आज ६६ औं प्रहरी दिवस। प्रहरी संगठनको स्थापना विसं २०१२ साल असोज ३१ गते भएता पनि यस वर्षको प्रहरी दिवस असोज २० गते परेको छ। प्रहरी ऐनमा तत्कालीन राजा महेन्द्रबाट लालमोहर लागेको दिनलाई प्रहरीले आफ्नो संस्थाको जन्मदिन मानेको हो।
प्रहरीले आफ्नो स्थापना दिवस मनाउने प्रचलन धेरैपछि अर्थात् तत्कालीन प्रहरी महानिरीक्षक मोतिलाल बोहराको पालामा २०५२ सालदेखि सुरु गरेको हो। प्रहरी दिवसमा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा अमरत्व प्राप्त गर्ने प्रहरीहरुको सम्मानमा स्थापित प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेर उनीहरुको वीरताको गाथा सुनाउने गरिन्छ।
केही प्रतिनिधि पूर्व प्रहरी र वीर तथा अमर प्रहरीका परिवार वा सन्ततिलाई यस अवसरमा निम्तो गर्ने गरिन्छ। यसबाट कम्तीमा पनि वर्षमा एकपटक अमर तथा शहीदहरुको सम्मान गर्ने परम्पराले निरन्तरता पाउने गरेको छ। त्यसअघि २०३३ सालदेखि तत्कालीन बडामहारानी ऐश्वर्यको जन्मदिनमा 'बिटिङ दि रिट्रिट' मनाउने चलन तत्कालीन प्रहरी महानिरीक्षक खड्गजीत बरालले सुरु गरेका थिए। तर प्रहरी दिवस मनाइएन। प्रहरीले यो आफ्नो संस्थाको जन्मदिनलाई कहिल्यै असोज ३१ कै दिनमा गर्ने साइत जुर्ने देखिएन। दसैँ-तिहार वा अन्य कुनै न कुनै कारणले यो अघिपछि गर्ने गर्दछ।
२०१२ मा जन्मेको मान्छे भए ज्येष्ठ नागरिकमा गनिन्थ्यो। संस्था भएकोले नेपाली सेनापछिको सरकारी ज्येष्ठ संस्थाको रुपमा यो स्थापित छ। संस्था भएकोले यसको व्यावसायिकता, नागरिकहरुको विश्वास, इमान्दारिता, बफादारिता, संस्कार, संस्कृती, अनुभव, दक्षता, परिवार संख्या र यसलाई माया गर्ने हितैषीहरुको वृद्धि हुनपर्ने अनिवार्य सर्त हुन्।
स्थापनाकालमा ७५०० लाई लिएर करिब ९७ लाख नागरिकको जीउधनको शान्तिसुरक्षाको जिम्मेवारीका साथ संगठित यो संस्था झण्डै ८० हजार जनशक्ति लिएर अहिले ३ करोड नागरिकको सुरक्षा गर्ने अभिभारा बहन गर्दैछ। १० प्रतिशतभन्दा पनि कम शिक्षित समाज अहिले ६८ प्रतिशत पुगेको छ।
नुन तेलका लागि हप्ता दस दिन हिँडेर भारतीय सीमा क्षेत्रका बजार पुगेर भारी बोकेर गुजारा गर्ने समय र परिस्थितिमा धेरै परिवर्तन आइसकेको छ। त्यसबेला २०१७ मा पञ्चायती व्यवस्था आइसक्दा एकजना हवल्दारले पाँच/छ गाउँको सुरक्षा गर्ने शान्तिसुरक्षाको काम अहिले प्रहरी निरीक्षक वा नायब उपरीक्षक दर्जा नै खटिनु पर्ने भएको छ।
जनताको चेतनाको स्तर, शिक्षा, प्रविधि तथा सञ्चारको विकाससँगै यातायातको सुविधाले गर्दा मानिसको गतिशीलता पनि त्यही स्तरमा बढेको छ। यस चुनौतीलाई स्वीकार गर्दै प्रहरीले पनि आफ्ना कृयाकलाप, दक्षता, सीप, व्यवहार सबैमा आमूल परिवर्तन ल्याउन परेको छ र ल्याइरहेको पनि छ।
