पछिल्लो समय महिलाहरुले महिनावारीका समयमा प्रयोग गर्ने सेनेटरी प्याडको मूल्य अभिवृद्धि लगायतका विषयमा निकै चर्चा तथा परिचर्चा भैरहेको छ। मैले यो विषयमा थुप्रै विद्वानका भनाइहरु, त्यसमा गरिएका राम्रा-नराम्रा कमेन्टहरु देखेसम्मको हेरेँ। ती सबै प्रतिकृया देखेर म चुप बस्न सकिनँ किनकि म पनि महिला हुँ।
खासगरी महिनावारी भनेको महिलाहरुको प्रजनन क्षमता वृद्धि भएसँगै शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो। यो हाम्रो शरीरमा भएका रागरसहरूको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ। महिनावारी प्राकृतिक सरसफाई प्रकृया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो।
साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ। कसैमा आठ वर्षदेखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ। महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ। महिनावारी महिलाहरुमा ४५ देखि ५५ भित्रमा सकिन्छ।
महिनावारी महिलाहरुमा हुने प्राकृतिक कुरा हो, यो न त रोकिन्छ न त छेकिन्छ। महिलाहरुको महिनावारीको विषयमा घरी-घरी विभिन्न किसिमका प्रश्न त उठि नै हाल्थे तर पछिल्लो समयमा बजारमा सेनिटरी प्याडमा मूल्य वृद्धिको विषयमा कुराहरु उठेपछि अहिले यसको विरोध भइरहेको छ।
त्यसमाथि महिनावारी सामग्रीमा १३ प्रतिशत कर र १५ प्रतिशत भन्सार कर सरकारले लगाइराख्दा महिनावारी हुने धेरै महिलाहरु मर्यादित महिनावारी र सुरक्षित प्रजनन स्वास्थ्यको मौलिक हकबाट वञ्चित भई ज्यान गुमाउन बाध्य भएका छन्। यसको जिम्मेवार को? महिनावारीमा उपभोग गर्ने कुनै पनि सामग्रीबाट लिने गरेको विलासिताको कर खारेज गर्न सबै अभियान्ताहरु अथवा महिलाकर्मीहरु लाग्नु पर्दछ।
के महिनावारी हुनु हाम्रो रहर हो र? हाम्रो समाज त्यही समाज हो जहाँ अझै पनि संस्कृतिका नाममा महिनावारी भएकै कारण ज्यान गुमाउन बाध्य छन्। छाउगोठमा अत्यन्त पीडादायी अवस्थाबाट कयौँ महिला दिदी-बहिनीहरु गुज्रिनु परेको छ।
छाउप्रथालाई रोकेर महिलाको महिनावारीप्रति सकारात्मक सोच राख्नु आजको आवश्यकता हो। समाजलाई परिवर्तन गर्नुको साटो हाम्रो समाज दिन प्रतिदिन सेनेटरी प्याड लगायत आधारभूत आवश्यकताका वस्तुको मूल्य घटाउन अग्रसर छैन। के यसो गर्नु उचित छ?
एउटी महिलाले आफ्नो महिनावारीमा करिब एकाद प्याडको प्रयोग गर्छिन्। महिनैपिच्छे प्रयोग गर्ने वस्तुहरुमै यसरी कर लगाउनु भनेको सरकार महिलाप्रति अझै पनि समान नहुनु हो। त्यसैलै यसको विरुद्धमा लाग्नु पर्छ। यसरी लादिएको करलाई खारेज गर्नुपर्छ। आखिर सरकार महिला प्रतिको दृष्टिकोण र महिलाको स्वास्थप्रति कहिले गम्भीर हुने? मेरो प्रश्न सरकारको उच्च अहोदामा रहेर सरकार चलाउछु भन्ने हाम्रा सरकार प्रमुखहरुलाई।
अब हामी महिलाहरू स्थानीय उत्पादनलाई प्रोत्साहन गरी आफैले प्रयोग गर्ने सामाग्री आफै उत्पादन गर्नु सक्नु पर्छ। तर यसो भनिरहँदा सबैलाई यसो सम्भव पनि छैन। यसको लागि सरकारले सम्पूर्ण स्थानीय तहमा सेनेटरी प्याड तथा महिनावारीको विषयमा उचित तालिम र सामाग्री लगायतका कच्चा पद्धार्थको व्यवस्था गर्नुपर्छ।
स्थानीय सरकारले महिलालाई चेतना अभिवृद्धि गर्नुपर्छ र महिला उद्यमशील बनी बजारमा पाइने वस्तुहरुको माग कम गरी स्थानीय सामग्रीहरुको प्रयोग पढाउन तिर लाग्नु आजको आवश्यकता हो।