उजेली कुनै महिलाको नाम हैन, सानी पाठीको नाम हो। म बाख्राको नाम उसको रुपरंग, हाउभाउ हेरेर रख्दिन्थेँ।
म मेरो एकजना आफन्तकोमा उतै बस्नेगरी गएकी थिएँ। बारा जिल्लास्थित पथलैयाको जंगलबाट उत्तरतर्फ अलिक तल गएसी एउटा सानो गाउँ आउँछ। त्यहाँ मेरो आफन्तको घर छ। उहाँ मेरी आमाको दिदी, मेरी ठूलीआमा। उहाँको छोरी नभएकोले मलाई आफ्नो छोरीजस्तै गरेर पाल्छु, पढाउँछु भन्नु भएकाले म त्यहीँ बस्थेँ।
म त्यतिबेला १० वर्षकी थिएँ। छ कक्षामा पढ्थेँ। ठूलीआमाकोमा धेरै बाख्रावस्तु थिए। जंगल नजिकै भएकाले पनि होला पाल्न सहज थियो। दुई वटा भैंसी, तिनीहरुका पाडापाडी, एउटा बाछी, पाँच वटा बाख्रा थिए। एउटा बुढीमाउ बाख्रा थियो, त्यसको नाम मैले दल्भुडे रख्दिएँ। त्यसको भुडी ठूलो थियो त्यही भएर। त्यसको एउटा ब्याउने पाठी थिई। सानो जीउडाल भएकीले मैले मुसी नाम राख्देको थिएँ। अरु दुई वटा पाठोको राते र काले नाम रख्दिएँ।
मुसीको ब्याउने बेला आउँदै थियो। कहिले पाठी पाउँछ र खेलाउँ जस्तो हुन्थ्यो मलाई। पाठी नै पाओस् भन्ने थियो मलाई तर पछि ठूलोममीले 'पाठो भन्, पाठी पाओस् भन्छेस्' भनेर कराउनु भयो। त्यतिबेला पाठो पाएपछि खसी पारेर बेच्दा धेरैमा बिक्छ भनेर मलाई त्यति ज्ञान थिएन।
नभन्दै एकदिन मुसीले पाठी पाई। एकदम राम्रो, सर्लक्क परेको लामो जीउ, लामो कान घुडासम्मको। कुइरो आँखा अनि सेतो भुत्ला थियो त्यसको जीउमा। आँखाको डिलमा गाजल लगाको जस्तो कालो थियो। राम्रो थिई। मैले त्यतिबेला सबैलाई सुनाएँ, आफ्नो साथीहरु, ओल्लो घर, पल्लो घर तिर पनि- यदि बाख्राको विश्व सुन्दरी प्रतियोगिता हुने भए मेरै उजेलीले जित्छे भनेर।
सुन्ने जति सबै पागल्नी के-के भन्छे भन्दै उडाउँथे। एक्लै पाठी भकोले पनि होला त्यसलाई प्रशस्त दूध पुगेर खाइलाग्दी, सर्लक्क परेकी, चिल्लो हुँदै गई। मेरो खेल्ने साथी नै उजेली थिई। स्कुलबाट आउनासाथ आँगनमा त्यहीसँग खेल्थेँ। खाना पनि त्यो र म एउटै थालमा खान्थ्यौँ। 'बाख्रासँग नखा, रोगहरु लाग्न सक्छ' भन्दै सम्झाउनु हुन्थ्यो ठूलोबुवाले।
मेरो नजिकै कोही साथी थिएनन् खेल्ने। त्यही भएर होकि मेरो साथी गाईवस्तु, बाख्रा नै हुन्थे। तिनीहरुको जुम्रा हेर्ने, उपियाँ टिप्ने, किर्ना मार्ने, भैंसी अहाल बसाउने, भैंसीमाथि चडेर चराउने यस्तै-यस्तै। म उजेलीलाई आफूसँगै सुताउँथेँ, धन्न कराउदिन थिई। तर ओछ्यानभरि मुतिदिन्थी।