सेवा दिने र लिने नागरिक र प्रहरीको विचार र बुझाइको अन्तरले एकअर्कालाई बुझ्ने विषयमा केही अन्तर देखिन्छ। यसलाई समाधान गर्न प्रहरीर्ले पब्लिक पुलिस पार्टनरशीप' प्रोग्राम अगाडि बढाएको पनि छ। तर पनि प्रहरीको काम कारबाहीबाट नागरिकहरु सन्तुष्ट देखिएको पाइँदैन।
नागरिकको बुझाइमा प्रहरीले आफ्ना बोली-वचन र व्यवहारमा सुधार ल्याउन नसकेको वा नचाहेको अर्थात् पहिलेकै जस्तै व्यवहार गर्ने, मित्रवत व्यवहार नगर्ने र छुट्याउने, एकसमान व्यवहार नगर्ने, थिचोमिचो गर्ने, ठूलाठालुको चाकडी गर्ने तथा भ्रष्ट आचरण त्याग्न नसकेको, पहिले थुन र पछि सुन भन्ने जस्ता व्यवहारमा धेरै कमी आउन नसकेको, न्याय पाउन धेरै धाउन पर्ने, न्याय प्रमाणमुखी हुन नसकेको गुनासाहरु गर्ने गरेको पाइन्छ।
यसका साथै प्रहरी केवल सतहमा मात्र दौडिने र तत्काल देखावटी काम गर्न लागिपर्ने तर दिगो समाधानको विषयमा गम्भीर नबनेको नागरिक मैत्री नबनेको र सधैं आफ्नै सरुवा-बढुवा जस्ता विषयमा अलमल गर्ने र नागरिकको दैनन्दिन समस्यामा बेवास्ता गर्ने गरेको आरोप लगाउने गर्दछन्।
यसै गरेर प्रहरीले पनि अपराध रोकथाम तथा अनुसन्धानमा नागरिकका तर्फबाट आवश्यक सहयोग नपाएको, प्रहरीका समस्याहरु नगरिकले बुझ्ने कोसिस नगरेको तथा भौतिक विकाससँगै भएका अन्य विकास र परिवर्तनसँगै विकास भएका अपराधिक मनोविज्ञान तथा कार्यलाई परास्त गर्न प्रहरीलाई आवश्यक पर्ने समयानुकूल तालिम, रासन, कपडा र औजार तथा परिचालनका लागि पर्याप्त बजेटको व्यवस्था हुन नसकेको, महंगीको तुलनामा तलब वृद्धि हुन नसकेको, सरकार सहयोगी नभई शासकीय मान्यतामा चलेको, प्रहरीका सरुवा-बढुवा जस्ता नितान्त आन्तरिक गतिविधिमा धेरै हस्तक्षेप हुने गरेकोले नागरिकको अपेक्षाअनुसार स्तरीय सेवा दिन कठिनाइ भएको दुखेसो व्यक्त गर्दछन्।
यस्तै धेरै आन्तरिक असमझदारीको समाधान प्रहरी र प्रहरीलाई निर्देशन र नियमन गर्ने निकाय गृह मन्त्रालयले गर्नु पर्ने थियो। चौबिसै घण्टा नागरिकको सेवामा खटेर पनि नागरिकलाई सन्तुष्ट गराउन नसक्नुमा कहाँ कमजोरी छ त? कुना कन्दरामा छरिएर रहेका नागरिकको गुनासो सुनिदिने को त? श्रीमान्-श्रीमतीको सामान्य झगडादेखि देशको कानुन बनाउने जनप्रतिनिधिको थलो संसदमा हुने कुटाकुट तथा सरकार प्रमुख र राष्ट्रप्रमुखसम्मको सुरक्षामा खटिने प्रहरीको घर बिग्रेको, छोराछोरी बिग्रेको, बिरामी परेर ज्यान फाल्नु परेको हेर्ने कसले? दसैँ तिहार जस्ता चाडपर्व नभनेर सुरक्षामा खटिने, बाढी पहिरो भूकम्प जस्ता विपत्तिमा खटिने प्रहरीको दुःख कसले बुझ्ने?
