स) गर्ने ठाउँमा गणना गर्ने भनेका छौं।
हामीले गणना गर्न लागेको विषय घरपरिवार गणना हो। यसमा समस्या के छ भने घरबारविहीन व्यक्तिहरू सडकमा बसोबास गर्ने व्यक्ति, मगन्ते, जोगी, सन्यासीहरू पनि गणना गर्नुपर्दछ। उहाँहरूलाई कहाँ गन्ने, घर नै छैन। हामीले जनगणना १५ दिनमा गर्ने भनेका छौं। त्यो १५ दिनमा उहाँहरू कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ पुग्नुहुन्छ। कसरी गर्ने भन्दा हामीले जनगणनाको अन्तिम दिन असार ८ गते दिउँसो १२ बजेको समय भनेका छौं।
असार ८ गते हामीले घरबारविहीन व्यक्तिहरूको पनि गणना गर्ने, जहाँ गणकसँग भेटहुन्छ हुन्छ त्यहीँ गन्ने हो। मठमन्दिरमा छन् भने त्यही गन्ने, सडकमा छन् भने त्यहीँ गन्ने गर्ने नियम बनाएका छौं। त्यसकारण यसपालि नेपालको जनगणना विधि भनेको मोडिफाइड डिजुरे विधि हो। जनगणनाको अन्तिम दिन डिजुरेमा हामीले अलिकति डिफ्याक्टो मिसायौं। अर्थात् मोडिफाइ गर्यौं। संसारका अन्य धेरै देशहरूले पनि यो विधिको प्रयोग गर्छन्।
(लेखक केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हुन्।)