मैले धेरै बोक्ने भएर होला मेरो अघिपछि गर्ने अनि स्कुल जाँदा पनि पछ्याउँदै आउँथी। म स्कुलबाट फर्किएपछि पनि बुरुक-बुरुक उफ्रँदै वरसम्म आइपुग्थी लिन। म उजेलीलाई जंगल लादिनँ थिए। स्याल धेरै पाइने भएकाले खाइदिने होकि भन्ने पिर लाग्थ्यो।
मलाई घरको कोही नदेख्दा केही वास्ता हुन्नथ्यो तर उजेली मेरो आँखा अगाडि भइन भने म रुन थाल्थेँ। सँगै खाने सँगै सुताउने घर हुँदा सँगै उफ्रिने सायद मेरो सानी बहिनी जस्तो थिई। हाते विष लाग्छ, धेरै नबोक भनेर मैले धेरै गाली पनि खान्थेँ तर जो-जति रिसाए नि काखमा लिन छाड्दिनँ थिए।
म त्यहाँ बसेको तीन वर्षपछि आमाले मलाई 'आफ्नै घरमा आइज, उता नबस् अब यतै पढ्' भनेर बोलाउनु भयो। अब मलाई अरुको भन्दा पनि उजेलीलाई छाड्नु पर्ने भयो भनेर पिर लाग्यो। जति पिर गरे नि उजेलीलाई ल्याउन सम्भव थिएन। हामी इटहरीमा अरुको घरमा कोठा भाडामा लिएर बस्थ्यौँ, खोर बनाएर पाल्ने ठाउँ थिएन। उजेलीलाई उतै छाडेर आएँ म।
गाडीमा चडेदेखि घर आउन्जेल म धेरै रोएँ। उजेलीले पनि मलाई खोजि होला, उसलाई बोक्ने मान्छे कोही नहुँदा। म साँझमा स्कुलबाट आउने बेला बाटोसम्म खुसीले दौडेर लिन जान्थी। मलाई नदेख्दा दुःखी भै होला। म यता आएपछि पनि फोन गरेर के गर्दै होली भनेर सोधिराख्थेँ। मैले त्यही उजेलीको माया अनि जनावरको मायाले मासु खान छाडिसकेको थिएँ।
कहिलेकाहीँ फोनमा कुरा हुन्थ्यो। एकदिन ठूलोआमाले सबै बाख्राहरु बेच्ने, पाल्न गाह्रो भयो, हेर्ने मान्छे नि विदेश गएपछि अब आफू नभ्याउने भएर मियालाई उजेली पनि बेचेँ भन्नुभयो। त्यो सुनेदेखि म एकदम रोएँ। उडेर जान मिल्ने भए मियाको घरमा गएर उजेलीलाई ल्याउने थिएँ जस्तो लाग्यो। मियाले काटेर खान्छजस्तो लागेर झन् रोएँ। बरु गाउँमा बेचेको भए हुने कोही पाल्ने मान्छेलाई भन्दै रिसाएँ। तर जति रिसाए पनि उजेली फर्केर आउदिन भन्ने पनि भयो।
आज आठ वर्ष भयो मैले उजेलीलाई छाडेर इटहरी आएको। उजेलीलाई नदेखेको यतिका समय बित्यो। त्यही नि मलाई आज पनि उत्तिकै माया लाग्छ, आज पनि म त्यसलाई सम्झेर रुन्छु बेलाबेला। मियाले काटेर खायो होला कि नाइँ भन्ने लाग्छ। जिउँदो भए एकफेर भेट होस मेरो उजेलीसँग। हाम्रो आफ्नै घर बनिसक्यो। खोर बनाएर बाख्रा पाल्ने ठाउँ पनि छ तर उजेली छैन।
बाटोमा बाख्रा-पाठा भेटेँ भने नि बोक्छु, सुम्सुम्याउँछु। धेरै याद आउँछ अझै उजेलीको। जिउँदो होस उजेली, त्यसका पाठापाठी धेरै हुन्, यस्तै यस्तै सोचेर बस्छु।
मलाई हरेक जनावरको धेरै माया लाग्छ। उनीहरुको पनि हाम्रोजस्तै बाच्ने अधिकार हुन्छ। हाम्रोजस्तै भावना हुन्छ। हामीले बुझ्न सक्नुपर्छ। यातना दिने, बढी काम पेल्ने दुःख दिन हुँदैन।