कर्तव्यपालनमा ज्यानको आहुति दिने प्रहरी र तिनका परिवारको व्यथा कसले बुझिदिने? यहींनेर कतै बीचमा ठूलो खाडल छ। यस्तै खाडलहरुको पहिचान र त्यसको समाधान, विगतका कार्यक्रमको समीक्षा तथा कार्यान्वयनको लक्ष्य सहितको नयाँ योजना स्पष्ट गर्ने र वर्षभरि राम्रा काम गर्ने कर्मचारी तथा शुभेच्छुक नागरिकहरुको अभिनन्दन गर्ने दिनको रुपमा यस दिवसलाई लिइनु पर्ने थियो।
तर दिवस परम्परामा मात्र सीमित हुन पुगेकोजस्तो भान हुन्छ। दिवसलाई महत्वपूर्ण पर्वका रुपमा मनाउन २०७० सालदेखि हरेक प्रहरी दिवसमा एउटा नारा तय गर्ने परम्परा पनि बस्यो। वर्षैंपिच्छे नयाँ-नयाँ नारा तय गरिए तर नाराहरु केवल भित्तामा वा कागजमा मात्र सोभायमान भए। गत वर्षको नाराले के-कति उपलब्धि गर्यो त्यसको लेखाजोखा भएन। नभए यी नाराहरु प्रहरीका लागि कम महत्वका थिएनन्।
२०७०- कानुनभन्दा कोही छैन माथि, सुख-दुःखमा प्रहरी नै साथी।
२०७१- शीरमाथि राष्ट्र नागरिक मनभित्र, जनसेवा कर्तव्य छ भावना पवित्र।
२०७२- नागरिक सर्वोच्चता, हाम्रो साझा प्रतिबद्धता।
२०७३- समाजको चौतारी छ राष्ट्रको छहारी, नागरिक सुरक्षा नै हाम्रो जिम्मेवारी।
२०७५- नागरिक प्रहरी मिली तोडौं अपराधको जालो, सुरक्षित समाज बनाउन गरौं हातेमालो
२०७६- हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी।
यस वर्ष २०७८ मा अन्य नाराहरु थपिने छन्। यस वर्षको नयाँ नारा आएपछि पुराना प्रतिबद्धता बिर्सने हुनु हुँदैन। सबै वर्षका नाराहरु कम आकर्षक र महत्वका छैनन्। यिनले देश र नागरिकका बारेमा प्रहरीको चिन्ता, सेवाभाव, प्रतिवद्धता सबै उजागर गरेका छन्। मुस्कान सहितको प्रहरीको कार्यक्रम पनि यही बीचमा आएको थियो। सेवाको गरिमा प्रहरीको मिठो बोलिमा पनि आएकै हो। यसबाट प्रहरीको मुस्कानमा के परिवर्तन आयो र नागरिकका बीचमा कति सहयोग र सद्भाव वृद्धि भयो त्यो पनि जाँच्न ढिलो गर्ने अब समय छैन।
सञ्चार प्रविधिको विकासले विश्व साँघुरिएको छ। एउटा सूचना राम्रो वा नराम्रो फेसबुक, भाइबर, मेसेन्जर, टिकटक, ह्वाट्सएप आदिमा हाल्ने बित्तिकै संसारका कुनाकुनामा एकसाथ पुग्छ। पढेका-नपढेका, साना-ठूला सबैको हातहातमा मोबाइल छ। सबैले त्यसको प्रतिकृया दिन्छन्। त्यसैले सूचनाको पहुँचको सीमा निकै व्यापक छ। आवाज, दृष्य थाहै नपाई क्यामेरामा कैद हुन्छन्। यसको प्रमाणीकरण र प्रष्टिकरण त्यसपछिको चुनौती हो।
सरकारले प्रहरीलाई गर्ने लगानी देशका लागि गर्ने हो। प्रहरी सक्षम भए नागरिकले दुःख पाउनु पर्दैन। छोरी चेलीहरुले अस्मिता र ज्यान गुमाउन पर्दैन। भएका अपराधको अनुसन्धान छिटो छरितो हुन्छ। अपराधी छिटो पत्ता लाग्छ र सजाय पाउँछ। अन्य अपराधीको मनोबल कमजोर हुन्छ। समाजमा शान्ति सुरक्षा अमनचयन कायम हुन्छ।
देशले भौतिक तथा समाज विकासको लक्ष्य पहिल्याउन सक्छ। जनता शिक्षित र आत्मनिर्भर हुन मद्दत गर्छ। नागरिकहरुमा नकारात्मक भावना कम हुँदै जान्छ र देश विकसित हुन्छ। समृद्ध हुन्छ। यसका लागि सरकारले धक फुकाएर प्रहरी विभागका लागि पर्याप्त बजेट र कर्मचारीका लागि समय अनुकूलका सेवा सुबिधामा जोड दिएर भ्रष्ट आचरण हुनबाट जोगाउन सक्नु पर्छ।
जनताका लागि आवश्यक परेका बेला तत्काल घटनास्थल पुग्न सके र पीडितको उद्धार तथा न्यायमा प्रमाणको पहुँच पुग्न सके अपराधी निरुत्साहित हुन्छन्। ठूलाबडा भनिएकाहरुले अपराधीलाई पालनपोषण गर्ने वा दुरुत्साहित गर्ने आँट गर्न सक्दैनन् । 'प्रजा मोटा भया दरबार बलियो रहन्या छ' यो उक्ति हिजोजस्तै आज पनि सामयिक छ। त्यसैले गृहमन्त्री र सचिव तथा सिङ्गो मन्त्रालयका कर्मचारी प्रहरीको सरुवा, बढुवामा हस्तक्षेप र शासन गर्ने तथा तेजोबध गर्न पछि पर्ने हैन कि प्रहरीलाई कसरी सक्षम तुल्याउने भन्नेतर्फ लाग्नु पर्छ।
राजनीतिकर्मी नेताहरुले आदेश मान्ने सेवक मात्र हैन, विवेक प्रयोग गर्न सक्ने र संकटमा देश तथा नागरिकको भरोसायुक्त सक्षम प्रहरी प्रमुख तथा अन्य अधिकारी छान्ने विषयमा गम्भीर हुनु पर्छ। सेनामा जस्तो नेतृत्व विकासको असल संस्कार विकास गरिनु पर्दछ।
प्रहरी कार्यालयमा आफ्ना पिरमर्का लिएर आउने सेवाग्राहीको गुनासो वा विवरण राम्रोसँग सुनिदिने र कार्यान्वयनमा जटिलता तथा झन्झट पैदा नगर्ने, पटक-पटक कार्यालय धाइरहन पर्ने वातावरणबाट मुक्ति दिने, टेलिफोनमा तत्काल सम्पर्क गर्न सकिने वातावरण सिर्जना गर्ने, घटना बारेमा सूचना पाइसकेपछि ५-१० मिनेटमा घटनास्थल पुगेर पीडितको उद्धार तथा अपराधी पक्राउमा तदारुकता देखाउने, नागरिकहरुसंग शिष्ट व्यवहार गर्ने, सम्भव भएसम्म आफ्नो क्षेत्रभित्रका नागरिकहरुको जानकारी राखिरहने,
नागरिहरुलाई अप्ठ्यारो पर्दा कार्यालयकै सवारी साधन वा अन्य नजिक रहेका सवारी धनीहरुको सहयोगमा आपतकालीन सहयोग गर्ने जसता मानवीय कार्य गर्ने, पूर्व प्रहरीहरुसँग सहकार्य गर्ने, सञ्चार माध्यमहरुसँग राम्रो सम्बन्ध राख्ने सूचना सम्प्रेषणमा सहयोग लिने र राजनीतिक नेताहरुसँग तटस्थ रहेर सेवा प्रदान गर्ने नीति लिएर काम गर्नेजस्ता अति सामान्य कार्यहरु मात्रै गर्दा पनि नागरिकमा प्रभावकारी सेवा पुग्ने देखिन्छ र प्रहरी दिवस पनि सार्थक हुनेछ।
प्रहरी दिवस यसरी प्रहरीको मात्र नभएर नागरिकको पनि प्रिय दिवस बन्न सकोस् र एक्काइसौं शताब्दीका सचेत नागरिकको अपेक्षा पूरा गर्ने खालका जनशक्ति उत्पादन र प्रविधिको विकासमा नयाँ उर्जा थपोस्। केवल परम्परालाई मात्र पछ्याउने मनोवृत्ति हटोस् भन्ने शुभेच्छाका साथ प्रहरी दिवसको पावन अवसरमा सम्पूर्ण प्रहरी परिवारमा सफलताको शुभकमना।
(लेखक पूर्व-प्रहरी वरिष्ठ उपरीक्षक हुन्।)